नरपानी चुनढुङ्गा उत्खननमा अख्तियारको दृष्टि आवश्यक

नरपानी चुनढुङ्गा उत्खननमा अख्तियारको दृष्टि आवश्यक


mukti– मुक्तिनाथ भुसाल
रिडीको कालीगण्डकीबाट पश्चिम–दक्षिणमा अवस्थित अर्घाखाँचीको नरपानी पहाडमा भगवान् शिवलाई रावणले ताण्डप नृत्यद्वारा खुसी तुल्याई आफूलाई शिवजस्तै शक्तिशाली र हजारौँ वर्ष आयुुुुको बरदान प्राप्त गरेका कारण नरपानी पहाडलाई नर्तनाचल पर्वतका रूपमा चिनिनुका साथै बराह पुराणमा यसलाई पवित्र धार्मिक स्थानको रूपमा उल्लेख गरिएको छ । नरपानी पहाडको धार्मिक महत्वलाई अध्ययन नै नगरी यसको दोहन या विनाशका लागि सम्झौता गरिनु राज्यका तत्कालीन प्रतिनिधिहरूकोे गम्भीर गल्ती थियो भन्ने धर्म–पुराणमाथि आस्था राख्नेहरूको धारणा रहेको पाइन्छ । उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभागको ०५५ असार ३० गतेको सूचनाअनुसार डाइनेस्टिक इन्डस्ट्रिज नेपाल प्रालिलाई नर्तनाचल पर्वतको चुनढुङ्गा खनिज पदार्थ उत्खनन गर्ने अनुमतिपत्र सोही वर्षको फागुन ३० गते उपलब्ध गराइएकोे थियो ।
खानी तथा खनिज पदार्थ ऐन २०४२ तथा नियमावली २०५६ बमोजिम ६०५३ फिटको उचाइबाट ४ सय ४० गज उत्तर गएको बिन्दुलाई मूल चिह्न मानी ७ दशमलव ७६ वर्गकिलोमिटर क्षेत्रफलबाट तीस वर्षका लागि चुनढुङ्गा उत्खनन गर्न पाइने सम्झौतामा उल्लेख छ । सम्झौता गर्ने क्रममा पूर्व, पश्चिम र उत्तरतर्फ क्वान्टिटी निर्धारण गरिएको भए पनि मूल चिह्नको दक्षिण भागमा खानी तथा भूगर्भ विभागले क्वान्टिटी निर्धारण नगरेको कुरा प्रप नं. ३९÷०५५÷५६ ले बताउँछ । नरपानीमा ०६२ सालदेखि उत्खनन् सुरु गरेको डाइनेस्टि इन्डस्ट्रिज नेपाल प्रालि ०६४ सालको मङ्सिर महिनामा अर्घाखाँची सिमेन्ट प्रा.लि.मा हस्तान्तरण भएको थियो । नर्तनाचल पर्वतबाट निकालिने चुनढुङ्गा अत्यन्तै महत्वपूर्ण र महँगोमा बिक्री हुने भए पनि खानी विभागलाई एक टन चुनढुङ्गाबराबर १२ रुपैयाँ, जिविसलाई एक ट्रकबराबर भ्याटसहित आठ सय ५० र गाविसलाई ६० रुपैयाँ प्रतिट्रिपका दरले रोयल्टी तिर्ने सम्झौता राज्य र कम्पनीबीच भएको बुझिएको छ ।
एक ट्रक चुनढुङ्गाबापत भ्याटसहित आठ सय ५० बुझ्ने सर्तमा आ.व. ०६४ र ६५ देखि आ.व.०६७ र ६८ सम्म जम्मा ८८ लाख ६१ हजार तीन सय दश रुपैयाँ जिविस अर्घाखाँचीले प्राप्त गरेको थियो । जिविसले प्राप्त गरेको रकमलाई आधार बनाएर हिसाब लगाउँदा चार आर्थिक वर्षमा नरपानी पहाडबाट अर्घाखाँची सिमेन्ट प्रालिले जम्मा १० हजार चार सय २५ ट्रक चुनढुङ्गा लगेको अवगत हुन्छ । चार आर्थिक वर्ष अर्थात् ४७ महिनाको लगातार उत्खननपश्चात् स्थानीय विवादका कारण उत्खनन कार्य हालसम्म बन्द रहेको छ । उत्खनन अवधिभित्र परेका चाडपर्वको छुट्टी, नेपाल बन्द तथा अन्य भैपरी आएका बिदा वा बन्दलगायतका समस्याको हिसाब लगाएर तीन महिना अवधि घटाइदिए पनि बचेको ४४ महिनालाई जिविसले प्राप्त गरेको आम्दानीसँग तुलना गर्दा दैनिक झन्डै आठ ट्रक चुनढुङ्गा कम्पनीले लगेको रहेछ भन्नुपर्ने हुन्छ । सुरुवातदेखि ४० वटा नयाँ टिप्परले रात दिन दैनिक दुई वा तीन ट्रिप चुनढुङ्गा ओसारपसार गर्ने गरेको नरपानीवासी र उक्त सडकमा यात्रा गर्ने हरेकको स्मरणमा ताजै रूपमा रहेको छ । जिल्लाको