चढ्यो विश्वकपको मात, चरमोत्कर्षमा फुटबलप्रेमीहरू

चढ्यो विश्वकपको मात, चरमोत्कर्षमा फुटबलप्रेमीहरू


sportखेलकुद लेख
विश्वकप फुटबलको माहोलमा यतिबेला विश्व चुर्लुम्म डुबेको अवस्था छ । राजादेखि रङ्कसम्म फुटबलको मदमा झुमेका छन् । निद्रा र भोक–प्यास नै त्यागेर विश्वकपको आनन्दमा रमाइरहेका छन् । साँचो अर्थमा भन्नुपर्दा यतिबेला विश्वको देश, भाषा र धर्म एउटै भएको छ । फुटबलले भूगोललाई साँधुरो बनाउँदै विश्वलाई नै एकसूत्रमा बाँध्ने कार्य गरेको छ । अर्को कुरा विश्वकप फुटबलको उत्कृष्टताले खेलकुदलाई विश्वमानचित्रमा उच्च स्थान दिलाउन सफल भएको छ । जसलाई प्रमाणित र लालमोहर लगाउन अहिले सबै आतुर देखिएका छन् । अमेरिका राष्ट्रपति बाराक ओबामा हुन् या उरुग्वेका राष्ट्रपति दुवैले फुटबलको बखान गर्न छाडेका छैनन् । उनीहरूले फुटबललाई राष्ट्रको प्रतिष्ठाको द्योतकको रूपमा उजागार गर्दै फुटबलको समग्र विकासका लागि लालायित देखिएका छन् । फुटबल खेलाडीलाई उनीहरूले राष्ट्रका धरोहरको रूपमा विश्लेषण गर्दै फुटबलबिनाको खेलकुद कल्पनासमेत गर्न नसकिने प्रस्ट पारेका छन् । समर्थन होस् या विरोध दुवै फुटबलकै विकासका पाटा भएकाले देशभक्तहरूले पहरदारी गर्दा चित्त दुःख्ने स्वाभाविकै हो । जित्दा रमाउनु, हार्दा अपसोच गर्नु प्राकृतिक कुरा हो ।
विश्व अहिले जुन उत्साह, उमङ्ग र कुतूहलमा रमाइरहेको छ, सारा नेपालीमा पनि यो लहर देखिएको छ । नेपाली पनि विश्वकपको चरम आनन्द उठाउनमा विश्वका कुनै देशका नागरिकभन्दा कम देखिएका छैनन् । विश्वकपमा नेपालको सहभागिता नभए पनि नेपाली आ–आफ्नो प्रिय टिमलाई समर्थन गर्दै रातभर जागा बसेर फुटबलप्रतिको आफ्नो लगावलाई प्रस्ट पारिरहेका छन् । जुन फुटबलको विकासका लागि सकारात्मक पाटो बनेको छ । तर, यहीबेला बकुल्लाको बीचमा कागको उपस्थितिले नेपाली फुटबलचाहिँ तरङ्गित हुन पुगेको छ । विश्वकपको मज्जामा किरकिराहट उत्पन्न भएको छ अर्थात् बिनामौसमको बाजाले फुटबलको आनन्दमा खलल ल्याएको छ । यतिबेला फुटबलमा रमाउनेहरू व्यक्तिविशेषमा नभई फुटबलमा रमाउनुपथ्र्यो । तर, विडम्बना, झर्ला र खाउँला भन्ने आशामा ¥याल चुहाउनेहरूले फुटबलको उमङ्ग र रोमाञ्चकतालाई लत्याउँदै व्यक्तिविशेषमा लाग्दा नेपाली फुटबलमाथि तरबार तेर्सिन पुगेको छ । यसको दूरगामी प्रभाव केही नदेखिए पनि क्षणिक रूपमा एन्फा अध्यक्ष गणेश थापालाई विवादमा ल्याउन र कानुनी कठघरामा उभ्याउने मुद्दा मात्र बनेको छ । तसर्थ फुटबलकर्मीहरूले यसलाई विरोधका लागि विरोध मात्र गरिएको निष्कर्ष निकालेका छन्् ।
