पुरुषत्वका बारेमा…

पुरुषत्वका बारेमा…


nisedhपुरुषत्व शरीरसँग होइन, शक्तिसँग सम्बन्धित छ भनेर मैले केही समयअगाडि ‘फेसबुक’ मा लेखेपछि लन्डनमा रहेका मेरा एक साथीले इमेलमा लेखे– मेरी श्रीमती र मैले यस विषयमा निकैबेर छलफल ग¥यौँ, पुरुषत्व त शरीरसँग पनि जोडिएको कुरा होइन र ? शक्ति र शरीर दुवैसँग सम्बन्धित कुरा हो भन्दा के होला ? एक दिन अनलाइनमा हामीले यस विषयमा लामै छलफल ग¥यौँ । लाग्यो, कुनै पनि कुरामा बहस गर्न सकिने गरी इन्टरनेटले विश्वलाई कति साँघुरो बनाइदिएको छ । मेरा एक मित्रले ‘तिमीहरू फेमिनिजमको कुरा गर्छौ, मेरी प्रेमिकालाई त मास्क्युलिन क्यारेक्टरको केटा मन पर्छ’ भनेको धेरैपल्ट सुनेको छु । हामीकहाँ कुनै मन्त्रीले राम्रो काम गर्न सकेनन् भनेर जिल्लाबाट चुरा, पोते, धागो उपहार पठाइने गरेको समाचार पहिला–पहिला खुब पढ्न पाइन्थ्यो । ०४६ को जनआन्दोलनताका पाटनको आन्दोलन प्रभावकारी हुन नसकेको भनी कीर्तिपुरेहरूले पाटनेका नाममा चुरा पठाएको प्रसङ्गले त्यतिबेला खुव चर्चा पाएको थियो । पुरुषलाई महिलाजस्तो भनिनु ठूलो गाली र बेइज्जती ठानिने हाम्रो समाजमा पुरुषलाई नामर्दको पगरी दिन महिलाले प्रयोग गर्ने सामग्री उपहार दिने या बरु सारी लगाएर हिँड्नु नि भन्ने चलन अहिलेसम्म कायम छ । कुनै कुराको निर्णय गर्न डराउने पुरुषलाई प्रायः भन्ने गरिन्छ– कस्तो हुतिहारा रै’छ आइमाईजस्तो । कामयाव हुन नसकेको पुरुष या पुरुषको नामर्दीपन र महिला भन्नु उस्तै हो भन्ने अर्थ दिने खालका कुराहरू हामीकहाँ पटक–पटक हुने गर्छन्, सुनिएका छन् । कुनै पुरुषलाई तपाईंले ‘ओहो ! तपाईं त गजबै काम गरिरहनुभएको छ, पुरुष भएर के गर्नु ठ्याक्कै महिलाजस्तो’ भनेर कसैले भन्यो भने पुरुषले के महसुस गर्लान् ? शायद त्यति ठूलो ह्युमिलिएसन त जीवनमा कहिल्यै भएको थिएन भन्ने ठान्लान् चाहे ती जुनसुकै पृष्ठभूमिका पुरुष किन नहुन् । तर, कुनै महिलालाई तपाईं त पुरुषजस्तैÒ या महिला भएर के गर्नु यस्तो काम गर्नुभएको छÒ भनेर कसैले भन्यो भने धेरैले त्यसलाई प्रशंसा नै ठान्छन् । यस्ता कुरामा धेरैजसो महिलाले ‘थ्याङ्क्यु फर कम्प्लिमेन्ट’नै भन्ने गरेको सुनिएको छ । होइन म महिला भएरै महिलाजस्तो छु मलाई पुरुषको संज्ञा नदिनुस् भनेर कमै मानिसले भन्ने गरेका छन् ।
हाम्रो समाजमा पुरुषत्वको चर्चा जुन रूपमा गर्ने गरिएको छ त्यो नारीत्वको ठीक उल्टो छ । पुरुषत्वलाई पुरुषार्थसँग जोड्ने गरिएको छ र त्यो पुरुषसँग मात्रै सम्बन्धित कुरा हो भनेर बुझिएको छ । पुरुषत्वको छवि बहादुर, कमाउन सक्ने, परेको बेला जे पनि गर्न सक्ने, निर्णयक्षमता भएको, आत्मविश्वासी, कुनै पनि विषयमा जानकार, वलिष्ठ आदिका रूपमा छ भने नारीत्वको छविमा राम्री, सहनशील, संवेदनशील, कोमल, कमजोर, मायालु, जोखिम उठाउन नचाहने यस्तै–यस्तै कुराहरू आउँछन् । तर, सहनशील त पुरुषहरू पनि हुन्छन् र जोखिम त महिलाहरूले पनि उठाउन सक्छन् या उठाइरहेकै छन् । महिला होस् या पुरुष ऊ कस्तो हुन्छ र के गर्छ भन्ने कुरा ऊ हुर्किएको वातावरण, उसले पाएको शिक्षा र अवसरले निर्धारण गर्छ । अवसर नपाएका पुरुष र पाएका महिलाबीचको दूरी निकै लामो हुनसक्छ । पुरुषत्व र नारीत्वलाई लिएर जे–जस्ता छविहरू हामीसामु आउँछन् ती सबै प्राकृतिक होइनन् । महिला भन्नासाथ सानोतिनो दुःखमै आँसु