‘विष’को आँसु पिउँदै नेपाली खेलकुद

‘विष’को आँसु पिउँदै नेपाली खेलकुद


sportविश्वकप फुटबलको माहौलमा अहिले विश्व नै चुर्लम्म डुबेको छ । फुटबलको आनन्दमा विश्व यसरी डुबेको छ कि अन्य कुरा सबै गौण बनेका छन् । फुटबलको यो महाकुम्भले विश्वको ध्यानाकर्षण गर्दै खेलकुदको वातावरणलाई नै निकै रोचक र रोमाञ्चक बनाइदिएको छ । जसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेलकुदका पारखीहरूले ग्रहण गरिरहेका छन् । परीहरूको समीपमा स्वर्गका राजा इन्द्रले सोमरसको आनन्द लिएझैँ खेलकुदप्रेमीले पनि यसको लुफ्त उठाइरहेका छन् ।
जुन उनीहरूलाई स्वर्णीम आनन्दभन्दा कम लागेको छैन । तर, विडम्बना यसैबेला नेपाली खेलकुद जगत्मा काला बादल मडारिँदा खेलकुदको अस्तित्व नै सङ्कटमा परेको छ । राजनीतिक शक्तिको दुरुपयोग, खेलकुदप्रतिको अनविज्ञता र स्वार्थसिद्धका कारण खेलकुदको अस्मिता दाउमा लागेको छ । जसलाई लिलाम गर्न अहिले हरेक किसिमका हतकण्डा मच्चाइएको छ । जुन आफँैमा लाजमर्दो र सर्मनाक कार्यको रूपमा आमखेलपे्रमीको मानसपटलमा प्रतिविम्बित भइरहेको छ । र पनि, खेलकुदमा नाङ्गो नाच देखाउनेले आफ्नो हर्कतलाई निरन्तरता दिँदा खेलकुद नै नाङ्गिने अवस्थामा पुगेको छ । जुन अहिले नेपाली खेलकुदका लागि निकै पीडादायी बन्दै गएको छ ।
जुँगाको लडाइँमा पिसिँदै गएको नेपाली खेलकुद अहिले अभिभावक भएर पनि ‘टुहुरो’ बनेको छ । अभिभावक आफ्नो उत्तरदायित्वबाट पन्छिँदा र खेलकुदमा अराजकता फैलाउने मानसिकता बोक्दा खेलकुद दलदलमा भासिनेक्रम जारी रहेको छ । यसको उद्धारका लागि सर्वोच्च अदालतमा अपिल गरिए पनि शक्तिका अगाडि सत्य पनि डगमाएको अवस्थामा छ । खेलकुदलाई किनारमा ल्याउन निकासका लागि प्रयत्नशील गरिएको देखिए पनि त्यसले आफ्नो छवि र भूमिकालाई प्रस्ट पार्न सकेको छैन । तसर्थ अहिले खेलकुदको प्रतिष्ठा बजारमा बेच्न राखिएकी एक स्त्रीको झैँ बन्न पुगेको छ । जुन अहिले खेलकुदका लागि दुर्भाग्य बनेको छ । डडेलोझैँ सल्किएको र फैलिएका यी घटनाले नेपालको खेलकुदको छविलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा धुमल्याउन निकै मद्दत गरेको छ । र पनि, खेलकुदको वागडोर आफ्नो हातमा लिनेहरूले यसप्रति अनदेखी र अनसुनी गर्दा समस्या अझ जटिल बन्दै गएको छ । खेलकुदको ‘आऊ बचाऊ’ भन्ने चिच्याहडले डाँडाकाँडा, खोलानाला गुन्जिए पनि सम्बन्धित निकाय आफ्नै धुनमा मग्न रमिते बनेको छ, कानमा तेल हालेर बसेको छ । आफ्नै स्वार्थको विगुल फुकेर उल्टै खेलकुदलाई बलात्कारमाथि बलात्कार गर्दै आएको छ । खेलकुदमा अन्याय, अत्याचार, थिचोमिचो, गैरकानुनी कार्य र अराजकता फैलाउनमा कुनै कसर बाँकी राखेको छैन । यसरी संसार विश्वकप फुटबलको रमझममा रमाए पनि नेपाली खेलकुदचाहिँ ‘विष’को आँसु पिउन बाध्य भएको छ ।
