जीपीको खरानी नसेलाउंदै नेतृत्वका लागि मरिहत्ते

जीपीको खरानी नसेलाउंदै नेतृत्वका लागि मरिहत्ते


– वीरेन्द्रमणि पौडेल
गिरिजाप्रसाद कोइरालाको अगाडि नेपाली काङ्ग्रेस पार्टीमा सबै नेता-कार्यकर्ता साह्रै फुच्चा थिए । गिरिजाका राजनीतिक सहयात्री गणेशमान सिंहको निधन र कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिबाटै पाखा लगाइएपछि उनी एक्लै र एक मात्र पाका सर्वोच्च नेता थिए । उनको अगाडि दोस्रो पुस्ताका नेता रामचन्द्र, शैलजा, शेरबहादुर, सुशील यतिसम्मका फुच्चा थिए कि गिरिजाले जे भने पनि ‘हुन्छ गिरिजाबाबु, हो गिरिजाबाबु’ मात्रै भन्ने गर्थे । गिरिजाप्रसादसँग विवाद गर्न वा तर्क अघि र्सार्ने हुति दोस्रो पुस्ताका यी नेतामा थिएन । नेपालको राजनीतिक इतिहासमै असाध्यै बढी दुःख सहेकी सङ्घर्षशील, प्रजातान्त्रिक लडाकु, नेपाली महिला मुक्ति आन्दोलनका हिसाबले एक सशक्त वीरांगना शैलजाको केही समयअघि शङ्कास्पद ढङ्गले मृत्यु भयो । दुनियाँमा विरलै मान्छेलाई लाग्ने मस्तिष्कसम्बन्धी रोग उनमा देखियो र त्यसैका कारण उनी बितिन् । विश्वेश्वरप्रसाद कोइरालाको २०३९ सालमा निधन भएपश्चात् तीन नेता कृष्णप्रसाद, गणेशमान र गिरिजाप्रसादको संयुक्त नेतृत्वमा नेपाली काङ्ग्रेसले गति लियो । त्यो नेतृत्व गतिशील रहेकै बखत भनिन्थ्यो, ‘यसपछिको नेतृत्व आर.एस.एस.को जिम्मामा’, अर्थात रामचन्द्र, शैलजा र शेरबहादुर । गणेशमानको निधन, कृष्णप्रसादको राजनीतिक निष्क्रियतापछि एक मात्र गिरिजाप्रसादको नेतृत्व रहेको नेपाली काङ्ग्रेस उनको पनि निधनपश्चात् केहीअघि नै शैलजाले र्स्वर्ग प्रस्थान गरेपछि रामचन्द्र र शेरबहादुर मात्रै बाँकी रहेकोमा तीनवटा नेताको कोरम पुर्‍याउन सुशीललाई ल्याइयो । यतिबेला नेपाली काङ्ग्रेसका सक्कली कार्यकर्ता र शुभचिन्तकहरू तीन नेता रामचन्द्र, सुशील र शेरबहादुरको संयुक्त कमाण्डमा पार्टी चलोस् भन्ने कामना गरिरहेका छन् तर गिरिजाबाबुको निधनको तेह्र दिन नपुग्दै या उनको खरानी सेलाउन नपाउँदैदेखि नेतृत्वका लागि मरिहत्ते गरेको प्रत्यक्ष महसुस गरियो । यतिबेला सुशील कोइराला र शेरबहादुर देउबाबीच पार्टी नेतृत्व कब्जाका लागि अति भद्दा र नकारात्मक प्रतिस्पर्धा सुरु भएको छ । झगडाको बीउ पार्टी सभापति पद भएको छ ।
त्यसो त सभापति पदका दाबेदार सुशील र शेरबहादुर दुवै कमजोर र अयोग्य नहोलान् । देउवा र सुशील दुवैलाई सभापति पदका लागि योग्य मानिए पनि यी दुईका अगाडि केही घटना र परिस्थिति तगाराका रूपमा तेर्सिएका छन् । शेरबहादुर देउवालाई स्वस्थ र तन्दुरुस्त अवस्थाको पार्टी फुटाएको आरोप लगाउँदै काङ्ग्रेसभित्रको बौद्धिक वर्ग -जो अलि बढी नै शक्तिशाली छ) ले लोप्पा खुवाएको छ । पछिल्ला दिनमा देउवाका दाहिने हात मानिएका शक्तिशाली नेता गणेशमानपुत्र प्रकाशमान सिंह पनि देउवासँग बिच्किएका छन् । मीनेन्द्र रिजाल, प्रदीप गिरीलगायतले पनि उनको साथ छाडेका छन् । ज-जसले देउवालाई समर्थन गर्छन् तिनले पनि देउवा आफ्नो बुद्धिले भन्दा श्रीमती आरजुको बुद्धिमा चल्ने आरोप लगाएका छन् । आरजुको नेपाली काङ्ग्रेस पार्टीमा कुनै योगदान नभएको र देउवाले पत्नी आरजुलाई जबर्जस्ती नेता बनाउन कम्मर कसेर लागेको आरोप लगाएका छन् । त्यतिमात्र नभई देउवालाई सात समुद्रपारिको शक्तिशाली राष्ट्र अमेरिकाको पक्षधर नेता बताइन्छ जहाँकी नेपालको राजनीतिमा सीधा वा घुमाउरो प्रथम प्रभाव दक्षिणतिरको छिमेकी मुलुकको पर्ने गरेको छ । उत्तरतिरको छिमेकी राष्ट्रले खास हस्तक्षेप नगरे पनि दक्षिण छिमेकीले सकेसम्म देउवालाई साथ नदिने अनुभवी राजनीतिक विश्लेषकहरूको धारणा छ ।
