‘पाउन्ड काण्ड’ माफियाहरूको चलखेल मात्रै हो

‘पाउन्ड काण्ड’ माफियाहरूको चलखेल मात्रै हो


sport– लोकबहादुर शाही (पूर्व राष्ट्रिय फुटबल खेलाडी)
वर्तमान अवस्थामा एन्फाको विवाद उत्कर्षमा पुगेको छ भने अध्यक्ष गणेश थापालाई करोडौँ रुपैयाँ लिएको सङ्गीन आरोपमा लागेको छ । थापाको आर्थिक अनियमितता र अपारदर्शितालाई मुद्दा बनाउँदै एन्फाकै एकथरी पदाधिकारीहरूले थापाका विरुद्धमा आन्दोलन छेडेका छन् । प्रधानमन्त्री, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी र ज्ञापनपत्र बुझाएका उनीहरूले थापालाई निलम्बन गर्नुपर्ने र थापाको राजीनामाको मागसमेत गरेका छन् । यसरी थापाविरुद्ध चर्किएको आन्दोलन र हुनसक्ने कानुनी कारबाही, नेपालको विश्वकपमा पुग्ने सम्भावना र ब्राजिलमा सञ्चालन भइरहेको विश्वकप फुटबलबारे फुटबलका ‘कूटनीतिज्ञ’का रूपमा ख्यातिप्राप्त पूर्व एन्फाका महासचिव तथा ‘चुम्बकीय गोलकिपर’को संज्ञा पाएका स्पोर्टस् फर अल क्लब नेपालका अध्यक्ष लोकबहादुर शाहीसँग घटना र विचारले गरेको विशेष कुराकानी ः
० फुटबलको पूर्वराष्ट्रिय खेलाडीको नाताले वर्तमान अवस्थामा एन्फाबारे भइरहेको टीका–टिप्पणीबारे तपाई:को राय के छ ?
– अहिले एन्फाबारे जुन टीका–टिप्पणी भइरहेको छ, त्यो विषयमा जवाफ दिने निकाय विश्व फुटबल महासङ्घ (फिफा) र राष्ट्रिय खेलकुद परिषद्को हो । हाल म यी दुवै संस्थामा संलग्न नभएको हुँदा यो विषयमा बोल्दा र नबोल्दा कुनै आधिकारिकता रहँदैन । जुन कुराको सुनुवाइ हुँदैन त्यसबारे टीका–टिप्पणी गर्नुको कुनै अर्थ रहँदैन । तसर्थ व्यर्थैमा ‘तित्राको मुखै बैरी’जस्तो किन गर्नु ।
० एन्फामा भएको अनियमितता र अपारदर्शिताको मुद्दाले खेलकुदमा व्यापक चर्चा पाएको छ, यसमा तपाई:को भन्नु के छ ?
– मैले पनि यो कुरा सञ्चारमाध्यममा पढ्न र सुन्नै मौका पाएको हुँ, यसमा मलाई कुनै आश्चर्य लागेको छैन । यसर्थमा कि कुनै पनि सङ्घसंस्था चलाउनका लागि आ–आफ्नै नियम कानुन र विधान हुन्छ र सोहीअनुसार चल्नुपर्छ । सङ्गठनात्मक रूपमा कामकारबाहीको पारदर्शिता भएको छ छैन भन्ने कुरामा सम्बन्धित निकायको सर्वोच्च संस्थाले आधिकारिक रूपमा हरेक कुरा मनिटिरिङ गर्नुपर्छ । प्रमाणबिनाको आरोपमा कुनै दम हुँदैन ।
० अहिले एन्फा अध्यक्ष गणेश थापालाई अपारदर्शिताको आरोप लगाउँदै एन्फाकै केही पदाधिकारीहरूले आन्दोलन छेडेका छन्, यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– ज–जसले थापालाई चुनौती दिँदै आन्दोलन छेडेका थिए, यो विषयमा के–कस्तो प्रगति भएको छ, सो कुरा सोध्न अहिले ब्राजिल जानुपर्ने भएको छ । आन्दोलनका एक महारथी अहिले थापाको सहयात्री भएपछि यो आन्दोलनको प्रभाव र सशक्तताबारे सोझै अड्कल काट्न सकिन्छ । सबै कानै चिरेका हुन, अवसर र मौकाको खोजीमा छन्, स्वार्थ पूरा भएपछि मुखमा दही जमाउँछन् । गाँठी कुरा यही हो ।
० तपाई:ले एन्फा उपाध्यक्ष किशोर राईलाई सङ्केत गरेजस्तो छ, यो त तीन महिनाअघि नै भएको निर्णय हो भन्छन् नि आन्दोलनका खेलाडीहरू ?