विगतमा राजसंस्थाबाट संरक्षित खेलकुद ०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि राजनीतिक दलको ‘पेवा’ बन्न पुगेको कसैबाट छिपेको छैन । साँचो अर्थमा भन्नुपर्दा त्यसबेलादेखि राजनीतिक भागबन्डाको सिकार बन्न पुगेको खेलकुदले अहिलेसम्म राजनीतिक हस्तक्षेपको जाँतोमा नराम्रोसँग पिल्सिँदै आएको छ । काङ्ग्रेस, एमाले, राप्रपा, मधेसवादी र एमाओवादीले खेलकुदको मर्म र वास्तविकतालाई आत्मसात् गर्नुको साटो कार्यकर्ताको भर्तीकेन्द्रको रूपमा खेलकुदलाई प्रयोग गर्दा खेलकुद अधोगतितर्फ उन्मुख भएको छ । यदि भविष्यमा पनि यस्तै अवस्था रहने हो भने खेलकुद एकादेशको कथामा परिणत हुने प्रायः निश्चित छ । प्रजातान्त्रिक शक्तिको उदयसँगै खेलकुदमा आमूल परिवर्तन हुने विश्वास गरिए पनि अहिले त्यसमा तुषारापात भएको छ । खेलकुदलाई मागिखाने भाँडो बनाउनेहरूले राजनीतिक शक्तिको आडमा बन्दुक चलाउँदा खेलकुदको अस्मिता छिन्नभिन्न भएको अवस्था छ । रोम सहर जलिरहँदा त्यहाँका शासक मुन्रोले बाँसुरी बजाएर बसेझैं खेलकुदको दुर्दशा पनि यस्तै भएको छ । राखेपका अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल समाधानको बाटो पहिल्याउनको साटो उल्टै खेलकुदमा लागेको यो डढेलोमा घ्यू थप्ने कार्य गरिरहेका छन् भने खेलकुदका संरक्षक तथा प्रधानमन्त्री सुशील कोइरालाले मौनधारण गरेका छन् । तसर्थ खेलकुद दिन प्रतिदिन बूढो रंगशालाजस्तै जीर्ण बन्दै गएको छ ।
अहिले खेलकुदको वास्तविकतालाई चित्रमा उतार्दा अस्पष्टता र उदेकलाग्दो देखिन्छ । खेलकुदमन्त्री पौडेलले राजनीतिक शक्तिको आडमा नियम–कानुनमाथि खेलवाड गर्दै गैरकानुनी कार्य गरेको मूर्त र अमूर्त चित्र कोर्न सकिन्छ । खेलकुदलाई राजनीतिक अखडा बनाउँदै भाँडभैलो मच्चाउन लागेको सजीव चित्र उतार्न सकिन्छ । अझै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई गैरकानुनी पत्र थमाउँदै अदालततर्फ दौडाउँदैमा व्यस्त रहेको कार्टुन पनि कोर्न सकिन्छ । अर्को महŒवपूर्ण कुरा मन्त्री पौडेलले समाधानको मार्गलाई भन्दा अराजकताको मार्गलाई चुनेको प्रस्ट रूपमा देख्न सकिन्छ । तसर्थ समग्र खेलकुदको विकासको जिम्मेवारी लिएको व्यक्तिको सकारात्मक पहल कतै देखिन्न । न त मन्त्री पौडेलले खेलकुदका संरक्षक प्रधानमन्त्रीलाई नै खेलकुदको वास्तविकताको बोध गराएको देखिन्छ । यसरी सोझै अनुमान लगाउन सकिन्छ मन्त्री पौडेल खेलकुदमा अमनचयन र विकासको साटो अराजकता चाहन्छन् । यदि त्यसो हुँदैनथ्यो भने पौडेल किन एकपछि अर्को गैरकानुनी कार्य गरेर खेलकुदको हुर्मत लिने कार्य गरिरहेका छन् त प्रश्न गम्भीर बनेको छ ।
वर्तमान अवस्थामा खेलकुदको प्रतिष्ठा दाउमा लागेको छ । नेपाल ओलम्पिक कमिटीपछि नेपाल क्रिकेट सङ्घ र अखिल नेपाल फुटबल सङ्घ विवादमा तानिएका छन् । ती सङ्घहरूमाथि शुद्धीकरणका लागि अख्तियार र अदालतमा मुद्दा परेको अवस्था छ । साँचो अर्थमा भन्नुपर्दा अख्तियारले क्रिकेट सङ्घविरुद्ध विशेष अदालतमा मुद्दा चलाउँदा क्रिकेटको घरै भत्किएको छ । राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा निकै माइलेज पाएको क्रिकेटको यस्तो दुर्दशा हुँदा अब क्रिकेटको घर कहिले बन्ने हो त्यसको अत्तोपत्तो छैन । अझ क्रिकेटलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्ने समाचारले क्रिकेटको साख जमिनमुनि नधसिएला भन्न सकिन्न । त्यस्तै हालत फुटबल सङ्घको पनि देखिएको छ । एन्फा अध्यक्ष थापाले तानाशाही रूपमा सङ्घ हाँकेको, अपारदर्शितालाई आत्मसात् गरेको, लाखौँ विदेशी मुद्राको