ट्राफिकजामका दुश्मन !-डीआईजी विज्ञानराज शर्मा

ट्राफिकजामका दुश्मन !-डीआईजी विज्ञानराज शर्मा


केटाकेटी उमेरमा जसलाई प्रहरी भनेपछि फिटिक्कै मन पर्दैनथ्यो, पुलिसको नजिक पर्नै नपरोस् भनी स्कुल जाँदा पनि घरनजिकको प्रहरी थाना छल्दै जो बाटो बदलेर हिँड्दथ्यो, त्यही व्यक्ति स्नातकको अध्ययन सकेर क्यारियर बनाउने बेला परिबन्दले नेपाल प्रहरीमै भर्ना हुन बाध्य भयो । र, पुलिस देख्दैमा मुर्मुरिने उही व्यक्ति आज प्रहरीको महत्त्व आमनागरिकलाई कसरी बुझाउने, आमजनतामा प्रहरीको छवि कसरी राम्रो तुल्याउने, कसरी प्रहरी र जनताबीच हातेमालो गरी समाज र राष्ट्रलाई सुन्दर, सभ्य र समृद्ध तुल्याउने कार्यमा योगदान पुर्‍याउने भन्ने चिन्तनमा डुब्ने गरेको छ । यसरी आफूले कहिल्यै कल्पनै नगरेको पेसामा प्रवेश गरेर उच्चतहको जिम्मेवारी सम्हाल्ने हैसियतमा पुगेका नेपाल प्रहरीका यी उच्चाधिकारी हुनुहुन्छ प्रहरी अतिरिक्त नायव महानिरीक्षक विज्ञानराज शर्मा, जसलाई कतिपयले यतिबेला एउटा रोचक उपनामसमेत दिएका छन्- ‘ट्राफिकजामको दुश्मन !’
आखिर डीआईजी शर्मालाई किन दिइयो होला त यस्तो विशेषण ? सवाल उठ्नु अस्वाभाविक छैन । तर, यसको जवाफ स्पष्टै छ- सवारी महाशाखा प्रमुखका रूपमा केही महिनाअघि विज्ञान शर्मा खटिएर आएपछि ट्राफिकजामको समस्याबाट राजधानी उपत्यकाले निकै हदसम्म छुटकारा पाएको छ । सवारी नियम पालना गराउन होस् या जाम हुन नदिन, नियम उल्लङ्घन गर्नेबाट नियमानुसार जरिवाना भराउन होस् या जनचेतना जगाउन, ट्राफिक प्रहरीको आचरण सुधार तथा वृत्तिविकासका निम्ति होस् या ट्राफिक व्यवस्थापनसँग सम्बन्धित नयाँ र अत्यावश्यक योजनाहरूको तर्जुमा गर्न, डीआईजी विज्ञान शर्मा यतिबेला हरदम चिन्तनशील रहेको दाबी गर्नुहुन्छ । ‘ट्राफिकजामको दुश्मन’ विशेषण पाउन यति काम हाम्रो परिवेशमा काफी छ भन्दा अत्युक्ति नठहरिएला ।
राजनीतिबाहेक हाम्रो देशका मूल समस्या अरू के-के हुन सक्छन् भनी औंला भाँच्न थाल्ने हो भने विशेषगरी काठमाडौं उपत्यकावासीले पहिलो नम्बरमा यहाँको ट्राफिक जामलाई लिने अवस्था थियो । सवारीको चाप, साँघुरा सडक तथा पार्किङस्थलको अभावका कारण यो समस्या अझै पूर्ण रूपमा समाधान हुन नसकेको वास्तविकता लुकाएर लुक्न सक्ने विषय होइन । तथापि तुलनात्मक रूपमा यतिबेला ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको सबैले अनुभूति गरेका छन् । यसको श्रेय यतिबेला मुलुकभरको ट्राफिक व्यवस्थापनको नेतृत्व सम्हालिरहेका विज्ञानराज शर्मालाई नै जान्छ । एउटा व्यक्तिले पनि इमानदारीपूर्ण ढङ्गमा चाह्यो भने प्रभावकारी काम गर्न सक्दोरहेछ भन्ने उदाहरणसमेत बन्नुभएको छ डीआईजी शर्मा ।
