माधव र केपीबीचका दश भिन्नता

माधव र केपीबीचका दश भिन्नता


special-articleसबै मानिस समान होइनन्, समान छैनन् र समान हुँदैनन्, तथापि मानिस हुनुको शोभा बढाउन भन्ने गरिन्छ, ‘सबै मानिस समान छन् ।’ हो, प्राणीका रूपमा सबै समान हुन् र मान्छे पनि प्राणी भएकोले उनीहरू समान छन् भन्नैपर्ने हुन्छ । मानिसलाई समान मान्न सकिने एउटा आधार प्राण हो, प्राण सबैमा हुन्छ । मान्छेको समानताको अर्को आधार शारीरिक अवयव हुन् । सबै मानिसँग एउटा टाउको, एक–एक जोडा आँखा, हात, गोडा, कान र नाक, मुख, छाती तथा पेटसहितको शरीर हुने गर्छ, यस अर्थमा सबै मानिस समान हुन् । अर्थात् शरीर र प्राण मानिसलाई समान ठान्न सकिने प्रमुख दुई आधार हुन् । यदि यी दुई तत्वलाई मात्र आधार मानेर हेर्ने हो भने धर्तीका सबै मान्छे समान छन् । यस अर्थमा माधव नेपाल र केपी ओलीमा पनि पूरापूर समानता छ भन्नुपर्ने हुन्छ । मान्छेमा विवेक, ज्ञान, सीप, कला, बुद्धि, विशिष्ट चरित्र, चातुर्य, योग्यता, क्षमता, दक्षता, इमानदारी, बेइमानी, लोभ, त्याग आदि–इत्यादि गुण–विशेषता हुन्छ र व्यक्तिपिच्छे उल्लिखित गुणको मात्रात्मक अन्तर रहन्छ भन्ने शाश्वत पक्षलाई स्वीकार गर्ने हो भने मानिस सबै समान हुन् या हुन्छन् भन्ने भनाइलाई सही मान्न सकिँदैन । यिनै गुण–विशेषताका आधारमा हेर्दा केपी ओली र माधव नेपालका बीचमा पनि असमानताका अनेक पक्ष झल्कन्छन् । नेकपा एमालेको अध्यक्ष बन्ने प्रतिस्पर्धामा उत्रनुभएका नेताहरू माधवकुमार नेपाल र केपी शर्मा ओलीका बीचमा समानताका कतिपय गुण, क्षमता र शिल्प भए पनि यहाँ उहाँहरूको समानताको नभई अन्तर उजागरको प्रयत्न गर्न खोजिएको छ ।
पृष्ठभूमि फरक भए पनि केपी र माधव एउटै दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रम अङ्गीकार गर्ने पार्टीको नेता हुनुहुन्छ । शारीरिक रूपमा माधव नेपाल, केपी ओलीभन्दा केही बढी स्वस्थ्य देखिनुहुन्छ, तर दुवै नेताहरूको मानसिक स्वास्थ्य परीक्षण गरियो भने परिणाम ठीक विपरीत पनि आउन सक्छ । प्रहरी, सेना या खेलजीवनसँग सम्बन्धित मानिसको जीवनमा शारीरिक स्वास्थ्यले प्राथमिकता पाउँछ र पाउनु पनि पर्छ, तर राजनीतिमा संलग्न मानिसका निम्ति मानसिक स्वास्थ्य पहिलो हो, हुनुपर्छ र मानिनुपर्छ । एमालेले पनि नेता चयन गर्ने क्रममा शारीरिकभन्दा मानसिक स्वास्थ्यलाई नै प्राथमिकता दिँदै आएको छ । त्यसैले माधव नेपाल र केपी ओलीभन्दा हट्टाकट्टा र ‘ह्याण्ड्सम’ भए पनि अध्यक्ष पदका निम्ति वामदेव गौतमलाई उपयुक्त मानिएको छैन, ओली र नेपालमध्ये एकलाई अध्यक्ष बनाउन एमालेका कार्यकर्ता कसरत गरिरहेका छन् । जवानी, शारीरिक स्फुर्ती र ह्याण्ड्सम हुनुलाई प्राथमिकतामा राखेर अध्यक्षको खोजी गरिएको भए महेश बस्नेतले सर्वाधिक अङ्क प्राप्त गर्न सम्भव थियो ।
