एमाओवादी बाबुरामजीले चाहेजस्तै बन्दै छ

एमाओवादी बाबुरामजीले चाहेजस्तै बन्दै छ


Barshaman-pun-ananta– वर्षमान पुन ‘अनन्त’ (एमाओवादीका नेता)
० पार्टीलाई सबल बनाउने भनेर राष्ट्रिय सम्मेलन गरेपछि त उल्टै एमाओवादी पार्टी फुटको सङ्घारमा पुग्यो नि ?
– निश्चय पनि हाम्रो पार्टीमा समस्याहरू पैदा भएका छन् । तर, पार्टी फुटको सङ्घारमा पुग्यो भन्नचाहिँ मिल्दैन । समस्या चिर्दै पार्टी एकढिक्का भएरै अघि बढ्छ ।
० एकढिक्का हुनकै लागि होला त वरिष्ठ नेता बाबुराम भट्टराईले सम्मेलन नै छोडेर बाहिरिएको अनि भट्टराईनिकटका नेता टोपबहादुर रायमाझीले समेत नयाँ विचार बोकेको नयाँ पार्टी गठन गर्न पनि सकिन्छ भन्ने अभिव्यक्ति दिएको ?
– बाबुरामजी सम्मेलन बहिष्कार गरेर आउनुभएको होइन, कामविशेषले त्यसो गर्नुभएको हो । अनि रायमाझीजीले पनि नयाँ पार्टी खोल्ने कुरा गर्नुभयो भन्ने कुरा मिडियाले मात्रै उछालेको हो, उहाँले त एमाओवादीलाई नै मिलेर सशक्त बनाएर लैजानुपर्छ भनेर मसँगै भन्नुभएको छ । बाबुरामजी चीन भ्रमणमा हुनुहुन्छ, उहाँ स्वदेश फर्कनेबित्तिकै बैठक बसेर केन्द्रीय समितिलाई पूर्णता दिनेलगायत अन्य जरुरी विषयमा छलफल गरी भावी कार्यसूची तय हुनेछ । विराटनगर सम्मेलनको म्यान्डेट पनि यही हो र अहिले हामीबीच सल्लाह भएको कुरा पनि यही नै हो ।
० बाबुरामजीले त नयाँ विचारको एजेण्डा अघिसारेकोसा¥यै हुनुहुन्छ, यस्तोमा बाबुराम र प्रचण्ड एउटै पार्टीमा कसरी अटाउन सक्नुहोला त ?
– बाबुरामजीले बाहिर भन्नुभएको नयाँ शक्ति, नयाँ विचारजस्ता कुरा र हामीले हेटौँडा महाधिवेशनबाट भनेको कुरा एउटै नै हो । उहाँले पहिले त माक्र्सवाद, लेनिनवाद, माओवाद नै छोडेर कम्युनिस्ट पार्टीभन्दा पनि एउटा सामाजिक लोकतान्त्रिक या सामाजिक जनवादी पार्टी बनाउने हो कि भन्ने मत अघिसार्दा त्यसबारे बहस भएको हो, तर उहाँले नै ‘होइन, माक्र्सवादलाई नै विकास गर्ने हो, कम्युनिस्ट आन्दोलनलाई नै विकास गर्ने हो’ भनी स्पष्ट भन्नुभएको छ । यही कुरा हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले पनि भनेको हो । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा नेपालमा नयाँ जनवादी क्रान्ति गर्ने भनिएको थियो, तर नेपालमा भिन्न ढङ्गले पुँजीवादी जनवादी क्रान्ति पूरा भएको छ । अब समाजवादमा जानका लागि समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत क्रान्तिको तयारी गर्नुपर्छ, त्यसैका निम्ति काम गर्नुपर्छ । हेटौँडा मधाधिवेशनको निष्कर्ष यही हो ।
० तपाईं पटक–पटक हेटौँडा महाधिवेशनको उदाहरण दिइरहनुभएको छ, तर हेटौँडा महाधिवेशनको कार्यदिशा सच्याउनुपर्छ भन्ने आवाज पनि त तपाईंहरूबीच नै उठिरहेको छ नि, होइन र ?