विश्वकप फुटबल यतिबेला उत्तराद्र्धमा पुगेको छ । वर्तमान अवस्थासम्म क्वार्टरफाइनलका खेलहरूसमेत सम्पन्न भइसकेका छन् । जसमा आयोजक राष्ट्र ब्राजिल, जर्मनी, नेदरल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा आफ्नो उपस्थिति निश्चित पारिसकेको अवस्था छ । विश्वकप युरोप र दक्षिण अमेरिकी राष्ट्रमा मात्र घुमिरहेको यथार्थ यसपटक प्रस्ट रूपमा देखिएको छ । यसर्थमा यसपटक पनि दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना र युरोपबाट जर्मनी, नेदरल्यान्ड सेमिफाइनलमा पुगेका छन् । मंगलबार र बुधबार हुने सेमिफाइनलमा जर्मनी, आयोजक ब्राजिल र अर्जेन्टिना गत वर्षको उपविजेता नेदरल्यान्डसँग भिड्दै छ । यसरी युरोप र दक्षिण अमेरिकी राष्ट्रबीच हुने सेमिफाइनलमा दुवै युरोप र दुवै दक्षिण अमेरिकी टिम फाइनलमा पुग्ने सम्भावना उत्तिकै छ । अन्यथा अमेरिकी र युरोपियन टिमबीच फाइनल प्रतिस्पर्धा हुने प्रायः निश्चित छ । विश्वकपमा अहिलेसम्म अनुहार नदेखाएका विश्वविख्यात फुटबल खेलाडी पेलेले विश्वको २०औँ संस्करण शुभारम्भ हुनुअघि यसपटक ब्राजिल र अर्जेन्टिनाबीच फाइनल खेल हुने घोषणा गरेका थिए । उनको भविष्यवाणी सफल हुन्छ या हुँदैन त्यो भविष्यकै गर्ममा छ । त्यसका लागि अझ सेमिफाइनलका खेलहरू पर्खिनुपर्नेछ । तर, ब्राजिल र अर्जेन्टिना फाइनलमा पुगेमा अर्जेन्टिनाले विश्वकप जित्ने अर्का विश्वविख्यात खेलाडी म्याराडोनाले भविष्यवाणी गरेका छन् । म्याराडोनाले फाइनलमा अर्जेन्टिना चर्चित स्ट्राइकर लियोन मेसीले अद्वितीय खेलको प्रदर्शन गर्दै विश्वकपमा धाक जमाउने आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
विश्वकप शुभारम्भ अघि यो विश्वकप कसले जित्ला भन्नेबारेमा विभिन्न अड्कलबाजी र टीका–टिप्पणी भएका थिए । प्रायः सबैले ब्राजिल, अर्जेन्टिना, जर्मनी, स्पेन, नेदरल्यान्ड, फ्रान्स, इंग्ल्यान्ड, कोलम्बिया, इटाली र पोर्चुगलले विश्वकप जित्ने राय व्यक्त गरेका थिए । तर, पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीले यो विश्वकपको सेमिफाइनलमा ब्राजिल, जर्मनी, नेदरल्यान्ड र अर्जेन्टिना पुग्ने भविष्यवाणी गरेका थिए । जुन अहिले शतप्रतिशत सही सावित भएको छ ।
शाहीले आफ्नो अभिव्यक्ति विभिन्न सञ्चारमाध्यमहरूमा जाहेर गर्ने क्रममा यो मेरो अन्तरआत्माले बोलेको कुरा हो भनेका थिए । शाही आयोजक राष्ट्र ब्राजिलको अनुयायी भए पनि सेमिफाइनलमा जर्मनीले ब्राजिललाई पाखा लगाउने दाबी गरेका छन् । त्यस्तै अर्को सेमिफाइनलमा अर्जेन्टिना नेदरल्यान्डमाथि हावी हुने उनको तर्क छ । त्यस्तै शाहीले यो विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिनाको भिडन्त हुने पनि भविष्यवाणी गरेका छन् । फाइनलमा अर्जेन्टिनाले जर्मनीलाई पराजित गर्ने र विश्वकपको उपाधि जित्ने उनको दाबी छ । हेरौँ, अहिलेसम्म आफ्नो भविष्यवाणी मिलाउँदै आएका शाहीको सेमिफाइनल र फाइनलको भविष्यवाणी कत्तिको मिल्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
खै त पेले ?