कलिलै उमेरमा फुटबलका चर्चित राष्ट्रिय खेलाडी बन्ने सफलता पाउनुभएका विज्ञानराज आफूले हार्नै नसक्ने व्यक्ति रूपक शर्माको दबाबमूलक सल्लाहका कारण २३ वर्षकै उमेरमा प्रहरी इन्स्पेक्टरका रूपमा नेपाल प्रहरीमा प्रवेश गर्नुभयो । त्यसमाथि सुरुका तालिमेमहिनामा आफूभन्दा निकै तल्लो ओहोदाका प्रहरीहरूले समेत डाँट-फट्कार गरेको देख्दा उहाँ दिक्क हुनुभयो । एउटा उन्मुक्त वातावरणमा हर्ुर्केको सहरिया युवकलाई सिभिलियनबाट प्रहरी बन्ने कसरत सजिलो हुने कुरै भएन । आफू अस्तित्व नै नभएको प्राणीझैं हुन पुगेको अनुभूति गरेर तालिम नै छोडेर भागौँ कि जस्तो पनि उहाँलाई लागेछ, तर सहनशीलताका अत्यन्त धनी विज्ञानले सबै प्रतिकूलता खपेर तीन महिना गुजार्नुभयो । त्यसपछि भने उहाँलाई सबै सहज लाग्न थाल्यो । प्रहरी नबनेको भए सीए पढेर एक राम्रो विजनेसम्यान बन्ने धोको पाल्नुभएका उहाँ अब आफूलाई पुलिस मन नपर्नुको कारण के थियो र सिभिलियनको आँखामा पुलिस मनपर्दो हुन के गर्नुपर्ला भन्ने सवालमा घोत्लिन थाल्नुभयो । साँच्चै एक प्रहरीका रूपमा विशेष दायित्वबोध हुन थालेछ उहाँलाई ।
जनताको कर खाएर बाँच्ने हुनाले प्रहरी जनताको सेवक हो भन्ने प्रस्ट धारणा राख्नुहुने विज्ञान शर्मा डीएसपीका रूपमा पहिलोपटक खोटाङ जिल्ला खटिएर जानुभएको रहेछ । ओठ निचोर्दा दूध आउला भनेजस्तो व्यक्ति प्रहरीको जिल्ला हाकिम भएको पाउँदा स्थानीय जनताले आफूलाई सुरुमा नपत्याउने गरेको उहाँ स्मरण गर्नुहुन्छ । तर, सबै क्षेत्रका मानिससँग घुलमिल गर्दै लचकता अपनाउनुपर्ने ठाउँमा लचकदार र कडाइ गर्नुपर्ने ठाउँमा अत्यन्त कडा भएर प्रस्तुत हुने उहाँको स्वभाव एवम् विशेष खुवी देखेपछि जिल्लावासीले भन्न थालेछन्- ‘अहो ! यस्तो पो हुनुपर्छ प्रहरी हाकिम !’ सेवाका दौडानमा उहाँ जहाँ-जहाँ पुग्नुभयो, कहीँ पनि नराम्रो अनुभव गर्नु नपरेको, बरु जनताबाट प्रशंसित नै बनेको सुखदानुभूति छ विज्ञानलाई । आफू प्रहरी सेवामा रहँदासम्म जनताको नजिक भएरै गुजार्ने सोच उहाँले सेवा आरम्भ गर्दा नै बनाउनुभएको रहेछ ।
‘प्रहरी राम्रो भए समाज र मुलुक नै राम्रो हुन्छ, पुलिस बिग्रिए देश नै बिग्रन्छ’ भन्नुहुने डीआईजी शर्मा प्रहरीको मनोबल जति घट्छ प्रजातन्त्रको आयु त्यत्तिकै घट्न पुग्छ भन्ने मान्यता राख्नुहुन्छ । यसरी प्रहरीको मनोबल बढ्नु भनेको लोकतन्त्र उन्नत हुनु हो, विधिको शासन स्थापना हुनु हो भन्ने धारणा राख्नुहुने विज्ञान युनिर्फम पहिरिएपछि आफूलाई ठूलो ठान्ने प्रवृत्ति नेपाल प्रहरीभित्रका कतिपय व्यक्तिमा अझै रहेको स्वीकार गर्नुहुन्छ । यसले प्रहरी सङ्गठन र देशलाई नै हानि पुग्ने उहाँको ठहर छ । प्रहरीले व्यक्तिगत लाभ नहेरी तोकिएको कर्तव्यअनुसार जनता र देशको सेवामा समर्पित हुनसके सङ्गठनको छवि उज्याले हुने र आत्मसन्तुष्टि पनि प्राप्त हुने उहाँको बुझाइ छ ।