– सच्याउनुपर्नेभन्दा पनि त्यसलाई अझ समृद्ध गर्ने, अझ परिमार्जन गर्नुपर्छ भन्ने कुराचाहिँ हो । मैले अघि नै भनँे कि पुँजीवादी जनवादी क्रान्ति पूर्णतः पूरा भयो, जनवादी क्रान्ति पढेको कम्युनिस्ट पार्टीले समाजवादी क्रान्ति गर्न सक्दैन । यसर्थ, समाजवादी क्रान्तिको नयाँ विचार, समाजवादी क्रान्ति गर्ने नयाँ पार्टी र समाजवादी क्रान्ति गर्ने पार्टीको नयाँ कार्यदिशाको कुरा हामीले हेटौँडा महाधिवेशनमार्फत भनेको हुनाले पनि बाबुरामजीले भनेको र पार्टीले भनेको कुरामा धेरै भिन्नता छैन । त्यसैले पनि यो विवादको विषय होइन । यस मानेमा विराटनगर सम्मेलन सफल भएको छ ।
० केन्द्रीय समितिमै नबस्ने भन्दै सम्मेलन छोडेर बाबुरामलगायतका नेताहरू हिँडिदिएपछि सम्मेलन कसरी सफल भयो र ?
– विराटनगर सम्मेलनले पहिलो कुरो संविधान निर्माण गर्ने, संविधान निर्माणका काङ्ग्रेस–एमालेले तदारुकता नदेखाई पछि फर्किन खोजिरहेको सन्दर्भमा एमाओवादीले संविधानसभाभित्र र बाहिर पनि दबाब पैदा गरेर संविधान निर्माणकार्यको नेतृत्व लिनुपर्छ भनेको छ । यो कुरा बाबुरामजीले भनेजस्तै छ । अर्को कुरा नेपालमा कम्युनिस्टहरू अब समाजवादी क्रान्तिको कार्यदिशाअन्तर्गत आर्थिक, सामाजिक रूपान्तरणका कामहरू गर्दै अघि बढ्नका लागि एउटै केन्द्रमा आउनुपर्छ भन्ने पनि विराटनगर सम्मेलनले थप जोड दिएको छ । ड्यास माओवादीदेखि एमालेभित्रका क्रान्तिकारीहरूसम्म पनि अब एउटै केन्द्रमा आउनुपर्छ, यसका लागि हाम्रो पार्टीले एउटै केन्द्र निर्माणको कार्य अघि बढाउनुपर्छ भन्ने कुरा सो सम्मेलनले गरेको छ । यसैबाट पनि बाबुरामजी अलग पार्टी बनाउन लागिरहनुभएको छैन भनी बुझ्नुपर्ने हुन्छ ।
० कम्युनिस्टहरू एकै केन्द्रमा आउने भनेको त दिवास्वप्न मात्र हो भन्छन् विश्लेषकहरू ?
– विश्लेषकहरूले केका आधारमा के–के भन्छन् कुन्नि † तर, हामीले त विचारका आधारमा ध्रुवीकरण हुन्छ भन्ने कुरा मान्दै आएका छौँ । नयाँ ढङ्गको पार्टी निर्माण गर्ने कुरा पनि कुनै असम्भव छैन, त्यसका लागि बहस पनि भएका छन् र पार्टीले त्यो दिशा लिएको पनि छ ।
० बाबुराम भट्टराईसँग सम्झौता गर्ने पक्षमा अब प्रचण्ड हुनुहुन्न भन्ने कुरा पनि एमाओवादीकै कतिपय सदस्यहरूले गरेका छन्, यसमा तपाईंचाहिँ के भन्नुहुन्छ ?