ब्राजिलमा विश्वकपको २०औँ संस्करण भइरहेको छ । त्यसमा लेजेन्ड पेलेको चर्चा नहुने कुरै भएन । तर ब्राजिलका विभिन्न सहरहरूमा फुटबल भइरहेको छ । ब्राजिलका सहरहरू फुटबलमय भइरहेको समयमा पेल भने गायव भएका छन् । यो सबैका लागि आश्चर्यको कुरा भएको छ । विश्वकपअघि विश्वकपको आधिकारिक गीतसमेत मन नपरेको भन्दै छुट्टै गीतसमेत पेलेले बनाएका थिए । साओपाउलोमा भएको ओपनिङमा ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेपसँगै अन्य लिजेन्ट खेलाडीको उपस्थिति थियो तर पेलेलाई क्यामेराले भेट्टाएनन् । जब कि पेले साओपाउलोको स्टेडियम नजिकै बस्थे । तर पनि उनी स्टेडियममा देखापरेनन् । ७३ वर्षीय पेले विश्वकपको बीचबिचमा हाफटाइममा आउने विभिन्न उत्पादनको विज्ञापनका देखिएका छन्् ।
१३ जुलाईमा रियो दि जेनेरियोमा हुने फाइनलपछि विश्वविजेतालाई दिइने ट्रफी पेलेले नदिई ब्राजिलकी एक चर्चित मोडेलले दिन लागेको कुराले पनि उनलाई स्टेडियमसम्म तान्न नसकेको हुनसक्छ । उनलाई एथलिट अफ दि सेन्चुरी घोषणा गरिएको छ, तर विश्वकप घरमै भइरहँदा त्यसको ट्रफी भने एक सुपरमोडेललाई दिन लगाइन्छ भन्दा दुःखद् हो । कतिपयले कन्फेडेरेसन कपको दौरान आन्दोलनकारीले विरोध गर्दा उनले चिखो बोलेका कारण पनि उनी यतिबेला स्टेडियममा देखा नपरेको हुन सक्ने अनुमानसमेत लगाइएको छ ।
आन्दोलनकारीको प्रदर्शनको आलोचना गरेका कारण उनीसँग समर्थकको नाता तोडिएका कारण उनलाई ब्राजिलमा गएको दिनका स्टार मान्न थालिएको बताइन्छ । यदि ब्राजिल अगाडि बढ्दै गएको खण्डमा उनी स्टेडियमा उपस्थित भएर आफ्नो टिमको हौसला बढाउनेमा विश्वास गरिएको छ ।

उपाध्यक्षको खेलमा जीवनरामको सकुनी दाउ
खेलकुदमा अराजकता फैलाउन विभिन्न हरकत र कितडम मच्चाउँदै आएका राखेपका पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ आफैँ राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बन्ने दाउमा रहेको खुलासा भएको छ । श्रेष्ठले यसका लागि सकुनी दाउ खेल्दै टेन्डी लामा र सुरेन्द्र हमाललाई थाङ्नामा सुताएका छन् ।
पछिल्लो समय सदस्यसचिवको दौडमा रहेका लामा टेन्डी शेर्पालाई राखेपको उपाध्यक्ष बनाउनुको कारण पनि यही रहेको स्रोतले जनाएको छ । सदस्यसचिवका दाबेदारका रूपमा आवरणमा देखिएका टेन्डी लामालाई आफ्नो स्वार्थसिद्ध गर्न श्रेष्ठले उपाध्यक्ष बनाएको जानकारीमा आएको छ । कार्यसम्पादनको कुनै जिम्मेवारी नभएको पदमा लामालाई थन्काएर श्रेष्ठले लामामाथि घात गरेपछि हिजोसम्म लामालाई सदस्यसचिव बनाउन दिनरात खटेका कार्यकर्ता अहिले खिन्न भएका छन् । राखेपको बोर्ड बैठकमा अध्यक्ष नभएको बेलामा अध्यक्षता गर्ने राखेपको विधानमा स्पष्टसँग उल्लेखित हुँदाहुँदै पनि लामाले कुनै जिम्मेवारी नभएको उपाध्यक्षजस्तो पदमा बस्न किन राजी भए त्यो अहिले राजको विषय बनेको छ ।
