गाली–बेइज्जती मुद्दाका मारमा नेपाली पत्रिका

गाली–बेइज्जती मुद्दाका मारमा नेपाली पत्रिका


bichar– अधिवक्ता जीबी आचार्य
प्रजातान्त्रिक समाजमा मानिसको बोल्न पाउने अधिकार अर्थात् वाक् स्वतन्त्रतालाई आधारभूत अधिकारको रूपमा लिइएको हुन्छ, त्यसले नेपालको अन्तरिम संविधानको प्रस्तावनाको तेस्रो अनुच्छेदमा ‘प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण पे्रस स्वतन्त्रता, स्वतन्त्रत न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै भन्ने व्यवस्था छ । यसले सिङ्गो राष्ट्र र नेपाल सरकार पे्रस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिबद्ध बनाएको छ । सोही संविधानको धारा १५ ले पे्रस स्वतन्त्रतालाई थप बलियो बनाएको छ । धारा १५ को व्यवस्थाअनुसार कुनै पनि प्रकाशन–प्रसारण संस्थालाई समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै श्रव्य–दृश्य सामग्रीको प्रकाशन वा प्रसारण गर्न वा छाप्न प्रतिबन्ध लगाइने छैन । सोही धाराको उपधारा (२) र (३) ले लेख, सम्पादकीय रचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेबापत कुनै पनि प्रकाशन वा प्रसारण संस्थाको दर्ता खारेजी गर्न पाइने छैन । यसरी संविधानले नै पे्रस स्वतन्त्रताको ग्यारेन्टी गरी नागरिकको वाक् स्वतन्त्रताको अधिकार सुनिश्चित गरिएको छ ।
लोकतान्त्रिक समाज खुला समाज हो । लोकतान्त्रिक समाज प्रत्येक नागरिकबीच समानता रहने समाज हो । लोकतन्त्रमा मात्र मानवअधिकारको विकास र रक्षा हुन सक्छ । तर, लोकतन्त्र कागजी वा सतही हुनुहुँदैन, लोकतन्त्र कार्यात्मक हुनुपर्छ । लोकतन्त्रको मूल्य नागरिकको पारदर्शी आचरण र निर्णयमा निर्भर रहन्छ भने शासन व्यवस्थालाई पारदर्शी, उत्तरदायी, भ्रष्टाचारविहीन र समुन्नत बनाउन सक्षम र निष्पक्ष पे्रसको आवश्यकता छ । दक्ष र प्रभावकारी पे्रसबिना लोकतन्त्र मौलाउन सक्दैन । त्यही भएर हामीले पत्रकारितालाई राज्यको चौथो अङ्ग मानी आएका छौँ । तर, पत्रकारिता जिम्मेवार, शिष्ट, जनउत्तरदायी र विश्वसनीय हुनुपर्छ । पत्रकारिता आवाज हो, जसले समाजका घटनालाई जस्ताको तस्दै बाहिर ल्याइदिनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा यसले व्यक्तिको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ । व्यक्तिको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारभित्र व्यक्तिगत स्वतन्त्रता, निजी जीवनसँग जोडिएका अधिकारहरू जस्तै आधारभूत मानवाधिकारका साथसाथै व्यक्तिको मान र प्रतिष्ठासमेत पर्छन् । पे्रस र पत्रकारले व्यक्तिको सार्वजनिक र निजी जीवनको भेदलाई थाहा पाउन र सम्मान गर्न जरुरी छ ।
