भारतमा ‘मोदी उदय’सँगै जागेको आशा

भारतमा ‘मोदी उदय’सँगै जागेको आशा


bichar– बुद्धिप्रसाद शर्मा
छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धनले महत्वपूर्ण जित हासिल गरेसँगै नयाँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको आगमन भएको छ भने भारतीय सत्ता–राजनीतिमा आएको यस उलटफेरले भारतमा मात्र नभई सिङ्गो दक्षिण एसियालाई नै तरङ्गित पारिदिएको छ । मुख्यगरी व्यावहारिक विकासप्रेमी तर सनातनी हिन्दुधर्ममा आधारित राष्ट्रवादी छवि बनाएका मोदीको नेतृत्वले कमजोर सुशासनमा जकडिएको भारत र लामो राजनीतिक अस्थिरता व्यहोरिरहेको दक्षिण एसियाली राष्ट्रहरूप्रति कस्तो नीति अख्तियार गर्ला, अनि द्विदेशीय एवम् क्षेत्रीय सम्बन्धलाई कसरी अगाडि बढाउला भन्ने जिज्ञासामाथिको बहस, छलफल र चिन्तन सार्क देशभर हुन थालेको छ । भारतमा मोदीप्रति व्यापक समर्थन र आशा देखिन्छ । सँगसँगै गुजरातमा मुख्यमन्त्री रहँदा मुस्लिमलगायतका अल्पसङ्ख्यक समूहप्रति कथित तवरमा उनले प्रदर्शन गरेको भनिएको अनुदार चरित्र कतै केन्द्रीय राजनीतिमा पनि देखिने त होइन भन्ने चिन्ता पनि केही न केही कायम नै देखिन्छ । यसरी व्यावहारिक राजनीतिक धरातलीय हिसाबले विश्लेषण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि आन्तरिक जटिलता र चुनौतीहरू धेरै नै छन् । त्यसको कुशल व्यवस्थापन नगरी क्षेत्रीय राजनीतिमा ‘आवश्यक’ वा ‘अनावश्यक’ कदम राख्न खोज्दा त्यति फलदायी नहुने सोझो आँकलन गर्न सकिन्छ ।
दक्षिण एसियाली क्षेत्रमा भारतप्रति संशय र भारतविरोधी मानसिकता कतै न कतै हुर्किरहेको अनुभूति स्वयम् भारतले पनि गरिरहेको छ । आन्तरिक राजनीतिलाई सुदृढ गर्दै छिमेकी मुलुकहरूको चित्त बुझाउन सक्नु नै मोदी कार्यकालको महत्वपूर्ण ऐतिहासिक सफलता मानिनेछ ।
असन्तुलित सम्बन्ध
भारत स्वतन्त्र भएपश्चात् अर्थात् सन् १९४७ देखि जवाहरलाल नेहरूले लिएको नीतिदेखि नै दक्षिण एसियाली देशप्रति भारतीय नीति र व्यवहार असहज रहेको छ भन्नेहरूको कमी छैन । पाकिस्तान, ब:गलादेश र श्रीलङ्काको सम्बन्ध भारतसँग अझै परिष्कृत हुन बाँकी छ । त्यस्तै, भुटान, अफगानिस्तान र मल्दिभ्समा समेत भारतविरोधी समूह बढ्दै गएको एक अनुसन्धानले देखाएको छ ।
आज विशाल भारत विश्व–महाशक्ति बन्ने होडमा छ । विश्व बै:क र आईएमएफलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले समेत केही वर्षमै भारत चीनपछिको दोस्रो आर्थिक शक्ति बन्ने बताइसकेका छन् । भोलिको शक्तिशाली भारत, स्थिर भारत र प्रगतिशील भारत निर्माणका लागि छिमेकी देशहरूमा पनि स्थिरता, सुशासन र सबल नेतृत्व अपरिहार्य हुन्छ । यस्तो अवस्थामा भारतले दक्षिण एसियाली देशहरूसँगको सम्बन्धलाई अत्यन्त सहज, सन्तुलनकारी र ‘विन–विन’मा आधारित बनाउनु जरुरी छ । सफल एवम् परिपक्व राजनीति प्रदर्शन गर्न सक्ने ठानिएका नयाँ प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वप्रथम यस कुरालाई गम्भीर ढङ्गबाट मनन गरी दक्षिण एसियाली देशहरूको विकासमा हातेमालो गर्दै उनीहरूमा रहेको भारतप्रतिको संशय र तिक्तता हटाउन सक्नुपर्छ । आफ्नो शपथग्रहण समारोहमा सार्क देशका सरकार एवम् राष्ट्रप्रमुखहरूलाई सहभागी गराएर मोदीले शुभसङ्केत दिन खोजिसकेका छन् ।
परिमार्जित वाजपेयी पथ
भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वले अवलम्बन गरेको विदेशनीतिलाई आज पनि धेरैले ‘परिपक्व राजनीति’को रूपमा विश्लेषण गर्दछन् । आफू प्रधानमन्त्री भएलगत्तै पाकिस्तानसँगको सम्बन्धलाई बलियो बनाउने भन्दै उनले भनेका थिए, ‘अब ज:ग न होेने देगे:’ ! अर्थात्, अब लडाइँ वा द्वन्द्व हुन दिइने छैन । वाजपेयी नेतृत्वको सरकार आन्तरिक रूपमा अत्यधिक सफल र बाह्य सम्बन्धका हिसाबले अत्यन्त सन्तुलितकारी मानिन्थ्यो । वाजपेयीको समय र हालको राजनीतिक अवस्थाका बीचमा धेरै नै परिवर्तन भएका छन् । त्यसकारण भारतको नयाँ नेतृत्वले वर्तमान राजनीतिक अवस्थाको (आन्तरिक एवम् बाह्य) यथार्थपरक विश्लेषण गरेर ‘परिमार्जित वाजपेयी पथ’ अङ्गीकार गर्नु उपयुक्त र सबैका लागि हितकारी हुने देखिन्छ ।
छिमेकी देशहरूप्रति नरम र असल सम्बन्ध कायम गर्नुपर्छ भनेर ‘गुजराल डक्ट्रिन’को घोषणा गर्ने भारतीय पूर्वप्रधानमन्त्री आईके गुजराल सरकारको दक्षिण एसियाली देशहरूलाई हेर्ने वैदेशिक नीतिलाई पनि मोदी सरकारले अगाडि बढाउँदा राम्रै हुनेछ । प्रधानमन्त्री मोदीले पटक–पटक भन्ने गरेका ‘समृद्ध र सक्षम भारत’ निर्माणका लागि सर्वप्रथम नजिकमा घरेलु र बाह्यमा दक्षिण एसियालाई केन्द्रमा राखेर ‘मोदी डक्ट्रिन’ निर्माण गर्नुपर्दछ । भारतसहित दक्षिण एसिया गरिबहरूको आश्रयस्थल हो । यहाँको चरम गरिबी नै द्वन्द्वको मुख्य कारण हो । मोदी सरकारले प्रस्ट नीति बनाएर घरेलु रूपमा आमजनतासमक्ष वाचा गरेका कार्य गर्ने र दक्षिण एसियाली देशहरूप्रति नरम एवम् असल सम्बन्ध कायम गरेरै आवश्यक सहयोग दिन सक्यो भने निश्चित रूपमा समृद्ध एवम् सक्षम भारत निर्माणका लागि धेरै समय कुर्नुपर्दैन ।
चुनौती र अवसर
भारतीय जनताका आशाका प्रतीक हुन् नरेन्द्र मोदी । चरम गरिबी, कुशासन, भ्रष्टाचार र अराजकताबाट आक्रान्त भारतीय जनताले मोदीलाई सबल नेतृत्वका लागि सत्तारोहण गराएका हुन् । मोदीका अगाडि घरेलु एवम् बाह्य अथाह चुनौतीका बाबजुद अवसरहरू पनि उत्तिकै छन् । यसलाई मोदी नेतृत्वले कसरी समन्वय गर्छ, त्यो हेर्न बाँकी नै छ । एउटा कुरा केचाहिँ हो भने मोदीको उदयले दक्षिण एसियामा सकारात्मक वातावरण निर्माण हुनेमा धेरै मानिस आशावादी छन् ।
तसर्थ, समृद्ध एवम् सक्षम भारत निर्माण क्रममा दक्षिण एसियाली देशहरूसँग उचित सम्बन्ध कायम गर्दै अगाडि बढ्न मोदी नेतृत्व अग्रसर हुनुपर्छ । राजनीतिक, आर्थिक, भौगोलिकलगायत सबै कोणबाट दक्षिण एसियाको एक शक्तिशाली राष्ट्र भएको नाताले मोदी नेतृत्वबाट सिङ्गो दक्षिण एसियाले सकारात्मक सम्बन्ध र रचनात्मक सहयोगको अपेक्षा गर्नु अस्वाभाविक छैन । भारतको वैदेशिक मामिलाका विज्ञहरूको एक समूहले एक वर्षअघि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई छिमेकी देशहरूप्रतिको भारतीय नीति सम्बन्धमा बुझाएको प्रतिवेदनमा पनि छिमेकी देशहरू शान्त र समृद्ध नहँुदासम्म भारत सुरक्षित एवम् समृद्ध बन्न नसक्ने उल्लेख गरिएको थियो । निश्चित रूपमा एउटा विशाल प्रजातान्त्रिक मुलुक एवम् आर्थिक–राजनीतिक क्षेत्रमा विश्वशक्ति बन्ने होडमा रहेको देशको नाताले भारतका निश्चित स्वार्थहरू छन् नै, तर यसको अर्थ यो पनि होइन कि भारत आफ्नो राष्ट्रिय हित वा स्वार्थका लागि मात्र लाग्नुपर्दछ । शक्तिउन्मुख हुनुको नाताले भारतको छिमेकी देशप्रतिको उत्तरदायित्व अझ बढी नै हुन्छ । यस परिप्रेक्ष्यमा भारतमा मोदीको उदयले अब दक्षिण एसियामा कस्तो प्रभाव पार्छ भन्ने कुरा मोदी नेतृत्वको भावी नीति–रणनीति र कार्य सम्पादनले नै देखाउनेछ । आशा गरौँ, सिङ्गो क्षेत्रप्रति सकारात्मक एवम् रचनात्मक प्रभाव नै पर्नेछ ।