अपचलन गरेको र खेलाडी र प्रशिक्षकको रकम खाएको गम्भीर आरोप लगाउँदै एन्फाकै एक गुट थापामाथि खनिँदै अख्तियार, अदालत र सम्बन्धित निकायको ढोका ढकढक्याउन पुगिसकेको छ । त्यस्तै नेपाल बास्केट बल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाका विरुद्धमा पनि बास्केट बलको सामान खरिद गर्दा लाखौँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारमा मुद्दा दायर भइसकेको छ । यस्तो जटिल अवस्थामा सङ्घलाई निकास र राहत प्रदान गर्ने निकाय राखेपका सदस्यसचिवलाई अदालत पु¥याएर मन्त्री पौडेलले खेलकुदको हुर्मत लिने कार्य गरेका छन् । जसले गर्दा खेलकुद अहिले गफ गर्ने हँसिमजाक गर्ने र एक अर्कोको उछितो काढ्ने स्थलको रूपमा परिणत भएको छ । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै गैरजिम्मेवारी छनक देखाएका मन्त्री पौडेलले अब खेलकुदलाई कुन भुमरीमा फसाउने त्यो प्रतीक्षाको विषय बनेको छ ।

दसाग्रस्त खेलकुद †
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले अहिले नेपाली खेलकुदलाई दसा लागेको बताएका छन् । लामाले मानिसलाई दसा लाग्यो भने मुद्दा लाग्ने बताउँदै विगत एक महिनामा मुद्दाको असर कस्तो हुँदो रहेछ त्यसको ठूलो पाठ आफूले सिकेको बताएका छन् । तसर्थ लामाले भने– मानिसले सबै खेल खेल्नु मुद्दाचाहिँ नखेल्नु । लामाले अहिले खेलकुदमा भित्रिएको मुद्दाले खेलकुदको मेरुडण्डलाई प्रभावित पारेको प्रस्ट पार्दै मुद्दा कसैको लागि पनि स्वस्थकर नहुने बताएका छन् ।
वर्तमान अवस्थामा खेलकुदले हरेक किसिमका मुद्दासँग भिडन्त र सामना गर्नु परिरहेको वास्तविकतालाई उजागार गर्दै आफूले युवा तथा खेलकुदमन्त्री पौडेलले गैरकानुनी निर्णय गर्दा मुद्दा खेपिरहेको लामाले बताएका छन् । यसको प्रत्यक्ष असर खेलकुदको विकास र विस्तारमा पर्दा राखेपमा दैनिक कार्यबाहेक खेलकुदमा नीतिगत र दीर्घकालीन असर पर्ने निर्णय गर्नबाट वञ्चित रहनुपरेको खुलासा गरेका छन् । साथै लामाले मन्त्री पौडेलले खेलकुदलाई अनिर्णयको बन्दीबाट मुक्त गर्न राजनीतिक कानुनी मार्ग अवलम्बन गरे अहिले पनि समय छ, आफू सहयोग गर्न तयार रहेको बताएका छन् । लामाले राम्रो काम गर्न कहिल्यै ढिलो हँुदैन भन्दै खेलकुदको विकासका लागि आफू सहकार्य गरेर अगाडि बढ्न तयार रहेको जानकारी गराएका छन् । अर्को कुरा यसबाट राखेपका कर्मचारीलाई हतास नहुन र कसैको दबाब र भ्रममा नपरी कार्यसञ्चालन अघि बढाउन अनुरोधसमेत गरेका छन् ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल क्रिकेट सङ्घ र अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीलाई अदालतमा मुद्दा र नेपाल बास्केटवल सङ्घमाथि छानबिन सुरु गरेको बताएका छन् । अख्तियारले यी सङ्घको छानबिनका लागि राखेपलाई पत्राचार गरे पनि राखेपले युवा तथा खेलकुद मन्त्रालय र अख्तियारलाई छानबिन गर्न पत्राचार गरेको लामाले खुलासा गरेका छन् । त्यस्तै लामाले नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष टेन्डी लामा र अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठको कमिटीलाई मन्त्रालय र अख्तियारमा छानबिनका लागि पत्राचार गरे पनि एनओसीका पदाधिकारीद्वय प्रधान र श्रेष्ठलाई अख्तियारले भ्रष्टाचारसम्बन्धी छानबिन अगाडि बढाएको बताएका छन् ।
