माओवादी मिल्दा कस–कसलाई खतरा ?

माओवादी मिल्दा कस–कसलाई खतरा ?


special-articleप्रतिद्वन्द्वीहरूसँग चुनावी मैदानमा ठ्याक्कै भिड्नुपर्ने मौका पारेर छुट्टिएका माओवादीहरूबीच पुनर्मिलनको प्रारम्भिक यात्रा सुरु भएको छ । ‘अभागीलाई खाने बेलामा रिस उठ्छ’ भन्ने युक्ति सुनेको हो, देखिएको/बुझिएको थिएन, दोस्रो संविधानसभाको निर्वाचन गराउनुपर्ने अवस्थाबारे बहस–चर्चा प्रारम्भ भएपछि प्रचण्ड र मोहन वैद्य फाटे– ‘साँच्चै अभागीलाई मौकामा झोंक चल्दोरहेछ र आवेगमा विपरीत निर्णय लिन पुग्दारहेछन्’ भन्ने स्पष्ट हुन पुग्यो । अब माओवादी आन्दोलनको दु:खकष्टका दिन सुरु भएका छन्, विचार छोड्ने सत्ता राजनीतिको बाटो भन्ने प्रश्नको घेरामुनि माओवादी आन्दोलन र त्यसका अगुवा नेताहरू आइपुगेका छन् । सच्चा कम्युनिस्टहरूका केही रोचक विशेषतामध्ये एउटा उनीहरूबीच उत्पन्न विवाद र तनावका क्रममा एक–अर्काप्रति गर्ने व्यवहार हो भने अर्को विवादका अनेक रोमाञ्चक रूप माओ त्से तुङको तालु वंशाणुगत कारणले खुइलिएको हो या कुनै रोग लागेर भन्ने तहको विवादमा उत्रेर पार्टी फुटाइदिन सक्ने क्षमता कम्युनिस्टहरूमा हुन्छ । माओकी कान्छी पत्नी चियाङ चिङलाई हेर्ने र उनलाई बुझ्ने दृष्टिकोण नमिलेर पार्टी विभाजन गरिएको दृष्टान्त नेपालको कम्युनिस्ट आन्दोलनले स्थापित गरिसकेकै हो । प्रचण्ड र वैद्यबीच फाटो आउनुका कारणहरूको विश्लेषण गर्दा ती पनि मामुली रहेको बुझिन्थ्यो । कारण मामुली भए पनि ती फुटे, अब जुट्ने जमर्को गर्दै छन्, जुटे र अर्को निर्वाचनसम्म एकता कायम भयो भने एमाओवादीलाई संसदीय निर्वाचनमा २६ स्थानभन्दा तल झार्न सम्भवत: कसैले पनि सक्ने छैन । विचार या व्यवहारमा उत्पन्न विभिन्नताले विभाजित भएका माओवादीहरूबीच जे–जस्ता सैद्धान्तिक, वैचारिक, कार्यनीतिक या रणनीतिक भिन्नता भए पनि अबका दिनमा सामना गर्नुपर्ने चुनौतीको रूप र स्तरमा कुनै भिन्नता नरहने परिस्थिति उत्पन्न भएकोले हुनुपर्छ– माओवादीहरू ‘एक’ बन्ने कसरतमा छन् । चल्ला निस्कनुपर्ने भएकोले फुल फुट्नुलाई राम्रो मानिन्छ, होइन भने पानीको मूल फुट्नुबाहेक अरू केही पनि फुट्नुलाई शुभ मानिँदैन, त्यसर्थमा माओवादीमा फाटो आउनु पनि माओवादीका निम्ति निश्चय नै अशुभ थियो, मिल्न खोजेका छन्– यो माओवादीका निम्ति अत्यन्त खुसीको विषय–सन्दर्भ हो । तर, माओवादीबाहेकका शक्तिका निम्ति माओवादीहरूको एकता कति विस्मातपूर्ण र कति सुखद हो ? माओवादी एकताले नयाँ संविधान निर्माणलाई बल पु-याउँछ या संविधान निर्माणको सम्भावना घटाउँछ, त्यसको विवेचना गर्नु यहाँ आवश्यक र उपयुक्त ठानिएको छ ।