कुनैबेला ‘पुलिस र मानवअधिकार एकै ठाउँमा कसरी रहन सक्छ -‘ भन्ने सोच आमप्रहरीमा जस्तै आफूभित्र पनि रहेको कुरा नलुकाई अभिव्यक्त गर्ने डीआईजी विज्ञानराज आज त्यो सोचबाट सिङ्गो सङ्गठन नै करिब-करिब मुक्त भइसकेको दाबी गर्नुहुन्छ । नबुझेर या नबुझाइएर त्यस्तो सोच व्याप्त थियो, जब कि प्रत्येक प्रहरीले मानवअधिकारको महत्त्व बुझ्नु र त्यसलाई व्यवहारमा अपनाउनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । प्रहरी भर्नालाई पारदर्शी बनाउनुपर्छ, तल्लो तहदेखि नै शिक्षित र योग्य व्यक्तिको प्रवेश हुनुपर्छ, यसो हुनसके प्रहरी आफ्नो दायित्वनिर्वाहमा सफल र जनताको नजरमा राम्रो ठहरिन सक्छ भन्ने मान्यताका कारण आफूले ‘प्रहरी सेवा आयोग’ बन्नुपर्ने कुराको वकालत गर्दै आएको उहाँ उल्लेख गर्नुहुन्छ ।
आफूले राम्रो काम गर्दागर्दै पनि विगतमा सङ्गठनको उपल्लो तहबाट आफूमाथि अनावश्यक पूर्वाग्रह राखी दु:ख दिने नियत दर्शाइएका केही घटनाहरू रहेका बताउने विज्ञान शर्मा ‘…तर त्यसले तत्काल नरमाइलो र नमज्जा लागे पनि आफू स्वाभिमानमा अडेर कर्तव्यबाट विचलित नभएको’ बताउनुहुन्छ । १६ वर्षकै उमेरमा ब्वाइज युनियन क्लब ‘ए’ डिभिजनबाट खेल्दा तत्कालीन नेपालका ठूला खेलाडी रूपकराज शर्मा, सुरेश पन्थी, भारतका श्याम थापाहरूको अगाडि क्याप्टेनका हैसियतले प्रतियोगिता जितेर ‘बर्थ डे कप’ उचाल्दाको क्षण अविष्मरणीय लाग्छ विज्ञानलाई । सर्वाधिक दु:खद् क्षणचाहिँ आफ्ना माता-पिता गुमाउँदा हुँदोरहेछ भन्ने अनुभूति सुनाउनुहुन्छ उहाँ ।
सडकको सवारी व्यवस्थापनका सन्दर्भमा ‘समन्वयको अभाव’लाई यतिबेलाको मुख्य चुनौती ठान्नुहुन्छ विज्ञानराज शर्मा । सडक भन्नेबित्तिकै आमनागरिकले ट्राफिक प्रहरीलाई मात्र देख्छ, तर त्यहाँको समस्यासँग सडक विभाग, यातायात व्यवस्था विभाग, नगरपालिका, ढलनिकास, विद्युत् प्राधिकरण आदि निकायको अन्योन्याश्रति सम्बन्ध रहन्छ भन्ने बुझ्नु आवश्यक रहेको उहाँको कथन छ । सर्वसाधारणले यो नबुझेकाले सडकमा देखिने सवारी अव्यवस्थाको अपजश सबै ट्राफिक प्रहरीले मात्र खेप्नुपरेको उहाँ तर्क राख्नुहुन्छ । ट्राफिक पुलिसले जेब्राक्रसिङबाट बाटो काटौँ भन्छ, आकासेपुलको प्रयोग गर्नुपर्छ भनी सिकाउँछ, तर जेब्राक्रसिङ जताततै खुइलिएर नदेखिने भइरहेको हुन्छ, त्यसमा रङ लगाउने बजेट अन्यत्रैबाट आउनुपर्छ, आकासेपुलको अभाव छ, त्यो निर्माण गर्ने निकाय अर्कै छ । सडकपेटीमा पार्किङ नगर भन्छ ट्राफिक तर पार्किङ कहाँ गर्ने त भनी प्रश्न गर्नेलाई दिने जवाफ उससँग छैन, किनकि पार्किङस्थलको व्यवस्था गर्ने निकाय त अर्कै हो । यस्तोमा ट्राफिक पुलिसले के गर्ने ? काठमाडौं उपत्यकामा मोटरसाइकल मात्रै साढे चार लाखभन्दा बढी छ, त्यही अनुपातमा अन्य गाडीहरू छन् । यहाँको सडकको अनुपातमा यो चाप थेगिनसक्नुको हो । यस्तो भद्रगोलबीच पनि सुधारका काम देखिनु विज्ञानको अत्यन्त प्रशंसनीय काम हो । एउटा व्यक्ति पनि इमानदार र लगनशील भएर कर्तव्यमा उत्रँदा धेरै काम हुन सक्दोरहेछ भन्ने एउटा दृष्टान्त हो यो ।
