चटके राजनीतिज्ञहरू र जनताको चासो

चटके राजनीतिज्ञहरू र जनताको चासो


bichar– दामोदर पौडेल
राजनीतिमा चटके र मजाकिया स्वभावका मानिसहरू प्रसस्तै हुन्छन् । कुनै समयमा कसैद्वारा अभिव्यक्त शालीन भनाइ सन्दर्भ बदलिँदा या अर्को समयमा ‘मजाक’ बनिदिन्छ । माधवकुमार नेपाललाई चुनाव जितेपछि कुनै ठाउँमा कुनै काम गरिदिने आश्वासन पाएका जनता आश्वासन पूरा गरियोस् भन्न गएछन् । उनले ‘मैले कहिले भनेँ’ भनेछन् ? उत्तर आएछ चुनावमा, उनले ठाडै भनेछन्, त्यो त चुनावमा भनेको पो कुरा हो त । अर्थात्, उनको मनसाय चुनावमा जे पनि भनिन्छ, तर पूरा गरिँदैन भन्ने देखियो । यो भनाइ सत्य भए चुनावलाई फगत नाटकको रूपमा हेरिएको मान्ने अवस्था आउँछ ।
गृह तथा उपप्रधानमन्त्रीले प्रहरी कार्यालयको उद्घाटन गर्न जाँदा हालै करिब बीस लाख खर्च गरेछन्, तर कार्यालयमा पुगे–नपुगेको कुनै अर्थ भएनछ । प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईले लाखौँ खर्च गरी गरिबको घरमा बस्न जाने र खानपिनको ऋण गरिबलाई नै बोकाएर जान्थे । पछि गरिबलाई ऋण लागेको थाहा भएर केही पैसा दिन पनि थाले । सायद उनलाई पहिला लागेको थियो होला हिंसाको समयमा जस्तै प्रधानमन्त्री आउने भनेपछि जनताबाट जबर्जस्ती खर्च उठाइन्छ वा गरिबहरू पनि त्यति बढी गरिब हुँदैनन् । उनलाई देखेर उनको मानसिकता ००७ सालभन्दा पहिलाका अवस्थामा रहेछ भन्ने लाग्यो । हुन पनि उनका मुख्य गुरु माओका विचारहरू पनि नेपाली सम्वत्अनुसार ००७ सालभन्दा पहिलादेखि नै आउन थालेका हुन् ।
००७ सालभन्दा पहिला त्रिभुवनलाई गोप्य रूपामा भेट्नेहरूले सरकार जनता साह्रै गरिब छन् भन्दा उनले ‘के जनताले दूध र भात पनि खान पाएका छैनन् र ?’ भन्थे भनिन्छ । माओले गरिबसँग सियो पनि पैसा नदिई र उनीहरूको अनुमति नलिई प्रयोग नगर्नु भन्थे । तर, माओलाई के थाहा कि उनका जनसेनाहरू वा लालसेनाहरूसँग पैसा हुँदैनथ्यो र भोको पेट पापी नै हुन्छ । आँखा लोभी मन पापी भन्ने त उक्ति नै छ । यो उक्ति यौनका सम्बन्धमा भनिएको भए पनि अर्थमा पनि लाग्छ नै ।
त्रिभुवनका पुख्र्यौली बासिन्दा र माओकै चेला बाबुरामलाई पनि नेपालका गरिबले प्रधानमन्त्रीलाई खुवाउन नसक्ने कुरै हुँदैन भन्ने लागेछ । सायद प्रधानमन्त्री आउँदै छन् भनेर गाउँमा चन्दाआतङ्क मच्चियोस् भन्ने पनि थियो भन्ने उनको मनसुवा थियो भने जनताले बुझेनन् वा जनता सजग भइसकेका थिए वा आतङ्कको महसुस कम गरेकाले प्रतिकार गर्न सक्ने भएका थिए । तर, यी मिथकहरू अपूरा र पुराना भएका छन् । साम्यवादी व्यवस्था तासको घरजस्तै ढलेका छन् भने पुँजीवादी र समाजवादीहरूले समयअनुसार जनताको चाहनालाई ध्यान दिएर लोककल्याणकारी कार्य गरेका छन् । समाजवादीहरूको त लक्ष्य पनि त्यही हो । बीपीका अनुसार पनि काङ्ग्रेसको लक्ष्य सबैलाई सकेसम्म बढी समान सम्पत्ति बाँडेर समानता दिनु काङ्ग्रेस अर्थात् समाजवादीहरूको लक्ष्य हो भने साम्यवादी अर्थात् कम्युनिस्टहरूको लक्ष्य सबै सम्पत्ति राष्ट्रियकरण गरेर समानता दिनु हो जुन जनविरोधी प्रमाणित भएको छ ।
