भारतको भ्रमण टोली सङ्कुचित भएका कारण कोइरालामाथि थपियो सङ्कट

भारतको भ्रमण टोली सङ्कुचित भएका कारण कोइरालामाथि थपियो सङ्कट


sushil_koiralaभारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सुशील कोइराला आफ्ना भतिजा र भतिजीलाई मात्र साथ लिएर सहभागी हुन जानु भएपछि काङ्गे्रसभित्र र सिङ्गै सत्तापक्षमा असन्तुष्टि पैदा भएको छ । कोइरालालाई नेपालको प्रधानमन्त्रीका रूपमा भारतीय प्रधानमन्त्रीले आमन्त्रण गर्नुभएको थियो, तर उहाँको भारत भ्रमण ‘कोइराला परिवारका मुखियाको रूपमा’ भयो । प्रधानमन्त्रीका रूपमा सुशील कोइरालाको भ्रमण हुँदा उहाँका साथमा परराष्ट्रमन्त्री, सत्ता साझेदार दलका प्रतिनिधि, केही सभासद् र पार्टीका जिम्मेवार नेतासमेतको सहभागिता रहने अनुमान गरिएको थियो । तर, उहाँले आफूसँग भतिजा डा. सशांक कोइराला र भतिजी सुजाता कोइरालालाई महत्वका साथ समावेश गराउनुभयो । सुशील कोइराला, डा. सशांकलाई आफ्नो उत्तराधिकारी बनाउन चाहनुहुन्छ भन्ने कुराको यस प्रकरणबाट थप पुष्टि हुने पुगेको छ । भारतीय संस्थापनसमक्ष उत्तराधिकारी प्रस्तुत गर्नकै लागि प्रधानमन्त्री कोइरालाले सशांकलाई नयाँदिल्ली लैजानुभएको बुझिए पनि सुजाता कोइरालालाई चाहिँ किन दिल्ली लिएर जानुभएको भन्ने जानकारी सार्वजनिक हुन सकेको छैन । प्राप्त जानकारीअनुसार सुजाताले भाजपाका नेताहरूसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताउँदै आफूलाई साथ लिएर गएमा भारतीय नेताहरूसँग सहजै भेटघाट गराइदिने ‘आकर्षण’ देखाएपछि प्रधानमन्त्री कोइरालाले सुजातालाई समेत सामेल गराउनुभएको हो । सुजाताले चाहना गरिसकेपछि पूरा नहुँदा अभद्र बोली–व्यवहार प्रस्तुत गर्ने भएकोले पनि प्रधानमन्त्री कोइराला सुजातालाई ‘बोकेर’ दिल्ली जान बाध्य हुनुभएको बताइन्छ । सुजाताले प्रधानमन्त्री सुशीलसमक्ष सशांक कोइराला दिल्ली जाने कुरामा विरोध जनाउँदै असन्तुष्टि प्रकट गरेकी थिइन्, तर प्रधानमन्त्रीले सुजाताको कुरा सुन्नुभएन, बरु हप्काउनुभएको बताइन्छ । यसरी सशांकलाई रोक्न गरिएको प्रयास असफल भएपछि सुजाताले दिल्लीमा आफ्नो ‘उपयोगिता’ प्रमाणित गरेर सुशीलको मन जित्ने सोच बनाएकी थिइन् । तर, दिल्लीमा सुजाताले प्रधानमन्त्रीको मन जित्ने त्यस्तो कुनै काम गर्न सकिनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनुमा सुजाताको आफ्नै भूमिका थिएन, अन्य महत्वपूर्ण नेताहरूसँग सुजाताले भेटवार्ता गराउन सकिनन् । भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कोइरालाको राम्रोसँग कुराकानी हुन सकेन । मोदीसँग मंगलबार (जेठ १३ गते) केवल पन्ध्र मिनेट मात्र कुराकानी भएको थियो । भेटका क्रममा कोइरालाले शुभकामना दिँदै नेपालको भ्रमण गर्न निमन्त्रणा दिनुहुँदा मोदीले तत्काल कठिन हुने बताउँदै केही पछि मात्र नेपाल आउनसक्ने जवाफ दिनुभएको दिल्लीस्थित सूत्रहरूले जनाएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले डा. सशांक र सुजाताको खुसीका लागि आफ्ना