फन टाइम

फन टाइम


‘मलाई ताक्नेहरू निराश भए’
चलचित्र ‘पीपल’ प्रदर्शनमा आएपछि दर्शकमाझ रामै्रसँग चिनिइन् सुष्मा अधिकारी । आफूले अभिनय गरेको चलचित्र पहिलोपटक प्रदर्शनमा आउँदा अत्यन्तै प्रसन्न भएकी सुष्मा पहिले म्युजिक भिडियोमार्फत अभिनय फाँटमा ओर्लिएकी थिइन् । धनगढीकी सुष्मा यतिबेला परिवारसाथ काठमाडौंको बुद्धनगरमा बस्छिन् । म्युजिक भिडियोका लागि मोडलिङ र चलचित्र अभिनयलाई एकसाथ अघि बढाउने योजनामा रहेकी सुष्मासँग गरिएको रमाइलो कुराकानी ः
० दर्शकमाझ चलचित्र पीपलको प्रभाव कस्तो पाइयो ?
– अहिलेसम्म रामै्र छ । दर्शकले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन्, मित्रमण्डलीबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
० म्युजिक भिडियोमा व्यस्त सुष्मालाई कसरी चलचित्रमा काम गर्ने सोच आयो नि ?
– म्युजिक भिडियोको तुलनामा चलचित्रको बजार ठूलो छ । आफूलाई सङ्कुचित दायरामा नराखी बृहत् बनाउने सोचले नै मलाई चलचित्रको दुनियाँमा पु¥याएको हो ।
० चलचित्रमा टिक्न सकिन्छ त ?
– अहिलेसम्मको परिस्थिति हेर्दा त टिक्न सकिएलाजस्तै छ । हेरौँ, भविष्य कस्तो हुन्छ । भविष्य कसले पो देखेको छ र ?
० अनि चलचित्रमा टिक्न त कुनै निर्माताको साथ चाहिन्छ भन्छन् नि ?
– अरूले के गरे वा गरेनन् त्यो मलाई थाहा छैन । सकारात्मक साथ त जसको जसलाई पनि आवश्यक पर्छ, तर फिल्म खेल्नकै लागि कसैको गलत साथको आवश्यक पर्छ भने मबाट त्यस्तो काम हुँदैन, बरु फिल्मक्षेत्र नै छोडिदिन्छुfuntime
० यस्तो भनेर काम चल्ला त ?
– नचले चल्दैन, फिल्ममा कामै गर्दिनँ । आत्मसम्मान गिराएर फिल्म खेल्नु छैन मलाई । म्युजिक भिडियोमै सन्तुष्ट छु ।
० यो दौरानमा कत्तिको भेट्टियो त गलत नजरले चक्कर लगाउन खोज्नेहरू ?
– धेरै नै भेट्टाएँ । तर, ती सबै असफल भए ।
० चक्कर मार्न खोज्नेहरू के भन्छन् ?
– विभिन्न आश्वासन दिएर फकाउन खोज्छन्, तर म कहाँ त्यति लाटी छु र ?
० आफूले ताकेको पनि कोही त होला नि ?
