रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2बाबुको अधुरो चाहनाले पछ्याएपछि…
भनिन्छ, मरेर गएका व्यक्तिको अन्तिम इच्छा पूरा गरिदिएमा उसको आत्माले शान्ति पाउँछ । यही सोचबाट प्रेरित न्युयोर्ककी एक फोटोग्राफर महिलाले पनि दुई वर्षअघि क्यान्सरका कारण बितेका आफ्ना बाबुको चाहना पूरा गर्न यतिबेला देश–देशावरको यात्रा सुरु गरेकी छिन् । जिन्ना योङ नामक ती युवतीका पिता परिवार र छोरीलाई सुख–सुविधा दिलाउनकै लागि आफूलाई अत्यन्त मनपर्ने गल्फ खेलको सोखसमेत त्यागेर संसारका केही ठाउँमा घुम्ने इच्छा गर्दागर्दै रोगले थलिएर बित्न पुगेका थिए । यस कुराले दु:खी बनेकी जिन्ना यतिबेला आफ्ना मृत पिताको शरीर आकारकै कटआउट तस्बिरयुक्त कार्डबोर्ड साथमा लिएर त्यहाँ–त्यहाँ पुग्दै छिन् जहाँ–जहाँ उनका बाबु जीवनकालमा घुम्न चाहन्थे । यसरी आफू पुगेको स्थानमा पिताको कटआउटसहित उभिएर उनी तस्बिर खिचाउँछिन् र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरी मन हल्का तुल्याउँछिन् । यसरी यात्रा थाल्नुअघि पश्चात्तापले डिप्रेसनको सिकार बन्नुका साथै चिन्ताका कारण कपालसमेत झरेर तालुखुइले बन्न लागेकी जिन्ना बाबुको अधुरो चाहना पूरा गर्न आफ्नो पाँच वर्षदेखिको ‘रिलेसनसिप’लाई समेत लात मारेर हिँडेकी हुन् । बाबुको आत्मालाई सन्तुष्ट पारेको अनुभूति गर्दै यतिबेला जिन्ना आफूलाई निकै चङ्गा र चुस्तदुरुस्त महसुस गर्छिन् ।

मानिसको लामो आयुको रहस्य
अन्य जीवजन्तुको तुलनामा मानिसको आयु किन लामो हुन्छ ? यो एउटा जिज्ञासाकै विषय हो । वास्तवमा मानिसको शारीरिक वृद्धि अन्य प्राणीको तुलनामा ढिलो गरी हुन्छ भने अधिकांशतया स्तनपायी जीवभन्दा सुस्त या कम गतिमा क्यालोरी खर्च गर्ने मानिसको प्राकृतिक स्वभाव हुन्छ । यही कारणले नै मानिसको औसत आयु बढ्न पुगेको वैज्ञानिकहरूको ठहर छ । विश्वभरका वैज्ञानिकको एक समूह मानिस र अन्य स्तनपायी जीवको औसत आयुको भारी अन्तरको कारण पत्ता लगाउन शोधमा जुटेका थिए । उनीहरू उल्लेखित कारण नै आयु–अन्तरको कारकतत्व भएको निष्कर्षमा पुगे । बेलायती समाचारपत्र डेली मेलमा प्रकाशित रिपोर्टअनुसार मानिसको उमेर बिस्तारै–बिस्तारै बढ्छ र त्यही हिसाबले परिपक्व बन्दै जान्छ, तर स्तनपायी जीवका बच्चा तेज गतिमा प्रौढ हुन्छन् । यसको प्रमुख कारण नै क्यालोरी खर्च गर्ने रफ्तारको फरकपन हो । जस्तो कि दुई वर्षको कुकुर १८ देखि २५ वर्षको मानिसजत्तिकै प्रौढ बनेको हुन्छ । प्राचीन ऋषिमुनिहरू अत्यन्त कम र सात्विक आहार लिन्थे र धेरै वर्ष बाँच्दथे भन्ने कुरालाई वैज्ञानिकहरूको यस नयाँ शोधले पुष्टि गरिदिएको छ ।

