राजेशले बाबु बन्न ढिलो नगर्ने

राजेशले बाबु बन्न ढिलो नगर्ने


funtime
विवाह त अन्य नायकहरूले पनि गरेकै हुन्, तर चासो, चर्चा अनि बजार गरम गराउने विवाह भने ‘महानायक’ राजेश हमालको जत्तिको अरूको देखिएन । २३ वर्षअगाडि चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै निरन्तर चर्चाको शिखरमा रहेका अभिनेता हमालको बारेमा चासो या कुतूहलमा कहिले पनि कमी आएन । सधैँ समाचारको पात्र बन्दै आएका हमालको जीवनले यो हप्ताबाट नयाँ मोड लिएको छ ।
विवाहलाई कुनै समय ‘ढोंगी’ बनेर प्रतिक्रिया दिने हमाल पनि अन्ततः विवाह नगरी रहन सकेनन् । नौवर्षे प्रेमलाई सार्थक पार्दै धरानकी मधु भट्टराईलाई जीवनसङ्गिनी बनाएका हमाललाई विवाहपछि पनि फुर्सद छैन । उनी विवाहलगत्तै रात बिताउन धुलिखेलको एक रिसोर्ट पुगेका थिए भने भोलिपल्टै पुख्र्यौली घर नवलपरासी पुगे । विवाहको दिन एक दिदी र एउटी बहिनीका साथ धर्मपत्नी लिएर उनी काठमाडौंको कपुरधारास्थित घर प्रवेश गरेका थिए । गत आइतबार नवलपरासी पुगेका उनी आइतबार साँझ नै काठमाडौं फर्किएका थिए । उनी जुन घरमा वर्षौंदेखि बस्दै आएका हुन्, त्यो घरमा भने श्रीमतीका साथ आइतबार मात्र उनले पहिलो रात बिताए ।
गत शनिबार निकै गोप्य रूपमा हमालको बिहे अन्नपूर्ण होटलमा सम्पन्न भएको थियो । १ बजे दिउँसो सुरु भएको वैवाहिक कार्यक्रम दुई घन्टा १३ मिनेटसम्म चलेको थियो । वैवाहिक कार्यक्रम सकिएपछि मात्र मिडियालाई तस्बिर खिच्न अनुमति दिइएको थियो ।
वृश्चिक राशिकी मधु र मिथुन राशिका हमालबीच पहिले ह्यात होटलमा भेट भएको थियो । एक मोडलिङसम्बन्धी कार्यक्रममा हमाल निर्णायक थिए भने मधु सहभागी प्रतियोगीमध्ये एक थिइन् । त्यो कार्यक्रमबाट पलाएको यी दुईबीचको पे्रम पछि झाँगिँदै गएर विवाहमा परिणत भएको हो । नेपाली सिनेमाका अन्य नायकहरू पनि छन् जो पे्रमलाई हलुका रूपमा लिन्छन् र पे्रम एउटासँग अनि विवाह अर्कोसँग गर्छन् । तर, राजेश हमाल यस्ता उदाहरण बने उनले जोसँग पे्रम गरे विवाह पनि उनैसँग गरे । पे्रम र विवाहका झुटा आश्वासन उनले कहिल्यै कसैलार्ई बाँडेनन् ।
मधुको राजेशसँग पे्रम–प्रसङ्ग चलिरहँदा मधुले एयरहोस्टेस बन्ने इच्छा राखेकी तर हमालले इन्कार गरेको बुझिएको छ । यति मात्र होइन, बिहेपछि मोडलिङ दुनियाँबाट टाढै रही फगत् घरगृहस्थीमा रमाउनुपर्ने हमालको सर्त थियो । त्यो पनि मधुले स्वीकार गरेकी छिन् । यसरी विगत नौ वर्षदेखि हमाललाई कुरेर बसेकी मधुको सपना पूरा भएको छ भने उनी राजेशसँगै रातारात चर्चाको शिखरमा पुगेकी छिन् । केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी मधुले हमालको निर्देशनपछि त्यो विधा पनि छाडेकी थिइन् ।
६ फिट उचाइका हमाल र पाँच फिट ६ इन्च अग्ली मधु हनिमुनका लागि चाँडै बैंकक जाने कार्यक्रम तय भएको छ । राजेश अस्ट्रेलियाबाट फर्केर आएपछि यो नवजोडीको बैंकक यात्रा हुने राजेशका एक सहयोगीले बताए ।
विवाहअगाडि सञ्चारकर्मीमाझ त्यति खुलेर कुरा नगर्ने महानायक राजेश हमाल केही समययता खुलेर कुरा गर्न थालेका छन् । उनले विवाहकै दिन सञ्चारकर्मीले सोध्दै नसोधीकन भने, ‘विवाह ढिला गरे पनि बाबु बन्नचाहिँ ढिलाइ गर्दिनँ ।’ हमालको यो प्रतिक्रियाले माहोल निकै रमाइलो तुल्याएको थियो । सञ्चारकर्मीको परिचय मधुसँग गराउँदै राजेशले भने, ‘उहाँहरूले नै हो तपाईंको र मेरो विवाह जुराइदिएको । हाम्रो पे्रमप्रसङ्गका बारेमा मिडियामा धेरै नआएको भए हाम्रो विवाह अहिले नै हुँदैनथ्यो होला, हा..हा..हा..।’ यसो भन्दै आफ्नै शैलीमा हाँसेका थिए विवाह घोषणा कार्यक्रममा हमाल ।
नेपाली चलचित्र क्षेत्रमा अभिनेता हमाललाई सर्वाधिक कमाउने अभिनेताको रूपमा पनि लिने गरिन्छ । यहि प्रसङ्ग कोट्याउँदै उनलाई सोधियो, ‘कति खर्च भयो होला विवाहमा …?’ हमालले पनि तुरुन्त जवाफ दिए, ‘मसँग दिल फुकाएर खर्च गर्न सक्ने पैसा कहाँ छ र ? त्यही पनि भयो होला केही न केही । हिसाब गरिएको छैन, पछि भनौँला नि !’ यसो भन्दै पन्छिन खोजे उनी ।
हमालको विवाहमा सहभागी हुन अमेरिकाबाट उनकी एक दिदी र बहिनी नेपाल आएका थिए भने विवाहित दम्पतीका लागि गहना र कपडा दुबईमा किनिएको थियो । विवाहको दिन काठमाडौंको अन्नपूर्ण होटलमा केटा र केटी पक्ष गरेर बढीमा पचासजनाजतिको सहभागिता थियो । ‘हामीले सङ्ख्या र भीडभन्दा पनि रीतिरिवाज र मान्यतालाई महत्व दिएका हौँ । दुवै पक्षको सहमतिमा कमभन्दा कम आफन्तजनलाई निमन्त्रणा गरिएको थियो,’ हमालका सहयोगी रोशनले जानकारी दिए ।
अभिनेता राजेश हमाल वैवाहिक जीवनले आफ्नो चलचित्र यात्रामा कुनै असर नपर्ने बताउँछन् । उनले निकै खुलस्त भएर भने, ‘अब त म झनै व्यवस्थित भएको छु । अब भनेको चलचित्र खेल्ने अनि बढीभन्दा बढी दशर्कको माझ पुगेर उहाँहरूको माया जित्ने हो ।’
हमालले अब आफ्नो जीवनको अर्को कथा सुरु भएको कुरा यसरी राखे, ‘जसरी मेरो चलचित्र करिअर सकारात्मक रूपमा यहाँसम्म आइपुग्यो, अब मेरो पारिवारिक यात्रा पनि सकारात्मक रूपमा नै अगाडि बढ्नेछ । नयाँ जोस, उमङ्ग अनि जाँगरका साथ प्रिय दर्शकमाझ नै रहिरहनेछु ।’ उनले नयाँ रहस्य पनि खोले, ‘अब चलचित्र निर्देशन गर्दै छु । यसको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।’

