पुस्तक समीक्षा-डा. केसीका आलेख

पुस्तक समीक्षा-डा. केसीका आलेख


bicharनिष्पट्ट अँध्यारोमा जूनकीरीको प्रकाश
त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयको प्राध्यापकको रूपमा कार्यरत प्रा.डा. सुरेन्द्र केसीका एक वाम बौद्धिक, वामपन्थी राजनीतिक चिन्तक, नेपाली कम्युनिस्ट आन्दोलनका स्रोतव्यक्ति, प्रखर आलोचक र जानिफकार व्यक्ति मानिन्छन् । राजनीतिमा ‘वाम झुकाव’ राख्ने डा. केसी वाम आन्दोलनका एक शुभचिन्तक पनि हुन् । गुट–उपगुट र व्यक्तिगत टकरावको कारणले निरन्तर फुटको नियति भोगेको नेपाली कम्युनिस्ट आन्दोलन खुद्रा पसलजस्तै बनेका र कम्युनिस्ट नेताहरू विभिन्न सैद्धान्तिक कलेवरमा विचारका खुद्रे पसल चलाइरहँदा मुलुक अनिर्णयको बन्दी बनिरहेको छ । ऐतिहासिक भनिएको संविधानसभाको पहिलो चारवर्षे यात्रा असफलतामा टुङ्गिएको र आशङ्का अनि अनिश्चयको यात्रामा रुमल्लिएको नेपाली राजनीति संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको यतिका महिना बितिसक्दा पनि देश निकासविहीन गोलचक्करमा रुमल्लिरहेको छ । संविधानसभामार्फत जनअपेक्षाअनुसारको संविधान निर्माण गरेर शान्ति, एकता र सामाजिक न्याय, पहिचान, समावेशी र अग्रगामी संविधान निर्माण गर्नुपर्ने आवश्यकता एकातर्फ छ भने संविधानसभाको दोस्रो निर्वाचनमार्फत अभिव्यक्त भएको जनादेशले डा. केसीजस्ता वाम बुद्धिजीवीलाई झस्काएको छ । मुलुकमाा पुनर्संरचना, सङ्घीयता, धर्मनिरपेक्षता, पहिचान र समावेशीको आवाज ०६२/६३ को आन्दोलनमार्फत अभिव्यक्त भएको थियो भने समाजका यी तमाम मागलाई सम्बोधन गर्न असमर्थ मात्र होइन ती मागलाई पूरै स्वीकार गर्न नसकिरहेका पार्टीहरू नेपाली काङ्गे्रस र नेकपा एमालेले चुनावमा सानदार विजय प्राप्त गर्नु र परिवर्तनका संवाहक शक्ति भनेर दाबी गरिरहेका तत्कालीन विद्रोही पार्टीको एउटा समूह एनेकपा माओवादी र मधेसवादी र पार्टीहरू निर्वाचनमा लज्जास्पद तरिकाले पराजित हुनुलाई नेपलको बौद्धिक जगत्ले सामान्य परिघटनाको रूपमा स्वीकार गर्न सकिरहेको थिएन र डा. केसीले आफ्नो किताबमा नेपाली राजनीतिको सो प्रतिगमनरूपी परिवर्तनलाई सशक्त रूपमा उठाएका छन् ।
एनेकपा माओवादी र मधेसवादी दलहरू निर्वाचनमा पराजित हुनुको ककरणमध्ये सबैभन्दा प्रभावकारी कारण ती पार्टीहरूले लिएको एकल जातीय पहिचानसहितको सङ्घीय राज्यको जातिवादी रुझान भएको डा. केसीको ठम्याइ छ । सङ्घीय संरचनामा जाने कि नजाने भन्ने विवाद आज नेपाली राजनीतिमा बाँकी छैन । दुई ठूला पार्टीहरू नेपाली काङ्गे्रस र एमाले पनि राज्यको सङ्घीय संरचना स्वीकार गर्न तयार छन् । विवाद फगत सङ्घीयताको आधार के हुने भन्नेमा मात्र छ । एकल पहिचानका पक्षधर