– कुलो र कुरो जता घुमाए पनि हुन्छ, यो आन्दोलनको सार पनि यस्तै हो भन्दा फरक नपर्ला । एन्फा अध्यक्ष थापालाई हटाउने आँट र साहस एन्फाका कुनै पनि पदाधिकारीहरूसँग छैन, जुन नियम कानुनसम्मत पनि छैन । जसलाई उपाध्यक्ष राईले ब्राजिलमा गएर अझ प्रमाणित गरिदिएका छन् । तसर्थ आन्दोलनको कुनै आधिकारिक औचित्य छ जस्तो मलाई लाग्दैन । यो थापाको विरोधका लागि मात्र विरोध गरिएको हो ।
० उपाध्यक्ष राई थापासँगै ब्राजिल गए पनि अर्का उपाध्यक्ष कर्मा छिरिङले आन्दोलनलाई सशक्त ढङ्गबाट अगाडि बढाइरहेका छन् । प्रधानमन्त्री, खेलकुद मन्त्रालय, अख्तियार र राखेपमा थापाको विरोधमा उजुरी र ज्ञापनपत्र बुझाएका छन्, यस्तो अवस्थामा पनि आन्दोलनको औचित्य छैन भन्नुमा कुनै तुक छ र ?
– यो गाह्रो र गहिरो प्रश्नको जवाफ दिने कार्य खेलकुदमन्त्री र राखेपका सदस्यसचिवको हो । म फुटबलको पूर्वखेलाडीको हैसियतले भन्नुपर्दा समग्र फुटबलको विकासका लागि झैझगडा होइन मिलेर जानुपर्छ भन्छु । एन्फाका पदाधिकारीहरूको मूल उद्देश्य नै नेपाली फुटबलको विकास भएकाले यसैमा समर्पित भए संस्था र व्यक्तिको प्रतिष्ठा बढेर जानेमा सायदै कसैको शङ्का होला । पहिले थापाका विरुद्धमा आन्दोलन छेड्नेहरू अहिले थापाकै सबैभन्दा समीप र प्रिय भएर बसेका छन् । तिनीहरूले पनि पहिले यस्तै आन्दोलन र विरोध गरेका थिए, आखिर त्यसको उपलब्धि के भयो त ? भन्नै लाज लाग्छ । तसर्थ यो आन्दोलनले पनि औचित्य पुष्टि गर्नसक्छ जस्तो मलाई त लाग्दैन ।
० एन्फा अध्यक्ष थापाले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा भोट दिएबापत मोहम्मद विन हमामसँग एक लाख १५ हजार पाउन्ड लिएको बेलायतको चर्चित पत्रिका सन्डे टाइम्सले खुलासा गरेको छ । के यसमा थापा चुकेकै हुन् त, तपाई:लाई कस्तो लाग्छ ?
