कठै † गाउँको त्यो पुस्तकालय

कठै † गाउँको त्यो पुस्तकालय


bichar– अधिवक्ता जीबी आचार्य
एउटा गैरसरकारी संस्थामा काम गर्ने एकजना मित्रले एक दिन मलाई फोन गरेर गाउँको विद्यालय वा समुदायलाई पुस्तक दिई सहयोग गर्ने मनसाय व्यक्त गरे । सोच राम्रो हो । गाउँको पुस्तकालयलाई पुस्तक दिने उनको यो अभियानमा म लमीजस्तो मध्यस्थ बन्ने भएँ । म उनीसँग भएका पुस्तकको सूची लिएर आफ्नो गाउँ पुगेँ । गाउँमा हाम्रो एउटा पुस्तकालय थियो । एउटा इतिहास बोकेको पुस्तकालय । यो पुस्तकालयको नाम राखियो सहिद गंगालाल स्मृति पुस्तकालय । यो पुस्तकालय स्थापनाको श्रेय मेरा दाजु हरि एसी, ओमप्रकाश गुरुङ र इमबहादुर क्षेत्रीलाई जान्छ । यो पुस्तकालय खुल्नुभन्दा अगाडि गाउँमा दुईवटा घटना घटेका थिए, पहिलो थियो– भित्तेपत्रिका काण्ड । गाउँको सार्वजनिक धारोको छेउमा एउटा ठूलो तिँदुको बोट थियो, फराकिलो छाती लिएर उभिएको । त्यही तिँदुको फराकिलो छातीमा कसैले हातले लेखेको तीन पाना कागज टाँसेको थियो । त्यतिबेला देशमा पञ्चायती व्यवस्था कायम थियो । तिँदुको बाटोमा टाँसेको पत्रिकाले गाउँमा हल्लिखल्ली मच्चायो । मान्छेहरूको भीडमा कानेखुसी चलिरहेको थियो ।
मानिस पढ्दै र हाँस्तै थिए । किनभने, समाचार स्थानीय थियो र पात्रहरू सबैका परिचित थिए । करिब दुई बजेतिर पुलिस आइपुग्यो, तब गाउँमा त्रास र आतङ्क फैलियो । तिँदुको बोटबाट मानिसहरू क्रमशः पातलिँदै गइसकेका थिए । त्यो पत्रिका पञ्चायतविरोधी निस्कियो, गाउँमा धरपकड सुरु भयो । चार बजेतिर गंगा प्राविका हेडमास्टर महादेव गुरुङ, शिक्षकद्वय डिल्लीराम शर्मा र भवादत्त शर्मा पक्राउ परे । मेरै आँखाअगाडि घटेका ती घटनाले मलाई पचायतविरोधी बनाइदियो । त्यतिबेला म नाबालक थिएँ र गंगा प्राविमा कक्षा पाँचमा पढ्दै थिएँ । ‘भाइ तेरो हेनराइटिङ राम्रो छ, हाम्लाई सहयोग गर है’ मलाई यसो भन्ने पनि मेरै दाजुको टिम थियो । र, त्यो पत्रिकामा एक पेज त मैले पनि लेखेको थिएँ । मैले लेखेको कागजले गर्दा मेरा आदरणीय शिक्षकहरू पक्राउ परेका थिए भन्ने भावनाले मलाई आफैँदेखि क्रूद्ध बनायो ।
शिक्षकहरूको गिरफ्तारीपछि पनि एक–दुई अङ्क त्यो पत्रिका निस्कियो । तर, पत्रिकामा पञ्चायतविरोधी अरू खासै त्यस्तो समाचार त केही भएजस्तो लाग्दैन । मेरो गाउँको पल्लो गाउँमा तत्कालीन गाउँ पञ्चायतको सचिवको घर थियो । सचिव कान्छी श्रीमती लिएर सदरमुकाममा बस्थ्यो, तर उसको भाइ थियो बदमास । गाउँमा आफूलाई राजासरह नै ठान्थ्यो र अञ्चलाधीशसँग हिमचिम भएको गुड्डी हाँक्थ्यो । खुब रक्सी पिउँथ्यो र गाउँघरका चेलीलाई हातपात गथ्र्यो । त्यसकै टोलमा एकजना महिला बस्थिन् । उनको लोग्ने भारतमा काम गर्थे । सचिवको भाइ तिनै महिलासँग सल्केको थियो । बस, यो खबर पनि तिँदुको छातीमा टाँसिएको पत्रिकामा छापिएको थियो । तर, शिक्षकहरूको गिरफ्तारी भए पनि त्यो पत्रिका थप दुई अङ्क निस्कियो अनि बन्द भयो । तिँदुको छातीमा टाँसिने पत्रिकाले गाउँमा ठूलो काम गरेको थियो । सचिवको भाइको नूर गिरेको थियो । उसको फुर्ती कम भएको थियो । त्यही वर्ष तिहारमा भैलो खेलेर जम्मा भएको पैसाले गाउँमा पुस्तकालय खुल्यो । सबैलाई पायक पर्ने हुनाले पुस्तकालय इन्द्रबहादुर मगरदाइको घरमा राख्ने सल्लाह भयो र यसमा इन्द्रदाइ पनि सहमत हुनुहुन्थ्यो । तर, त्यहाँ पञ्चायतको गिद्देदृष्टि