सर्वोच्च अदालतले अर्को निर्णय नहुन्जेल पहिले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेपछि एमालेको सदस्यसचिव बनाउने खेल बीचैमा तुहिएको थियो । यसपछि राखेपको रिक्त तीन सदस्यमा काङ्ग्रेसको तर्फबाट सुरेन्द्र हमाल र एमालेको तर्फबाट लामा टेन्डी शेर्पा र सकुन्तला नगरकोटीले नियुक्ति पाएका थिए । राखेपको सदस्य नियुक्ति भएको लामो समय बितिसक्दा पनि पत्र नबुझेका लामाले खेलकुदमन्त्री पुरुपोत्तम पौडेललाई सदस्यसचिवको पत्रसमेत सँगै दिन दबाब दिएका थिए । तर, अदालतको फैसला एमालेको पक्षमा नगएपछि रातारात मन्त्री पौडेलले आफ्नो निर्णयलाई परिवर्तन गर्दै सदस्यलाई शपथग्रहण गराउँदै लामालाई उपाध्यक्षको शपथ खुवाएका थिए । हिजोसम्म राखेपका सदस्यसचिव युवराज लामालाई हटाएर टेन्डीलाई सदस्यसचिव बनाउन पदीय दायित्वसमेत बिर्सिएका मन्त्री पौडेलले अन्त्यमा टेन्डीलाई किन हतारमा उपाध्यक्ष बनाउन सक्रिय देखिए त्यो बुझ्न सकिएको छैन । एमालेलाई उपाध्यक्ष पद मात्रै चाहिएको थियो भने खेलकुदमा यत्रो रडाको मच्चाउनुको अर्थ के थियो त्यो गम्भीर प्रश्न बनेको छ । उपाध्यक्ष त पहिले पनि एमालेको भागमा थियो त्यसमा जुनबेला जो कसैलाई पनि नियुक्ति गर्न सक्थ्यो ।
प्राप्त जानकारीअनुसार एमालेको नवौँ महाधिवेशनमा आफ्नो पक्ष अर्थात् माधव नेपालले जितेको खण्डमा जीवनराम सदस्यसचिव बन्ने दौडमा लागेको सूत्रको दाबी छ । यसबीचमा श्रेष्ठले समयको आवश्यकता भन्दै टेन्डीलाई उपाध्यक्षको लोभ देखाएर काम न काजको पदमा थन्काएको बुझिन आएको छ । अर्को कुरा यदि महाधिवेशनमा आफ्नो पक्ष पराजित भएको खण्डमा उपाध्यक्ष पद पनि गुम्ने र पुनः पूर्व राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले बाजी मार्ने भयका कारणले पनि टेन्डीलाई उपाध्यक्ष बनाइएको रहस्यको खुलासा भएको छ । यही कुरालाई आत्मसात् गर्दै टेन्डी उपाध्यक्षमा बस्न राजी भएको बुझिएको छ । महाधिवेशनमा ओली पक्षको विजय भए आफूहरूको खेलकुदमा पत्तासाप हुने भएकाले पनि टेन्डीले ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाबुको अनुहार’को रूपमा उपाध्यक्ष पदलाई स्वीकार गरेकोे स्रोतले बताएको छ । स्मरणीय छ, तिमिल्सिना एमालेका वरिष्ठ नेता केपी ओलीका निकट मानिन्छन् । खेलकुदमा तिमिल्सिनालाई ओलीको दाहिने हातको रूपमा लिइन्छ ।