– कसैलाई ताकेकी छैन । अहिले त्यतातिर ध्यान नै गएको छैन । सुरुदेखि नै करिअरतिर मात्र ध्यान दिइयो ।

‘माधुर्य’सँगै उदाए दीपक
नेपाली गीति साहित्यमा नयाँ पहिचान बनाउँदै गरेका सर्जक दीपक सापकोटालाई कविता, कथाजस्ता विधामा साहित्य सिर्जना गर्ने चस्का त सानैदेखि लागेको हो, तर धेरै वर्षपछि आएर साहित्यकारभन्दा पनि एकाएक उनी गीतकारका रूपमा चर्चित बन्न पुगेका छन् । गीतकार सापकोटाको पहिलो गीति एलबम ‘माधुर्य’ सङ्गीत बजारमा आएको छोटै अवधिमा उनलाई सम्भावना बोकेको एक सशक्त गीतकारको परिचय दिलाएको छ ।
पेसाले प्राइभेट कम्पनीका जागिरे दीपक कसरी एकाएक गीतलेखनको फाँटमा ओर्लन पुगे त ? यो जिज्ञासा मेटाउँदै उनी भन्छन्, ‘एक दिन आफ्नो कार्यालयमै कविता कोरेर बसिरहेको थिएँ, यस्तैमा एकजना साथी आइपुगे । उनले मेरो कविता हेरे र ‘यो त कविताभन्दा पनि राम्रो गीत पो बनेछ’ भन्दै लिएर गए । पुराना सङ्गीतकार भोजराज प्रसाईंसँग उनको चिनजान रहेछ, गीत उनैलाई दिएछन् । सङ्गीतकार प्रसाईंले गरेको कम्पोज ल्याएर उनले सुनाउँदा आफैँलाई निकै राम्रो लाग्यो । यसरी एक–डेढ वर्षअघि मात्र गीतलेखनतर्फ आकर्षित भएको म यतिबेला त गीतिलेखनलाई गम्भीर रूपमा अपनाउन पुगेको छु ।’
साथीभाइकै प्रेरणाले गीति एलबम निकाल्न अग्रसर भएको बताउने दीपकको ‘माधुर्य’मा रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, स्वरूपराज आचार्य, दीपक लिम्बूजस्ता चर्चित साङ्गीतिक हस्तीहरूले आवाज दिएका छन् । अधिकांश गीतमा भोजराज प्रसाईंको सङ्गीत रहे पनि सञ्जय खड्की र राजु सिंहका सुन्दर साङ्गीतिक सिर्जना पनि माधुर्यमा अनुभूत गर्न पाइन्छ । वास्तवमा अत्यन्त कर्णप्रिय गीतहरूको सङ्गम बनेको छ गीतकार दीपकको ‘माधुर्य’ एलबम ।
एउटा गीतको भिडियो बनाएकोसमेत करिब चार लाख व्यक्तिगत खर्च लगाएर तयार भएको माधुर्य बिक्री भएर तत्काल लगानी उठ्ने आशा दीपकलाई छैन, तथापि, समाजमा चिनिने र व्यक्तिगत सन्तुष्टि हासिल हुने एउटा प्रभावकारी माध्यमका रूपमा गीतलेखन कार्यलाई निरन्तरता दिने सोच बनाएका छन् उनले । आजको प्रतिस्पर्धात्मक भीडमा पैसा र मिडिया साथमा भए कमसल सिर्जना गर्नेहरू पनि अगाडि आउने र त्यो नभए अब्बल सर्जक पनि छायामा पर्ने तीतो यथार्थ राम्रैसँग बुझेका छन् स्रष्टा दीपकले । मिडिया र एफएमका प्रस्तुतकर्ताहरूले स्रष्टाको नाम उल्लेख गरेर उनीहरूलाई अगाडि आउन प्रोत्साहित गर्नुपर्छ भन्ने धारणा राख्ने उनी कुनै पनि गीत उत्कृष्ट बन्नमा गीतकार, सङ्गीतकार र गायकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेमा स्पष्ट छन्, तर कुनै राम्रो गीति सिर्जनाको गायकले मात्र फाइदा उठाउने प्रवृत्ति विकास भएकोमा दीपक गुनासो गर्छन् ।