– कुनै नेताले कुनै नेतासँग सम्झौता गर्नुपर्ने भन्ने सन्दर्भ नै उठेको छैन नि । जहाँसम्म बाबुरामजी असन्तुष्ट बन्नुभयो भन्ने सवाल हो, विराटनगर सम्मेलनअघि नै उहाँले आफू केन्द्रीय सदस्यका रूपमा मात्रै बसेर अध्ययन, लेखन तथा वैचारिक अनुसन्धानका काममा बढ्ता फोकस हुन चाहन्छु भन्नुभएको थियो । पछि टोपबहादुर रायमाझीलगायतका केही नेताले केन्द्रीय समितिमा भनेजस्ता साथीहरू समेटिएनन् भन्दै आफूहरू केन्द्रमा नबस्ने भन्नुभयो र केही साथीहरूले त्यसमा साथ दिनुभयो । तर, यस विषयमा कसरी मिलाउने भन्ने कुरा भइरहेको छ ।
० तपाईंहरू को–कोबीच के–के छलफल भएको छ कुन्नि, तर देवेन्द्र पौडेलहरूले त हाम्रा सर्त स्वीकार नगरेसम्म अब फर्कन्नौँ भनेका छन् ?
– केही साथीहरूलाई समेट्ने भन्ने कुरा कुनै सर्तको विषय होइन । एउटै पार्टीका नेताहरू को कहाँ बस्ने, कसलाई कुन जिम्मेवारी दिने भन्ने त छलफलबाटै तय हुन्छ । फर्कन्नौँ भनेर साथीहरू कहाँ जाने त ? बहस र छलफल गर्दै संविधान निर्माणमा पनि लाग्ने हो, महाधिवेशनतिर पनि जाने हो । त्यसैले फेरि पनि म जोड दिएर भन्छु कि हामीले बुझेअनुसार बाबुरामजी नयाँ पार्टी बनाउनेतिर हुनुहुन्न ।
० तपाईंहरूले त मोहन वैद्यले पार्टी घोषणा गर्ने बेलासम्म पनि उहाँले नयाँ पार्टी बनाउनुहुन्न भन्नुभएको थियो, तर पार्टी त फुट्यो नै ? यत्रो हेपाइ सहनुपरेपछि बाबुरामजीले मात्रै किन अलग खोल्नुहोला र ?
– खोल्नुहुन्न, अहिले नयाँ पार्टी खोल्नका लागि सैद्धान्तिक र राजनीतिक आधार केही छैन । विशेष महाधिवेशनसम्म विचारमा बहस गर्दै जान सकिन्छ, नयाँ खालको सङ्गठन कसरी बनाउन सकिन्छ भन्नेबारे विचार–मन्थन गरौँ, अनि त्यसपछि मात्रै नेतृत्वको कुरा आउँछ भनेर त बाबुरामजी आफैँले भन्नुभएको छ । उहाँको यो भनाइलाई हामी सबैले स्वीकार गरेका छौँ, नयाँ ढङ्गको पार्टी निर्माण गर्नुपर्ने कुरा पनि महसुस गरेका छौँ । बीचैमा महाधिवेशनको माग गर्ने, महाधिवेशनमा जाने भनी सबैले निर्णय पनि गर्ने अनि फेरि त्यहाँ नपुगीकनै अर्को पार्टी जन्माउने भन्ने कुरा अस्वाभाविक हो भन्ने बाबुरामजीले महसुस नगर्नुभएको होला र ?
० तर, प्रचण्डले त ‘यसम्यान’हरू जम्मा गर्दै बाबुराम भट्टराईलाई पेलेरै अघिबढ्नुभयो नि, होइन र ?
