प्रहरी महानिरीक्षकको नाममा जरुरी पत्र

प्रहरी महानिरीक्षकको नाममा जरुरी पत्र


bichar– वीरेन्द्रमणि पौडेल
महानिरीक्षकज्यू, नमस्कार
नेपालमा राजतन्त्र सजिलोसँग चल्दासम्म वीरेन्द्र वीरविक्रम शाहले टाउकामा श्रीपेच लाए । अप्ठ्यारो अवस्थामा आइपुग्दासम्म पनि ज्ञानेन्द्रविक्रम शाहले उनको टाउकोमा श्रीपेच राखे । अर्थात् ज्ञानेन्द्र पनि यो देशको राजा भए । यसलाई यसरी भनौँ उनी देशभरिकै एक नम्बरका मान्छे भए । यसलाई संयोग, भाग्य वा मौका वा चिट्ठा वा चौका जे–जे नाम दिए पनि एक नम्बरको हुनु भनेको चानचुने विषय होइन । यतिबेला राष्ट्रपतिको कुर्सीमा डाक्टर रामवरण यादव हुनुहुन्छ । सिङ्गो देशको एक मात्र राष्ट्रपति हुनु भनेको पनि कुनै जन्मको सुकर्मकै फल होला भन्नुपर्छ । तपाईंलाई थाहा छ यो देशमा कुनै एकप्रकारको दुब्लो गणतन्त्र स्थापना भएपछि प्रचण्ड नामका नेता यो देशको प्रधानमन्त्रीको कुर्सीमा उक्लिए । बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालहरू पनि प्रधानमन्त्री भए । मुलुकको कार्यकारी प्रमुख हुन पाउनु भाग्यमानीको खप्परमा मात्रै लेखिएको हुन्छ भन्दा हुन्छ । जोसुकै मान्छे वा सबै मान्छे प्रधानमन्त्री हुन सक्दैनन् । अब एक नम्बरकै चर्चा गर्दा गृह मन्त्रालय मातहत रहने प्रहरी सङ्गठनको प्रमुखको कुर्सीमा तपाईं रहनुभएको छ । यो मौका वा भाग्य पनि सबैले पाउँदैनन् । कर्मचारीको पहिलो नम्बरको हाकिम लीलामणि पौडेल छन् । सेनाको एक नम्बरको हाकिम गौरवशमशेर छन् । अख्तियारको प्रमुख लोकमान छन् भनेजस्तै अन्यअन्य निकायमा पनि प्रमुखको रूपमा एकएक नेपाली नागरिक रहेका छन् जुन मौका सबैले पाउँदैनन् । पाएर कसैले सकारात्मक काम गर्छन्, त्यही कामको कारण लामो समय जनताको मनमस्तिष्कमा बाँच्छन् भने कोही सकारात्मक काम गर्नबाट चुक्छन् र चाँडै ओझेलमा पर्छन् । महानिरीक्षकज्यू, विरलै मान्छेले पाउने महानिरीक्षक पद तपाईंले पाउनुभएको छ । यसका लागि तपाईंलाई बधाई पनि छ साथमा तपार्इंले गर्नैपर्ने र गर्न सक्ने केही काम छन् तपाईंको सङ्गठनमा जुन कामले प्रहरीले त इज्जत पाउने छन् नै नेपाली जनतालाई समेत ठूलै राहत मिल्नेछ । केही सल्लाहका बुँदाहरू र व्याख्या यस्तो छ ।
१) प्रहरीले पाएको तलब सुविधा कम :