त्यस्तै अखिल नेपाल फुटबल सङ्घ डलर कान्ड, आर्थिक अनियमितता र अपारदर्शिताले गर्दा विवादमा परेको लामाले उल्लेख गरेका छन् । खेलकुदका चर्चित र ठूला सङ्घहरू (क्रिकेट र फुटबल) अख्तियार र छानबिनको चपेटा पर्नु निकै दुःखदायी घटना भएको बताउँदै लामाले कुनै सङ्घ कानुनभन्दा माथि हुन नसक्ने प्रस्ट पारेका छन् । कानुनी राज्यमा कानुनको पालना सबैले गर्नुपर्ने र नियम कानुनसम्मत नचले कारबाहीको भागीदार बन्नुपर्ने अहिले घटनाले पुष्टि पारेको लामाले बताएका छन् । लामाले यी घटनाले खेलकुदको स्वस्थ वातावरणलाई दूषित पारेको र खेलकुदलाई अन्योलतर्फ धकेलेको प्रस्ट पारेका छन् । ‘जे हुन्छ राम्रोकै लागि हुन्छ’ भन्दै लामाले खेलकुदको शुद्धीकरणका लागि यो विभिन्न पाटो बन्ने धारणा राखेका छन् ।

खेल समाचार

विश्व पारामा भाग्यमानी यादवलाई रजत
रुसको मस्कोमा सम्पन्न पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा यादव कुँवरले रजत पदक जितेका छन् । जुन १९ र २० सम्म भएको प्रतियोगितामा यादवले पुरुष ६१ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । यादव पहिलो चरणमा बाई पाएर सीधै फाइनल पुगेका थिए । फाइनलमा यादव रुसका लियोन सिज्बासँग ९–२ को पराकिलो अन्तरले पराजित भएका थिए । यति फराकिलो अन्तरले पराजित हुँदासमेत अर्थात् एउटै खेल पनि नजिती भाग्यमानी यादवले रजत पदक प्राप्त गर्न सफल भएका थिए । यादवले स्विट्जरल्यान्डको लुसेनमा २०१३ को जुनमै भएको चौथो संस्करणमा पनि सहभागिता जनाएका थिए । उनले ब्राजिलका खेलाडीलाई हराउँदै कास्य जितेका थिए । त्यसबेला उनले ६८ केजीमुनि खेलेका थिए । साथै उनले ‘फाइटिङ स्पिरिट’ पुरस्कारसमेत पाएका थिए

विश्व च्याम्पियनसिपमा साइक्लिङ टोली
दक्षिण अफ्रिकाको पिटरमाटिजबर्गमा हुने २०१४ यूसीआई माउन्टेन बाइक म्याराथन विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई हालै बिदाइ गरिएको छ । जुन २९ मा हुने च्याम्पियनसिपमा नेपालका चार साइक्लिस्टले भाग लिनेछन् । अजय पण्डित क्षेत्री, नारायणगोपाल महर्जन, राजकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङले नेपालको प्रतिनिधित्व गर्नेछन् । यी चारैजना गत वर्ष मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा सहभागी भई छनोट भएका खेलाडी हुन् । नेपाली खेलाडी विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेको यो दोस्रोपल्ट हो । यसअघि फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडी निर्जला ताम्राकारले सहभागिता जनाएकी थिइन् ।
नेपाली प्रशिक्षक अजयनरसिंह राणाले खेलाडीलाई प्रशिक्षण दिएका थिए । साथै विदेशी सहयोगी प्रशिक्षक टन इभरसले इन्टरनेटमार्फत प्रशिक्षण दिएको नेपाल साइक्लिङ सङ्घका अध्यक्ष छिमी उर्केन गुरुङले जनाएका छन् । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई लाग्ने हवाई भाडा, बसोबास तथा खाना, तालिमका सामग्री, डाइट आदिका लागि रे कोइल, याक अट्याक इन्टरनेसनल, टम इभरस, हिमालयन सिंगल ट्रयाक कम्पनी, साइक्लिस्ट टेलोर म्याक म्याथनलगायतले सहयोग गरेको सङ्घले जनाएको छ । टोलीलाई सङ्घका अध्यक्ष गुरुङले बिदाइ गर्दै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