त्यस्तै, काङ्ग्रेसको तर्फबाट सदस्यमा चुनिएका पूर्व ओलम्पियन सुरेन्द्र हमाललाई राखेपको उपाध्यक्ष बनाउने सहमति भएको सूत्रले बताएको छ । एमालेलाई सदस्यसचिव र काङ्ग्रेसलाई उपाध्यक्ष बनाउने सहमति भए पनि मन्त्री पौडेलले खेलकुदका संरक्षक तथा प्रधानमन्त्री सुशील कोइराला उपचारको क्रममा विदेश रहेको बेलामा उक्त सहमति तोड्दै लामालाई उपाध्यक्ष बनाएका थिए । मन्त्री पौडेलले हमालसँग सहमति गरेर मात्र आफूले उपाध्यक्ष नियुक्ति गरेको बताए पनि हमाल भने त्यसलाई ठाडै अस्वीकार गरेका छन् । हमालले आफूसँग यो विषयमा कुनै कुराकानी नभएको र आफूमाथि ठूलो धोका भएको प्रस्ट पारेका छन् । मन्त्री पौडेलको यो कदमको काङ्ग्रेसनिकट लोकतान्त्रिक खेलकुद सङ्घभित्र पनि बहसको विषय बनेको थियो । सङ्घले प्रधानमन्त्री कोइराला स्वदेश फर्केपछि यो कुराको जानकारी गराउने बताएको छ ।

खेल समाचार
सदस्यसचिवलाई सामूहिक ज्ञापनपत्र
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ र नेपाल ओलम्पियन सङ्घले राखेप सदस्यसचिव युवराज लामालाई आठबुँदे ज्ञापनपत्र बुझाएका छन्् । दक्षिण कोरियाको इन्चोनमा हुन गइरहेको आसन्न १७औँ एसियाली खेलकुदसँग सम्बन्धित ज्ञापनपत्र कर्मचारी सङ्घका अध्यक्ष रञ्जन थापा, खेलाडी सङ्घका अध्यक्ष दीपक विष्ट र ओलम्पियन सङ्घका अध्यक्ष सुनीललाल जोशीले सदस्यसचिव लामालाई हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्रमा एसियाली खेलकुदको तयारीका लागि तुरुन्त बन्द प्रशिक्षण सञ्चालन गर्नुका साथै पदकको सम्भावना भएका खेललाई प्राथमिकताको आधारमा वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने, गत जेठ १५ देखि २५ गतेसम्म एसियाली खेलकुदका लागि छनोट गरिएका सम्पूर्ण खेलाडी हालसम्म राष्ट्रिय टिम प्रशिक्षणमा लगातार रहेकाले सोही खेलाडीलाई एसियाली खेलकुदको बन्द प्रशिक्षणमा समावेश गर्नुपर्ने, खेलाडीलाई उपलब्ध गराउने खेल सामग्री अन्तर्राष्ट्रिय खेल सङ्घबाट मान्यता प्राप्त गुणस्तरको हुनुका साथै उचित समयमा सामग्री उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका प्रशिक्षकले प्रशिक्षकको भूमिका निर्वाह गर्न पाउनुपर्ने उल्लेख गरिएको छ ।
एसियाली खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियलको नाम, पद र संस्थासहितको जानकारी उपलब्ध गराउनुपर्ने, असम्बन्धित, नातागोता र आफन्तलाई विदेश घुमाउन लाने परम्पराको अन्त्य हुनुपर्ने, कर्मचारी सङ्घ, खेलाडी सङ्घ र ओलम्पियन सङ्घका तर्फबाट विगतमा झैं एसियाली खेलकुदमा एक÷एक प्रतिनिधिसहित थप एक महिला प्रतिनिधित्व गराउनुपर्ने तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच आपसी सहकार्य, समन्वय र आवश्यक निर्णय गरी सहभागितालाई सहज बनाउन र सहभागिताका लागि लाग्ने खर्चको व्यवस्थापन गर्न नेपाल सरकारसँग शीघ्र पहल गर्नुपर्ने माग गरेका छन्् ।