स्वकीय सचिव लक्ष्मण ढकाललाई भारत भ्रमणमा लिएर जानुभएन । ज्ञातव्य छ, ढकालसँग सशांक र सुजाता दुवै असन्तुष्ट छन् । कोइरालालाई पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्म बनाउने क्रममा विशेष सहयोगी देखिएका लक्ष्मणलाई भ्रमणमा नलैजानुले कोइराला आफ्नै सहयोगीप्रति समेत विश्वस्त हुन नसक्नुभएको सङ्केत गरेको छ । यस प्रकरणले ढकाल स्वयम् असन्तुष्ट बनेको बुझिएको छ । त्यस्तै केही मन्त्रीहरू, महामन्त्री कृष्ण सिटौला, नेता डा. शेखर कोइराला पनि भ्रमणमा संलग्न हुन चाहनुहुन्थ्यो । एमालेका नेता तथा केही सभासद् र राप्रपाका नेता सूर्यबहादुर थापा पनि भ्रमण दलमा सामेल हुन इच्छुक थिए । तर, सत्ताका साझेदार कुनै पनि दलका प्रतिनिधिलाई भ्रमण दलमा संलग्न गराइएन । काङ्गे्रस पार्टीको प्रतिनिधित्व जनिने व्यक्तिलाई पनि भ्रमणमा समावेश गरिएन, केही कर्मचारीहरूसँगै सशांक र सुजातालाई मात्र भ्रमण दलमा सामेल गराइनुको मूल्य प्रधानमन्त्रीले आगामी दिनमा चुकाउनुपर्ने सम्भावना बढेको छ । प्रधानमन्त्रीको कार्यशैली र व्यवहारप्रति त्यसै पनि असन्तुष्ट रहँदै आएको नेकपा एमाले भारत भ्रमणका क्रममा सुशील कोइरालाले दर्शाउनुभएको व्यवहारलाई लिएर थप क्रूद्ध हुन पुगेको छ । एमालेसम्बद्ध मन्त्रीहरूले आफ्ना मन्त्रालयहरूमा प्रधानमन्त्रीसँग परामर्श नै नगरी निर्माण लिने तत्परता लिइसकेका छन् भने आगामी दिनमा प्रधानमन्त्रीलाई अवज्ञा गर्ने क्रम अरू बढेर जाने सङ्केतहरू देखिएका छन् । एमालेले सुशील कोइरालालाई बोकेर अब धेरै दिन अगाडि जान नसक्ने ठहर गरिसकेको छ । आगामी महाधिवेशनलगत्तै सुशील कोइरालालाई दिएको समर्थन फिर्ता लिनुपर्छ भन्ने मत एमालेभित्र बलियो हुँदै गएको छ । त्यस्तै नेपाली काङ्गे्रसमा पनि प्रधानमन्त्री कोइरालाप्रति असन्तुष्टि तीव्र गतिमा बढ्दै छ । वरिष्ठ नेता शेरबहादुर देउवालाई काङ्गे्रस संसदीय दलमा कोइरालाविरुद्ध अविश्वास प्रस्ताव ल्याउनसमेत दबाब पर्न थालेको छ । अहिले अविश्वासको प्रस्ताव दर्ता गरियो भने पचहत्तर प्रतिशतभन्दा बढी सभासद् सुशीलविरुद्ध उभिने विश्लेषण गर्न थालिएको छ । भारत भ्रमणमा उहाँले दर्शाउनुभएको व्यवहारबाट विगतमा कोइरालापक्षीय भनेर चिनिएका नेताहरू नै बढी असन्तुष्ट भएका छन् । छिमेकी मित्रराष्ट्र भारतसँग विश्वास र समझदारी बनाएर चलेको अवस्थामा सरकारको कार्यकाल बढ्न सक्छ भन्ने विश्वास राजनीतिक क्षेत्रमा बढ्दै गएको परिपे्रक्षमा प्रधानमन्त्री कोइराला पनि त्यस्तै धारणाबाट पे्ररित रहनुभएको र भारतको भ्रमण टोली सोही सोचअनुरूप तय गरिएको बताउन थालिएको छ । तर, भ्रमण टोलीका कारण नेपालभित्र जुन प्रकारको असन्तुष्टि पैदा भएको छ, अन्ततः यही असन्तुष्टि सरकार विस्थापनसम्म पुग्यो भने कुनै आश्चर्य हुने छैन । यस प्रकरणलाई कतिपयले ‘टोपी टिप्न खोज्दा…. खुस्किने अवस्था भएको’ भनी टिप्पणी गरेका छन् । जे होस्, सुशील कोइरालाका निम्ति आगामी दिनहरू थप कष्टकारक हुनसक्ने सम्भावना बढेको छ । —जयप्रकाश त्रिपाठी