सीपी मैनाली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओली, मनकुमार गौतम, नरेश खरेल, अमर अधिकारी, मङ्गल मर्दी सतार, भीष्म धिमाल र दुर्गा अधिकारीहरूले झापामा प्रस्तुत गरेको क्रान्तिकारिताको जगमा खडा भएको पुरानो माले हालको एमाले बन्न कैयौँले जीवन बलिदान दिएका थिए, यातना सहने र पसिना बगाउनेहरूको ताँती झनै लामो छ । झापामा केपी ओलीहरूले जिन्दगी दाउमा राखेर सङ्घर्ष सुरु गर्दा माधव नेपालजी नेपाल बैंकतिर जागिरको खोजी गर्दै हुनुहुन्थ्यो भन्ने भनाइ सत्य भए पनि एमालेलाई आजको अवस्थामा पु-याउन माधव नेपालको समेत उल्लेख्य योगदान रहेको तथ्य भुल्न सकिँदैन । मुकुन्द न्यौपाने, विद्या भण्डारी, प्रदीप नेपाल, अमृत बोहरा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, वामदेव गौतम, जीवराज आश्रित र झलनाथ खनालले पनि पार्टीको प्रभाव विस्तारमा अविष्मरणीय योगदान पु-याउनुभएको छ । एमालेलाई जनताबीच स्थापित गर्दै यसको आधुनिकीकरणका निम्ति मार्गदर्शन दिएर मदन भण्डारीले कहिल्यै चुक्ता हुन नसक्ने ऋणको भारी बोकाउनुभएको छ । तर, अहिले यहाँ एमालेको अध्यक्ष बन्ने स्पर्धामा केपी ओली र माधव नेपाल मात्र उत्रनुभएकोले दुई नेताबीचका गुणात्मक एवम् दोषात्मक अन्तरहरूको चर्चा गर्न खोजिएको छ ।
माधव नेपाल र केपी ओलीबीचको पहिलो भिन्नता पृष्ठभूमिको छ । युवावस्थामा उक्लनेबित्तिकै माधव नेपालले बैंकको कर्मचारी भएर निजी जीवन सुखी तुल्याउने यात्रा आरम्भ गर्नुभएको थियो । तर, केपी ओली भने समाज र राज्यसत्ता परिवर्तन गर्ने अभियानको अगुवाइ ठीक त्यही समयतिर गर्दै हुनुहुन्थ्यो । परिवर्तनका खातिर ओलीले चौध वर्षसम्म जेलको कठोर यातना व्यहोर्नुप-यो, सायद माधव नेपालजीले चौध दिन हिरासतमा बस्नुपरेन ।
केपी ओलीमा वैचारिक, राजनीतिक एवम् सैद्धान्तिक स्पष्टता अटुट देखिन्छ । विचार बनाउने, विचार दिने र विचारमा अडान कायम राख्ने सवालमा केपी ओली नेपाली राजनीतिमै प्रथम श्रेणीका नेता मानिनुहुन्छ । देश, राष्ट्रियता, राष्ट्रिय एकता, जनहित र प्रजातन्त्रका प्रश्नमा केपीका अभिव्यक्ति र अडान कालजयी बनेका छन् । जस्तोसुकै प्रतिकूल स्थितिमा पनि उहाँका मनमस्तिष्क र