यही व्यहोराको ज्ञापनपत्र हालै उक्त तीनवटै संस्थाले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पनि बुझाएका थिए । उक्त अवसरमा सदस्यसचिव लामाले माग जायज भएको र यस सम्बन्धमा राष्ट्रिय सङ्घ, प्रमुख प्रशिक्षक र राष्ट्रिय टिम तयारीका प्रशिक्षकसँग छिट्टै छलफल गरी अगाडि बढ्ने बताएका छन् ।

महेश्वरलाई धर्मश्री उपाधि
सेप्स फिट्नेस जिम, काठमाडौंका महेश्वर महर्जनले तेह्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्् । तेस्रो सहभागितामा महेश्वर पहिलोपटक च्याम्पियन बनेका हुन् । उपाधिसँगै महेश्वरले दुई लाख नगद पुरस्कार हात पारे । उनले ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । समग्रमा आयोजक नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल दोस्रो, अर्जुन वर्णवाल तेस्रो, ज्ञाननारायण महर्जन चौथो, कालीमाटी फ्रेन्डसिप जिमका सचित प्रधान पाँचौँ र फिट्नेस स्टुडियो लाजिम्पाटका रुजेश शाही छैटौँ भएका थिए । उनीहरूले क्रमशः एक लाख, ७५ हजार, ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । विभिन्न ६ तौलसमूहमा पहिलो भएका खेलाडी धर्मश्री उपाधिका लागि भिडेका थिए ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजीमा बुल्स जिम एन्ड फिजिकल फिट्नेस कास्कीका सुरेश गुरुङ दोस्रो र आयोजकका रवि महर्जन तेस्रो, ६० केजीमा आयोजकका सञ्जीव श्रेष्ठ दोस्रो र मसल्स वल्र्ड जिमका विश्वबहादुर थापा तेस्रो, ६५ केजीमा आयोजकका रामहरि खनाल दोस्रो र कुमारीपाटी फिट्नेस सेन्टरका होमराज शर्मा तेस्रो, ७० केजीमा धरान फिजिकल फिट्नेसका जविन्द्र राई दोस्रो र आयोजकका विमल श्रेष्ठ, ७५ केजीमा मसल्स वल्र्डका किशोर पुन दोस्रो र बुल्सका नीरज गुरुङ तेस्रो तथा ७५ केजीमाथि मसल्स वल्र्डका साविक विजेता लोकेन्द्र परियार दोस्रो र सेप्सका विजयत्तम बज्राचार्य तेस्रो भएका थिए । दोस्रोले २५ हजार र तेस्रोले १५ हजारका दरले नगद पुरस्कार हात पारेका थिए । विजेतालाई उपप्रधान एवम् सङ्घीय व्यवस्था तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा विभिन्न १३ क्लबका ६८ प्रतिस्पर्धीले भाग लिएको आयोजक मन्दिरका अध्यक्ष नारायण प्रधानले जनाएका छन्् ।

जुडोकी सुनिता बनिन् मेधावी
जुडोकी सुनिता बोहराले दशरथ चन्द मेधावी प्रतिभा खेलाडी पुरस्कार– २०७० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेकी छिन्् । सुनिताले प्रशंसापत्रका साथै नगद १५ हजार एक रुपैयाँ प्राप्त गरेकी थिइन् । सुनिताले गत अप्रिलमा काठमाडौंमै भएको सातौँ एसियाली जुडो च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । नेपाली खेलाडीले उक्त प्रतियोगितामा जितेको त्यो नै एक मात्र स्वर्ण हो । सोही पुरस्कारअन्तर्गत क्षेत्रगत रूपमा पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुनेगरी पाँचजना उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत भएका थिए ।