ठाडानिवासी पुष्करराज बेल्वासेका अनुसार ४० टिप्परमध्ये धेरैले दैनिक तीन ट्रिपसम्म चुनढुङ्गा ओसारे पनि औसतमा दैनिक ८४ टिप्परभन्दा कम हुनै सक्दैन । चुनढुङ्गा खानीबारे गहिरिएर बुझेका स्थानीय पुरनबहादुर सुनार पनि बेल्वासेको भनाइमा सहमति जनाउँछन् । उनका अनुसार दैनिक पचासी ट्रिप नघटेको र चुनढुङ्गा ओसारपसार गर्ने टिप्परहरू त्यहाँ नियमित चल्ने गरे पनि स्थानीय रूपमा परिचित बन्न पुगेका कारण अर्घाखाँचीको ठाडा र कपिलवस्तुको घनचौरा चौकीमा कहिलेकाहीँ मात्र इन्ट्री दर्ता गराउने गर्थे, यो तथ्य जो–कोही स्थानीयवासीले हेक्का राखेकै विषय हो ।
यसका अलवा नरपानी पहाडबाट कतिसम्म चुनढुङ्गा उत्खनन गरिएको होला भन्ने सन्दर्भमा उत्खननस्थलको अनुगमनले पनि आँकलन गर्न सकिन्छ । यदि जिविसले देखाएजस्तो दैनिक झन्डै आठ ट्रक अर्थात् अहिलेसम्म जम्मा १० हजार चार सय २५ ट्रक मात्र चुनढुङ्गा गएको हुन्थ्यो भने नर्तनाचल पर्वतको शोभायमान स्वरूप यति चाँडो उराठ बन्न पक्कै सक्दैनथ्यो भन्ने तर्क स्वतः उठ्दछ । नरपानी पहाडको माथिदेखि तलसम्मको दोहनलाई अवलोकन गर्दा र स्थानीयलगायत उक्त समयका गाडीचालकका कुरा सुन्दा जिविसले प्राप्त गरेको राजस्व आम्दानी अत्यन्तै न्यून रहेको कुरालाई अन्यथा लिनुपर्ने देखिँदैन । स्थानीयको भनाइअनुसार दैनिक ८५ टिप्पर चुनढुङ्गा गएको अवस्थामा जिविसले प्राप्त गरेको आम्दानीसँग तुलना गर्दा दैनिक रु. ६५ हजार चार सय ५० वा मासिक १९ लाख ६३ हजार पाँच सयका हिसाबले ४४ महिनाको आठ करोड ६३ लाख ९४ हजार आम्दानी जिविस अर्घाखाँचीले गुमाएको बुझ्न सकिन्छ ।
बिग्रँदो वातावरण, खानेपानीमा असरलगायत उत्खनन क्षेत्रमा राज्यसँग भएअनुसारका सम्झौता कार्यान्वयन नगर्नुका अलावा कम्पनी नेतामुखी बनेका कारण स्थानीय सर्वसाधारणले लामो आन्दोलनद्वारा उत्खनन बन्द गराएका थिए । तत्कालीन समयमा गरिएको उत्खनन र प्राप्त आम्दानीको प्रमुख दोषीका रूपमा जिविस अर्घाखाँचीलाई लिनु सान्दर्भिक देखिन्छ । अर्घाखाँची सिमेन्ट प्रालिले जे–जति चुनढुङ्गा नरपानीबाट लग्यो, जिविस अर्घाखाँचीले कहिल्यै पनि दैनिक रूपमा नापजाँच र राजस्व असुलीका लागि आफ्ना कर्मचारी खटाएको पाइएन । बिनाचेकजाँच प्राप्त राजस्व सोहै्रआना सही हो भन्ने आधारमा कोरा गफ छाँट्नु उपयुक्त मान्न सकिन्न । उता वनक्षेत्रको प्रयोग गरेबापत वन नियमावली–०५१ को अनुसूची २० मा उल्लेखित कबुलियती वनको दस्तुर नेपाल सरकारलाई बुझाउने सर्तमा वन विभागसँग सम्झौता भएबमोजिम प्रतिहेक्टर प्रतिवर्ष ६ सयका दरले आ.व. ०६१ र ६२ देखि आ.व. ०६८ र ०६९ सम्म चार लाख ८० हजार ६३ रुपैयाँ दाखिला भइसकेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जानकारी गराएको छ ।
नरपानी पहाडमा स्थानीय र कम्पनी पक्षबीच मनमुटाव बढेलगत्तै गएको मङ्सिरदेखि खाँचीकोट गाविसको तीनथाले लेखबाट अर्घाखाँची सिमेन्ट प्रालिले चुनढुङ्गा लगेको भए पनि स्थानीय विवादका कारण गएको महिनादेखि उत्खनन बन्द भएको र जिविसले दैनिक रेकर्ड खाँचीकोटमा पनि नराखेको बुझिएको छ । यी सबै कुरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विचार पुगी तत्काल उचित कारबाही अघि बढ्नुपर्ने देखिन्छ ।