विश्वकप गतिविधि

कार्लाेसको राजगद्दी त्यागसँगै स्पेन बाहिरियो
स्पेनको हारसँग एउटा संयोग जोडिएको छ । जुन दिन विश्व च्याम्पियन स्पेन विश्वकप २०१४ बाट लज्जास्पद हार व्यहोर्दै बाहिरियो । त्यही दिन सम्राट जुआन कार्लाेसले पनि आफ्नो गद्दी औपचारिक रूपमा छोडेका थिए । आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ५–१ ले पराजित भएको स्पेनलाई दोस्रो खेलमा चिलीले २–० ले पराजित गरेको थियो । सो हारसँगै स्पेन विश्वकपको नकाउट चरणको होडबाट बाहिरिएको थियो । त्यही दिन सम्राट कार्लाेसले गद्दी छोड्ने काजगपत्रमा हस्ताक्षर गरे र गद्दी आफ्नो छोरो फिलिप छैटौँलाई दिने घोषणा गरेका थिए । फिलिपको गत शुक्रबार राज्याभिषेक भएको थियो ।
स्पेनका समाचारपत्रले टिमको सर्मनाक पराजयलाई महŒव दिएनन् । अधिकांश अखबारको मुख्य पृष्ठमा नयाँ राजा फिलिप छाएका थिए । देशका प्रमुख अखबार अल पाएसले स्पेनको फुटबल टिम शाही बिदाइको हकदार थियो, तर उसको अभियान निराशाजनक रूपमा समाप्त भयो । स्पेनको टिमले ६ वर्षसम्म फुटबलको दुनियाँमा एक छत्र राज गरेको थियो । यसै दौरान स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै २००८ र २०१२ मा युरो कप र २०१० मा विश्वकप जितेको थियो । तर, टिमका शाहीपन अब सकिएको छ । उनीहरू उचाइबाट एकैपल्ट पछारिएर पुछारमा पुगिसकेको अवस्था छ ।
स्पेनको हार सोसल मिडियामा पनि छाएको छ । ब्राजिलका लेखक तथा कलाकारले स्पेनको मजाक उडाएका छन् । ब्राजिलका प्रसिद्ध कलाकार केटानो बेलोसाले लेखेका छन्, ‘चिलीको जोडदार स्वागत गरौँ जसले भर्खरै माराकानामा २०१४ को विश्वकप जितेको छ ।’ कमेडियन हेनरी कस्टलीले ट्विटरमा लेखे, ‘चिलिले स्पेनकालाई भर्खरै जुन चकलेट दियो त्यो निकै राम्रो थियो । रियो दि जेनेरियोमा म्याड्रिडको उडानमा २२ जनालाई विशेष छुट दिएको छ । कतिपय हस्तीले हारपछि पनि स्पेनको तारिफ गरेका छन् । स्पेनका गायक अलेजान्द्रो सेन्जलले आफ्नो टिमलाई हौसला बढाउँदै भने– हार–जित हुन्छ । म टिमप्रति कृतज्ञता प्रस्तुत गर्छु, किनकि हाम्रो टिमले केही क्षण भए पनि खुसी दियो ।

रेफ्रीलाई प्रतिबन्ध
फिफाले कोलम्बियाका सहायक रेफ्री हुन्बर्टे क्लाभिजोलाई विश्वकपको दौरान गलत निर्णय गरेको भन्दै निलम्बित गरेको छ । १३ जुनमा अरेना डास डुनासमा मेक्सिको र क्यामरुनबीचको खेलमा उनले गलत निर्णय लिएको आरोप लगाइएको छ । रेफ्रीले मध्यान्तरअघिसम्म जियाभानी डोस सान्तोसद्वारा मेक्सिकोका लागि गरेको २ गोल दिएका थिएनन् । तथापि, मेक्सिकोले सो खेल १–० ले जित्न सफल भएको थियो । फिफाले भनेको छ, ‘क्लाभिजोको स्थानमा इक्वेडरका क्रिस्टियन लेसानो आउनेछन् ।’ फिफाले २२ जुनमा हुने दुई म्याचका लागि रेफ्रीको घोषणासमेत गरेको थियो । गु्रप ‘जी’मा अमेरिका र पोर्चुगलबीच हुने स्पर्धामा अर्जेन्टिनाका नेस्टर पिटानाले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । रुस र बेल्जियमबीचको खेलमा जर्मनीका फेलिक्स ब्रिक म्याच रेफ्री रहेका थिए ।