हाम्रा अर्का पूर्वप्रधानमन्त्री एवम् एमाओवादी अध्यक्ष प्रचण्डले अब पुरानो पार्टी ध्वस्त गरेर अधिवेशनबाट नयाँ पार्टी बनाउने घोषणा गरेका रहेछन् । आफ्नो पार्टी आफँैले ध्वस्त गरेर नयाँ बनाउने अर्थात् विनाशबिना विकास सम्भव छैन । पुँजीवादले आफैँ विकासको क्रममा आफ्नो चिहान खन्छ र त्यसैमा पुरिन्छ । त्यही चिहानमा समाजवादको नयाँ र राम्रो बिरुवा उम्रन्छ । साम्यवादी मिथक यो पनि हो । प्रचण्डलाई पनि चुनावमा हार भएपछि पुरानो पार्टीको चिहानमा नयाँ पार्टी खोल्ने चाहना भएको रहेछ । उनका भनाइ भने उस्तै छन् । शोषण अन्त्य गर्ने, जातीय आधारमा सङ्घीयता ल्याउने, सङ्घीयतावादीहरू एक हुनेसमेत उनका उद्घोष हुन् । उनका अनुसार अब नयाँ दलमा सङ्घीयतावादी र केही जातका जातीयतावादीहरू एक भएर नयाँ दल खोल्ने कुरा छ । त्यसले पनि नपुगे अरू सङ्घीयतावादी तथा जातीय आधारमा अगाडि बढ्नेहरूसँग मोर्चा गठन गर्नेसमेत उनको धारणा रहेछ । तर, सम्मेलनमा आफ्नै साथीहरूलाई मिलाउन नसक्ने प्रचण्डले अरूलाई के गर्न सक्दछन् ? भविश्यले देखाउला ।
उनलाई यो भन्न पर्ने बाध्यता छ । उनका कार्यकर्ताहरूमध्ये केही पुराना घरहरूमा फर्केका छन् । दल त पहिल्यै फुटेकै हो । अब काङ्ग्रेस र एमालेसँग मिल्ने सम्भावना नै छैन । उनीहरूसँग मिल्नु भनेको गाई र बाघलाई एकै ठाउँमा बाँध्नुजस्तो हो । काङ्ग्रेस र एमालेका कार्यकर्ता मार्नेसमेत कार्य गर्नेहरूसँग उनीहरू संस्थागत रूपमा मिल्ने कुरै भएन । त्यसैले साङ्गठनिक रूपमा भए पनि भावनात्मक रूपमा दल नभइसकेकाहरूलाई नै तानेर वा मिलाएर प्रचण्ड ठूलो दल वा समूहको ठूलो मानिस बन्ने इच्छा राख्दै छन् । तर, यस सम्बन्धमा लामो बखान गर्नभन्दा पुरानो बोतलमा नयाँ रक्सी राख्ने प्रक्रियासम्म भने पुग्दछ जस्तो देखिन्छ ।
नयाँ विचारका साथ नयाँ सङ्गठन भन्नुको औचित्य स्थापना हुन सक्ने आधार छैन । प्रचण्डले भाषणमा त्यही पुरानै राग अलापेका छन् । उनको नजरमा सङ्घीयताको मोडेल, जातीय अग्राधिकार आदि नै छन् । उनले कुन नयाँ कुरा उठाएका छन्, नयाँ सङ्गठनका लागि ? छन् भने उनले नयाँ सङ्गठन खोलेमा त्यसको नाम फरक हुने हुँदा साइनबोर्ड फरक हुनेछ । उनै व्यक्ति, उही विचार र साइनबोर्ड लेख्नेलाई केही आर्थिक लाभ मात्र फरक हो । त्यस्तै कुरा ‘पानी मन्त्री’ हुँदा कुनै प्रश्रित भन्ने महानुभावले पनि राखेका थिए । उनका अनुसार पानी पिइन्छ, खाइँदैन । त्यसैले खानेपानी संस्थानलाई पिउनेपानीले विस्थापित गर्न पर्दछ । काम सबै उस्तै केवल साइनबोर्डसम्म फरक ? साइनबोर्ड, भाषण, सङ्गठनको नाम मात्र फरक गरेर के हुन्छ ? यस्तो पाङ्दुरे कार्यलाई पनि कति सहेर सुन्ने ? जनतालाई त अब काम चाहियो र त्यो पनि खुकुरी लिने होइन सकारात्मक अर्थात् जनजीविकालाई राम्रो हुने कार्य आवश्यक छ ।