यतिबेला तपाईंको सङ्गठनमा काम गर्ने तल्लो दर्जाको सिपाहीको तलब १२ हजार ६ सय ५० रुपैयाँ र करिब तीन हजार रुपैयाँ रासनबापत उपलब्ध गराइएको देखियो । यति तलब–सुविधाले एउटा सिपाहीले कुनै पनि हालतमा आफ्नो परिवार पाल्न सक्दैन । हिसाब गर्दा एउटा सिपाहीको परिवारमा आमा, बाबु, श्रीमती, एक छोरा र एक छोरी गरी आफूसमेत ६ जनाको परिवार बुझ्नुपर्छ । बूढाबूढी भएपछि आमाबाबुलाई महिनामा कम्तीमा एकपटक अस्पताल लैजानुपर्छ । डाक्टर शुल्क कम्तीमा चार सय, अनेकथरीको जाँच गर्दा पाँच–पाँच हजार र महिनामा कम्तीमा चार–पाँच हजारको ओखती गर्दा एक सिपाहीले आफ्नो शुद्ध तलबबाट आफ्नो आमाबाबुलाई समेत पाल्न सक्दैन भने कलियुगका श्रीमतीका चाहना र बच्चाबच्चीको पढाइ, ओखती खर्च कसरी धान्न सक्छ ? कुल खर्च कम्तीमा २५ हजार देखिन्छ । यो रकम प्रहरी जवानले कहाँबाट ल्याउला ? उसका अगाडि अब के–के विकल्प हुन सक्छन् ? एउटा विकल्प घुस खाने र अर्को विकल्प प्रहरी सङ्गठनबाट राजीनामा दिएर खाडी मुलुक भासिने । यतिबेलासम्म नेपालका तल्ला दर्जाका सिपाहीले पहिलो विकल्प रोजेको देखिन्छ भने केहीले दोस्रो विकल्प रोजिसके । त्यसकारण परिस्थिति छर्लङ्ग छ यतिबेलाको तलब प्रहरीका सबै दर्जाका लागि कम छ । यो ठूलै समस्या हो र यसलाई समाधान गर्न तपाईं महानिरीक्षक भएकै बेला प्रहरीलाई तलब वृद्धिका लागि गृह मन्त्रालयमार्फत माग गरिहाल्नोस् । यदि सरकार साँच्चैको सरकार हो भने अन्यत्रको चुहावट र भ्रष्टाचार नियन्त्रण गरेर प्रहरीको तलब बढाउँछ । यो काम गर्न सरकारले नसक्ने पनि होइन, तर प्रस्ताव भने तपाईंले नै राख्नुपर्छ किनकि तपाईं सबै दर्जाका प्रहरीको अभिभावक हुनुहुन्छ ।
२) नैतिकताको पाठ
नेपाली नागरिक समाज नैतिक दृष्टिकोणले निकै भ्रष्ट भइसकेको छ । पहिलेपहिले विद्यालय स्तरका पाठ्यपुस्तकमै नैतिक शिक्षा पढाइन्थ्यो । तर, आज कुन्नी कसको बुद्धि वा मतिका कारणले हो नैतिक शिक्षाको पढाइ नेपालमा छैन । समाजका अरू क्षेत्रका अन्यले नैतिक शिक्षा पढाइ सञ्चालन गरून्–नगरून्, तर तपार्इंले नेपाल प्रहरीका सबै दर्जाका कर्मचारीलाई नैतिक शिक्षा पढाइ अनिवार्य गरिदिनुभयो भने त्यसको सकारात्मक प्रभाव सङ्गठनमा त पर्नेछ नै समाज सङ्लो हुनसमेत मद्दत मिल्नेछ ।
३) महिला प्रहरीको सङ्ख्या कम
जनसङ्ख्याको तुलनामा कुल प्रहरी सङ्ख्या नै कम भएको एकातिर छँदै छ । अन्तर्राष्ट्रिय व्यावहारिक नियमानुसार एक प्रहरीको जिम्मामा तीसदेखि पचास जनाको सुरक्षा जिम्मा हुन्छ भने नेपालमा तीन सयभन्दा बढी नागरिकको सुरक्षा गर्नुपर्ने अवस्था देखिन्छ । एकातर्फ प्रहरी सङ्ख्या नै बढाउनुपर्ने छ भने आधाभन्दा बढी जनसङ्ख्या महिलाको भएको देशमा महिला प्रहरीको सङ्ख्या अति न्यून देखिएको छ । तपाईंले महिला प्रहरी भर्तीमा चासो दिनुभयो भने जानेर होइन, अन्दाजको भरमा देश हाँक्नेहरूका लागि सहयोग मिल्ने थियो भने जनतालाई राहत ।