– प्रत्येक कुराको दुईवटा पक्ष हुन्छन्, सकारात्मक र नकारात्मक । विश्वकप २०२२ को सन्दर्भमा विश्लेषण गर्दा यस्तै देखिएको छ । २०२२ को विश्वकप मित्रराष्ट्र कतारमा आयोजना हुनु नेपालका लागि निकै खुसीको कुरा हो । यसर्थमा अहिले विश्वकपकै भौतिक पूर्वाधार निर्माणका लागि लाखौँ नेपालीले कतारमा रोजगार पाएका छन्, मुलुकको रेमिटेन्स बढाइरहेका छन् । एसियाली मुलुक कतारमा विश्वकप नहुँदो हो भने त्यो अवसरबाट नेपाली वञ्चित हुने थिए । जहाँसम्म विदेशी पत्रिकामा छापिएको समाचारको सन्दर्भमा कसलाई बेफाइदा भयो त्यो हामीलाई सरोकारको विषय पनि होइन । साँचो अर्थमा भन्नुपर्दा हामी नेपाली र राष्ट्रकै लागि के फाइदा भो त्यसको पछि लाग्नु स्वस्थजनक हुन्छ । विश्वकप २०१४ को सन्मुख आएर विदेशी पत्रपत्रिकामा समाचार संप्रेषण हुनु संयोग मात्रै होइन । यो नितान्त प्रायोजित र स्वार्थसिद्धका लागि रचिएको नाटक हो । नेपाल विश्वकप फुटबलको आयोजक र आगामी वर्ष हुने फिफा अध्यक्ष पदको दाबेदार पनि होइन । यसैले यो समाचारप्रति नेपालले लिनुपर्ने र दिनुपर्ने केही छैन । मलाई यो विश्वकपअन्तर्गतको ‘माफिया’ चलखेल मात्र हो जस्तो लाग्छ ।
० थापाले त राष्ट्रको तर्फबाट भोट दिएका थिए, त्यसबापत लाखौँ डलर लिनु मुलुककै मानमर्दन भएन र ?
– मतदान भन्ने कुरा पहिले त गोप्य हुन्छ, त्यो कुन पक्षमा गयो भन्ने कुरा सार्वजनिक हुँदैन । जहाँसम्म लाखौँ डलरको लेनदेनको कुरा छ त्यो आधिकारिक रूपमा प्रमाणित नभएको अवस्था छ । तसर्थ हतारमै सानो मुख ठूलो कुरा गर्नुभन्दा सत्यतथ्य बाहिर नआउन्जेलसम्म हल्लाको भरमा दौडिनुभन्दा मौन बस्दा उचित र फाइदाजनक हुन्छ । अझ यो नितान्त व्यक्तिगत भएकाले संस्थागत र राष्ट्रको मान–प्रतिष्ठामा कुनै आघात पर्ने म देख्दिनँ ।
० तपार्इ:ले डलर लिनुलाई व्यक्तिगत भन्नु भो, थापा त नेपाली हुन् नि, नेपालको प्रतिनिधित्व गरेर आर्थिक चलखेल गर्दा यसको नेपालमा कुनै कानुनी उपचार छैन त ?
– मैले भनिहालेँ नि आर्थिक चलखेलको कुरा आधिकारिक रूपमा प्रमाणित भएको छैन । जहाँसम्म कानुनको कुरा छ, त्यो राजादेखि रङ्कसम्मले मान्नुपर्छ । मुलुकको कानुनभन्दा माथि कोही पनि हुँदैन । समय र परिस्थितिलाई मूल्याङ्कन गरी व्याख्या गर्ने काम मेरो होइन, त्यो न्यायालयको हो । न्यायालयले दोषी ठह-याएर थापा त के जसले पनि कारबाहीको भागीदार हुनुपर्छ । मलाई जानकारी भएअनुसार फिफाका दुई सय नौ राष्ट्र छन्, तीमध्ये खेलाडी, रेफ्री, सङ्घ, क्लब र पदाधिकारीबीच झैझगडा, आर्थिक अनियमिततासम्बन्धी कुनै वादविवाद परे त्यसको अन्तिम निकास ‘कोर्ट अफ एसिवेशन फर स्पोर्टस्’ नामक संस्थाले दिन्छ । जसको गठन फिफाले गरेको हो । यो संस्थामा अपिल गर्न एएफसीको विधानको दफा ६०, ६१, ६२ र फिफाको दफा ६६, ६७ मा स्पष्टसँग व्यवस्था गरिएको छ । उपरोक्त न्यायालयले दिएको निर्णय अन्तिम र फिफालगायत सबैले मान्नुपर्छ ।
० प्रसङ्ग बदलौँ, ब्राजिलमा विश्वकप सञ्चालन भइरहेको छ, तर, नेपालले दुईपटक विश्वकप छनोट प्रतियोगितामा समेत सहभागिता जनाएको छैन । र पनि, नेपालमा फुटबलप्रेमीहरूको हरेक दिन वृद्धि हुनुलाई तपार्इ: के भन्नुहुन्छ ?
