फन टाइम

फन टाइम


funtime‘झोला’मा काम नगर भन्नेहरू इष्र्या गर्न थालेका छन्’
यतिबेला विशेष चर्चामा छिन् अभिनेत्री गरिमा पन्त । चलचित्र ‘झोला’को सफलतासँगै चर्चामा आएकी गरिमाले हालै श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेपछि उनको तारिफ गर्नेहरूको बढोत्तरी देखिएको छ । त्यसमाथि राष्ट्रपतिले आफैँ फोन गरेर बधाई दिएपछि त गरिमाले यसलाई जीवनकै महत्वपूर्ण उपलब्धि ठानेकी छिन् । चलचित्र क्षेत्रमा लागेको दशौँ वर्षसम्म बितिसक्दा पनि नेपालमा च्याउसरी आयोजना हुने कुनै पनि शीर्षकको अवार्ड पाउन नसकेकी गरिमाले जीवनमा नै पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड जितिन् ।
० पहिलोपटक नै अन्तर्राष्ट्रिय अवार्ड हात प¥यो, कस्तो लागिरहेको छ त ?
– खुसीको सीमा नै छैन । यसबारे बयान गर्ने शब्द नै छैन मसँग ।
० यस्तो अपेक्षा गरिएको थिएन ?
– सोचेकी नै थिइनँ, तर चलचित्र ‘झोला’ले मेरो करियरमा थप उचाइ दिन्छ भन्नेचाहिँ लागेको थियो ।
० राष्ट्रपतिबाट पनि बधाई पाइयो, कस्तो लाग्यो त्यतिबेला ?
– व्यक्तिगत रूपमा राष्ट्रपतिबाट विशेष भेट पाएको सम्भवत: म नै पहिलो कलाकार हुँ । यस्तो अवसर सबैलाई कहाँ मिल्छ र ? राष्ट्रपतिलाई भेटेपछि झनै हौसला र पे्ररणा मिलेको छ ।
० भेटमा के भन्नुभयो राष्ट्रपतिले ?
– नेपाल र नेपालीको शिर उच्च बनाएकोमा उहाँले बधाई दिनुभयो । उहाँको बधाईसँगै चलचित्र क्षेत्रमा केही गर्न झनै पे्ररणा र प्रोत्साहन मिलेको छ ।
० नेपालमा महिनैपिच्छे अवार्ड वितरण हुन्छ तर गरिमाले किन अवार्ड पाउँदिनन् ?
– खै किन हो थाहा भएन । म नेपालको अवार्ड पाउन लायक नभएर होला नि ।
० नेपालमा हुने अवार्ड आयोजकलाई त सार्क फिल्म फेस्टिभलमा गरिमाले पाएको अवार्ड झापड नै भन्नुपर्ला, होइन त ?
– झापड नै त नभनौँ, मेरो काम उहाँहरूलाई मन परेन होला नि ।
० ‘झोला’मा अभिनय गर्दा पहिले कस्तो प्रतिक्रिया आएको थियो ।
– यस्तो पुरानो कथामाथि बन्ने फिल्म खेल्नुहुन्न भनेर मलाई मेरै सहकर्मीले भनेका थिए, तर आज ती सबै कुराहरू मिथ्या सावित भएका छन् ।
० अहिले के भन्छन् त ती साथीहरू ?
– जसले मलाई गिज्याउँथे, अहिले उनीहरू डाह–इष्र्या गर्न थालेका छन् । तर, मेरो यात्रा यत्ति मात्र होइन, अझै अघि बढ्नु छ ।