पैतालाहरू लरबराएका छैनन् । तर, यस मामिलामा माधव नेपालको स्थिति केही भिन्न देखिन्छ । सङ्गठन गर्ने र कार्य व्यवस्थापन गर्ने मामिलामा माधव नेपाल केपीभन्दा अगाडि रहेको महसुस एमालेका कार्यकर्ताले गरेका हुन् । विचार निर्माण र अडानको सवालमा भने माधव नेपाल कमजोर हुनुहुन्छ । आफूले शुभेच्छु ठानेका व्यक्तिहरूबाट माधवजी यति धेरै प्रभावित हुने गर्नुहुन्छ कि एकै दिन एउटै विषयमा सातजना शुभचिन्तकले एक–एक घन्टाका अन्तरमा सात अलग सुझाव–सल्लाह दिए भने माधव नेपालले सुझावबमोजिम सातै रूप देखाउनुहुन्छ । उहाँको आफ्नै मौलिक विचार हुने–बन्ने गर्दैन । कुनै ठोस विषयमा उहाँको ठोस र स्थीर धारणा पनि हुँदैन । त्यसैले पन्ध्र वर्षसम्म माधव नेपालले अकण्टक नेतृत्व दिनुभएपछि एमालेको पहिचान ‘लिङ्गभेद खुल्न बाँकी’ पार्टीको रूपमा बन्यो । कसैले दुई ठीक र कसैले चार ठीक भनी बहस गरेमा एमालेले के भन्छ भन्ने विषयमा नेपालका बच्चा–बच्चाले समेत अनुमान गर्न सक्ने परिस्थिति निर्माण हुनुमा माधव नेपालको मुख्य योगदान रहनेछ, अर्थात् एमालेले दुई या चार भन्ने छैन, उसले ‘तीन हुनुपर्छ’ भन्छ भनेर बालबालिकासमेत अनुमान गर्न सक्छन् । कतिपय समय–सन्दर्भमा एमाओवादीजत्तिकै क्रान्तिकारी देखिनुहुने उहाँ राजालाई दाम राखेर ढोगेको या प्रधानमन्त्री बनाइपाऊँ भनी नारायणहिटी राजदरबारमा बिन्तीपत्र हालेको घटना–सन्दर्भ सबैले बिर्सिदिए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ । केपी ओलीमा यसप्रकारको दोहोरो चरित्र अहिलेसम्म देख्न पाइएको छैन । त्यसैले केपी ओली अध्यक्ष बन्नुभएमा एमालेको पुरानो परिचय मेटिएर स्पष्ट विचार र अडानसहितको नयाँ परिचयमा एमाले प्रकट हुने विश्वास गर्न सकिन्छ ।
माधव नेपाल चाँडो ‘रियाक्ट’ गर्ने गर्नुहुन्छ । खासगरी आफ्नो र आफ्नो हित प्रतिकूल कसैले कुनै अभिव्यक्ति प्रकट ग-यो भने उहाँ सहने, धैर्य गर्ने या मौन बस्ने गर्नुहुन्न, तत्काल प्रतिक्रिया दिनुहुन्छ र आफूलाई सन्तुष्ट तुल्याउने प्रयास गर्नुहुन्छ । केपी ओली मान्छेका कुरा ध्यानपूर्वक सुन्नुहुन्छ/बुझ्नुहुन्छ र समय आएपछि प्रतिक्रिया व्यक्त गर्ने गर्नुहुन्छ । तत्काल प्रतिक्रिया दिनुप-यो भने पनि उहाँ अकाट्य तर्कसहित प्रस्तुत हुनुहुन्छ । ओलीजीले प्रतिक्रिया व्यक्त गरिसकेपछि त्यसको खण्डन–मण्डन गर्ने ताकत अर्को पक्षसँग रहने गरेको विरलै देखिन्छ ।