हरिभक्त कटुवाल, दिनेश अधिकारीजस्ता गीतकार आफूलाई मनपर्ने अभिव्यक्ति दिने दीपक भुलुक्क उर्लेर सेलाउने खालका नभई सदाबहार रूपमा श्रोताको हृदयमा जमेर बस्ने गीत नै वास्तविक गीत हो भन्छन् । आफू जुनसुकै बेला पनि गीत लेख्न सक्ने उनको दाबी छ । माधुर्यमा समेटिएका गीत अब्बल कोटिका र कर्णप्रिय त छँदै छन्, सर्जक दीपकका अनुसार ती सिनेमामा चल्ने प्रकारका पनि छन् ।
गीत लेखेकै भरमा बाँच्न सकिने वातावरण बनिनसकेको भए पनि गीतिलेखनलाई निरन्तरता दिने सोच बनाएका नवोदित गीतकार दीपक सापकोटालाई आफ्नो उद्देश्यमा सफलता मिलोस्, हाम्रो शुभकामना ।

विदेशमा बसेर नेपाली चलचित्रको माया
गोरखामा जन्मेका मोहन बोगटी यतिबेला यूएईको अबुधाबीमा कार्यरत छन् । नेपाली सेनामा करिब आठ वर्ष काम गरेपछि विदेश हानिएका बोगटीको रुचि चलचित्र र मोडलिङ क्षेत्रमा औधी नै छ । यूएईमा हुने गरेका सांस्कृतिक कार्यक्रमतिर पनि मोहनको उपस्थिति बाक्लै हुने गर्छ ।
समय पाउञ्जेलसम्म नेपाल आएर विभिन्न म्युजिक भिडियोमा काम गरिरहेका मोहनको इच्छा भने सिनेमा खेल्नु नै छ । यसैबीच मोहनले आफ्नो क्षमता वा प्रतिभा देखाउन दुईवटा सिनेमा पाएका पनि थिए, तर समयको अभावमा ती सिनेमामा उनले काम गर्न पाएनन् । नेपाली सिनेमालाई माया गर्न मोहन आफू एक्सन चलचित्रमा बढी मात्रामा जम्ने बताउँछन् । अरूको चलचित्रहरूमा काम गर्ने समय नमिले पनि अब समय मिलाएर आफैँ चलचित्र निर्माण गर्ने सोच पनि मोहनले बनाएका छन् ।
नेपाली चलचित्रको बजारलाई बृहत् बनाउन मोहनले यूएईमा पनि ठूलो मिहिनेत गरिरहेका छन् । समय–समयमा नेपाली चलचित्र लगेर यूएईमा रहेका नेपाली मनभित्र नेपाली चलचित्रप्रति चासो जगाउन विशेष भूमिका खेल्दै आएका छन् उनले । ‘यसले गर्दा नेपालमा रहेका निर्मातालाई केही पैसा पनि हुन्छ अनि दुबईमा रहेका नेपालीले नेपाली चलचित्र पनि हेर्न पाइरहेका छन्, दुवै पक्षलाई फाइदा छ,’ मोहनको कथन छ ।

फिल्म काट्ने भूमिकामा मेलिना
सुन्दरताका कारण अभिनेत्री मेलिना मानन्धर सधैँ चर्चामा रहिन् । पहिलो चलचित्र पे्रयशीदेखि अहिलेसम्म थुपै्र सिनेमामा गजब तरिकाले जम्दै आएकी उनले हालै सरकारबाट जीवनमै पहिलोपटक सरकारी नियुक्ति पनि पाएकी छिन् ।
प्रायशः सिनेमाको सुटिङ युनिट वा स्पटमा भेटिनुपर्ने मेलिना दुई सातायतादेखि चलचित्रको सेन्सरबोर्डतिर भेटिने गर्छिन् । सञ्चार मन्त्रालयले सेसरबोर्डको सदस्य बनाएपछि चलचित्रको सेन्सर कार्यमै व्यस्त मेलिनालाई यो काम त्यति सजिलो लागेको छैन । ‘अर्काको सृष्टि र सिर्जनाको मूल्याङ्कन गर्नु त्यति सजिलो काम होइन, त्यसमाथि सिनेमामा त लगानी पनि छ, यस्तो गाह्रो काम सोच्दै अप्ठ्यारो हुँदोरहेछ’, उनको अनुभव छ ।