– ब्राजिलमा आयोजना भइरहेको विश्वकपको सन्दर्भमा नेपाली फुटबलप्रेमीहरूमा देखिएको जुन उत्साह र उमङ्ग छ त्यो नेपाली फुटबल खेलको विकासको शुभसङ्केत हो । अब फुटबल खेलसँग सम्बन्धित सबै निकायले गम्भीरतापूर्वक यो विषयमा लेखाजोखा गर्नुको साथै उनीहरूको उत्साहलाई ‘क्यास’ गर्नु अत्यन्त जरुरी भइसकेको छ । यस्तो स्थितिमा नेपालको राष्ट्रिय टिमलाई छनोट चरणमा समावेश नगराउनु भनेको फुटबलप्रेमीलाई अन्याय गर्नु हो ।
० दुईपटक विश्वकप छनोट चरणमा नेपालको राष्ट्रिय टिमलाई सहभागी नगराउने, तर विश्वकप हेर्नलाई लाइन लागेर जाने एन्फा पदाधिकारीलाई के भन्नुहुन्छ ?
– यो प्रश्नको उत्तर दिनै लाज लाग्ने कुरा गर्नु भो । फुटबलको कुम्भमेला विश्वकपमा लाइन लागेर जाने तीर्थयात्रीलाई नेपाल फर्केपछि तपाई: आफैँ सोध्नुहोस्– ब्राजिलमा फुटबल हेर्दा खुसी लाग्यो कि लाज ?
० नेपालको राष्ट्रिय क्रिकेट टिम विश्कपमा पुगिसक्दा फुटबल कहिले पुग्ला भन्ने आमफुटबलप्रेमीको चासो छ । नेपालीले नेपाली फुटबल टिम विश्वकपमा खेलेको हेर्न पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
– पहिलो कुरा त विश्वमा फुटबल खेल्ने राष्ट्रहरूको सङ्ख्या दुई सय नौ छ । सो दाँजोमा क्रिकेट खेल्ने राष्ट्रको सङ्ख्या निकै न्यून छ । तुलनात्मक रूपमा क्रिकेटलाई विश्वकपमा पुग्न सजिलो छ । अर्कोतर्फ विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश पाउन थुप्रै छनोट चरणका खेल खेल्नुपर्छ र त्यसको सफलता पाउन फलामकै चिउरा चपाउनुपर्छ । र पनि म विश्वकपको फाइनल चरणमा नेपाली टिम पुग्ने सम्भावनालाई नकार्न सक्दिनँ । सबै देशका खेलाडी हाम्रा खेलाडीजस्तै छन्, उनीहरू पनि मान्छे नै हुन्, कोही चन्द्रलोक र अन्यलोकबाट आएका होइनन्, गरे जे पनि सम्भव छ । नेपालमा फुटबलको लहर र उत्साहलाई आत्मसात् गर्दा लक्ष्यमा पुग्न सकिन्छ, यसमा दुईमत छैन । कुराले होइन काम गरेर देखाउनुपर्छ । अर्को कुरा यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्न एउटा व्यक्तिविशेषको प्रयासले सम्भव छैन । यसका लागि सिङ्गो राष्ट्र लाग्नुपर्छ, सम्पूर्ण नेपाली एकजुट हुनुपर्छ । हाल राजनीतिले नेपालका हरेक क्षेत्रलाई प्रभावित पारेको छ । विश्वकपमा पुग्नका लागि फुटबल खेलका सबै क्षेत्रलाई प्रभावमा नपारी लक्ष्यमा पुग्न सकिँदैन । नेपालमा राजनीतिक भाषा बुझ्नेहरूको सङ्ख्या हाल ८० प्रतिशत छ भने खेलकुद बुझ्नेहरूको २० । यदि नेपाललाई विश्वकपमा पु-याउने हो भने यो अनुपात ठीक विपरीत हुनु जरुरी छ ।
० अन्त्यमा यो विश्वकपमा कसले बाजी मार्लाजस्तो लाग्छ ?