– बाहिरबाट हेर्दा त्यस्तो कसरी देखियो कुन्नि ? अध्यक्षले पेलेको पनि होइन र बाबुरामजीले पेलिएकै भन्ने अनुभूति पनि गर्नुभएको छैन भन्ने लाग्छ । सबै कुरा सल्लाहले नै भएको छ । उहाँहरू दुईजना बाइस वर्षदेखि सँगै हुनुहुन्छ । के यत्तिका वर्ष बाबुरामजी प्रचण्ड कमरेडको यसम्यानकै रूपमा मात्र सँगै रहनुभएको होला त ? अनि मिलेको बेला ‘नेताहरूका पनि नेता’ र ‘नेपालका लेनिन’ भन्दै प्रचण्डको प्रशंसा गर्ने र बहस चलेको बेला पेलिएको र ठेलिएको भन्ने आक्षेप बाबुराम कमरेडले लगाउनुभयो होला र ? त्यसैले यत्ति नै बेला उहाँको कुनै आलोचना या खण्डन गर्नुभन्दा पनि कुनै पनि नेता–कार्यकर्ताका बारेमा अभिव्यक्ति दिँदा पार्टीका सबै साथीहरूले एउटा सन्तुलन कायम राख्नुपर्छ, तथ्यको गहिराइमा पुगेर मात्र ठोस प्रतिक्रिया दिनुपर्छ भन्ने मेरो धारणा छ ।
० तपाईंले जे भने पनि बाबुराम भट्टराईसँग प्रचण्ड त वाक्कदिक्क भइसक्नुभयो भनिन्छ, हो ?
– कुनै व्यक्तिप्रति वाक्कदिक्क बन्ने स्वतन्त्रता नेताहरूलाई हुँदैन । त्यसमाथि प्रचण्ड कमरेड त यो देशकै नेता हो, हाम्रो पार्टीको अध्यक्ष हो, जनताले अपेक्षा राखेको व्यक्ति हो । त्यसैले बाबुरामजीसँग वाक्कदिक्क हुने या अन्य विपक्षी दलका नेतासँग बोलचालै नगर्ने भन्ने स्वतन्त्रता उहाँलाई छैन । देशको कुनै पनि नेतालाई यस्तो स्वतन्त्रता हुँदैन । व्यक्तिगत रूपले कोही मन पर्ने–नपर्ने आधारमा पार्टीका नीति–कार्यक्रम निर्धारित हुन सक्दैन ।
० तपाईंहरूले सुशील कोइरालाको सरकार असफल भयो भनेर निकै अघिदेखि भन्दै आउनुभएको छ, तर सय दिन पनि काट्न नपाई यसरी हचुवा मूल्याङ्कन गर्न मिल्छ र ?
– हामीले आफ्नै कोणबाट सरकारको समीक्षा–समालोचना गर्नै नपाउने भन्ने होइन, आन्तरिक मूल्याङ्कनका आधारमा पार्टीका डकुमेन्टमा सरकारबारे लागेका कुरा टिपोर्ट गर्न नमिल्ने भन्ने पनि होइन होला । सरकारको वस्तुगत आलोचना गरे पनि अहिलेसम्म हामीले यो सरकारव्रिुद्ध सडकमा कुनै विरोध र आन्दोलन त गरेका छैनौँ नि । सरकार बनेको अल्प समयमै महँगी बढाएको, असुरक्षा बढेको, खास–खास मुद्दामा राजनीतीकरण सुरु गरेकोजस्ता कुरामा सय दिन कुरेर बस्ने कि हाम्रा आफ्ना धारणा पनि बाहिर ल्याउने ? सरकार हनिमुन मनाओस्, हामीले छेकेका छैनौँ, तर देश र जनताको हितविपरीतका काम–कुरामा विरोध या विमति जनाउने, त्यसलाई सच्याएर अघि बढ्न आवाज उठाउने त हाम्रो विपक्षीधर्म नै हो नि †
० त्यसो भए सरकारको विरोधमा कडा किसिमको आन्दोलन गर्ने या सरकार नै गिराउने खेल एमाओवादीले खेल्दैन, होइन त ?
– सरकार गिराउने खालको कुनै सोच हाम्रो पार्टीले बनाएको छैन । बरु कोइराला सरकार निकम्मा भयो भनेर आवाज बुलन्द गर्ने काम त सरकारमै रहेको एमाले र प्रधानमन्त्रीकै पार्टी काङ्ग्रेसका मानिसहरूले नै गरिरहेका छन् नि । हामीले त सरकार सुस्त नबन, जनता र देशको हितमा काम गर, महँगी, असुरक्षा, अभाव हटाऊ, संविधान निर्माणको वातावरण नखल्बल्याऊ भनेर सचेत गराउने काम मात्र गरेका हौँ ।