सम्मानको अपमान

सम्मानको अपमान


nisedhकरिब दुई दशकअघिको एक दिन तत्कालीन नारायणहिटी दरबारमा राजपरिवारले दिउँसोको खाना खाँदै गर्दा चरा प्रजातिको मासु बडामहारानी ऐश्वर्यलाई अति नै मीठो लागेछ । असाध्यै स्वादिलो भएपछि यो कसले बनाएको हो भन्नेबारेमा खोजी गर्दा भान्से समूहका एक पुरुषले बनाएको पत्ता लागेपछि ओहो तैँले आज गजबै खाना खुवाइस् भनी भान्सेको प्रशंसा गर्दै दरबारका एक कर्मचारीलाई रानी ऐश्वर्यबाट हुकुम भएछ– यसपटकको एउटा गोरखा दक्षिण बाहु यसलाई दिनू । स्वाभाविक रूपले सो वर्षको एउटा गोरखा दक्षिण बाहु दरबारका ती भान्सेले प्राप्त गरे । विगतमा यसप्रकारका दक्षिण बाहु पाउनेको सङ्ख्या ठूलो थियो । पञ्चायतदेखि प्रजान्तन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा दरबार रहेन, राजा रहेनन्, राष्ट्रिय पदकका नामहरूदेखि लिएर पदक दिने व्यक्तिसमेत बदलिए । तर, राष्ट्रिय सम्मानजस्तो कुरा पनि कसैलाई रिझाएर पाइने या दिइने परम्परा भने बदलिएन । यसको अर्थ जतिले पदक पाए ती सबैले कसैलाई रिझाएरै पाए भन्ने पटक्कै होइन, कतिपय पाउनैपर्ने व्यक्तिहरूले राष्ट्रिय सम्मान पाएका छन् । तर, पदक प्रदान गर्ने हाम्रो सिस्टम, विभिन्न क्षेत्रमा भएका कतिपय व्यक्तिहरूले प्राप्त गरेका पदक र तिनका योगदानलाई हेर्दा भन्नैपर्ने हुन्छ– राष्ट्रिय सम्मानको सम्मान राख्न हामीले सकिरहेका छैनौँ । सम्मान या पुरस्कार भन्ने कुरा मागेर, निवेदन हालेर या सिफारिसको आधारमा पाइने कुरा होइन । तर, हामीकहाँ भने निर्णयक समितिमा बसेका मानिसले आफैँले आफैँलाई सम्मान या पुरस्कारका लागि सिफारिस गर्ने लज्जास्पद कार्यसमेत हुँदै आएको छ । यसप्रकारका अवार्ड, पुरस्कार या सम्मान प्राप्त गरेर बधाई लिने र हाँसेरै हिँड्नेहरूलाई देखेर अप्ठ्यारो लाग्नेहरूको सङ्ख्या नभएको होइन, तर ‘यो यस्तैहरूको संसार हो’ भन्दै तिनलाई ल… बधाई छ है भन्दै हिँड्नेहरू धेरै छन् । गणतन्त्र दिवसको अवसरमा यसपटक दिइएका सम्मानहरूमा पनि पदक प्रदान गर्ने समितिकै मानिसहरूले आफूले आफैँलाई सिफारिस गरेको देख्दा मानिस हुनुको मानसिक दरिद्रता कतिसम्म हुन्छ भनेर मापनसम्म गर्न सकियो, तर यसप्रकारको लज्जास्पद संस्कृतिको अन्त्यका लागि पहल गर्न सक्ने अवस्था भने शायद छैन । कुनै पनि अवार्ड या सम्मान प्रदान गर्नका लागि सामान्यतया स्वतन्त्र निर्णायक समितिको निर्माण गरिएको हुन्छ । कसैप्रति ‘बायस एटिच्युड’ नरहोस् र योग्य मानिस परून् भन्ने उद्देश्यले गठन गरिएका छनोट समितिका मानिसहरू स्वयम्ले जब आफैँले आफैँलाई जब योग्य देख्छन् अनि त्यतिबेला भन्नैपर्ने हुन्छ, ‘हो, यो यस्तैहरूको देश हो, ठीकै भएको छ ।’
दुनियाँमा सम्मान, अवार्ड या पुरस्कारका प्रकार अनेक छन् । विभिन्न आकार–प्रकारका सम्मानहरू विभिन्न मुलुकमा प्रत्येक दिन ठूलो सङ्ख्यामा वितरण भइरहेका हुन्छन् । हाम्रै मुलुकमा पनि प्रत्येक दिनजसो अखबारका पानामा कुनै न कुनै सम्मान कसै न कसैले प्राप्त गरेका समाचार र फोटाहरू प्रकाशित भइरहेकै हुन्छन् । विद्युतीय सञ्चारमाध्यमहरूमा अझ जोडतोडका साथ यसप्रकारका सामग्री प्रसारित भइरहेको देखिन्छ । ‘काम गर्दै गएपछि एक न एक दिन त्यसको सम्मान हुँदोरहेछ, या … क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै … संस्थाले गरेको सम्मान’ भन्ने क्याप्सनसहितका फोटोहरू फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा यत्रतत्र देखिन्छन् । बेलाबेलामा गरिने सम्मान या अवार्डले मानिसलाई थप राम्रो काम गर्न उत्साह प्रदान गर्छ, थप उत्तरदायी पनि बनाउँछ । त्यसैले सोर्सफोर्स नलगाईकन र आफूले आफैँलाई सिफारिस नगरीकन प्राप्त हुने सम्मान या अवार्ड आफँैमा राम्रो कुरा हो । तर, यसरी विभिन्न सङ्घसंस्था, कुल, गुठी, प्रतिष्ठानलगायतले दिने सम्मान÷अवार्ड र राष्ट्रले गर्ने अवार्ड, सम्मानबीचको अन्तर ठूलो छ । राष्ट्रले नै कसैलाई सम्मान या पुरस्कृत गर्ने भनेको ठूलो कुरा हो, त्यसैले यसमा पुरस्कार पाउने व्यक्तिको योगदान पनि ठूलै हुनुपर्छ । छिमेकी मुलुक भारतमा पद्म श्री या अन्य राष्ट्रिय अवार्ड कसैलाई प्रदान गर्नुपूर्व सम्बन्धित क्षेत्रका मानिसबीच छलफल र बहस गरी राष्ट्रिय सम्मान प्राप्त गर्नुपर्ने आधारहरू खोजिन्छन् । राष्ट्रिय सम्मानलाई सकेसम्म विवादरहित बनाउने कोसिस प्रायः सबै मुलुकमा गरिन्छ । तर, हामीकहाँ भने राष्ट्रिय सम्मानका लागि कुनै निश्चित मापदण्डसमेत बनाएको पाइँदैन । पुरस्कारका लागि कमिटी बनाएर सो कमिटीले मापदण्ड बनाइहाले पनि त्यसमा बाँधिएर निर्णय गरेको देखिँदैन । पत्रकारितालगायतका राष्ट्रिय पुरस्कारहरूमा समेत राजनीतिक आधारमा भागबण्डा गर्ने गरिएको छ । हामीकहाँ अन्य विभिन्न विषयमा राजनीतिक भागबन्डा हुने कुरा कसैबाट छुपेको छैन । हुँदैहुँदै अब मान–सम्मानमा पनि यो लागू हुन थालेको छ ।
प्रायः राजनीतिक भागबन्डा, निकटवर्तीहरूको सोर्सफोर्सलगायतबाट प्राप्त हुने भएका कारण हाम्रो मुलुकमा तक्माको महŒव पनि खासै छैन । सुरक्षा अधिकारी तथा कर्मचारीको बढुवामा २ नं. आउने भएकाले उक्त समूहमा भने पदकको केही चार्म देखिन्छ । कर्मचारीहरूमा गृहको सम्बन्धित शाखामा आफ्नो मान्छे हुनेहरूले प्रायः तक्मा प्राप्त गर्ने गरेका छन् । कतिपयले निष्पक्ष रूपमै पनि पाएका छन् । कुनै लाभको पद दिनु र राष्ट्रिय सम्मान फरक कुरा हो, तर यहाँ विभिन्न क्षेत्रका व्यक्तित्वलाई दिइने राष्ट्रिय सम्मान राजनीतिक नियुक्तिजस्तो भएको छ, जसको सरकार छ उसैका मानिसले बढी पाउने । यसप्रकारको प्रचलन विश्वमा कहीँ पनि हुँदैन । साथै राष्ट्रिय सम्मान तथा पुरस्कारहरू विवादित पनि कम हुने गर्छन् । तर, हामीकहाँ भने राष्ट्रिय सम्मानहरू गौरबभन्दा बढी विवादका विषय बन्ने गरेका छन् । अर्थात्, यस्ता पुरस्कार तथा सम्मानहरू सालिन्दा नै विवादको विषय बन्ने गरेका छन् । हालै एक सरकारी कर्मचारीले यस पङ्क्तिकारसँग भनेका थिए, ‘भ्रष्टाचारमा चुर्लुम्म डुबेर कारबाहीबाट छलिँदै आएका एक कर्मचारी मित्रले राष्ट्रिय सम्मान पाएपछि हामीजस्ता मान्छेलाई एउटै शाखामा बस्नै अप्ठ्यारो भएको छ ।’ चाटुकार मित्रले सम्मान पाएपछि उनले आफूलाई अपमानित भएको महसुस गरेका रहेछन् । अहिले उनले आफू सम्मानित नभएका कारण अपमानित भएको महसुस गरे, तर यही अवस्था रहेमा भोलि राष्ट्रिय तक्मा तथा पुरस्कारको भाउ घट्दै गएर पुरस्कार प्राप्त गर्नेले नै आफ्नो अवमूल्यन भएको महसुस गर्ने दिन नआउला भन्न सकिन्न ।