– विश्वकपको इतिहास हेर्दा युरोप र दक्षिण अमेरिकाका राष्ट्रहरूले मात्र विश्वकप जितेका छन् । यसपालि आयोजक राष्ट्र ब्राजिलको सम्भावना पहिलो नम्बरमा रहेको छ । यसपछि अर्जेन्टिना र जर्मनीमध्ये कुनै एक राष्ट्रले विश्वकप चुम्ने मेरो व्यक्तिगत अनुमान छ ।

खेल समाचार

हास्यपात्र बन्दै छन् खेलकुदमन्त्री
– रतिश्री राणा
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई हटाउन एकसूत्रीय अभियान चलाएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पछिल्लोपटक पुनः कानुनको धज्जी उडाएका छन् । पौडेलले कानुनको धज्जी उडाउने क्रममा सम्माननीय सर्वोच्च अदालतको आदेशलाई समेत नजरअन्दाज गर्दै आफ्नो सङ्कीर्ण सोचको पराकाष्ठालाई उजागर गरेका छन् । पछिल्लो समय पौडेलले कानुनी राज्यको धज्जी उडाएपछि उनीविरुद्ध अहिलेसम्म तीनवटा मुद्दा परेका छन् । खेलकुदको इतिहासमा मन्त्रीलाई एकैपटक तीनवटा मुद्दा हालेको यो पहिलो अवसर हो । मन्त्री पौडेलको यो हर्कतले खेलकुदमा नौलो कीर्तिमान कायम भएको छ । उनको नाम अब ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा सुनौलो अक्षरले लेखिने भएको छ ।
ऐन, कानुन र नियमलाई धोती लगाउँदै खेलकुदमा जे गरे पनि हुन्छ भन्ने मानसिकता प्रबल बनाएका पौडेलले गत साता आफ्नै धोती फुस्केको समेत चाल पाएनन् । पौडेलले कानुन तोड्ने र कानुनको बर्खिलाप जाने क्रममा सर्वोच्च अदालतको फैसलाको समेत अपहेलना गरेका छन् । जेठ १९ गते सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मन्त्री पौडेलले पत्रलाई कार्यान्वयन नगर्नु/गराउनु भन्ने आदेश दिँदै जेठ २६ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । यसपछि लामाले पुनः खेलकुदको जिम्मेवारी सम्हालेका थिए । जेठ २६ गते समयाअभाव कारणले मुद्दाको विषयमा कुनै छलफल र बहस नभएपछि सर्वोच्चले असार १ गतेका लागि पुनः पेसी राखेको थियो । असार १ गतेका लागि पेसी सरेपछि नियमित राखेपमा कार्य गर्दै आएका सदस्यसचिव लामालाई सोही दिन अर्थात् जेठ २६ गते नै मन्त्री पौडेलले पत्राचार गर्दै सर्वोच्चको मानहानि गरेका थिए ।
सर्वोेच्चले जेठ २६ गते बेलुकी पाँच बजे पेसी सरेको जानकारी गराए पनि पौडेलले सोही दिन लामालाई पत्राचार गरेको उनले लामालाई पठाएको पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । सो पत्रमा पौडेलले जेठ २७ गतेदेखि सदस्यसचिवको हैसियतले राखेपमा उपस्थित भई कुनै पनि कामकारबाही गर्न नगराउन जेठ २८ गते राखेपमा पठाएको पत्रमा निर्देशन दिएका थिए । सर्वोच्चले असार १ गतेको पेसी दिँदादिँदै मन्त्री पौडेलले ऐन, कानुन र नियमको एकरत्ति पनि ख्याल नगरी गैरजिम्मेवार तरिकाले उक्त कदम उठाएका थिए । मन्त्री पौडेलको यस्तो पत्र प्राप्त गरेपछि सदस्यसचिव लामाले सोही दिन जेठ २८ गते पत्रकार सम्मेलन गरेका थिए । उक्त पत्रकार सम्मेलनमा लामाले पौडेलको यो गैरकानुनी कदमले अदालतको मानहानि भएकाले जानकारी गराउँदै जेठ २९ गते सर्वोच्चमा पौडेलका विरुद्ध हानहानिको मुद्दा दायर गरेका थिए ।