हामीकहाँ पत्रकारिताको इतिहास लामो र समृद्ध छैन । मुलुकको लोकतन्त्रजस्तै नेपाली पत्रकारिता पनि ‘शिशु’ अवस्थामै छ भन्दा हुन्छ । र, यो क्षेत्र पनि अन्य क्षेत्रजस्तै नेपालको फोहोरी राजनीतिको सिकार भइरहेको छ । अराजकता र मनोमानी बढ्दै छ भने पेसागत मर्यादा कायम राख्न सक्ने दक्ष व्यक्तिको अभाव पनि व्यापक छ । अधिकांश पत्रकार व्यावसायिक कम र राजनीतिक ज्यादा छन् । यस्तो अवस्थामा पत्रकारिता दिग्भ्रमित हुनु स्वाभाविकै हो । पे्रस जिम्मेवार हुनुपर्छ र पे्रस गैरजिम्मेवार भयो भने त्यसले देशको सार्वभौमसत्ता, राष्ट्रियता अखण्डता, सामाजिक एकता, मूल्य–मान्यता र धर्म–संस्कृति तथा विभिन्न जातजाति वा सम्प्रदायको सुमधुर सम्बन्धमा खलल पार्ने, आपसी सद्भाव सिध्याउनेजस्ता निकृष्ट काम हुन सक्छ । पे्रस गैरजिम्मेवार हुँदा पत्रिकामा प्रकाशित समाचार वा श्रव्य–दृश्यकै कारणले गर्दा व्यक्तिले आत्महत्यासम्म पर्नुपरेका दुःखद् उदाहरण हामीकहाँ पनि प्रशस्त छन् ।
पे्रसले बाटो बिराउँदा त्यसले समाजलाई पार्ने प्रभाव अत्यन्त दूरगामी र भयङ्कर हानिकारक हुन्छ भने पेसागत रूपमा पत्रकारले आफ्नो साख गुमाउने वा पेसा नै धरापमा पार्ने काम पनि हुनसक्छ । त्यसो त कर्मठ र इमानदार पत्रकारको जीवनमा पनि कम चुनौती भरिएका छैनन् । पेसागत असुरक्षा र वृत्तिविकासको अभाव त छँदै छ, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नहुँदा कतिपय पत्रकार उचित वेतन, तलबभत्ता र सुविधाबाट समेत वञ्चित छन् । समाचार प्रकाशन वा प्रसारण गरेबापत अवाञ्छित तत्वले ज्यान र धनको धम्की दिने कुरा त अलग छँदै छ । यीबाहेक प्रकाशित समाचार वा श्रव्य–दृश्यको विषयलाई लिएर पत्रकारहरूले ‘गाली बेइज्जती ऐन, २०१६’ अन्तर्गत मुद्दा पनि खेप्नुपर्ने हुनसक्छ । अहिले यो चलन अत्यधिक बढेर गएको छ । ‘गाली–बेइज्जती ऐन, २०१६’ को दफा (३) ले बेइज्जती शब्दलाई परिभाषित गरेको छ । सो दफाअनुसार ‘कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पु¥याउने नियतले वा धक्का पुग्ला भन्ने जानीजानी वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा सङ्केतले वा बुझिने गरी आकार चिह्नद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा त्यस्तो कुरा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिनेछ ।’ यसरी ऐनले कुनै पनि एक व्यक्तिले अर्को व्यक्तिलाई अपमानित हुनेगरी कुनै पनि कामकारबाही गर्न बन्देज लगाएको छ । यदि कसैले यो ऐनको बर्खिलाप गरेमा त्यस्तो व्यक्ति वा प्रकाशनगृहलाई सोही ऐनको दफा (५) बमोजिम पाँच हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने प्रावधान छ भने ऐनको दफा (१२) मा क्षतिपूर्तिको व्यवस्था छ । यो ऐनले कायम गरेको व्यवस्थाले व्यक्तिलाई अर्को व्यक्तिको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गरेको छ ।
