रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoआउँदै छ भोक घटाउने ट्याब्लेट
जतिबेला पनि खानेकुरा खाइरहनुपर्ने आदत (ओभर इटिङ)को सिकार भएका मानिसका लागि वैज्ञानिकहरूले खुसीको खबर दिएका छन् । हरेक क्षण भोकको अनुभूति भई खानेकुरा खाँदा अनावश्यक रूपमा शारीरिक तौल बढ्न गई मोटोपन र स्वास्थ्यसम्बन्धी विविध समस्याको सामना गर्नुपर्ने अवस्थामाथि संवेदनशील हुँदै अन्वेषकहरू निकै समयदेखि शोध–अनुसन्धानमा जुटेका थिए । अब त्यस्तो आदतको सिकार बनेकाहरूको लागि भोक नलाग्ने या कम गर्ने ट्याब्लेट बन्ने भएको छ । इम्पेरियल कलेज लन्डन र मेडिकल रिसर्च काउन्सिलका शोधकर्ताको एक टिमले असामान्य भोक अन्त्य गर्ने ‘मोलिक्युल’ पत्ता लागेको दाबी गरेको छ । उक्त मोलिक्युलको सहयोगले यस्तो चक्की निर्माण गरिनेछ जसको सेवन गर्दा दिमागमा भोक मेटिएको सन्देश प्रवाहित हुन पुग्छ । आफूलाई आवश्यक पर्ने खानेकुरा ठीक समयमा खाने र अन्य अवस्थामा उक्त चक्की सेवन गरिदिएपछि जतिबेला पनि केही न केही खाइरहने आदत नियन्त्रण भई लाभ पुग्ने शोधकर्ता वा वैज्ञानिकहरूको विश्वास छ ।

एयरपोर्टको सुरक्षामा बाँदर †
रामायणको कथामा रामचन्द्रले रावणसँग युद्ध गर्न बाँदरलाई आफ्ना सेना बनाएर पठाएको उल्लेख छ । त्यो त त्रेतायुगको कुरा भएकाले सत्य हुन पनि सक्ला । अब कलियुगमा पनि बाँदरले कुनै देशका लागि सुरक्षाकर्मीको भूमिका निर्वाह गर्दै छ भन्ने सुन्दाचाहिँ पत्याउन मुस्किल नै पर्छ । तर, अपत्यारिलो लागे पनि यो यथार्थ नै हो । छिमेकी मुलुक चीनको ‘पिपुल्स लिबरेसन आर्मी (पीएलए)ले बेइजिङनजिक रहेको एक एयरफोर्स स्टेसनको सुरक्षाकार्यमा बाँदरकै सहयोग लिने भएको छ । चीनमा यतिबेला बाँदरको सेना तयार गरिँदै छ । पीएलएकै एक विशेष टोलीद्वारा बाँदरलाई प्रशिक्षित गर्ने कार्य चलिरहेको छ । अब बाँदरले सेनालाई कसरी सघाउला भन्ने जिज्ञासा उठ्नुचाहिँ स्वाभाविक छ । बाँदरलाई उसको विषेशताअनुरूप बिगार्ने या नास गर्ने काम नै दिइन लागिएको हो । एयरफोर्स स्टेसननजिक रहेका चराका गुँडहरू भत्काउने र चराचुरुङ्गीलाई सो क्षेत्रवरपर ढिम्कनै नदिने कामका लागि केही बाँदरलाई जम्मा गरेर प्रशिक्षण दिन लागेको चिनियाँ एयरफोर्स न्युज वेबसाइटले जनाएको छ । एयरफोर्सका जहाजहरू उड्दा र ल्यान्डिङ गर्दाको समयमा चराले निकै सताउन थालेपछि अन्य उपायद्वारा कन्ट्रोल गर्न नसकिएपछि बाँदरलाई प्रयोग गर्न खोजिएको जनाइएको छ । चिनियाँ सेनाको यस नयाँ ‘टुकडी’ उद्देश्यप्राप्तिमा कति सहायकसिद्ध हुने हो, त्योचाहिँ प्रतीक्षाकै विषय बनेको छ ।