मन्त्री पौडेलको यो हर्कतले ३५ महिनादेखि बिनाअवरोध सुचारु रूपमा सञ्चालन भइरहेको खेलकुदमा अराजकता भित्रिएको छ । राम्रो काम गर्नेलाई काम गर्ने वातावरणको सिर्जना गर्नुको साटो कानुनको अपव्याख्या गर्दै सर्वोच्चको फैसलालाई समेत चुनौती दिइरहेका पौडेलले खेलकुदलाई तहसनहस बनाउन कुनै कसर बाँकी नराख्ने छनक देखाएका छन् । अन्यथा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको अवस्थामा समेत मन्त्रीले आफ्नो निजी सचिवालयबाट पत्राचार गरी खेलकुदमा भाँडभैलो मच्चाउने कार्य कदापि गर्ने थिएनन् । अदालतको आदेशलाई समेत लत्याएर आफूखुसी खेलकुदमा ताण्डप देखाउँदै आएका मन्त्री पौडेल अहिले नराम्रोसँग नाङ्गिन पुगेका छन् । उनी अहिले आमखेलमप्रेमी, खेलाडी र कर्मचारीको नजरमा हास्यपात्र बनेका छन् ।
मन्त्रीजस्तो सार्वजनिक पदमा बसेर कानुनको उपहास गर्नु अहिले खेलकुदका लागि दुर्भाग्य भएको छ । सबैको मन्त्री बन्नुपर्नेमा एमालेको एकगुटको मन्त्री मात्र बनेका पौडेलका यी गैरकानुनी कदमले उनी खेलकुदमा के चाहन्छन् त्यो प्रस्ट भएको छ । सदस्यसचिव नपाउँदा सर्वोच्चको मानहानि गर्न पछि नपर्ने मन्त्री पौडेलले सदस्यसचिव पाएपछि खेलकुदमा कस्तो उप्रदो मच्चाउलान् त्यो सहजै अड्कल र अनुमान लगाउन सकिन्छ । खेलकुदलाई लथालिङ्ग र भताभुङ्ग पार्न न्वारानदेखिको बल लगाइरहेका पौडेलले असार १० गते सर्वोच्चले लामाको पक्षमा फैसला सुनाए फेरि अर्को हतकण्डा मच्चाउने प्रायः निश्चित छ । तसर्थ लामा हटाऊ अभियानमा लागेका मन्त्री पौडेलको आफ्नो स्वार्थसिद्ध नहुन्जेल खेलकुदमा अमनचयन कायम हुने देखिँदैन ।
खेलकुद सिध्याउने पौडेलको ध्याउन्नले गर्दा उनी मन्त्री भएदेखि अहिलेसम्म राखेपको बोर्ड बैठक बस्न सकेको छैन । जसले गर्दा नीतिगत निर्णय गर्न नपाउँदा राखेप अनिर्णयको बन्दी बनेको छ । अहिले ‘डे टु डे’ काममा मात्रै सीमित रहेको राखेपले कुनै पनि बजेट पारित गर्न सकेको छैन । इन्चुकमा हुने एसियाली खेलकुद प्रतियोगिताको छनोट पनि अहिले धरापमा परेको छ । परिणाम विकृति, विसङ्गति र अराजकतातर्फ खेलकुदउन्मुख भएको छ । र पनि, मन्त्री पौडेल अनदेखि र अनसुनी गर्दै खेलकुदको अस्मिता लिलाम भएको टुलुटुलु हेरेर बसेका छन् । त्यसैले एक खेलकर्मीले भने– भारतीय राष्ट्रिय क्रिकेट टिमका सर्वाधिक सफल कप्तान महेन्द्रसि:ह धोनीको प्रख्यात सहर राँचीमा उनको उपचार गराए पौडेलको बुद्धि फिथ्र्यो कि ?