एउटा सच्चा कम्युनिस्ट अन्तर्राष्ट्रियवादी हुन्छ र उसका निम्ति देश र आफू उभिएको परिवेश गौण हो, साम्यवादी क्रान्ति र त्यस्तो क्रान्ति गर्ने दाबीसहित खुलेको कम्युनिस्ट पार्टी तिनका निम्ति सर्वाधिक प्रिय ‘स्वप्नस्थल’ हो । संसार परिवर्तनको चिन्तन गर्नेहरू देशविशेषको चिन्तन र चिन्तामा सीमित हुँदैनन् । कुनै देशभित्र हुने परिवर्तन यदि साम्यवादी गन्तव्यसँग कहीँ न कहीँ जोडिएको छ भने त्यस्तो परिवर्तनप्रति कम्युनिस्टहरूको चासो र पे्रम रहन्छ, यसबाहेकका परिवर्तन जतिसुकै सकारात्मक किन नहुन्, सच्चा कम्युनिस्टका दृष्टिमा ती भ्रमजाल मात्र हुन् । संविधानसभाद्वारा संविधान निर्माण गर्ने अवधारणा इतिहासमा जो–जसले अघि सारेका भए पनि साँच्चैको संविधानसभा सृष्टि गरेको जस (यस) अपजस (अपयस) माओवादीलाई मात्र दिनुपर्ने हुन्छ । साक्षी किनारामा बसेर जो–जसले, जसरी सघाएका भए पनि संविधानसभा स्थापनाको मूल कारण माओवादी नै हो भन्न कञ्जुस्याइँ गरिनुहुन्न । तर, संविधानसभा माओवादीको रणनीति नभई एउटा कार्यनीति मात्र भएको बुझ्नचाहिँ गैरमाओवादी कित्ताले सकेन । संविधानसभाको निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत गठित सभाद्वारा नयाँ संविधान निर्माण गर्ने र राजनीतिक स्थिरताको निरन्तरता दिँदै विकास एवम् समृद्धिका निम्ति क्रियाशील रहने ‘पवित्र’ उद्देश्य लिएर माओवादी बाह्रबुँदे सम्झौतामार्फत शान्तिप्रक्रियामा सामेल भएको बुझ्नु, बुझ्नेहरूको गम्भीर भूल थियो । तथापि बाबुराम भट्टराईसँगको निकटता र उनको दबाबका कारण प्रचण्ड पुराना मूल्य–मान्यतासँग टाढिँदै ‘उपलब्धि’हरूको रक्षा गर्नेतर्फ अग्रसर भएका थिए । बाबुरामहरूसँगको निकटता नै मोहन वैद्यसँग दूरी बढ्नुको कारण थियो । संविधानसभा दोस्रो निर्वाचनको परिणामपश्चात प्रचण्ड यति निराश भए कि उनले ‘बाबुरामहरूसँगको निकटता’ गम्भीर भूल भएको ठान्न थाले । निर्वाचन परिणामपश्चात् प्रचण्डको बाबुरामसँग बढ्दो दूरी मोहन वैद्यसँगको निकटता र कार्यगत एकतासम्म पुगेको छ । प्रचण्ड र वैद्यको एकता नयाँ संविधान निर्माणका निम्ति सङ्कट बन्न सक्ने देखिन्छ ।
किनभने,
मोहन वैद्य नेतृत्वको माओवादी समूह माओवादी लडाकुको निरन्तरता चाहन्थ्यो, ‘क्रान्तिलाई नयाँ उचाइमा’ पु-याउन अर्को चरणको विद्रोहको तयारी गर्नुपर्छ भन्दै थियो र प्रचण्ड–बाबुरामले विसर्जनको बाटो लिएको टिप्पणी गर्दै थियो । निर्वाचनमा फेरि पनि आफ्नो पार्टी सबभन्दा ठूलो दलको हैसियतमा कायम रहने विश्वास प्रचण्डको थियो, प्रत्यक्षतर्फ छब्बीस सिटमा सीमित हुनुपर्ने कल्पनासम्म प्रचण्डले गरेका थिएनन् । निर्वाचन परिणामले प्रचण्डलाई स्तब्ध मात्र पारेन, यसअघि अवलम्बन गरिएका नीति, कार्यनीति र रणनीतिमाथि पुनर्विचार गर्न बाध्य पनि तुल्याइयो । गत निर्वाचनसम्म आफूले अपनाएको बाटो ठीक नभएको निष्कर्षमा प्रचण्ड पुग्नु भनेकै वैद्यसँगको निकटता बढ्नु थियो । वैद्यसँगको निकटताले निश्चित रूपमा प्रचण्डलाई क्रान्तिकारी धारमा लैजाने छ, जसले नयाँ संविधान जारी हुन अनेकौँ अड्चन पैदा हुने र कदाचित संविधान जारी भए पनि त्यसलाई अस्वीकार गरिने सम्भावना देखिँदै छ ।