४) सरुवामा स्थान रोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने
तपाईंलाई थाहा भएको विषय हो कि नेपालका प्रहरी आफूलाई मन परेको स्थानमा दरबन्दी पार्न क्रियाशील छन् । माथिल्ला हाकिम र राजनीतिकर्मीको विशेष निगाहमा केहीले भनेकै स्थानमा दरबन्दी वा सरुवा मिलान गर्न सफल भएका छन् भने शक्तिशाली पहुँच नभएकाहरू दुर्गम र अति दुर्गममा बस्न बाध्य भएका छन् । प्रहरीमा यो भेदभाव स्पष्ट देखिएको छ । तपाईंकै पालामा यो भेदभाव अन्त्य गर्न स्पष्ट नियम वा प्रहरी ऐनमा नै व्यवस्था गर्न सक्नुभयो भने फलिफाप हुनेछ । पहुँचहीन प्रहरीका परिवारले तपाईंलाई आशीर्वाद दिनेछन् । तराईका प्रहरीहरू पहाड र हिमालतिर जान नमान्ने र पहाडका प्रहरीहरू सकेसम्म तराईतिर जान नमान्ने अवस्था तपाईंले बुझ्नुभएकै छ । तराईकालाई पहाड र पहाडतिरकालाई तराईतिर जानैपर्ने अवस्था सिर्जना गरिदिने हो भने एकातर्फ क्षेत्रीय सद्भाव र स्नेह वृद्धि हुनेछ भने भेदभाव भएको अवस्थाको अन्त्यसमेत हुनेछ ।
५) कार्यालय प्रमुखसँग जनताले भेट्न नपाएको अवस्था :
पीडित नागरिक आफ्नो समस्या प्रहरी कार्यालयको प्रमुखलाई भेटेरै भन्न चाहेको देखिन्छ, तर प्रमुख सम्पर्कमा आउन चाहँदैनन् । सम्भव भएसम्म टेलिफोन र मोबाइलसमेत नउठाउने गरेको देखिन्छ । तपाईं प्रहरी महानिरीक्षकजस्तो व्यस्त व्यक्ति सम्भव भएसम्म हामीले सम्पर्क गर्दा मोबाइल उठाउनुहुन्छ तर तपाईंमातहत अन्य विभिन्न तहका हाकिम सम्पर्कमा रहन चाहँदैनन् । जनतासँग घुलमिल नगर्ने यो खालको परिपाटीले एकातर्फ जनताको वास्तविक मर्का बुझ्न सकिँदैन भने निवृत्त भएपछि प्रहरीका हाकिमलाई समाजमा घुलमिल गरेर बस्न पनि अप्ठ्यारो हुन्छ । यो अवस्थाको अन्त्य गर्दा नै कल्याण हुन्छ भन्ने मेरो बुझाइ छ ।
६) अन्य मुलुकका प्रहरीको अनुशासन पनि हाम्रालाई सिकाउन जरुरी :
विकसित मुलुकका प्रहरीहरूले अपराधीलाई पक्रिन्छन्, पछाडि हात फर्काएर बाँध्छन्, कानुनअनुसार जेल सजाय दिन्छन्, तर कुट्ने काम गर्दैनन् । तर, त्यसको ठीक विपरीत हाम्रो देशमा गल्ती गरेर प्रहरी फन्दामा पर्नेहरूलाई बेस्सरी कुट्ने चलन छ । उस्तै परे दाँत, नाक पनि भाँचिन्छ । यो चलन मानवअधिकारका दृष्टिकोणले पनि सही होइन । यसको अन्त्य गर्नुपर्छ । राम्रो काम गर्न ढिलाइ गर्न हुँदैन । तपाईंकै पालामा खराब कामको अन्त्य र ठीक कामको सुरुआत हुनुपर्छ ।
७) ट्राफिक नियमसम्बन्धी पढाइ विद्यालयस्तरमै हुनुपर्ने :
