उपनिर्वाचनको सन्देश

उपनिर्वाचनको सन्देश


nisedhनेताप्रति जनताको वितृष्णा बढ्दै गए पनि चुनावमा भने नेपाली जनताको उत्तिकै आकर्षण छ । असारको व्यस्ततामा पनि लामबद्ध भएर नेपाली जनताले पहिला विश्वास गरेर जिताएका नेताले छोडेको क्षेत्रवासीका रूपमा उम्मेदवारलाई मत हाले । यो उपनिर्वाचनसम्म गरेर कतिपय जिल्लामा संविधानसभा सदस्यका लागि जनताले तीनपल्ट निर्वाचनमा भाग लिए भने कतिले चाहिँ पहिलो संविधानसभाको उपनिर्वाचनसमेत गरेर चारपल्ट भोट हाले । मुलुकको इतिहासमै एकपल्ट आउने भनेर मानिएको संविधानसभाको निर्वाचनका लागि तीन या चारपल्ट भोट हाल्नुपर्ने अवस्था आउनु पनि नेपाली जनताका लागि अनौठो अनुभूति नै हो । यसपटक संविधानसभाको उपनिर्वाचनमा जनताको सहभागिता त रह्यो, तर भोट हाल्न विभिन्न बुथमा पुगेका मतदातासँग कुराकानी गर्दा उनीहरूमा त्यति ठूलो उत्साह भने देखिएन । ‘नेताहरू जे कामका लागि गएका हुन् त्यो काम गर्ने होइनन्, भोट मात्रै हाल्नु ?’ भन्ने मानसिकतामा मतदाता रहेको देखियो । समय र उपनिर्वाचनको अवधारणा दुवै कुरा उपयुक्त नहुँदा नहुँदै पनि प्रजातान्त्रिक प्रक्रियाको अभ्यासमा सर्वसाधारणले साथ दिए । विगतमा अनेक सपना देखाउँदै भोट मागेर जितेका ‘शीर्षस्थ’ नेताहरूले दुई क्षेत्रमध्ये एक रोज्दै आफ्नो निर्वाचन क्षेत्र छोडिदिँदा सम्बन्धित नेताप्रति मतदाताको आक्रोश रहने रहेछ । काठमाडौं क्षेत्र नं. २ का जनतामा यसपटक नेता माधव नेपालप्रति निकै असन्तुष्टि रहेको पाइयो । कतिपय बुथछेउमा मानिस कुरा गरिरहेका थिए, ‘ठूला नेता आफ्नो क्षेत्रमा आए भनेर भोट दिइयो, तर उनले हामीलाई छोडेर अर्कै क्षेत्र रोजे, फेरि हामीले यो दु:ख पायौँ ।’ यसपटक मतदाताको मानसिकता हेर्दा नेता नेपाललाई अब उपत्यकाका कुनै पनि क्षेत्रबाट विजय हासिल गर्न गाह्रो छ । शायद यही मानसिकताले अन्य क्षेत्रमा पनि काम गरेको हुनुपर्छ । वास्तवमा नेताहरू एउटा क्षेत्रबाट मात्र उठ्दा हारिन्छ कि भनेर आफूलाई सुरक्षित गर्न दुई क्षेत्रबाट उठ्ने कुरा नै गलत रहेछ । विजय या पराजय जे भए पनि एक क्षेत्रबाट मात्र उठ्ने व्यवस्था भए मात्रै आफ्नो क्षेत्रप्रति इमानदारी कायम रहन्छ । नेताहरूलाई जहाँबाट भए पनि ‘जिताउनैपर्ने’ या उहाँहरूले ‘जित्नैपर्ने’ सोचका कारण यो उपनिर्वाचनका लागि मात्रै राज्यले १५ करोडभन्दा बढी खर्च गर्नुपरेको छ । यसो गरी–गरी उहाँहरू जित्नैपर्ने कारण के हो भनेरचाहिँ जनताले बुझ्न सकेका छैनन् ।
कुनै पनि निर्वाचनका लागि वर्षाको समय उपयुक्त रहेनछ भन्ने कुरा पनि यसपटकको निर्वाचनमा देखिएको छ । मानो रोपेर मुरी उब्जाउने किसानको समय घन्टौँ धाएर भोट हाल्नमा खर्च भयो । अघिल्लो दिन मात्र पानी परेकाले राजधानीवासी किसान खेत रोप्ने काममा व्यस्त थिए । अन्य स्थानमा झैं राजधानीमा कुलोको पानी प्रयोग गर्ने अवस्था नभएकाले आकाशेपानीकै भरमा रोपाइँ गर्नुपर्ने हुन्छ । अन्त झैँ हलो जोत्ने चलन नभएकाले गोरु, हलोलगायतको काम पनि मान्छेले नै गर्नुपर्छ । त्यसले गर्दा काठमाडौंका किसानको चटारो फरक प्रकारको