लोकतन्त्र र प्रजातन्त्रको प्राप्तिसँगै नेपालमा पे्रसको आकाश फराकिलो भएको छ । सहरदेखि मोफसलसम्म रेडियो, पत्रपत्रिका प्रकाशन–प्रसारण गर्ने होडझैं चलेको छ । सङ्ख्यात्मक रूपले यसरी पे्रस मिडियाहरू सञ्चालनमा आउनु राम्रो भए पनि यसले बजारमा अनावश्यक प्रतिस्पर्धा र अस्वस्थ वातावरण पैदा गरेको छ । पे्रसहरू बढी नै बजारमुखी बनेका छन् । हुँदाहुँदै अब त पे्रसले कुनै व्यक्तिलाई दोषी नै करार गर्नसमेत थालिसकेका छन् । अदालतमा विचाराधीन कुनै पनि विवादबारे इजलासबाहिर बोल्न पाइँदैन, तर नेपाली मिडियाहरू त आफैँ न्यायाधीश भएझैँ मुद्दाको किनारा लाग्नु अगावै कुनै व्यक्तिलाई दोषी नै सावित गरिदिन्छन् । योभन्दा गैरजिम्मेवार कुरा अरू के हुन सक्छ ? त्यसैले पे्रस पनि गाली–बेइज्जती मुद्दाको सिकार बनेको छ । काठमाडौं उपत्यका मात्रको कुरा गर्ने हो भने पनि सन् २००५ मा दर्ता भएका गाली–बेइज्जती मुद्दाको तुलनामा सन् २०११ मा तीन सय प्रतिशतले बढेको देखिन्छ भने गाली–बेइज्जती मुद्दाअन्तर्गत लिखित गाली–बेइज्जती मुद्दाको लगभग ८० प्रतिशत मुद्दा पे्रस, पत्रकार र मिडिया हाउसको विरुद्ध दर्ता भएको पाइएको छ । यदि यही रफ्तारमा नेपाली पे्रसहरू गाली–बेइज्जती मुद्दाका सिकार हुँदै गए भने नेपाली पे्रसजगत् कुन अँध्यारो गर्तमा अवसान होला ? किनभने अधिकांश नेपाली मिडिया समाचार प्रकाशित गर्दा स्रोत पहिचान गर्दैनन् भने स्रोत पहिचान गरे पनि त्यसको विश्वसनीयता परीक्षण गर्दैनन् । यसरी हचुवाका भरमा चलेका पे्रसले शिशु लोकतन्त्रलाई मलजल गर्दैनन् बरु यसलाई सिध्याउँछन् । स्मरण रहोस्, शिष्ट, सौम्य, पारदर्शी, विश्वसनीय र जवाफदेही पे्रस नै लोकतन्त्रको धुकधुकी हो ।
पत्रकारितासँग सम्बन्धित व्यक्तिहरूकै विवादास्द छविले पनि पत्रकारिता क्षेत्रलाई थप विवादित र असम्मानपूर्वक बनाएको चर्चा बजारमा व्याप्त छ । अपारदर्शी लगानी पत्रकारितामा प्रवेश गरिरहेको हल्लाले पे्रसजगत् आतङ्कित भइरहेको बेला त्यस्ता व्यक्तिको संलग्नताले मूल पत्रकारिताको मर्मलाई कुण्ठित गरिरहेको छ । नेपाली पत्रकारिता पेसागत जिम्मेवारीबाट विमुख हुँदै गएको छ । केवल नाफामुखी उद्देश्यले सञ्चारगृहहरू सञ्चालन भइदिँदा आममानिस वास्तविक समाचारबाट विमुख छन् भने सञ्चारगृह प्रायोजित समाचारमा रमाइरहेका छन् । त्यसैले त दुर्गम मोफसलको एउटा गाउँमा सरुवा रोग लागेर मानिस मरेको समाचारभन्दा राजधानीको तारेहोटलमा भएको सुन्दरी प्रतियोगिताको समाचारले महत्व पाउँछ । योभन्दा विडम्बनापूर्ण के हुनसक्छ ? नेपाली समाजमा रहेका सबैखाले अन्तर्विरोध आज सतहमा पोखिएका छन् भने ती अन्तरविरोधको प्रस्फुटनले नेपाली समाजमा एउटा नयाँ तरङ्ग र हलचल पैदा गरेको छ । यी अन्तरविरोधको समायोचित सम्बोधन भएन भने त्यसले मुलुकमा विग्रह ल्याउन सक्छ । नेपाल विखण्डनको बाटोमा अघि बढेर नेपालको अस्तित्व नै समाप्त हुन सक्छ । त्यसैले नेपाली समाजको सतहमा आज देखिएका यी तमाम समस्याको समाधानका लागि प्रभावकारी पे्रसको आवश्यकतालाई कहिल्यै नकार्न सकिन्न । त्यसका लागि नेपाली पे्रसले आफ्नो छवि सुधार्न र क्षमता अभिवृद्धि गर्न आवश्यक छ । शुभम् ।