क्रिकेटको जिम्मेवारी शाहलाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल क्रिकेट सङ्घका पदाधिकारीलाई आर्थिक हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेपछि क्रिकेट सङ्घका अध्यक्ष, महासचिव, सचिव र कोपाध्यक्षलगायतका १९ जना पदाधिकारी निलम्बनमा परेका थिए । त्यसपछि नैतिकताको आधारमा उनीहरूले जिम्मेवारी सम्हाल्न नपाउने भएपछि सङ्घको विधानबमोजिम दैनिक कार्य सञ्चालन गर्न प्रथम उपाध्यक्ष तारिणीविक्रम शाहको नेतृत्वमा क्रिकेट सङ्घको नयाँ कार्यसमिति गठन गरिएको छ । उक्त कमिटीमा प्रथम उपाध्यक्ष शाहले अध्यक्ष, सचिव उत्तम कर्माचार्यले महासचिव, प्रवक्ता र कोषाध्यक्षको लागि सदस्य दिवाकर घलेलाई चयन गरिएको छ । यो निर्णय २९ जेठमा बसेको नेपाल क्रिकेट सङ्घको कार्यसमितिले गरेको हो ।
सहदीप सर्वोत्कृष्ट खेलाडी
यौनजन्य हि:सा एवम् बलात्कारको सिकार भएर मानसिक र शारीरिक रूपमा विक्षिप्त बनेका बालबालिकालाई तेक्वान्दो खेलमार्फत आत्मविश्वासी बनाउने कार्यमा विगत एक वर्षदेखि लागिपरिरहेको रक्षा तेक्वान्दो डोजाङले पहिलोपटक जिल्ला खेलकुद विकास समिति, युवा सूचना केन्द्र काठमाडौ:सँगको
सहकार्यमा आयोजित अन्तर रक्षा तेक्वान्दो प्रतियोगितामा सहदीप सापकोटा खत्री सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
लैनचौरमा भएको उक्त प्रतियोगितामाको पुरुष २५ केजी तौल समूहको फाइनलमा सहदीपले मानव राईलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए । सोही तौल समूहको महिलामा दीक्षा नेपाली पहिलो भएकी थिइन् । त्यस्तै, महिला ५० केजीमा सरु राईले स्वर्ण जितेकी थिइन् । विजेतालाई रक्षा नेपालकी केन्द्रीय अध्यक्ष मेनुका थापालगायतले पुरस्कार प्रदान गरका थिए ।
एकदिने प्रतियोगितामा जम्मा ३२ खेलाडीले तीन स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक डोजाङ प्रमुख अशोक खड्काले जनाएका छन् ।

पारा तेक्वान्दोमा यादव
रुसको मस्कोमा हुने पाँचौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन यादव कुँवरसहित तीन सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । जुन १९ र २० मा हुने प्रतियोगितामा यादवले पुरुष ६१ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यादवले स्विट्जरल्यान्डको लुसेनमा २०१३ को जुनमै भएको चौथो संस्करणमा पनि सहभागिता जनाएका थिए । उनले ब्राजिलका खेलाडीलाई हराउँदै कास्य जितेका थिए । त्यसबेला उनले ६८ केजीमुनि खेलेका थिए । साथै उनले ‘फाइटिङ स्पिरिट’ पुरस्कारसमेत पाएका थिए । टिम व्यवस्थापकमा जर्नाजन ढुङ्गेल र प्रशिक्षकमा लोकेन्द्र आचार्य रहेका छन् ।