प्रचण्डसँग अरूभन्दा धेरै ठूलो दलको नेता र प्रधानमन्त्री हुँदा जनताका लागि गर्न सक्ने धेरै उपाय थियो । उनले जनताको आर्थिक हैसियतमा कायापलट गर्न सक्दथे । अरू दलले नदिए उनी हिरो हुन्थे र जनताका नेता वा राजनेता हुन्थे । बाबुरामको पनि हैसियत त्यस्तै हुन्थ्यो । प्रचण्डको लक्ष्य पशुपतिको पुजारी फेर्ने, सेनापति बदल्नेजस्ता कार्य गरेर साम्यवाद ल्याउने बाटो बनाउने जस्तो बन्यो । बाबुरामले राजमातासमेतको माध्यमबाट पैसाको राजनीति गरे भन्ने सुनिएको हो । के साम्यवाद ल्याउने बाटाहरू यस्तै हुन्छन् भनेर माक्र्स, लेनिन, माओ आदिले भनेका छन् ? अब नयाँ सङ्गठनमा अकुत सम्पत्तिवालाहरू राज्यको चुनौती अर्थात् सम्पत्ति छानबिनमा आउन सक्दछन् ? कि हामीले मानिस मारेको क्रान्तिको लागि हो र हामीले सम्पत्ति जोडेको महान् राजनीतिका लागि हो भनेर प्रोटेक्ट गरिरहने ?
जनताको हित गरेर, गरिबको पक्षमा काम गरेर, विकास गरेर बीपीसमेतले भने जसरी बहुलवादमा आधारित साम्यवाद आउने हो । बीपीले भन्नुभएको छ कि साम्यवादमा लोकतन्त्र थपे समाजवाद हुन्छ । साम्यवादको विचारलाई जनताबाट सधैँ अनुमोदित गर्दै लोकतन्त्र र बहुलवादको माध्यमबाट अगाडि बढ्ने मार्ग नै साम्यवाद, राम राज्य जे भने पनि हो भन्ने मान्यता उहाँको थियो । सङ्गठनको आतङ्क होइन जनताको हितको आधारमा मत लिने कार्यले मात्र जनतालाई र लोकतन्त्रलाई एकै साथ बलियो बनाउँछ । बीपीको चिन्तनको एक पक्ष यही देखिएको छ । देशमा सबै दलमा खराबहरूको हालिमुहाली चलेकाले अपेक्षाकृत काम हुन सकेको छैन, तर काङ्ग्रेसले कमसेकम जनतालाई मूर्ख बनाएर आफू–आफूमा मार्न र मर्न जनतालाई तयार त गरेको छैन । अहिलेको जनआवाज पनि यही छ ।
यो दोहो¥याउनैपर्ने विषय हो, ऋषिकेश शाहले लेखेका छन् कि सिरियाका तत्कालीन राष्ट्रपति जनरल हाफिज अल असदले संयुक्त राष्ट्र सङ्घमा यति लामो भाषण गरे कि श्रोता नै नहुने अवस्था आयो । कसैले नसुन्ने भाषण किन गर्नुभएको भन्ने प्रश्न गर्दा शाहले ‘यो भाषण संयुक्त राष्ट्र सङ्घमा सुनाउनका लागि होइन जनतालाई सुनाउनका लागि गरेको’ जवाफ दिएछन् । अर्थात् जनताले हाम्रो नेताले यति बोले भन्ने देखाउन त्यो भाषण गरिएको उनको आशय थियो । अहिले उनका छोरा भाषण या ‘बोली’ चलाउन छोडेर ‘गोली’ चलाइरहेका छन् । जनतालाई सके झुक्याउने नसके थर्कमान पारेर राख्ने, पहिलो कार्य सबै धूर्त राजनीतिज्ञहरूले गर्दछन् र दोस्रो कार्य साम्यवादी वा अन्य तानाशाहले मात्र गर्ने गर्छन् ।