हलिवुड फिल्ममा घुस्यो राजनीति !
उत्तर कोरियाका नेता ‘किम जोङ उन’माथि हलिउडमा एउटा फिल्म बनेको छ– ‘द इन्टरभ्यु’ । तर, रिलिज नहुँदै यस फिल्मको भविष्य भने धरापमा परेको छ । ‘द इन्टरभ्यु’ प्रदर्शन हुनु भनेको आफूमाथि युद्धको कारबाही गरिनुजत्तिकै हो भन्दै फिल्म रिलिज नगर्न उत्तर कोरियाले चेतावनी दिएको छ । अक्टोबरमा रिलिज हुन लागेको ‘द इन्टरभ्यु’मा ‘किम जोङ उन’को रूप–चरित्रसँग मेल खाने एक पात्र खडा गरिएको छ । हलिवुड अभिनेता जेम्स फ्रेङ्को र सेठ रोजन उक्त एक्सन–कमेडी फिल्मका प्रमुख अभिनेता रहेका छन् । फिल्ममा लडाइँको दृश्यमा उत्तर कोरियाकै ट्याङ्क, हेलिकोप्टर तथा परमाणु मिसाइल प्रक्षेपण दर्शाइएको छ भने किम जोङ उनको धज्जी उड्ने गरी पटकथा बुनिएको छ । सीआईएले किमको हत्या गर्ने जिम्मेवारी सुम्पिएकोजस्ता कथा पनि त्यसमा चित्रित छ । ‘आफ्नो शीर्ष नेतृत्वमाथि फिल्म बनाएर रिलिज गर्नु युद्धको खुला रूप भएकाले विल्कुल सहन सकिन्न’ भन्ने प्रतिक्रिया उत्तर कोरियाली अधिकारीहरूले दिएका छन् । ‘द इन्टरभ्यु’का निर्देशकमध्येका एक रोगेनले उक्त फिल्म मूलत: ‘किम जोङ इलको बारेमा बनाइन लागिएको, तर सन् २०११ मा इलको मृत्युपछि जब उनका छोरा ‘किम जोङ उन’ले सत्ता सम्हाले तब स्क्रिप्ट संशोधन गरी किम जोङ उनमाथि नै केन्द्रित गरिएको प्रस्टीकरण दिएका छन् ।

‘फ्याउरी–वेगम’ भेट्न ‘जु’मा घुइँचो
के यस्तो मान्छेको कल्पना गर्न सकिन्छ जसको शिर मानिसको र बाँकी शरीर फ्याउरोको जस्तो होस् ? यथार्थमा यस्तो होला भन्ने विश्वास गर्नै सकिन्न । तर, पाकिस्तानको कराँचीस्थित एक ‘जु’मा मुमताज वेगम नाम गरेकी यस्ती महिला देख्न पाइन्छ जसको शरीर फ्याउरोको छ भने शिर महिलाको । उनलाई मानिसहरू आधा फ्याउरी र आधा मानिसकै रूपमा चिन्दछन् । मुमताजको विशेषता यो छ कि उनी आफूसँग दिनहुँ भेट्न आउने सयौँ मानिससँग मज्जाले गफ गर्छिन् । यति मात्र नभई उनी मानिसको भविष्य बताउने काम पनि गर्छिन् । डेली मेलले प्रकाशित गरेको समाचारअनुसार यसरी शरीरको टाउकोमुनिको भाग फ्याउरोको जस्तै देखिने मुमताज वेगम वास्तवमा यस्तो खाटमा बसेकी हुन्छिन् जहाँ उनको टाउको मात्र देखिने व्यवस्था मिलाइएको हुन्छ । बाँकी शरीर बेडको मुन्तिर रहने सिस्टम मिलाइएको सो बेडमा उनको टाउकोको बगलमा फ्याउरोको छाला मोडेर एक नक्कली जनावर राखिएको हुन्छ । झट्ट हेर्दा महिलाको शिर भएको फ्याउरो बसिरहेकै देख्छन् दर्शकले । फ्याउरी–मनुवाले आफ्नो भविष्य बताएको सुन्न मानिसको भीड नै लाग्ने गरेको छ । देख्नेहरूले यो ट्रिक गरिएको मात्र हो भन्ने सजिलै चाल पाउँछन्, तै पनि उनलाई हेर्न र भविष्यबारे जान्न मानिसहरू उक्त जुमा पुग्ने गर्छन् । केही वर्षदेखि जारी रहेको आफ्नो यस धन्दामा मुमताज पनि रमाइरहेकी छिन् भने उनको यस कामका कारण जुको चर्चा पनि बढेको छ ।