यतिबेला ट्राफिक प्रहरीको रूपमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र घिमिरेले विद्यालयस्तरका सबै कक्षामा ट्राफिक नियमबारे जनचेतना बढाउने खालको शिक्षा समावेश गर्ने हो भने त्यसको परिणाम सकारात्मक हुने विचार व्यक्त गरेका छन् । बुद्धि मन्त्रीको पदमा पुगेर मात्रै आउने होइन । राजनीतिभन्दा बाहिरकासँग पनि बुद्धि हुन सक्छ । सबइन्स्पेक्टर घिमिरेको विचारलाई अलिकति सकारात्मक मानिदिने हो र तपाईंले गृहमन्त्री वामदेवलाई र वामदेवले शिक्षामन्त्री चित्रलेखा यादवलाई यथार्थ अवस्था बुझाउने हो भने चित्रलेखामार्फत पाठ्यक्रममै ट्राफिक नियमसम्बन्धी पढाइ सुरु हुन सक्छ र त्यसको परिणाम दुर्घटना कम हुँदै जाने र जनधनको क्षति कम हुने हुन्छ ।
८) सिमानामा प्रहरी परिचालन :
नेपाल र भारतबीचको सिमाना खुला छ । अनेकथरीका तस्करी र अपराधहरू सिमानातिरै बढी भएका छन् । तर, प्रहरी सङ्ख्या सिमानातिर कम र अन्यत्र ज्यादा भएको देखिएको छ । सिमानामा प्रहरी सङ्ख्या केही थप्दा शान्ति सुरक्षामा सुधार आउने र तस्करी, अपराधहरू कम हुने देखिन्छ ।
९) बढुवामा धाँधली :
प्रहरी बढुवामा यो मुलुकमा गोलमाल हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । गोलमाल हुनुमा राजनीतिमार्फत आउने गृहमन्त्रीले जे चाहे त्यही हुने अवस्थाले पनि हो । यदि प्रहरी ऐनमा नै बढुवासम्बन्धी कसैले काटकुट पार्न र फेरबदल गर्न नसक्ने व्यवस्था गर्ने हो भने गृहमन्त्रीको एकाधिकार चल्ने थिएन र हाम्रा अति आदरणीय नेता वामदेम गौतमजस्ताले क्वाँक्वाँ रोएर गृहमन्त्री पद माग्न पर्थेन । प्रहरी अनुशासनमा हुने थिए । चेन अफ कमान्डमा गोलमाल आउने थिएन । मोतीलाल बोहराले शेरबहादुरलाई फकाएर ऐन परिवर्तन गरी रत्नशमशेरलाई घोक्रेठ्याक लगाएर आफू महानिरीक्षक भएको, अच्युत खरेल र ध्रुवबहादुर प्रधान काण्ड र रमेश चन्द ठकुरीले रवीन्द्रप्रतापलाई उछिनेको अवस्था तपाईंले बुझ्नुभएकै छ । यो समस्या समाधानका लागि निष्पक्ष प्रहरी आयोगसमेत बनाउन सकिन्छ त्यसका लागि तपाईंको पहल जरुरी छ ।
१०) रमेश खरेल काण्ड :
रमेश खरेल इमानदार छन् । कर्तव्यपरायण छन् । यति मात्रै पर्याप्त हुँदैन । अनुशासन पनि चाहिन्छ । उनले यसपटक अनुशासन तोडेकै हुन् । अनुशासनको कारबाही हुनुपर्छ । आज रमेशले डीआईजीहरू ब्रिफकेस बोकेर प्रमोसनका लागि शक्तिकेन्द्र धाउँदै छन् भने रमेश खरेलभन्दा तलका अफिसरहरूले पनि भोलि रमेश खरेलले ब्रिफकेस बोकेर शक्तिकेन्द्र धायो भन्छन् । उसले उसलाई नटेर्ने अवस्था आउँछ । प्रहरीको चेन अफ कमान्ड भङ्ग हुन्छ । प्रहरी सङ्गठन नै बदनाम हुन्छ । त्यसको नकारात्मक असर