विश्वकपमा सर्वाधिक गोल गर्ने सूचीमा क्लोज
मिरोस्लाभ क्लोजले फिफा विश्वकप २०१४ को समूह ‘जी’को खेलमा घानाविरुद्ध ७१औँ मिनेटमा आफ्नो टिमका लागि गोल गरे । ३६ वर्षीय क्लोज सो गोलसँगै नयाँ रेकर्ड राख्न सफल भएका छन् । उनले विश्वकपको इतिहासमा १५ गोल पूरा गरेका छन् । उनी विश्वकपमा ब्राजिलका रोनाल्डोसँगै सर्वाधिक गोल गर्ने सूचीमा आफूलाई राख्न सफल भएका छन् । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । क्लोजका लागि भने गोल थप्ने अवसर कायम छ । त्यसैले रोनाल्डोको रेकर्ड तोड्दै नयाँ रेकर्ड आफ्नो नाममा लेखाउने अवसर क्लोजलाई खुला भएको छ । रोनाल्डोले उनको सफलताका लागि ट्विटर गरेर बधाई दिएका थिए । उनले लेखेका छन्, ‘क्लबमा स्वागत छ क्लोज । मलाई थाहा छ, तिमी कति खुसी छौ भनेर ।’ क्लोज चार विश्वकपमा गोल गर्ने तेस्रा खेलाडी हुन् । यसअघि ब्राजिलका महान् खेलाडी पेले र जर्मनीका उवे सिलरले चार विश्वकपमा गोल गरेका थिए ।
क्लोजले रोनाल्डोको नाममा रहेको सर्वाधिक गोलको रेकर्डलाई चुम्दा अर्काे संयोग पनि बनेको छ । रोनाल्डोले पनि आफ्नो विश्वकप करियरको १५औँ गोल घानाविरुद्ध नै गरेका थिए । क्लोजले १५ गोलको रेकर्ड चुमेपछि ट्विट गरे, ‘विश्वकपको २० म्याचमा १५ गोल खराब रेकर्ड होइन । म मेरो सफलतामा खुसी छु, तर मेरो नजरमा रोनाल्डो उत्कृष्ट खेलाडी हुन् ।’ क्लोज मैदानमा ६९औँ मिनेटमा अतिरिक्त खेलाडीका रूपमा उत्रिएका थिए । मैदान छिरेको दुई मिनेटभित्र नै उनले टिमका लागि दोस्रो गोल गरेका थिए ।

पेले कता गए
ब्राजिलमा विश्वकपको २०औँ संस्करण भइरहेको छ । त्यसमा लेजेन्ड पेलेको चर्चा नहुने कुरै भएन । तर, ब्राजिलका विभिन्न सहरहरूमा फुटबल भइरहेको छ । ब्राजिलका सहरहरू फुटबलमय भइरहेको समयमा पेल भने गायव भएका छन् । यो सबैका लागि आश्चर्यको कुरा भएको छ । विश्वकपअघि विश्वकपको आधिकारिक गीतसमेत मन नपरेको भन्दै छुट्टै गीतसमेत पेलेले बनाएका थिए । साओपाउलोमा भएको ओपनिङमा ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेपसँगै अन्य लिजेन्ट खेलाडीको उपस्थिति थियो, तर पेलेलाई क्यामेराले भेट्टाएनन् । जब कि पेले साओपाउलोको स्टेडियमनजिकै बस्थे । तर पनि उनी स्टेडियममा देखा परेनन् । ७३ वर्षीय पेले विश्वकपको बीचबीचमा हाफटाइममा आउने विभिन्न उत्पादनको विज्ञापनका देखिएका छन् ।
१३ जुलाईमा रियो दि जेनेरियोमा हुने फाइनलपछि विश्वविजेतालाई दिइने ट्रफी पेलेले नदिई ब्राजिलकी एक चर्चित मोडेलले दिन लागेको कुराले पनि उनलाई स्टेडियमसम्म तान्न नसकेको हुनसक्छ । उनलाई एथलिट अफ दि सेन्चुरी घोषणा गरिएको छ, तर विश्वकप घरमै भइरहँदा त्यसको ट्रफी भने एक सुपर मोडेललाई दिन लगाइन्छ भन्दा दुःखद हो । कतिपयले कन्फेडेरेसन कपको दौरान आन्दोलनकारीले विरोध गर्दा उनले तिखो बोलेका कारण पनि उनी यतिबेला स्टेडियममा देखा नपरेको हुनसक्ने अनुमानसमेत लगाइएको छ ।
आन्दोलनकारीको प्रदर्शनको आलोचना गरेका कारण उनीसँग समर्थकको नाता तोडिएका कारण उनलाई ब्राजिलमा गएको दिनका स्टार मान्न थालिएको बताइन्छ । यदि ब्राजिल अगाडि बढ्दै गएको खण्डमा उनी स्टेडियममा उपस्थित भएर आफ्नो टिमको हौसला बढाउनेमा विश्वास गरिएको छ ।