आमन्त्रित कराते प्रतियोगिता सम्पन्न
नेपाल च्याम्पियन प्रथम आईएमए आमन्त्रित कराते प्रतियोगितामा नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले ५० स्वर्ण, ५० रजत र ८८ कास्य जित्न सफल भएको थियो । आमन्त्रितको रूपमा नेपाल आएको भारतले चार स्वर्ण, चार रजत र २० कास्य जित्न सफल भएको थियो । विजेता खेलाडीलाई अमेरिकाबाट आएका विश्व कराते महासङ्घका रेफ्री हन्सी साइरस मदानीले पुरस्कृत गरेका थिए । राखेप कभर्डहलमा भएको दुईदिने प्रतियोगितामा उमेर समूह, तौल समूहका कुमुते र काता गरी ५४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

बक्सिङ सोलिडारिटी कोर्स सम्पन्न
नेपाल बक्सिङ सङ्घको आयोजनामा ओलम्पिक सोलिडारिटीअन्तर्गत आइबा वान स्टार सर्टिफिकेसन बक्सिङ कोर्स हालै सम्पन्न भएको छ । पाँचदिने कोर्समा २२ बक्सिङ प्रशिक्षक सहभागी थिए । आइबा प्रशिक्षक श्रील:काली आरके इन्दसेनाले कोर्स सञ्चालन गरेका थिए । सहभागीको परीक्षासमेत लिइएको थियो । इन्दसेनाका अनुसार नतिजा दुई हप्तापछि आउनेछ । सहभागीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले प्रमाणपत्र वितरण गरेका थिए । ‘बक्सिङबाट नेपालले पदक ल्याउने सम्भावना छ । त्यसका लागि पनि हामी यसलाई प्राथमिकता दिइरहेका छौँ– प्रधानले भने । बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठले बक्सिङ प्रशिक्षकको क्षमता वृद्धिका लागि आगामी दिनमा यस्तैखाले प्रशिक्षण कार्यक्रमलाई सङ्घले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

नमुना बस्ती पारिवारिक बचतले मनायो तेस्रो वार्षिकोत्सव
भक्तपुरको बालकोटमा रहेको नमुना बस्ती पारिवारिक बचतले यही शनिबार तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन संस्थाको ज्येष्ठ सेयर सदस्य अम्बिकाप्रसाद ढुङ्गानाले गरेका थिए । सो अवसरमा संस्थाकी अध्यक्ष चन्द्रमाया कार्कीले संस्थाको अहिलेसम्मको आयव्यय, बचत र ब्याजबारे जानकारी गराइन् ।
४२ सेयस सदस्य रहेको संस्थाले अहिलेसम्म आठ लाख ७७ हजार पाँच सय बचत जम्मा गरी नौ लाख ५५ हजार कर्जा प्रवाह गरी एक लाख १७ हजार दुई सय १७ रुपैयाँ ब्याज आर्जन गरेको अध्यक्ष कार्कीले सो अवसरमा जानकारी दिइन् । सेयर सदस्य राजन ढुङ्गानाले सञ्चालन गरेका उक्त कार्यक्रममा अर्का सेयर सदस्य यादव पोखरेलले संस्थाको भावी आर्थिक कार्ययोजनाबारे प्रकाश पारेका थिए । सो अवसरमा संस्थाकी अध्यक्ष कार्कीकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको थियो ।