सिङ्गो देशलाई पर्छ । असत्यको युगमा सधैंभरि सत्य बोल्ने प्रयासले पनि राम्रो काम गर्दैन । त्यति मात्रै सत्य बोल्नु जति बोल्दा ठीक हुन्छ भन्ने गीताको सन्देश रमेशलाई थाहै रहेनछ र बिचरा यसपटक चिप्लिए । फेरि नेपाल प्रहरीमा रमेश खरेल मात्रै इमानदार र सक्षम भन्ने खालको बतास पनि चलाइयो त्यसको परिणाम पनि राम्रो नहुने अवस्था थियो । खरेल इमानदार हुन्, तर उनी मात्रै इमानदार छन् भन्ने खालको प्रचारले पनि खरेललाई सन्किन मद्दत ग¥यो त्यसकारण उनले बोल्न नमिल्ने कुरा बोले । गल्ती रमेशको मात्रै होइन, धेरै पक्षको गल्ती छ यो काण्डमा । तर, मुख्य गल्ती रमेशकै हो । आउने दिनमा हरेक प्रहरी सदस्य काबिल छन् भन्ने खालको सन्देश प्रवाह हुनुपर्छ न कि एउटा रमेश खरेल मात्रै । यो काम तपाईंकै पालामा भइदिए राम्रो ।
११) त्यस्तो गल्ती नहोस् :
डीबी लामा प्रहरी महानिरीक्षक भए । इज्जत पाएकै थिए, तर राजनीतिमा होमिए । शायद मन्त्रीको कुर्सीमा पनि उक्लिए । तर, पहिले महानिरीक्षक भएका व्यक्ति भूतपूर्व हुँदा पनि इज्जत पाउने परम्परा छ, तर राजनीतिको फोहोरमा हाम्फालेर पाएको इज्जत गुमाए । त्यही गल्ती ध्रुवबहादुर प्रधान र रवीन्द्रपताप शाहले पनि गरे । एउटा प्रहरी सङ्गठनको प्रमुख भएपछि मान्छेको जीवनमा अरू चिज चाहिँदैन । बरु प्रहरी सङ्गठनकै लागि सल्लाहकारको रूपमा रहन सकिन्छ । सरकारले पुराना महानिरीक्षकलाई सुरक्षा सल्लाहकारको रूपमा सहयोग लिन पनि सक्छ, तर महानिरीक्षक भइसकेको व्यक्ति कुनै राजनीतिक दलको कुनै पद वा कुनै पाँचतारे होटलको सुरक्षाप्रमुख हुनुजत्तिको बेइज्जत अरू के हुन सक्छ ? तपाईं विद्वान् हुनुहुन्छ । डीबी लामा, ध्रुवबहादुर प्रधान र रवीन्द्रप्रताप खालको गल्ती तपाईंले गर्नुहुने छैन । आजसम्म तपाईंको काम जनताको नजरमा सकारात्मक छ । अरू दुई–चार वर्ष महानिरीक्षकको पदमा टाँसिन पाए हुन्थ्यो भन्ने खालको लोभ तपाईंमा नजागोस् । किनकि जसरी पनि एक दिन भूतपूर्व त हुनैछ । दुई वर्षअघि भूतपूर्व हुँदा के फरक प¥यो ?
अन्त्यमा महानिरीक्षकज्यू,
चारजनाको परिवार चलाउन त मान्छेलाई मुस्किल हुन्छ भने हजाराँै सङ्ख्या रहेको प्रहरी परिवार चलाउन तपाईंलाई पनि गाह्रै भएको होला । तथापि सिपाही, हवल्दार, असई र सईले बढी दु:ख पाएको देखिएको छ । यिनको भलाइमा केही न केही अवश्य गर्नुस् ताकि उपेन्द्रकान्त अर्यालको फोटो नेपालका प्रहरी कार्यालयमा मात्रै नभई ती दु:खी तल्ला तहका कर्मचारीको घरघरमा पनि होस् । सल्लाह कति सकारात्मक कति नकारात्मक छुट्याउने जिम्मा पनि तपाईंकै ।