तथापि, ट्राफिक प्रहरीलाई आवश्यक अधिकार नै नहुनु पनि एक ठूलो चुनौती बनेको बुझाइ छ उहाँको । सवारी लाइसेन्स वितरण, रुट परमिट, नम्बर प्लेट प्रदान गर्नेलगायतका अधिकार ट्राफिक प्रहरीलाई हुनुपर्ने विज्ञानको जिकिर छ । उहाँ भन्नुहुन्छ, ‘मैले चार महिनाको अवधिमा मात्र ३ करोड तीन लाख राजस्व उठाएँ सडकबाट, तर त्यो खर्च गर्ने अधिकार मसँग छैन, त्यो राज्यको ढुकुटीमा जान्छ । सडकबाट उठेको रकम मात्र ट्राफिक प्रहरीले खर्च गर्ने हैसियत राख्थ्यो भने सुधारका काम धेरै गर्न सकिन्थ्यो ।’
ट्राफिक प्रहरीले सडकमा आर्थिक अनियमितता र अनेक भ्रष्टाचार गर्ने गरेका गुनासो पनि निकै सुनिन्छन् । तर, करप्सनका सवालमा लेस मात्र पनि सम्झौता नगर्ने पक्षमा आफू रहेको र यस्तो सूचना पाए कारबाही गर्न निमेषभर ढिलाइ नगर्ने प्रतिबद्धता दर्शाउनुहुन्छ उहाँ । ट्राफिक प्रहरीको बोली र आचरणमा सुधार ल्याउन विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गरेको जानकारी दिन हिच्किचाउनुहुन्न उहाँ । आफूले गलत कार्यको कुनै सुनुवाइ नगर्ने भएकाले सडकमा गलत गर्ने पहुँचवालाहरूले भनसुन गर्न छोडेको रमाइलो अनुभूति छ आजभोलि विज्ञानराजसँग । सवारी प्रयोगकर्ताहरू आफैं सुध्रिएर हिँडेको या ट्राफिक प्रहरीले सम्झाउन-सिकाउन नै नपरेको देख्ने धोको पाल्नुहुने विज्ञान तत्काल सम्भव नभए पनि भविष्यमा यो धोको पूरा हुने महत्त्वाकाङ्क्षाका साथ योजनाबद्ध किसिमले आफू लागिपरेको जानकारी गराउनुहुन्छ । बग्गीखाना परिसरमार् इ-पोष्टरको व्यवस्था, ट्राफिक एफएम सञ्चालन, चक्रपथको ग्रिनबेल्ट एरियालाई क्लियर गर्ने, भक्तपुर सडकखण्डलाई नमुना सडकका रूपमा सञ्चालन गरी देखाउने, आरक्षण सिट व्यवस्था कडाइका साथ पालना गराउने आदि योजनामा तत्काल सफलता हासिल गर्न लागेको दाबी गर्दै उहाँ अझै ६०-६५ प्रतिशत काम गर्न बाँकी नै रहेको जानकारी गराउनुहुन्छ ।
ट्राफिक महाशाखा प्रमुखका नाताले विज्ञानराज शर्मा यस्तो सन्देश दिन चाहनुहुन्छ, ‘आफैं ट्राफिक प्रहरी बनेर सवारी हाँकिदिनुहोस्, तपाईं अनुशासित भइदिँदा सिङ्गो सहर नै अनुशासित र सुन्दर देखिन्छ । चालकले तोकिएको स्थानमा मात्र गाडी रोकिदिनुहोस् र यात्रुले पनि जहाँ मनलाग्यो त्यहीँ हात दिएर गाडी रोक्ने प्रयत्न नगरिदिनुहोस्, हतारोपन कसैले पर््रदर्शन नगर्नुहोस्, एकछिनको हतारले ज्यान नै जानसक्छ । ट्राफिक प्रहरीलाई आफ्नै दाजुभाइ-दिदीबहिनी सम्झनुहोस्, उसको कमजोरी औंल्याइदिनुहोस्, परचक्री नठानी उसप्रति माया दर्शाउनुहोस् । यो वास्तविकता बुझिदिनुहोस् कि ट्राफिक प्रहरीले तपाईंलाई अर्डर होइन माया नै गरिरहेको हुन्छ, तपाईंको सुरक्षाका लागि नै ऊ धुलो र धुवाँमा अठार घन्टा खटिरहेको हुन्छ ।’
– जयप्रकाश