खासगरी मधेसवादी दलहरूको ‘एक मधेस एक प्रदेश’को नारा उनीहरूले लिएको एकल पहिचानको नीतिको विरुद्ध छ । पहिचान खोज्नेहरूले समग्र तराईले एक प्रदेश देख्न खोज्नु या त उनीहरूको दृष्टिभ्रम हो, या त कतैबाट थोपरिएको कुत्सित अभिलाषा । पूर्वदेखि पश्चिमसम्म फैलिएको तराई भाषिक, सा:स्कृतिक र जातीय हिसाबले बहुपहिचान बोकेको समृद्ध सामाजिक एकताबद्ध प्रदेश हो । तर, ‘एक मधेस एक प्रदेश’ वादीहरूले विखण्डनवादी नारा लगाइरहेको र अन्य ठूला भनाउँदा काङ्गे्रस, एमाले र एमाओवादीहरू मधेसी दलहरूसँग सम्झौतासँग अवाञ्छित सम्झौता गरिरहेको अनि सोही अदूरदर्शी सहमतिहरूको चेपुवामा परेर नेपालको पहिलो संविधानसभा विघटन भएको कटु यथार्थप्रति डा. केसी निक्कै सचेत छन् ।
नेपालमा बसोबास गरिरहेका मानिसहरू विभिन्न जाति र सा:स्कृतिक र समूहको अन्तर्घुलनबाट बनेको साझा संस्कृतिको आडमा सहिष्णुतापूर्वक बाँचिरहेका छन् । दोस्रो जनआन्दोलन र त्यसपछि उठेको मधेसको आन्दोलन अनि त्यसको विखण्डनकारी प्रवृत्तिका विरुद्ध भएका थारूहरूको र अखण्ड सुदूरपश्चिमको आन्दोलन यी सबै आन्दोलनले एउटा स्पष्ट दिशाबोध गरेका छन् । पहिचानको प्रश्न नेपालमा निकै पेचिलो बनेको छ । नेपालमा को आदिवादी को जनजाति भन्ने सवाल अझै अनिर्णीत नै छ । कतिपय मानिसको आदिवासी र जनजाति दुवै आधार एउटै हुन् भन्ने बुझाइले थप जटिलता पैदा गरेको छ । नेपालमा कुन जाति कहिले प्रवेश गरे र बसोबास गर्न थाले भन्नेबारेमा आधिकारिक तथ्य नभए पनि आर्य र म:गोल दुवै जाति नेपालमा सात सय वर्षभन्दा बढी समयदेखि बसोबास गर्न थाले भन्नेबारेमा आधिकारिक तथ्य नभए पनि आर्य र म:गोल दुवै जाति आएका शिलापत्र यत्रतत्र पाइएका छन् भने यस्तोमा कसलाई आदिवासी मँन्ने । राज्यले कुनै जातिलाई अग्राधिकार दिने हो भने के आधारमा दिने भन्नेजस्ता अहम् प्रश्नलाई विचार नै नगरी केवल हचुवाका भरमा जातिलाई यो वा त्यो समूहमा सूचीकृत गर्नाले समस्या समाधान नभई थप बढ्ने निश्चित छ । नेपालमा सबैभन्दा बढी दर्बिलो इतिहास भएका पहाडी ब्राह्मण र क्षेत्रलाई अन्य जातिमा समावेश गर्ने गरी प्रमुख काङ्गे्रस, एमाले र एमाओवादीबीच भएको सम्झौता यतिबिघ्न आलोचित भयो कि उनीहरूले नेपालको इतिहास नबुझेको र कुत्सित स्वार्थ पूरा गर्न प्रायोजकहरूको लहैलहैमा लागेर नेपाली समाजको एकताको सम्बन्धमा प्रहार गरेको पुष्टि भएको छ । यसरी हचुवाका भरमा दलहरूले गर्ने निर्णयले नेपालका सबै मानिसलाई चिन्तित बनाइरहेको र त्यसबाट प्रखर राजनीतिक सोच भएका प्राध्यापक केसी असाध्यै बढी चिन्तित छन् ।