संविधानसभामा कमजोर एवम् अप्रभावी उपस्थितिका कारण आफ्नो अवधारणाअनुरूपको संविधान निर्माण निम्ति निर्णायक दबाब दिन नसकिने तथ्यबारे प्रचण्ड जानकार छन् । त्यसैले संविधानसभाभन्दा बाहिरबाट पनि संविधानसभामाथि दबाब पैदा गर्ने कार्यनीति प्रचण्डले लिएका छन् । आफ्नो सर्तअनुरूपको संविधान निर्माण गर्न काङ्गे्रस–एमालेमाथि चौतर्फी दबाब पैदा गर्ने र ‘जनमुखी’ संविधान नबनेको निष्कर्ष निकाल्दै एमाओवादी संविधानसभाबाट बाहिरिन सक्नेछ, त्यस्तो अवस्थामा प्रचण्ड र वैद्यबीच अहिलेसम्म देखिएका मतभिन्नता स्वत: न्यून हुन जानेछ ।
काङ्गे्रस–एमालेको अगुवाइमा संविधान निर्माण हुने कुरा माओवादीका निम्ति ग्राह्य हुन सक्दैन । सार्वजनिक रूपमा औपचारिक ढङ्गले सीधै भन्न नसके पनि नेताहरूको ‘बढी ल्याङ्ग्वेज’ हेर्दा माओवादीहरू वर्तमान संविधानसभाबाट संविधान निर्माण गर्न चाहँदैनन् भन्ने स्पष्ट बुझ्न सकिन्छ ।
माओवादीहरू आफ्ना एजेण्डाअनुरूपको संविधान निर्माण निम्ति काङ्गे्रस–एमालेमाथि दबाब पैदा गर्न प्रयत्नशील छन् । आफू जनमुखी र काङ्गे्रस–एमाले परम्परावादी शक्ति भएको ठहर माओवादीले गरेकै छ, आफ्नो सर्तअनुरूप संविधान निर्माण भए त्यस्तो संविधान जनमुखी हुने अन्यथा जनविरोधी हुन जाने अभिव्यक्ति पनि माओवादी नेताहरूबाट आइरहेको छ । यसबाट उनीहरू आफ्नो सर्तअनुरूपको संविधान निर्माण गर्न चाहन्छन् भन्ने स्पष्ट हुन्छ ।
माओवादीको सर्तभन्दा बाहिर गएर बन्ने/बनाइने संविधानलाई उनीहरूले स्वीकार गर्ने छैनन् । सिङ्गै माओवादी आन्दोलनले संविधानसभाको दुईतिहाइ बहुमतले बनाउने संविधान अस्वीकार गरेमा त्यस्तो संविधान कार्यान्वयन हुने विश्वास गर्न सकिँदैन । बरु बाह्रबुँदे सम्झौतादेखि ‘यहाँ’सम्म आइपुग्नुको औचित्यमाथि प्रश्न उठ्ने स्थिति बन्नेछ ।
माओवादीबाहेक केही दक्षिणपन्थीहरू, जातिवादी, क्षेत्रीयतावादी, अराजकतावादी र धर्म परिवर्तनवादीहरूसमेतले काङ्गे्रस–एमालेको अगुवाइमा जारी गरिने संविधान अस्वीकार गर्न सक्ने सम्भावना प्रबल छ । त्यस स्थितिमा माओवादी, जातिवादी, क्षेत्रीयतावादी र कतिपय दक्षिणपन्थीहरू घोषित या अघोषित रूपमा मोर्चाबद्ध भई संविधानविरुद्धका अभियानलाई गति दिन अग्रसर हुनेमा शङ्का गरिरहनुपर्ने छैन । त्यसैले हाल विभिन्न आकार–प्रकारका माओवादी समूहहरूबीच भएको मोर्चाबन्दी अन्तत: विस्तारित हुने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।