देउवाको तुलनामा सुशील उतिबिघ्न विवादमा नआए पनि जनताको माझमा त्यति धेरै भिज्न नसकेको र कार्यकर्ता परिचालनको हकमा सुस्त देखिएको र निर्णय क्षमता कमजोर रहेको बताइन्छ । यतिबेलासम्म सभापति पदको दाबी नगरी तीनैजना मिलेर पार्टी हाँक्ने बताइरहेका रामचन्द्र पौडेल पनि सभापति पदका योग्य उम्मेदवार भने पक्कै हुन् । वहालवाला पार्टी उपसभापति, पूर्वउपप्रधानमन्त्री, लामो समय नेपाली काङ्ग्रेसको कार्यकर्ता हुँदै नेतृत्वपङ्क्तिमा स्थापित स्वच्छ र मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न सक्ने खुबी रामचन्द्रको खास विशेषता हो । यदि साँच्चै तीन नेताको संयुक्त नेतृत्वमा काङ्ग्रेस नजाने र सभापतिको निरर््वाचन गरी एकल नेतृत्वमा जाने निर्णय गरिए सुशील र देउवालाई पछारेर रामचन्द्र सभापति हुने सम्भावना अझै प्रबल छ । त्यसो त नेपाली काङ्ग्रेस पार्टीभित्र खुमबहादुर खड्का कम शक्तिशाली छैनन् । अन्तर्राष्ट्रिय छवि निर्माण गर्न नसके पनि उनी कार्यकर्ता पङ्क्तिमा ज्यादै प्रिय छन् । सभापति पद तानातानमा खुमबहादुर पनि एक सशक्त उम्मेदवार हुन् । हिन्दू धर्म प्रचारक बाबाहरू पूर्वराजासँगसम्म राम्रै उठबस भएका खड्का चौका परेर सभापति पद हत्याउन सफल भइहालेमा कसैले अनौठो मानेर जिब्रो नटोक्दा हुन्छ । यसरी सभापति पद तानातान हुँदा पार्टी स्वतः कमजोर हुन जाने स्थिति उत्पन्न हुनेछ भने सभापति पद चयनसँगै स्थापित भइसकेका र स्थापित हुन बाँकी केही नेताहरूको राजनीतिक भविष्यमाथि प्रश्नचिह्न पनि खडा हुन सक्छ । शेरबहादुर र खुमबहादुरमध्ये एक सभापति बने कृष्ण सिटौला र शेखर कोइरालाजस्ता राजनीतिज्ञहरूको राजनीतिक भविष्य जोखिममा पर्न सक्छ । आदर्शको राजनीति गर्ने प्रदीप गिरी, नरहरि आचार्य र युवा नेता गगन थापाहरूको राजनीतिक भविष्यसमेत खतरामा पर्न सक्छ । आदर्श, राजनीतिक मूल्य र मान्यतामा अडिकहरूको राजनीतिक जीवन धरापमा पर्दा त्यसको नकारात्मक असर कालान्तरमा नेपाली नागरिक समाजलाई नै पर्नेछ । सुजाता कोइराला जति पिता गिरिजा कोइराला जीवित छँदा शक्तिशाली ठानिन्थिन् अबको स्थिति त्यो र त्यस्तै नरहन सक्छ । समग्रमा यतिबेलाको नेपाली काङ्ग्रेस भर्खरै प्रमुख अभिभावक गुमाएको अवस्थामा कसलाई अभिभावक मान्ने भन्ने विवादमा अल्झिन पुगेको छ । नेतृत्व प्राप्तिका लागि आन्तरिक झगडा भुसको आगोसरी अघि बढ्दो छ । पार्टी पुनः टुक्रिनेसम्मको वा कुनै स्थापित र स्थापित हुन बाँकीहरूको राजनीतिक भविष्यमाथि प्रश्नचिह्न खडा गर्ने स्थितिसहितको नेतृत्व चयन हुन पुगे त्यसको दीर्घकालीन नकारात्मक असर काङ्ग्रेसले ब्यहोर्नुपर्नेछ भने सुशील, रामचन्द्र र शेरबहादुरको संयुक्त नेतृत्व रही काङ्ग्रेसलाई अक्सिजनसहित ऊर्जा दिने स्थिति सिर्जना भए लोकतन्त्रको सुदृढीकरणका लागि टेवा पुग्नेछ । नयाँ संविधान बनाउनसमेत सहयोग पुग्नेछ । यदि त्यसो होइन र साँच्चै नेपाली काङ्ग्रेस सभापति पदका कारण यदुवंशीजस्तै आपसमा लडाइँ लडी सकिए भने एक लोकतान्त्रिक पार्टीको अवसानले सिङ्गो मुलुकलाई धुजाधुजा बनाउने दिशातर्फ उन्मुख गराउनेछ । किनकि, विश्व जनमत लोकतन्त्रको पक्षमा छ र वर्तमान नेपालमा नेपाली काङ्ग्रेसलाई छाडेर यसको विकल्पमा अर्को भरपर्दो लोकतान्त्रिक पार्टीको जन्म भएकै छैन ।