इतिहासको प्राध्यापन गरे तापनि मूलतः राजनीतिक दस्तावेज लेखनमा रमाएका डा. केसीको यो पुस्तक पहिलो कृति हो । ‘व्यथा मेरो कथा देशको’ शीर्षक जुरेको छ किताबको । किताबको शीर्षक काव्यात्मक छ र किताब आख्यात्मक कृति होला भनी अनुमान गरिए तापनि पुस्तक दार्शनिक लेखहरूको संगालो बनेको छ । पुस्तक पढिसकेपछि त यस्तो लाग्छ किताबको शीर्षक पो गलत परेछ । यसको शीर्षक त ‘व्यथा पनि देशको र कथा पनि देशको’ पो हुनुपर्ने त । किनभने डा. केसी थाइरोइड ग्रन्थीको क्यान्सरबाट पीडित छन् र उपचारका लागि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर गएका छन् । अस्पताल भर्ना भएदेखि शल्यक्रिया हुन ११ दिन बाँकी छ र उनले त्यही ११ दिनलाई सदुपयोग गरेर पुस्तकाकारको रूप दिए पनि पुस्तक हतारमा लेखिएको वा क्यान्सरजस्तो असाध्य रोगको पूर्वसन्ध्यामा लेखिएको केही कतै भान हुँदैन । उनका विचारहरू अत्यन्त परिस्कृत र उन्नत छन् । त्यसो त लेखनका लागि उनीसँग विभिन्न विधा बाँकी थिए । आत्मपरक निजात्मक निबन्ध पनि लेख्न सकिन्थ्यो, तर उनले त्यस्तो पीडा र वेदनाका अजस्र कथा कुथुङ्ग्री लेख्नु त केवल आत्मालाप मात्र हो । किनभने त्यो एउटा अनुभूतिजन्य परिणाम हो, कारणले खोजी होइन कारणको पहिचानबिना समाधानको पहिचान हुन सक्दैन । त्यसैले डा. केसीको सकारात्मकवादमा आधारित कृति प्रकाशमा आएको छ ।
भाषा र शिल्पीको प्रयोग उन्नत स्तरको छ । पुस्तकमा जम्मा ६ वटा खण्ड छन् र ती खण्डअन्तर्गत चवालीसवटा लेख सङ्कलित छन् । नेपाली राजनीतिलाई मूल लेखको विषयवस्तु बनाइएको छ भने नेपालको राजनीतिसँग जोडिएको तर मुख्यत सामाजिक विषयवस्तुलाई सटिक विश्लेषण गरिएको छ । खण्ड ४ मा ‘अधिकार र पीडाको दोसाँधमा नेपाली महिला र दलित’मा सङ्ग्रहित जम्मा तीनवटा आलेखमा नेपाली समाजको लैङ्गिक र जातीय संरचना, अन्तर्विरोध र अन्तर्सम्बन्ध र सन्तुलनलाई समाजशास्त्रीय र द्वन्द्वात्मक हिसाबले व्याख्या गरिएको छ । हो, नेपाली समाजमा लैङ्गिक विभेद व्याप्त छ र दलित–गैरदलित अन्तर्विरोध कहालीलाग्दो छ । तर, त्यसको वस्तुनिष्ठ समाधानको कार्यक्रम आजको मूलधारका राजनीतिक पार्टीहरूसँग छ त ? अवश्य छैन, डा. केसी देख्दैनन् । समस्या एक थरी छन्, त्यसलाई सम्बोधन गर्ने आत्मबल नभएका पार्टीहरू चुनाव जित्छन् अनि कसरी हुन्छ समस्याको समाधान अनि तमाम समस्यालाई ज्युँका त्युँ राखेर निर्माण गरिने संविधानको कुनै अर्थ छैन । मुलुक गतिहीनताको दुस्चक्रमा फसेको छ, नेतृत्व मतिहीनताको पर्याय बनेको छ । साँच्ची, मुलुकको समस्या क्यान्सरजस्तै डरलाग्दो छ, तर डा. केसीको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरेजस्तै, मुलुकका समस्याको शल्यक्रिया गर्ने नेतृत्व आजको आवश्यकता हो नत्र देशको कथा सदा यस्तै रहिरहनेछ के यो सम्भव होला ?
– जीवी आचार्य