‘भेन्यु’ लुकाएर बिहेभोज !
अभिनेता राजेश हमालले विवाह गरेको पाँचौँ दिन अर्थात् आज बुधबार भव्य रूपमा बिहेभोज खुवाउँदै छन् ।
काठमाडौंको एक पाँचतारे होटलमा भोजको कार्यक्रम तय गरिएको छ भने निमन्त्रणा कार्ड र खबर पाइसकेका मिडियाकर्मी एवम् चलचित्रकर्मीलाई पनि स्थानका बारेमा गोप्य राख्न आग्रह गरिएको छ । बुधबार बिहेभोजमा सहभागी हमाल शुक्रबारै सांस्कृतिक कार्यक्रममा सहभागी हुन अस्टे«लिया उड्दै छन् । जानकारी दिइएअनुसार अस्टे«लियामा दुई हप्ताको कार्यक्रम सकेर उनी नेपाल फर्कनेछन् । त्यसपछि मात्र हनिमुनको तयारीमा जुट्ने हमालको कथन छ ।

नेता सार्वजनिक
ऐतिहासिक स्थल मकवानपुरको चित्लाङमा आयोजित एक कार्यक्रममा नाट्यकर्मी डा. गोविन्दसिंह रावतको नवीनतम् नाट्यकृति नेता सार्वजनिक गरिएको छ । एपेक नेपाल र स्थानीय हिमाली डाँफे युवा क्लब, चित्लाङको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेता पुस्तकमाथि साहित्यकार श्रीओम श्रेष्ठले चर्चा गरेका थिए । उनले नेतामा सङ्ग्रहित नाटकहरूले सिङ्गो समाजको प्रतिनिधित्व गरेको बताए ।
कार्यक्रममा एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले ऐतिहासिक स्थल चित्लाङमा साहित्यिक भ्रमण गर्ने मेलोमेसो मिलाइदिएकोमा हिमाली डाँफे युवा क्लबलाई साधुवाद दिए । कार्यक्रममा क्लबका तर्फबाट कृष्ण अर्याल र खुन्ती गोपालीले बोलेका थिए ।