तर, अभिनेत्री मेलिना मानन्धर आफ्नो समूहले चलचित्रको सेन्सर गर्दा वा कैँची चलाउँदा सकभर सिनेमालाई असर नपर्ने गरी सेन्सर गर्ने कुरा बताउँछिन् । ‘हामी सेन्सरको नाममा मात्र सेन्सर गर्दैनौँ । समाजमा अपाच्य वा गलत सन्देश दिने दृश्य वा भनाइलाई त सबैले सेन्सर गर्नैपर्छ नि,’ उनले भनिन् । त्यसो त सिनेकर्मीसमक्ष मेलिनाको आग्रह पनि छ यस्तो, ‘चलचित्र मनोरञ्जनको साधन मात्र होइन कि यसको समाज र राष्ट्रप्रति पनि दायित्व हुने गर्छ । यो कुरा बुझेर नै दृश्यहरू राख्दा राम्रो हुन्थ्यो होला ।’
त्यसो त मेलिनाले विगतका दाँजोमा अहिले नेपाली चलचित्रको निर्माणमा परिमार्जन भएको अनुभव पनि सुनाइन् । ‘अब त निकै परिपक्व पनि भएछ हाम्रो चलचित्र क्षेत्र । दर्शकहरूको चाहना र इच्छाअनुरूप चलचित्र बनाउन सकिएमा अब हाम्रो क्षेत्रमा पछाडि फर्कनुपर्दैन,’ उनले भनिन् ।
सरकारले मेलिनालाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सरबोर्ड)को सदस्यमा नियुक्त गरेपछि उनीविरुद्ध आवाज पनि नउठेको होइन । आफ्ना विरोधीहरूलाई मेलिनाले भनिन्, ‘खुट्टा तान्ने र विरोध गर्ने शैली यहाँ नयाँ होइन, यो त पुरानै कुरा हो । विरोधीहरूको मुख थुन्न नसकिए पनि उहाँहरूलाई राम्रो काम गरेर देखाउनुस् भन्ने सुझाव दिन्छु म ।’

०७० को गोकुल साहित्य पुरस्कार प्रश्रितलाई
वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितलाई गोकुल साहित्य पुरस्कार–०७० प्रदान गरिने भएको छ । प्रगतिवादी धारमा रहेर साहित्य साधनामा पाँच दशकदेखि क्रियाशील स्रष्टालाई दिइने उक्त पुरस्कार प्रश्रितलाई प्रदान गरिने कुरा गण्डकी साहित्य संगम पोखराले गत सोमबार घोषणा गरेको हो । प्रगतिशील धारमा रहेर साहित्य साधनामा क्रियाशील स्रष्टा–साधकहरूलाई एक–एक वर्षमा १० हजार राशिको संगम साहित्य पुरस्कार र २५ हजार राशिको गोकुल साहित्य पुरस्कार सो संस्थाले प्रदान गर्दै आएको छ । पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र र दोसल्ला रहेको जनाइएको छ ।
बहुचर्चित स्रष्टा प्रश्रितका मानव महाकाव्य– ०२३, देवासुर सङ्ग्राह महाकाव्य– ०३०, देशभक्त लक्ष्मीबाई उपन्यास– ०३१, आमाको काखमा नाटक– ०३२, वैचारिक विकासका सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा– ०३५, चोर उपन्यास– ०३८, गोलघरको सन्देश लघुकाव्य– ०४० लगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । यसअघि प्रश्रित मदन पुरस्कार– ०२३, भवानी भिक्षु पुरस्कार– ०३०, हरिहर शास्त्री–सावित्री देवी पुरस्कार– ०५६, सिद्धार्थ साहित्य पुरस्कार– ०५८, महाकवि देवकोटा पुरस्कार– ०६४, पृथ्वी प्रज्ञा पुरस्कार– ०६९ लगायतका पुरस्कार र दर्जनौँ सम्मानबाट विभूषित भइसकेका छन् ।