व्यावहारिक शिक्षा नै ‘जिलेट’को प्रतिबद्धता
०५१ मा जिलेट स्कुलको नामबाट स्थापना भएको जिलेट उच्च माध्यमिक विद्यालय तथा कलेजले ०५५ मा पहिलोपटक आफ्ना विद्यार्थीलाई प्रवेशिका परीक्षा (एसएलसी)मा सामेल गराई त्यसयता निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । शैक्षिक सत्र ०५८/५९ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिई ११ र १२ को कक्षा सञ्चालन गर्दै आएको यस उच्च माध्यमिक विद्यालय तथा कलेजले स्थापनाकालदेखि नै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी गरी तीन सङ्कायको अध्यापन गराउँदै आएको छ । ०६४ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा व्यवस्थापन सङ्कायमा बीबीएसको अध्यापन गराउँदै आएको जिलेट उच्च माध्यमिक विद्यालय तथा कलेजले स्थापनाकालदेखि नै ‘गुणस्तरीय शिक्षामा प्रतिबद्घता’ भन्ने ध्येयलाई आत्मसात् गर्दै दक्ष एवम् अनुभवी प्राध्यापकद्वारा अध्यापन गराउँदै आएको छ । उक्त कलेजका संस्थापक निर्देशक नेत्र सुब्बा पयाङ्गुसँग गरिएको कुराकानी ः
० जिलेट उच्च माध्यमिक विद्यालयको यस वर्षको प्रवेशिका परीक्षाको नतिजा कस्तो रह्यो ?
– शिक्षकको अथक प्रयास र विद्यार्थीको व्यापक तयारी तथा कठिन मिहिनेतको प्रतिफलस्वरूप विगतको झैँ केही विशिष्ट श्रेणीसहित शतप्रतिशत प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गराउन सफल रह्यौँ ।
० जिलेट कलेजको पृष्ठभूमिबारे केही प्रकाश पारिदिनुस् न ?
– ०५१ मा जिलेट स्कुलको नामबाट स्थापना भएको यस उच्च माध्यमिक विद्यालयले ०५५ मा पहिलोपटक प्रवेशिका परीक्षामा सामेल भई उत्कृष्ट नतिजा ल्याउन सफल भएका थियौँ । शैक्षिक सत्र ०५८/५९ मा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिई कक्षा ११ र १२ सञ्चालन गर्दै आएका छौँ । स्थापनाकालदेखि नै यस उच्च माध्यमिक विद्यालयले विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा अध्यापन गराउँदै आएको छ । यस कलेजले ०६४ मा त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा व्यवस्थापन सङ्कायमा बीबीएसको अध्यापन गराउँदै आएका छौँ । स्थापनाकालदेखि नै दक्ष एवम् अनुभवी प्राध्यापकद्वारा अध्यापन गराउँदै आएको यस कलेजले एक विशिष्ट छाप छोडेको हामीले महसुस गरेका छौँ ।
० हाल यस कलेजमा सञ्चालित शैक्षिक कार्यक्रमहरू के–के छन् नि ?
– स्थापनाकालदेखि नै हामीले उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन लिई १०+२ अन्तर्गत विज्ञान सङ्कायमा फिजिक्स, केमेस्ट्री, बायोलोजी, कम्प्युटर, म्याथम्याटिक र अङ्ग्रेजी, त्यस्तै व्यवस्थापन सङ्कायअन्तर्गत होटल व्यवस्थापन, कम्प्युटर साइन्स, ट्राभल एन्ड टुरिजम, मार्केटिङ, बिजनेस स्टडिज र मानविकीतर्फ सोसोलोजी, मासकम्युनिकेसन एन्ड जर्नालिज्म, रुरल डेभलपमेन्ट, अङ्ग्रेजी, नेपाली, म्याथम्याटिक आदि विषय अध्यापन गराउँदै आएका छौँ । यसैगरी, ०६४ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा व्यवस्थापन सङ्कायमा बीबीएसको अध्यापन पनि यस कलेजबाट गराइँदै आएको छ ।
० कलेजबाट उपलब्ध हुने विशेष सेवा–सुविधा पनि छन् कि ?