ज्युँदै गाडिएकी महिला सकुशल
अगुल्टो नठोसी आगो बल्दैन, पति–पत्नीबीच पनि बेला–बेलामा ठासठुस नपरे सम्बन्ध राम्रो हुन सक्दैन भन्ने बूढापाकाको आहान छ । यो कुरा व्यवहारतः सही पनि मानिन्छ । तर, यदि पति–पत्नीबीचको ठासठुस बढ्दै गएर असामान्य रूप लियो भनेचाहिँ त्यसको परिणति गम्भीर हुन पनि सक्छ । यसको एक ताजा र ज्वलन्त उदाहरण बन्न पुगेका छन् एक चिनियाँदम्पती । झगडा बढ्दै गएपछि पत्नीले पतिलाई छोडिदिइन् । यो कुनै अनौठो कुरा पनि थिएन । तर, आफूलाई छोडेर जाने निष्ठुरी पत्नीसँग बदला लिने गहिरो योजना बनाएछ उक्त पीडित चिनियाँ पुरुषले । डिभोर्स गरिसकेकी पत्नीलाई एक दिन अत्यन्तै मायालु पाराले फोन गरेर एकपटकका लागि भए पनि भेटघाट गर्नुप¥यो भन्ने प्रस्ताव पुरुषले राखेछ । ‘ठीकै छ, आफ्नो लोग्नेका रूपमा त्यत्तिका वर्ष सँगै बिताएको व्यक्तिसँग एकपटक भेट्दा के फरक पर्छ र’ भन्ने सोचका साथ पूर्वपत्नी उसको घरमै पुगिन् । उनलाई के थाहा पूर्वलोग्नेले कस्तो खतरनाक योजना बनाएको छ भन्ने । एकान्तको मौका पारेर पूर्वपतिले ती महिलालाई पहिले नै ठीक पारेर राखेको एक खाल्डोमा जबर्जस्ती घच्याट्दै ज्युँदै पुरेर माथिबाट माटोले छोपिदियो । तर, महिला भाग्यमानी सावित भइन् । जनगणनाको सिलसिलामा घरको ढोका ढक्ढकाउन पुगेको एक सरकारी कर्मचारीले खाल्डोमा पुरिएर ज्यान बचाउन ठुल्ठूलो स्वरमा चिच्याइरहेको ती महिलाको आवाज सुनेछन् । शङ्का लागेर खोजबिन गर्दा मान्छे पुरिएको खाल्डो फेला पारेर उसले ती महिलाको उद्धार गरेरै छाडेछन् । हुन पनि हो, समय नआएसम्म जस्तोसुकै अवस्थामा पनि मृत्यु कहाँ सजिलो छ र ?

जोडी पनि कस्तो
अस्वाभाविक रूपले हलक्कै बढेकी यी युवतीको चर्चा ‘विश्वकै सर्वाधिक अग्ली हुनेवाला दुलही’को रूपमा सर्वत्र चल्न थालेको छ । एलिसैनी दा क्रुज सिल्वा नामकी यी १८ वर्षीया ब्राजिलियन युवतीको उचाइ हाल ६ फुट आठ इञ्च छ भने तीव्र ढङ्गले उनको उचाइ बढ्ने क्रम जारी छ । एक मोडलका रूपमा समेत ख्याति कमाउँदै गरेकी सिल्वाले आफूभन्दा एक फुट चार इञ्च होचा युवकलाई मन पराएर उनैसँगको डेटिङमा रमाइरहेकी छिन् । उचाइमा यति ठूलो भिन्नता रहे पनि घुँडा टेकी–टेकीकन सिल्वा फ्रान्सिनाल्डो नामक ती युवकलाई म्वाइँ खान्छिन् । विवाह गर्ने इरादाले उनीहरूले एउटा अलग्गै घर पनि खरिद गरिसकेका छन् । छिट्टै एक बच्चाको अभिभावक बन्ने मनसुवा पनि उनीहरूले पालेका छन् । सिल्वा र फ्रान्सिनाल्डोको जोडी सँगै हिँड्दा मानिसहरू छक्क परेर हेर्ने गर्छन्, तर उनीहरू यसको कुनै पर्वाह नै गर्दैनन् । निर्माणसम्बन्धी काम गर्ने फ्रान्सिनाल्डो सानैदेखि आफूभन्दा अग्ली युवतीसँग बिहे गर्ने धोको रहेको र सिल्वालाई पाएर आफ्नो यो धोको पूरा भएको बताउँछन् भने सिल्वा पनि फ्रान्सिनाल्डोलाई जीवनसाथी पाएर मख्ख छिन् ।