राजनीतिक संस्कारको सवाल

राजनीतिक संस्कारको सवाल


sampadakeeyaअनेक प्रतिकूलताका बाबजुद प्रजातन्त्रका लागि अनवरत सङ्घर्ष गरेर विश्वमञ्चमै आफ्नो विशेष पहिचान र स्थान बनाउन सफल म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेपालको चारदिवसीय औपचारिक यात्रा पूरा गरी स्वदेश फर्कनुभएको छ । जननायक बीपी स्मृति ट्रष्टका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको आमन्त्रण स्वीकार गरेर नेपाल आउनुभएकी सुचीलाई राज्यले त राजकीय सम्मान प्रदान गर्ने औपचारिक घोषणा गरेकै थियो, यसबाहेक नेपाली जनस्तरबाट सुचीप्रति जुन स्वागत, सम्मान र श्रद्धा प्रकट गरियो, त्यो साँच्चै उल्लेख्य रह्यो । नेपालीजनले आफूप्रति दर्शाएको सम्मान र स्नेहप्रति नतमस्तक हुँदै सुची स्वयम्ले विगत तीन वर्षको दौरान विश्वका कुनै पनि मुलुकमा आफूले यस्तो सम्मान नपाएको र यो सदा आफ्नो स्मृतिमा रहने अभिव्यक्ति दिनुभयो ।
आफ्नो घर आएको एक विशिष्ट पाहुनाले आफूप्रति दर्शाइएको आतिथ्यताप्रति हार्दिकतापूर्ण आभारी जताउनु समस्त नेपालीजनका लागि खुसी र गौरवको विषय हो । यसै सिलसिलामा सुचीले ‘नेपालको प्रजातन्त्र बलियो र उज्ज्वल’ रहेको धारणा पनि प्रकट गर्नुभएको सन्दर्भ मननीय छ । लोकतान्त्रिक आन्दोलन सम्पन्न भए पनि यसलाई संस्थागत तुल्याउने प्रक्रियामै रहेको वर्तमान परिवेशमा प्रजातान्त्रिक आन्दोलनको पर्यायकै रूपमा समेत विश्वभर चिनिएकी नेत्रीले नेपालको प्रजातन्त्रलाई बलियो र उज्ज्वल रूपमा चित्रित गर्नु समस्त लोकतन्त्र पक्षधरका निम्ति सुखदायी विषय होला, तर नेपालको प्रजातन्त्रमाथि बोल्ने क्रममै सुचीद्वारा अभिव्यक्त एउटा वाक्य भने निकै मर्मस्पर्शी छ । सोझो या व्यङ्ग्यात्मक कुन भावमा अभिव्यक्त भएको भन्ने प्रश्न आफ्नै ठाउँमा होला, तर उहाँले प्रयोग गर्नुभएको ‘एकै दिनमा सात–सातजना पूर्वप्रधानमन्त्रीलाई भेट्न पाएबाट नेपालमा प्रजातन्त्र कति सुदृढ भइसकेछ भन्ने बुझ्न सकिन्छ’ भन्ने वाक्य निकै अर्थपूर्ण छ । यस अभिव्यक्तिको मर्मप्रति लोकतान्त्रिक प्रक्रिया संस्थागत तुल्याउन लागिपरेका हाम्रा राजनीतिक दलका नेताहरूको ध्यान कति खिचियो या खिचिएन, यो गम्भीर चासोको प्रसङ्ग बनेर रहेको छ । वास्तवमा यसलाई सरल हृदय भएको कुनै एक शुभचिन्तकले स्वच्छ भावले गरेको ‘व्यङ्ग्य’कै रूपमा लिँदै आफूहरूले निर्वाह गर्दै आएको भूमिकाको नेतागणले आत्मसमीक्षा गर्नु वाञ्छनीय छ ।
त्यसो त, कसैले प्रश:सा गरिदिँदैमा यहाँ लोकतन्त्र फल्यो, फुल्यो र चम्कियो नै भनी दाबी गर्न मिल्दैन । सुचीकै शब्दमा पनि लोकतन्त्र भनेको राजनीतिक दलहरू र सरकार मात्र नभई यो एउटा विशिष्ट संस्कार हो । हामीकहाँ च्याउसरी दलहरू खुलेका छन्, दलीय क्रियाकलाप बेस्सरी फस्टाएको छ र दलकै संलग्नतामा सरकार गठन पनि भएको छ । तर, लोकतन्त्रको यति लामो अभ्यासका क्रममा नेपाली नेताले लोकतान्त्रिक संस्कार कति सिके त भन्ने प्रश्न पनि दिनानुदिन सघन रूपमा उठ्ने गरेको यथार्थ छोप्न सकिन्न ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पटक–पटक अनेक शैली र स्तरका सङ्घर्ष गर्नुपरेको इतिहास छ । प्रजातान्त्रिक आन्दोलनले अझै पूर्णता पाइनसकेको नेताहरू नै बताउँछन् । जनतालाई पूर्ण लोकतन्त्र, स्वतन्त्रता, शान्ति र समृद्धि दिलाउन आफूहरू लागिरहेको पनि उनीहरू दाबी गर्छन् । तथापि, नेपाली नेतृत्वको यस्तो दाबी भने फोस्रो सावित भइरहेको छ । ठूला–ठूला परिवर्तन भएका छन् नेपालमा । एक सय चारवर्षे राणाशासन फालियो, तीसवर्षे निर्दलीय पञ्चायती व्यवस्था गयो, यहाँसम्म कि दुई सय चालीस वर्ष शासन गरेको राजतन्त्रले समेत बिदाइ पायो । तर, यी परिवर्तनले पनि आमजनतालाई खासै खुसी प्रदान गर्न सकेका छैनन् । यसो हुनुमा राजनीतिक संस्कारको अभावले नै प्रमुख भूमिका खेलेको मान्न सकिन्छ । पछिल्लोपटक सरकार बनेको चार महिना गुज्रन लाग्दा पनि गति र गन्तव्य पक्रिन नसकेको आरोप पनि यसै लागेको होइन । वर्ष दिनमा संविधान दिने वाचा गरेका दलहरूले झन्डै सात महिना गुजारिसकेका छन् । प्रमुख दलहरूमा अन्तरदलीय सङ्घर्ष चरमोत्कर्षमा पुगेबाट बाँकी अवधिमा संविधान जारी होला भनी विश्वास गर्नै नसकिने परिवेश निर्माण हुँदै छ । एकले अर्कोलाई तल पार्न सक्दा मात्र आफूलाई उँचो अनुभूति गर्ने नेताहरूको ‘कालिदास प्रवृत्ति’ले जनताको आशा र विश्वासमाथि तुषारापात गराइरहेको छ । राजनीतिक अस्थिरताका कारण यहाँ वर्ष–वर्षमै सरकार परिवर्तन हुने गरेको छ । आखिर यो अस्थिरताको कारकतत्व यहाँका जनता कि राजनीतिक नेतृत्व ? यो सबै नेतृत्व तहमा भएको लोकतान्त्रिक संस्कारको अभावकै कारण हो भन्ने स्पष्ट भइसकेको परिवेशमा प्रजातान्त्रिक आन्दोलनको ज्युँदो इतिहास सुचीको उल्लेखित अभिव्यक्तिले कुनै पनि विवेकी नेतालाई गम्भीर भएर सोच्न बल पु-याउने अपेक्षा गर्न सकिन्छ ।