झार्ने या आत्तिने भनेर बुझ्ने गरिए पनि त्यो नै धु्रवसत्य होइन, कतिपय पुरुष पनि छिट्टै आँसु झार्छन् र कतिपय महिला ठूलै आपतमा पनि सुझबुझका साथ काम गर्छन् । प्रकृतिले महिला र पुरुषलाई अलग–अलग शारीरिक अवस्था दिएको छ, स्वभाव र चरित्र होइन । प्रायः मानिस भन्ने गर्छन् केटाहरू जम्मा भए भने केटीका कुरा नगरी बस्नै सक्दैनन् । तर, केटाहरू मात्र होइन केटीहरू पनि आफूहरू मात्रै हुँदा केटाहरूको भरमार कुरा गर्छन् । कसको बोली कस्तो, कसको उचाइ, हसाइँ, ड्रेसअप सबैका विषयमा कुरा हुन्छ । ऊ कसरी हुर्किएको छ र कुन वातावरणमा काम गरिरहेको छ त्यसमा भर पर्छ । कतिपय मानिसले भनेको सुनिन्छ– महिला स्वभावैले लजालु हुन्छन्, तर कतिपय पुरुष पनि लजालु हुन्छन् र कतिपय महिला पटक्कै लजाएको देखिँदैन । दक्षिण एसियाकै चर्चित महिलावादी नेतृ कमला भसिनले पुरुषत्वलाई लिएर पुस्तक नै लेखेकी छिन् । कमला भसिनको भनाइमा पुरुषत्व शक्तिसँग जोडिएको कुरा हो, शरीरसँग होइन । जेन्डरजस्तै यो पनि सामाजिक संरचना हो, जसको शरीरसँग कुनै सम्बन्ध छैन । नारित्व पुरुषमा पनि हुनसक्छ र पुरुषत्व महिलामा पनि, म्यान क्यान बि फेमिनिन् एन्ड विमेन क्यान बि मास्क्युलिन ।
कुनै पुरुषको बच्चा भएन भने हामीकहाँ उसको पुरुषत्वमाथि प्रश्न उठाउने गरिएको छ । बच्चा नहुनु र पुरुषत्व फरक–फरक कुरा हुन् । बच्चा हुने या नहुने भन्ने कुरा नितान्त शारीरिक हो भने पुरुषत्वको परिभाषा यो समाजले दिएको हो । समाजले परिभाषित गरेजस्तै सबै पुरुष बहादुर छैनन् र सबै महिला रुनधुनमै सीमित पनि छैनन् । त्यसैले पुरुषत्वको परिभाषामा परिमार्जन गर्नु आवश्यक छ, पुरुषत्वप्रतिको बुझाइमा फरकपन ल्याउनैपर्ने भएको छ । पुरुषत्वको बारेमा भएको आमबुझाइले महिलालाई मात्र होइन, पुरुषलाई पनि अन्याय गरेको छ । पुरुषत्व शरीरसँग नभएर शक्तिसँगै जोडिएको कुरा हो, कुनै मानिस महिला होस् या पुरुष ऊ कति शक्तिशाली छ भन्ने कुराले अर्थ राख्छ । पराक्रम र पुरुषत्वबीचचाहिँ सम्बन्ध छ तर त्यो पुरुषमा मात्र नभएर महिलामा पनि त्यत्तिकै लागू हुन्छ । जस्तो भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा देशमा इमर्जेन्सी (सङ्कटकाल) घोषणा गर्दा उनको पुरुषार्थको खुव चर्चा भएको थियो । अखबारका प्रमुख समाचारहरूमा क्याबिनेटमा एक मात्र पुरुषत्व भएकी व्यक्तिका रूपमा इन्दिरा गान्धीलाई चित्रित गरिएको थियो । नेपालमा पनि कुनै महिलाले साहसिलो काम गरेमा भन्ने गरिन्छ ‘कस्तो बहादुर महिला’ ता कि ‘बहादुर’ पुरुषका लागि प्रयोग हँुदै आएको शब्द हो । वास्तवमा पुरुषत्वको सम्बन्धमा हामीकहाँ जति चर्चा भएको छ नारीत्वका बारेमा छैन । पुरुषहरूमा पनि नारीत्वका भनेर मानिएका या ठानिएका गुणहरू हुन्छन् र महिलामा पुरुषत्वका । पुरुषत्व र नारीत्वमा भएका सकारात्मक कुराहरू मिलेर व्यक्ति महान् हुन सक्छ चाहे त्यो महिला होस् या पुरुष । नारीत्वमा हुने भनेर चिनिएका सहनशीलता, मायालुपन, समझदारीजस्ता कुराहरू पुरुषमा पनि र निर्भीकता, बहादुरी, जोखिम उठाउन सक्नेजस्ता कुराहरू महिलामा पनि हँुदा त्यो पूर्ण मानिस बन्न सक्छ । त्यसैले आउनुस्, पुरुषत्वका नाममा मर्द र नामर्दको पगरी र नारीत्वका नाममा केवल सहनशील, कमजोर र संवेदनशीलताको परिधिलाई नाघेर हामी सबै पूर्ण मानिस बन्ने कोसिस गरौँ ।