पूर्वाञ्चलबाट उसुका विशाल थापा सिञ्जाली उत्कृष्ट चुनिएका थिए । उनले गत साउनमा फिलिपिन्समा भएको सातौँ एसियाली जुनियर उसु च्याम्पियनसिपमा कास्य जितेका थिए । पाकिस्तानको लाहोरमा गत मार्चमा भएको १०औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण विजेता सुजन तामाङ मध्यमाञ्चलबाट उत्कृष्ट ठहरिएका थिए । बंगलादेशमा गत मार्च÷अप्रिलमा भएको आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका शक्तिप्रसाद गौचन पश्चिमाञ्चलबाट उत्कृष्ट चुनिए । ट्रायथलनका टीका थापा मध्यपश्चिमाञ्चलबाट उत्कृष्ट घोषित भए । उनले चीनमा भएको एसियाली कप ट्रायथलनमा पहिलो स्थान हात पारेका थिए । सुदूरपश्चिमाञ्चलबाट भलिबलकी सरस्वती चौधरी उत्कृष्ट बनिन् । उनले विभिन्न घरेलु प्रतियोगितामा आफ्नो टिम एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उत्कृष्ट पाँचैले प्रशंसापत्र र १० हजार एक रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।
उत्कृष्ट खेलाडीलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सभासद् नरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र सल्लाहकार टीआर भट्ट तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालले पुरस्कृत गरेका थिए । पुरस्कार सहिद दशरथ चन्द मेमोरियल ट्रष्टले स्थापना गरेको हो । ट्रष्टले अर्को वर्षदेखि पत्रकारलाई पनि पुरस्कृत गर्ने जनाएको छ ।

लागूपदार्थ रोकथाममा खेलकुदको भूमिका
नेपाल लागूपदार्थ तथा एड्सविरुद्ध खेलकुद महासङ्घ र युथ पावर नेपालले लागूपदार्थ रोकथाममा खेलकुद क्षेत्रको भूमिकाको विषयमा एकदिने कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को दशरथ समीक्षालयमा भएको कार्यक्रममा राखेप सदस्यसचिव युवराज लामा, विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति थियो । कार्यक्रममा सदस्यसचिव लामाले लागूपदार्थका सम्बन्धमा विद्यालय र परिवारमा चेतना जगाउने किसिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै यो समस्याको समाधानका लागि सामूहिक प्रयास जरुरी भएकोमा जोड दिएका थिए । उनले कसैको पनि परिवारका सदस्य लागूपदार्थको कुलतमा फसेको खण्डमा त्यसलाई नलुकाई खुला भएर समस्याको समाधानका लागि अगाडि बढ्नुपर्ने सो अवसरमा बताए । गृह मन्त्रालयका प्रतिनिधि ऋषि तिवारीले खेलकुद सबैको आकर्षणको केन्द्र भएकाले लागूऔषध नियन्त्रण गर्न खेलकुद क्षेत्र उपयोगी माध्यम सावित हुने धारणा व्यक्त गरे । अध्यक्ष ऋषिराज ओझाले विगतमा पनि महासङ्घले लागूपदार्थ रोकथामका विषयमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिएका थिए ।