– हाम्रा विद्यार्थी, उनीहरूका अभिभावक र हाम्रा शुभचिन्तकहरूलाई आफ्नो प्रभावमा पार्न सक्नु नै जिलेट कलेजको स्थापनाकालदेखि आजको अवस्थामा आइपुग्नुको मुख्य कारण हो भन्ने हामीले ठानेका छौँ । त्यसका लागि हामीले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नतुल्याई आन्तरिक तथा बाह्य तवरमा अन्तरस्कुल, १०+२ र कलेजस्तरीय प्रतियोगिता एवम् विभिन्न अतिरिक्त क्रियाकलाप निरन्तर सञ्चालन गर्दै आएका छौँ । विद्यार्थीको सर्वाङ्गीण विकासलाई हामी प्राथमिकता दिन्छौँ । होटल म्यानेजमेन्टको कुनै स्टार होटलमा, मास कम्युनिकेसनको रेडियो स्टुडियोमा, सोसियोलोजीको गाउँ–समाजमै लगेर विद्यार्थीलाई प्राक्टिकल गराइन्छ । त्यस्तै, हाम्रोमा आफ्नै यातायात, सुविधासम्पन्न होस्टल, सम्पूर्ण आवश्यक पाठ्यपुस्तकसहितको पुस्तकालय, विषयअनुरूपका सुविधासम्पन्न ल्याब, स्वच्छ खाना खुवाउने क्यान्टिनको व्यवस्था हामीले स्थापनाकालदेखि नै गरेका छौँ । हाम्रोमा सबैभन्दा ठूलो सेवा भनौँ या सुविधा– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत राम्रो दखल भएका दक्ष एवम् अनुभवी प्राध्यापकद्वारा अध्यापन गराउँदै आएका छौँ र अनुशासनबिना सफल हुन सकिँदैन भन्ने बुझाउँदै विद्यार्थीलाई अनुशासनमा राख्न सफल भएका छौँ ।
० कलेजका भावी योजना के–के छन् ?
– हाम्रा विद्यार्थी, अभिभावक र हाम्रा शुभचिन्तकहरूबाट प्राप्त गरेको माया र विश्वास कायम राख्न हामीले छिट्टै नै कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान गरी वैज्ञानिक शिक्षण पद्घतिबाट अध्यापन गराउने, ई–लाइब्रेरी सञ्चालन गर्ने, ल्याबहरूलाई थप सुविधायुक्त बनाउने, यातायातका साधनहरू थप्ने, कक्षाकोठाहरूलाई आधुनिक फर्निसिङ गर्ने, विद्यार्थीलाई बिजनेस ट्रेनिङ दिने, शिक्षकलाई आधुनिक प्रविधिबारे तालिम दिई सोहीअनुरूप अध्यापन गराउन प्रेरित गर्ने, त्रिवि र अन्य विश्वविद्यालयबाट सम्बन्धन लिई स्नातक तहमा बीबीए, बीएलगायतका सङ्काय थप्नुका साथै स्नातकोत्तर तहमा समेत अध्यापन गराउने योजनामा हामी छौँ ।
० विद्यार्थीको पहिलो रोजाइमा जिलेट नै किन भन्ने सवालको जवाफमा के भन्नुहुन्छ ?
– हामीले स्थापनाकालदेखि नै एसएलसी, प्लस टु र बीबीएसमा यस भेगकै उत्कृष्ट नतिजा ल्याउँदै आएका छौँ । त्यस्तै, यातायातको हिसाबले जिलेट सुगम र शान्त वातावरणमा रहेको छ । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानमा जोड दिने, अनुभवी र उत्कृष्ट अध्यापकहरू, सुविधासम्पन्न ल्याब तथा पुस्तकालयजस्ता अनेक विशेषताका कारण विद्यार्थीको पहिलो रोजाइमा जिलेट पर्छ ।
० अन्तमा, यसपालि एसएलसी उत्तीर्ण विद्यार्थी तथा तिनका अभिभावकलाई के भन्नुहुन्छ ?
– समस्त विद्यार्थी एवम् अभिभावक महानुभावलाई बधाई दिँदै हामी के भन्न चाहन्छौँ भने आगामी शिक्षार्जनका लागि कसैको लहलहैमा नलागी आफ्नो रुचि र क्षमतानुसारका विषय छनोट गरी अध्ययन गर्नुपर्छ । व्यवहारमुखी शिक्षा प्रदान गर्न उत्कृष्ट ढङ्गले सेवा पु¥याउँदै आएको कलेजको छनोट गर्न सके विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ । एसएलसीलाई फलामे ढोका भन्दै यो पार गरेपछि मिहिनेत नै गर्नु नपर्ने भन्ने खालको सोच पनि कतिपयमा रहेको पाइन्छ । तर, यस्तो सोच राख्नु उचित होइन । लगनशील भई उच्च शिक्षा हासिल गरी भविष्यमा सफल नागरिक बनेर देश र जनताको सेवा गर्न हामी सुझाव र प्रेरणा दिन चाहन्छौँ ।