छिमेकी मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीको सरकार गठनसँगै त्यहाँ कम्युनिस्ट वामपन्थीहरू रक्षात्मक बन्न पुगेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकार र राजनीति कम्युनिस्टहरूप्रति कठोर हुनसक्ने त्रास नेपालसम्म पैदा भएको अनुभूत गर्न सकिन्छ । यदि माओवादीहरू आत्मरक्षाको चरणमा आइपुगेको निष्कर्षमा पुगे भने उनीहरू पूर्वमान्यताहरू त्यागेर पनि संविधान निर्माणमा सहयोगी बन्न सक्नेछन्, होइन भने संविधान नबनेका कारण अन्योलग्रस्त बनेको यो देशमा संविधान बनेका कारण नयाँ चरणको द्वन्द्व प्रादुर्भाव हुन सम्भव छ ।
संविधानसभा निर्वाचनलाई स्वीकार गर्दै सहभागी हुने एमाओवादी र बहिष्कार गर्ने माओवादीबीचको एकता या सहकार्यलाई सामान्य रूपमा बुझियो भने त्यो गलत हुनसक्छ । काङ्गे्रस/एमाले दुईतिहाइ बहुमतमा रहेको संविधानसभाबाट संविधान निर्माण गर्न/गराउनका लागि प्रचण्ड र मोहन वैद्य एक ठाउँमा उभिएका हुन् भनेर बुझ्नु भनेको माओवादी चरित्रबारे अनभिज्ञता जाहेर गर्नु हो । अब ‘संविधान निर्माणका लागि’ भन्दै संविधानसभाभित्र र सडकमा माओवादीहरूले आफ्नो गतिविधि सञ्चालन गर्नेछन् । सदनभित्र र बाहिर गरिने सङ्घर्षले काङ्गे्रस–एमालेमाथि तीव्र दबाब मात्र पैदा गर्ने छैन, टुटेफुटेका माओवादीहरूबीच भ्रातृत्व भावको पुनस्र्थापना पनि गर्नेछ । माओवादीहरूको एकीकृत शक्ति काङ्गे्रस–एमालेका निमित्त मात्र नभई प्रजातन्त्रकै लागि समेत एउटा गम्भीर चुनौती हो, जसलाई सम्झाइबुझाई गरेर काबुमा लिन सकिँदैन र पद–प्रतिष्ठा दिएर विश्वासमा लिन या प्रभावमा पार्न पनि सकिन्न । त्रासको वातावरण सिर्जना गर्दै आफ्नो अभीष्ट पूरा गर्न सधैँ यत्नशील रहने माओवादीहरूमाथि त्रास पैदा गर्न सके मात्रै उनीहरू ‘लाइन’मा आउने सम्भावना रहन्छ । माओवादीलाई त्रस्त तुल्याउन सक्ने सामथ्र्य काङ्गे्रस–एमालेमा भएको विश्वास गर्न मिल्दैन, जे–जोसँग माओवादीहरू डराउँछन् त्यसले कति डर पैदा गराउन सक्ने हो त्यसको अझै निश्चय भइसकेको छैन ।
समग्रमा भन्नुपर्दा, माओवादीहरू परिवर्तन र क्रान्तिका नाममा आफ्नो राजनीतिक जमिन्दारी कायम गर्न चाहन्छन् । संविधान निर्माण हुँदाभन्दा नहुँदा, काङ्गे्रस–एमालेको अगुवाइमा बन्ने संविधानलाई स्वीकार गर्दाभन्दा नगर्दा जमिन्दारी मजबुत हुने देखियो भने उनीहरू बिनासङ्कोच त्यही गर्नेछन्, जहाँ आफ्नो हितभन्दा विरोधीको अहित निश्चित हुनेछ । यो भनिरहनुपर्ने छैन कि माओवादीहरूको एकता संविधान निर्माण र र प्रजातान्त्रिक संविधान निर्माणका निम्ति गम्भीर चुनौती हो । निर्वाचनमा हारेपछि जित्नका लागि गरिएको यो प्रारम्भिक प्रयास हो । माओवादीले चाहेजस्तै संविधान निर्माण गर्न राजी नहुने हो भने काङ्गे्रस–एमालेले अब माओवादीसँग भिड्ने सामथ्र्य जुटाउनुपर्ने हुन्छ । काङ्गे्रस र एमाले माओवादीसँग मिल्न सक्ने अवस्थामा छैनन् र भिड्ने सामथ्र्य पनि राख्दैनन्, त्यसैले देशमा विद्यमान सङ्क्रमणकाल, तनाव, विवाद र द्वन्द्वले थप केही वर्ष निरन्तरता पाउने सम्भावना बलियो हुँदै गएको छ ।