‘महानायक’को मधुरात्री अमेरिकामा
आफ्नो विवाहको भोज खुवाएको पर्सिपल्ट सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नका निम्ति अस्टे«लिया पुगेका ‘महानायक’ राजेश हमाल यतिबेला अस्टे«लियामै छन् । धेरैले नवविवाहिता पत्नीलाई पनि हमालले अस्टे«लिया लिएर जाने अनुमान गरेका थिए, तर अनुमान सही निस्किएन । अस्टे«लियाको सांस्कृतिक कार्यक्रमका लागि अष्ट्रेलिया जानुपर्ने भएपछि हनिमुन पनि उतै मनाउने प्रोग्राम बनाएको भए हुने नि भनी अनुमान लगाउनु अस्वाभाविक नभए पनि व्यवहारिक कारणले त्यो सम्भव नभएको राजेशनिकट स्रोतले जनायो । राजेशको हनिमुनबारे प्रशंसकहरूमा यसरी चासो बढिरहेकै बेला यसबारे केही नयाँ खबर प्राप्त भएका छन् । यसपटक आफ्नो जन्मदिन पनि श्रीमतीका साथ मनाउन नपाएका ‘महानायक’ हमाल आगामी असार ८ गते अस्टे«लियाबाट नेपाल फर्कंदै छन् । गत सोमबार उनको जन्मदिन परेको थियो । उनले अस्टे«लियामै साधारण तरिकाले जन्मदिन मनाएको खबर छ । बताइएअनुसार हमालले उताबाट फर्किएर पोखरा र अमेरिकामा विशेष तवरले हनिमुन मनाउने भएका छन् । अस्ट्रेलियाबाट फर्केलगत्तै १० गते पोखरा पुगी १३ गतेसम्म त्यहीँ पत्नी मधुका साथ मधुरात्री बिताउने र त्यसको केही दिनपश्चात् उनी सपत्नी अमेरिका उड्ने छन् । विगतका वर्षहरूमा दशैं वा तिहार मनाउन अमेरिकामा जाने हमाल यसपटक श्रमितीका साथ दशैंअगावै अमेरिका जाने भएका छन् । यसकारण पनि उनले अबको चार महिना कुनै पनि चलचित्रका काम गर्नका लागि समय दिएका छैनन् र नयाँ सम्झौता पनि नगर्ने भएका छन् ।

चलचित्रको प्रचार गर्न विवाहको चर्चा
चलचित्र चलाउन चलचित्रकर्मीहरू कतिसम्मको तिकडम गर्न सक्छन् भन्ने कुराको पछिल्लो उदाहरण अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काले प्रस्तुत गरेका छन् । श्रीकृष्ण र श्वेताबीचको नजिकको सम्बन्ध या घनिष्ठताका बारेमा फिल्मकर्मीहरू मात्र नभएर दशर्कहरू पनि विज्ञ नै छन् । तर, यी दुईले घनिष्टता बढेको करिब पाँच वर्षपछि आएर बिहे गर्ने चर्चा चलाउन थालेका छन्, त्यो पनि चलचित्र रिलिजको सङ्घारमा आएर । श्रीकृष्णले निर्माण गरेको चलचित्र कोहिनुर साउनमा प्रदर्शनमा आउँदै छ भने चलचित्रमा श्वेता नै हिरोइन छिन् । बिहानदेखि सँगै भेटिने, देखिने अनि नेपालमा मात्र होइन कि विदेशमा पनि एकसाथ जाने र घुम्ने यो जोडीले पहिले नै विवाह गर्न सक्थ्योे, तर अहिले चलचित्रलाई प्रचारमा ल्याउन सकिने जुक्ति सोचेर आफ्नो विवाहलाई पनि प्रचारप्रसारको माध्यम बनाएको चर्चाले चलचित्र बजारमा गर्माएको छ । यी दुईको नजिकपन र घनिष्टताले कसैले पनि श्रीले अर्की युवती र श्वेताले अर्को युवकसँग विवाह गर्लिन् भनेर झिनो अनुमान पनि लगाएका थिएनन् । ‘विवाह त एक दिन गर्नु नै छ भने त्यस बारेको हल्ला सिनेमा रिलिजको समय पारेर किन नचलाउने ? यसो गर्दा फिल्मको प्रचारमा त पक्कै बल पुग्छ’ भन्ने सोचबाट प्रेरित भएर श्रीकृष्ण–स्वेताले सुनियोजित तवरमा विवाहको हल्ला चलाएको उनीनिकट सुत्रले दाबी गरेको छ । श्रीकृष्णको यो चालको तारिफ गर्नैपर्छ ।