किन चाहियो पत्रकार महासङ्घ ?

किन चाहियो पत्रकार महासङ्घ ?


nisedhपत्रकारहरूको हकहितका लागि स्थापित नेपाल पत्रकार महासङ्घको अधिवेशन र निर्वाचन सगौरव राजनीतिक दलसम्बद्ध प्यानलहरूका रूपमा प्रतिस्पर्धा गरेर सम्पन्न भएको छ । त्यसो त, पत्रकार महासङ्घका हकमा यो नयाँ कुरा होइन, पत्रकारका नाममा राजनीतिक दलको प्रतिस्पर्धा हिजोका दिनहरूमा पनि भएको थियो र भोलि पनि नहोला भन्न सक्ने र मिल्ने कुनै आधार छैन । हामीकहाँ विभिन्न पेसागत सङ्गठनहरूबीच चरम राजनीतिक गुटबन्दी र विभाजन छ । वकिलदेखि प्राध्यापक हुँदै डाक्टर, इन्जिनियरसम्म प्रजातान्त्रिक र प्रगतिशीलका नाममा विभाजित भएर चुनावी प्रक्रियामार्फत नेतृत्वमा पुग्ने गरेका छन् । यही अवस्था रहेमा राजनीतिक दलहरूको वृद्धिसँगै भविष्यमा यी दुई खेमा बढ्दै गएर धेरै हुन सक्ने सम्भावना छ । काम गर्दा चिकित्सक, वकिल या प्राध्यापक भए पनि चुनाव लड्दा भने यी काङ्ग्रेस, एमाले या माओवादी नै हुने गरेका छन् । प्रतिस्पर्धा पनि व्यवसायीभन्दा बढी यिनै दलहरूबीच हुने गरेको छ । पत्रकारितालाई विश्वमा गरिने अनेकौँ पेसा, व्यवसायभन्दा स्वतन्त्र मानिन्छ । स्वतन्त्र पेसा र स्वतन्त्र पत्रकारिताको मान्यताअनुरूप पत्रकारहरूलाई हेर्ने दृष्टिकोण पनि स्वतन्त्र नै हुन्छ । पत्रकार भन्नेबित्तिकै यसले कसैको पक्ष–विपक्ष लिँदैन भन्ने विश्वास मानिसहरूमा रहन्छ । यद्यपि मतदानको अधिकार मानवअधिकार भएकाले पत्रकारहरू पनि राजनीतिक दलहरूलाई भोट हाल्छन्, गोप्य मतदानमा उनीहरू सकेसम्म आफू के हुँ भनेर चिनाउन चाहँदैनन् । यो विश्वव्यापी अभ्यास हो । हामीकहाँ राजनीतिक दलका निर्वाचनताका विभिन्न दलमा प्रचार समितिहरू गठन गरिन्छ र त्यहाँ आफूपक्षीय नाम चलेका या क्रियाशील पत्रकारहरूलाई राखेर उक्त समितिमा को–को छन् भनेर प्रचार गरिन्छ, यो हाम्रो अभ्यास हो । पत्रकारहरू पनि निर्धक्क समितिहरूमा बस्छन् र आउने–जानेलाई ‘जय नेपाल या लालसलाम’ ठोक्दै काम गर्छन् । को कुन पार्टीनिकट पत्रकार हो भनेर हामी एक–अर्कालाई स्पष्ट चिन्छौँ र सोहीअनुसारको व्यवहार गर्छौं । त्यति मात्र होइन, पत्रकारसँग सम्बन्धित आफूसम्बद्ध दलनिकटका सङ्गठनहरू छन् हामीसँग । नेपाल प्रेस युनियन काङ्ग्रेसनिकट, प्रेस चौतारी एमालेनिकट, पत्रकार सङ्घ क्रान्तिकारी एमाओवादीनिकट, माओवादीनिकट । यी सबै सङ्गठनका आन्तरिक कार्यक्रम हुँदा दलका मुख्य नेताहरूले उद्घाटन गर्छन्, भाषणमा भ्रातृ सङ्गठनकै रूपमा यी सङ्गठनहरूलाई तिनले निर्देशन दिन्छन् ।
सबै दलका आ–आफ्नै सङ्गठन थिए, गलत भए पनि यहाँसम्म ठीकै थियो । तर, अब त सबैथरी पत्रकारको थलोका रूपमा रहनुपर्ने नेपाल पत्रकार महासङ्घलाई समेत कुनै एउटा दलसम्बद्ध सङ्गठनको मात्रै थलो बनाउने कोसिस गर्न थालियो जुन कुरा अलिअलि ठीक अलिअलि बेठीक नभएर समग्रमै गलत हो । हरेक सङ्गठनका आ–आफ्नै प्यानल बनाउने र तिनलाई जिताउन दलदेखि सबै नै मरिहत्ते गरेर लाग्ने परिपाटी चल्दै आएको छ । एकैपक्षीय या आफ्नै पक्षीय मात्रै पत्रकारहरूको थलो बनाउने हो भने पत्रकार महासङ्घ नै किन चाहियो र ? त्यसका लागि त प्रेस युनियन र प्रेस चौतारीहरू नै काफी छैनन् र ? समग्र पत्रकारहरूको संस्थाका रूपमा महासङ्घलाई लिने हो भने प्यानलका रूपमा खडा भएर चुनावमा उत्रने परिपाटीको बारेमा अब छलफल र बहस हुनु आवश्यक छ । अहिलेदेखि नै यसप्रकारको बहस सुरु भयो भने चुनाव हुने बेलासम्म केही होला भन्न सकिन्छ नत्र फेरि पनि यही क्रम दोहोरिँदा पत्रकारलाई भन्दा बढी दु:ख पार्टीहरूलाई हुने देखिन्छ ।
नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि राजनीतिक दलहरूले टिकट दिने कुरा विश्व समुदायका लागि आश्चर्यजनक कुरा भए पनि हाम्रा लागि भने यो सहजतापूर्वक स्वीकारिएको वास्तविकता हो । हरेक निर्वाचनमा करिब उस्तैउस्तै प्रकारको परिस्थिति बन्ने गरेको छ, प्रगतिशीलहरूले चाँडै उम्मेदवार खडा गर्ने र प्रजातान्त्रिकहरूको भने कुरा मिलाउँदा–मिलाउँदै ढिलो हुने । यसपटक पनि त्यस्तै भयो, चौतारी क्रान्तिकारी मिलेर उम्मेदवार खडा गरेर प्रचारप्रसार गरिसक्दासमेत प्रजातन्त्रवादी खेमाबाट उम्मेदवार घोषणा गरिएको थिएन । घोषणा भई सकेपछि पनि ‘प्रगतिशील’हरूको जस्तो एकताबद्ध प्रचारप्रसार हुन सकेको देखिएन । काङ्ग्रेसनिकट भएकाले प्रजातन्त्रवादीहरूको धेरै रणनीति नहुनु अनौठो कुरा पनि होइन । कतिपय अवस्थामा काङ्ग्रेस र हिन्दूधर्म उस्तै लाग्छ मलाई । हिन्दूधर्म मान्नेहरूले मन्दिर गए पनि हुन्छ, नगए पनि हुन्छ, गएर पूजा गरे पनि हुन्छ, नगरी फर्किए पनि हुन्छ । मन्दिरमा शिर निहु-याएर ढोगे पनि हुन्छ नढोगे पनि तिमीले भगवान्लाई नढोगेर अपमान ग-यौ भन्ने कोही हुँदैन । काङ्ग्रेसीहरूमा पनि त्यस्तै हो, जय नेपाल भने पनि हुने नभने पनि हुने, पार्टीको कुरा माने पनि हुने नमाने पनि हुने, कसैलाई विरोध गरे पनि हुने, समर्थन गरे पनि हुने । कहिलेकाहीँ पार्टीभित्र र पार्टीनिकट सङ्गठनहरूभित्र यसप्रकारको स्वतन्त्रताको दुरुपयोग भएको पनि देखिन्छ । के भयो, किन भयो खासै समीक्षा पनि हँुदैन । त्यसो त, यसपटकको मतको गणना गर्ने हो भने प्रगतिशीलहरूमा पनि एकता देखिएको भन्न मिल्दैन । तीन–तीनवटा संस्थाहरू मिलेर एउटा संस्थासँग लडेकाले उनीहरूकै क्याल्कुलेसनअनुरूप पनि कम्तीमा तीन सयको फरक हुनुपर्ने हो, तर त्यस्तो देखिएन । संयुक्त प्यानलका रूपमा घोषणा गरेर प्रतिस्पर्धामा जाँदा पनि कतिपय पदमा धेरै झिनो मतको मात्रै अन्तर रहनुले मतदाता पत्रकारहरू प्यानल या गुटभन्दा पनि व्यक्ति हेर्छन् भन्ने कुराको पुष्टि गरेको छ । जे–जे भएको भए पनि पत्रकार महासङ्घ सम्पूर्ण पत्रकारको साझा थलो भएकाले आफ्नो गुट मात्रै आओस् भन्ने चाहना राख्नु नै गलत हो । सम्पूर्ण पत्रकारका नाममा एक पक्षलाई मात्र ल्याउने हो भने महासङ्घ राखिरहनुको कुनै अर्थ हुँदैन, युनियन, चौतारी, क्रान्तिकारीलगायतका सङ्गठनहरूलाई नै दह्रो बनाएर लगे हुन्छ । नेपाल पत्रकार महासङ्घमा राजनीति त पहिलेदेखि थियो नै यसपटकदेखि अब जातीय मुद्दा पनि भित्रिएको भान भएको छ । जातीय कोटामा रहेका पदमा पत्रकारहरूले ‘म पत्रकार’भन्दा पनि म यो जातको कोटाबाट उठेको छु भन्दै भोट मागेको दृश्य नरमाइलो लाग्ने प्रकारको थियो । अन्य अर्थ नलगाइयोस् तर पत्रकार महासङ्घ आफैँले पत्रकारलाई दलित, जनजाति, मधेसी भनेर छुट्याइदिँदा पत्रकारहरू जातमा सीमित भएको महसुस पनि भयो । महासङ्घलाई समावेशी बनाउने राम्रो उद्देश्यले गरिएको हुँदा यसलाई गलत नै चाहिँ भनि हाल्न मिल्दैन, तर यसप्रकारको कोटाबाट माथि उठेर सबैलाई समान रूपले अघि बढाउने वातावरण बनाइनु आवश्यक छ ।