केपी ओली तार्किक र बौद्धिक हुनुहुन्छ, माधव नेपाल इमोसनल । त्यसैले माधवजीका अधिकांश अभिव्यक्ति उत्तेजनात्मक, क्षणिक र नकारात्मक हुने गर्दछन्, केपी ओलीका अभिव्यक्ति तिक्त र कटु भए पनि ती बौद्धिक र प्रभावकारी प्रकृतिका हुँदै आएका छन् ।
विषयको छनोट र प्रस्तुतिमा केपी ओलीका मौलिक शैली प्रभावी छन् । माधव नेपालको प्रस्तुतिमा लालित्यको अभावका कारण आकर्षणविहीनताको अधिकता महसुस गरिन्छ । प्रस्तुतिमा अब्बल भएकै कारण एमाले समर्थकहरूको घेराबाहिरका मानिस जो राजनीतिमा रुचि राख्दैनन्, तिनले समेत ध्यानपूर्वक ओलीलाई सुन्छन् । ‘ओलीको बोली’ सर्वप्रिय बन्नुको कारण उहाँको प्रस्तुतिमा रहेको सौन्दर्यलाई मान्न सकिन्छ ।
माधव नेपालमा एउटा विशिष्ट गुण छ, जुन केपी ओलीमा देख्न–पाउन सकिँदैन, त्यो हो– ‘पङ्च्युयालिटी ।’ माधव समयलाई पूराका पूरा ध्यान दिनुहुन्छ । कुनै कार्यक्रममा निर्धारित समयभन्दा पाँच मिनेट मात्र ढिला पुग्नुभयो भने पनि माधव नेपाल ढिलाइको सफाइ पेस गर्दै क्षमा याचना गर्नुहुन्छ । केपी ओली समयप्रति लापरबाह हुनुहुन्छ, उहाँलाई प्रमुख अतिथि नै बनाइएको कार्यक्रममा पनि एकाध घन्टा ढिलो हुँदा उहाँमा ग्लानिभाव हुँदैन, बरु सबैले आफ्नो यस ‘बाध्यता’लाई सहजै ग्रहण गरिदिऊन् भन्ने चाहना ओलीको हुने गर्दछ । कुनै भेटघाट या महत्वपूर्ण कुनै कार्यक्रममा केपी ओलीले समयमै सहभागिता जनाउनु उहाँलाई चिन्नेहरूका निम्ति विरलै घटना हो । समयप्रतिको सचेततामा माधव नेपाल केपी ओलीभन्दा अतुलनीय ढङ्गले अगाडि हुनुहुन्छ, सम्भवत: यो नै उहाँको सर्वाधिक सकारँत्मक पक्ष पनि हो ।
केपी ओली अधिनायकवादी विचार चिन्तनभन्दा धेरै टाढा र प्रजातान्त्रिक विचार मूल्य–मान्यतासँग अति निकट मानिनुहुन्छ । माओवादीको हिंसात्मक युद्ध सुरु भएपछि र शान्तिप्रक्रिया प्रारम्भ भएदेखि हालसम्म अतिवादका विरुद्ध केपी ओलीले जुन विचार–ऊर्जा निसृत गर्दै आउनुभयो, त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई जीवित राख्न महत्वपूर्ण योगदान पु-याएको मान्न सकिन्छ । तर, माधव नेपालको भूमिका ओलीको भन्दा ठ्याम्मै विपरीत अर्थात् ढुलमुले हुँदै आएको छ । माओवादी नेताहरूले राति भेटेर माधव नेपाललाई ‘सम्मान’ दिएको भोलिपल्ट उहाँका कुरा ठ्याम्मै प्रचण्डका जस्ता र कुनै खास अवस्थामा तिनै माधवका अभिव्यक्ति माओवादीप्रति विद्या भण्डारीकै स्तरमा कठोर हुने गर्दछन् । सधैँ बीचको बाटो रोजेर आफ्नो ‘स्पेस’ सुरक्षित गर्न रुचाउने माधव नेपालले हिंसा र अहिंसा, प्रजातन्त्र र अधिनायकवादबीचको लडाइँमा समेत बीचको बाटो रोजेर आफू आधी प्रजातन्त्रवादी र आधी शान्तिमार्गी भएको सङ्केत दिनुभएको छ । केपी ओली पूरै प्रजातन्त्रवादी र पूरै शान्तिमार्गी नेताका रूपमा स्थापित हुनुहुन्छ ।