चाँडै पर्न सक्ने भएकाले सो पुस्तकालय हाम्रो घरमा स्थापना सुरु गरियो । गोठको माथि भकारीमा भुसले पुरेर राखिएका ती किताब हिन्दी र नेपाली भाषाका थिए । मोदनाथ प्रश्रित, सञ्जय थापा, पारिजात, अमृता प्रितम, मुन्सी पे्रमचन्द, राहुल सांकृत्यान, सर्वेश्वर दयाल सक्सेना, बे्रख्त, ल्यु श्युन, भिक्टर अफानसेव, गोर्की सबैलाई मैले त्यहीँ चिनेँ । पढ्न गाह्रो थियो त्यतिबेला । किताब पढेबापत जेल बस्नुपथ्र्यो । मारिन पनि सकिन्थ्यो । तर, गाउँका युवा समूहले सुरु गरेको आन्दोलन त देशव्यापी भइसकेको रहेछ । अनि पञ्चायत ढल्यो । पञ्चायत ढलेपछि गोठको भकारीबाट पुस्तकालय इन्द्रदाइको घरमा स¥यो । सोमबहादुर दाइले काठ जोडेर ¥याक बनाइदिए । त्यतिबेला रातिराति लुकेर पढ्नुपथ्र्यो । गोठका भकारीमा भुसले छोपेर किताब लुकाउनुपर्ने ती दिनमा पनि मानिस पढ्ने हिम्मत गर्थे ।
गाउँको समुदायको त्यही पुस्तकालयलाई केही थान किताब दिलाउने जोसले गाउँमा पुगेको म इन्द्रदाइको विचारले गलेँ । आजभोलि मानिस पढ्दैनन् । जीवन नपढी चल्छ र चलिरहेको छ भने किन पढ्ने ? अनि नजिकैको सार्वजनिक वनमा बहुमूल्य अग्राखका रूख ढाले वनपालेको सहमतिमा सेटिङ मिलाएर सःमिलसम्म पु¥याएर जमिनमा गाडेपछि वा बोर्डरपारिबाट एक बोरा चिनी वा एक बोरा मल ल्याउन सक्यो दिनमै तीन–चार हजार कमाइ हुन्छ । यसरी कमाउन छाडेर कसले पढ्छ ती राता किताब ? कसले पढोस् ती पुँजी, अग्निदिशा र आमा ? इन्द्रदाइले ¥याकका किताब देखाए । वर्षौंदेखि नचलाइएका ती किताब धुलोको आवरणभित्र निसास्सिइरहेका थिए ।
बडो दुर्भाग्यपूर्ण भएका छौँ हामी । जसका लागि हामी वर्षौं लड्यौँ, जसका लागि हामीले त्याग, उत्सर्ग, बलिदान र सहादतका कीर्तिमान कायम ग¥यौँ, त्यही चिज हाम्रा लागि भिल्लका देशको मणि भएको छ । जब राष्ट्रिय राजनीति नै यतिबिघ्न फोहोर भएको छ, नेतृत्वमा चरम भ्रष्टीकरण बढेको छ, सांस्कृतिक विचलन र आर्थिक अराजकता मौलाएको छ, यतिबेला देशमा पढ्ने संस्कृति स्वाहा हुने भइहाल्यो । हामी ज्यान जोखिममा पारेर, गाँस कटाएर पुस्तक जुटाउँथ्यौँ अनि सत्ताका आँखा छलेर पढ्थ्यौँ, खोइ आजको पुस्तामा अध्ययनप्रतिको मोह ? अनि अध्ययन नभईकन नेतृत्वको विकास हुन सक्छ ? सक्दैन । नेता त बन्छन्, तर नेतृत्वको विकास हुन सक्दैन । गाउँमा भट्टी यत्रतत्र पाइन थालेका छन् । चिया पसल र जुवाका खाल पनि झन् थपिएका छन् । चोकमा जम्मा भएर क्यारेमबोर्डमा किट्टी खेल्ने चलन पनि व्यापक बनेको छ । म्यारिज संस्कृति मौलाउँदो छ । बिहेको पार्टी, ब्रतबन्ध, न्वारानजस्ता जमघटमा समेत रक्सी आमरूपमा खपत हुन थालेको छ । जनवादी संस्कृतिका प्रचारकहरू धनवादी रोगले ग्रस्त भएर सहरीया ‘चारआने’ विकृतिमा लिप्त भएका असङ्ख्य उदाहरण छन् हामीकहाँ । अव्यवस्थित सहरीकरण र ग्रामीण जीवनकोे तुलनामा सहरी क्षेत्रमा बढी अवसर उपलब्ध भएका कारण मानिसहरू सहरी बसाइप्रति आकर्षित भइरहेका छन् भने सहरी क्षेत्रका मानिस गाउँका मानिसभन्दा बढी नै सांस्कृतिक विषादीकरणका सिकार भएका छन् । उपभोक्तावादी संस्कृति गाउँ–गाउँसम्म पुगेको छ । हामी यतिबिघ्न व्यक्तिवादी भएका छौँ कि मलामी गएर फर्केको साँझसमेत टन्न रक्सी खाएर घर छिर्छौं । यस्तो दुरावस्थामा साँच्ची कसले हेरचाह गरोस् त्यो पुस्तकालयको ? खिन्न मन लिएर त्यो पुस्तकालयलाई बिदा गरी म फेरि कर्मथलो फर्किएँ ।