हुन्छ । यद्यपि वर्षाको बेलामा किसानलाई कामको चटारो त सबैतिर हुन्छ नै । निर्वाचनका लागि समयका दृष्टिकोणले फागुन उपयुक्त महिना हुन सक्छ । यो उपनिर्वाचन पनि चैतसम्ममा गराउन सकेको भए राम्रो हुने थियो । संविधान निर्माणका लागि विभिन्न समितिहरू बनेर तिनले काम पनि सक्न लागेपछि गरिएको चुनावले ती सभासद्हरूलाई के–कति काम दिन सक्ला अनुमान गर्न सकिन्छ । संविधान निर्माणको तालिका र समय–सीमाअनुसार असोजमा संविधानको खाका राजपत्रमा प्रकाशित गरेर छलफलका लागि जनतामा लानुपर्ने हुन्छ । यता अन्तरिम संविधानमा व्यवस्था भएको २६ जना सभासद् मनोनीत गर्ने कुरा अल्झिँदै गएर असोजपछि पुग्यो भने पनि अनौठो मान्नु नपर्ने अवस्था छ ।
यसपटकको उपनिर्वाचनमा भोटका लागी मेसिनको प्रयोग नेपालको सन्दर्भमा ऐतिहासिक रह्यो, तर यसका लागि पर्याप्त मतदाता शिक्षा नभएका कारण कतिपय मतदातालाई अप्ठ्यारो भयो । विशेष गरेर ज्येष्ठ नागरिकमा मेसिनबाट भोट कसरी हाल्ने, मेसिनको कुरा केही भइहाल्ने हो कि भन्ने एकप्रकारको त्रास रहेको पनि पाइयो । भोट हाल्न मतदाता भित्र छिरेपछि बाहिरबाट कर्मचारीले ‘ल अब थिच्नुस्’ भनेर उनीहरूले थिचिसकेपछि जब कर्मचारीले ल अब बाहिर आउनुस् भन्दा ‘मैले भोट हाल्ने चिह्नमा भोट हालेकै छैन’ भनेको पनि सुनियो । मेसिनका कारण भोट रद्द भएन, तर केही भोटहरू यता–उताचाहिँ परे । यसप्रकारको प्रविधि भिœयाएपछि व्यापक रूपमा मतदाता शिक्षा गाउँगाउँमा पु-याउन आवश्यक थियो जुन कुरा हुन सकेन । मिडियामार्फत पनि मेसिनको प्रयोगबारे जुन रूपमा प्रचारप्रसार गरिनुपर्ने हो, त्यो गरिएन जसका कारण मानिसमा खै के हो के हो भन्ने अन्योलता छाएको पाइयो । विगतमा ठूलो मात्रामा रद्द हँुदै आएका भोटहरू मेसिनका कारण यसपटक सबै सदर भए, राम्रो कुरा भने यही भयो । आगामी चुनावहरूमा मेसिनको प्रयोग गर्दा र नगर्दा पनि मतदाता शिक्षामा व्यापकता आवश्यक छ ।
यो निर्वाचनमा नेपाली काङ्ग्रेसलाई फेरि एकपटक जनताले विश्वास गरेर विजयी बनाएका छन् । सरकारमा छ, केही गर्छ भन्ने अपेक्षा जनतामा छ । सामाजिक सुरक्षा भत्ता बढ्ला भन्नेदेखि लिएर संविधान हुँदै विकास निर्माणमा समेत अब केही होला भन्ने आस जनतामा देखिन्छ । पटकपटक काङ्ग्रेस सरकारमा जाँदा जनताका लागि धेरै नसोचे पनि जनताले भने काङ्ग्रेसलाई छोडेका छैनन् । पार्टीभित्र हुने गुट–उपगुट र अनेक प्रकारका षड्यन्त्रसँग जनतालाई मतलब छैन, उनीहरू नेपाली काङ्ग्रेसले मुलुकमा केही गरोस् भन्ने चाहन्छन । यसपटकको उपनिर्वाचनको परिणामको सङ्केत यही नै हो । मुलुकमा प्रजातन्त्र आएदेखि अहिलेसम्म नजितेको काठमाडौं– २ मा काङ्ग्रेसको जित अवश्य नै परिवर्तनको चाहना हो । यो चाहनालाई बुझेर काङ्ग्रेस अघि बढेमा अरू धेरै चुनावमा यसैगरी साथ पाउने देखिन्छ । नराम्राहरूमध्येबाट राम्रो छान्न पनि त जनतालाई कुनै न कुनै आधार त चाहिन्छ नै । त्यसैले त्यसप्रकारका आधार स्थापनाका लागि काङ्गे्रसले जनचाहनाअनुरूपको काम गर्न आवश्यक छ न कि पार्टीका सीमित नेताहरूको चाहनालाई परिपूर्ति गर्न ।