केपी ओली आफ्नो स्वास्थ्यस्थिति, जिन्दगी र आयुका बारेमा जानकार हुनुहुन्छ । त्यसैले उहाँ पार्टीविशेषको नेता भएर पनि पार्टीभन्दा माथि उठ्ने चेत राख्नुहुन्छ । अबको जिन्दगी राष्ट्रका नाममा समर्पण गर्न ओली आतुर देखिनुहुन्छ । आफ्नै किड्नीसहित बाँचेका मान्छेमा लोभको मात्रा जति हुनसक्छ अर्काको किड्नीको भरमा बाँच्ने मान्छे त्यसको ठीक विपरीत लोभशून्य हुन्छन् । यसर्थमा केपी ओलीलाई लोभलालचरहित नेताका रूपमा बुझ्दा गल्ती हुनेछैन । केपी ओली अस्वस्थ भई अस्पताल भर्ना हुनुभएका बेला र त्यसको अघि–पछि माधव नेपालले प्रस्तुत गर्नुभएको व्यवहार तथा अभिव्यक्तिले उहाँ आफूलाई ‘अजम्बरी’ ठान्नुहुन्छ भन्ने दर्शाउँथ्यो । कहिल्यै नमर्ने मानिसका रूपमा माधव नेपालले गर्नुभएको जीवन्त अभिनयले उहाँको मानसिक स्तर, अमानवीय प्रवृत्ति तथा लालची भावको अनुभूति हरकोहीलाई गराएको बुझ्न सकिन्थ्यो । केपी ओली आफ्नो इच्छा र बाध्यता दुवैले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण प्रक्रियालाई विधिवत स्थापित गर्न चाहनुहुन्छ । घुमाइफिराइ परिस्थिति आफ्नो पक्षमा बनाउन माहिर मानिएका नेता माधव नेपाल अध्यक्ष बन्नुभएमा एमालेले नयाँ पुस्ताका नेता पाउन काङ्गे्रसमा रामचन्द्र पौडेलले भन्दा लामो प्रतीक्षा गर्नुप-यो भने आश्चर्य हुनेछैन ।
माधव नेपाल पार्टी प्रमुख हुँदा कुनै खास क्षमता देखाउन असमर्थ हुनुभयो र प्रधानमन्त्रीको भूमिकामा पनि उहाँलाई सफल मान्न सकिएन । मित्रघातका अनेक रेकर्ड बनाउनुभयो उहाँले प्रधानमन्त्री भएका बखत । मित्रराष्ट्र, मित्रपार्टी र पार्टीभित्रका आफ्ना खास सहयोगीलाई समेत धोका दिएर माधव नेपालले आफ्नो छट्टु चरित्रको परिचय दिनुभएको स्मरण अहिले पनि गरिँदै छ । प्रधानमन्त्री भएको अवस्थामा के गर्ने भन्ने विषयमा माधव नेपाल अनभिज्ञ र दृष्टिविहीनझैँ देखिनुभयो । उहाँको निर्णयक्षमता पनि अनपेक्षित रूपमा कमजोर रहेको महसुस गरिएको थियो । केपी ओलीमा देश निर्माणको भिजन भएको उहाँका अभिव्यक्तिहरूले दर्शाइरहेको छ र उहाँको निर्णयक्षमता पनि अब्बल मानिन्छ । त्यसैले देश र एमालेलाई जहाँको त्यहीँ कायम राख्ने हो एमालेले माधव नेपालको विकल्प खोज्नुहुन्न, सर्वत्र सकारात्मक परिवर्तनको चाहना एमालेभित्र छ यदि भने तत्कालका लागि केपी ओलीको विकल्प खोज्नु गम्भीर भूल हुनेछ ।