इजरायल र साइप्रस यात्राको सुखद स्मरण – मोहनकृष्ण श्रेष्ठ

इजरायल र साइप्रस यात्राको सुखद स्मरण – मोहनकृष्ण श्रेष्ठ


bicharयात्रा–सम्झना
कूटनीतिमा अन्य कुराका अलावा भ्रमण पनि एउटा महत्वपूर्ण पक्ष मानिन्छ । यस अवधारणालाई आत्मसात् गर्दै पङ्क्तिकारले कूटनीतिक सेवामा प्रवेश गरेयता ६ महादेशका करिब ६ दर्जन मुलुकको भ्रमण गरिसकेको छ । यही मेसोमा विभिन्न दृष्टिकोणबाट विश्वको मानचित्रमा एक बहुचर्चित देश इजरायलको यात्रा गर्दाको सम्झना यस लेखोटमा गरिँदै छ ।
जुन २०१० को मध्यतिर पेरिसमा नेपाली राजदूतको जिम्मेवारी सम्हाल्न आएपछि सन् २०११ को फरवरी २० तारेखमा इजरायलको भ्रमण गर्ने इच्छा राखी तारतम्य मिलाइयो । तेलअभिभस्थित नेपाली राजदूतावासमा कार्यरत मित्र रमेश खनाल तथा पुराना मित्र डा. ध्रुव कोइरालालाई हाम्रो सम्भावित भ्रमणको खबरले निकै खुसी तुल्याएको अनुभूति गरियो । तर, हामीले फ्लाइट लिनुभन्दा एक हप्ता अगाडि नै हङ्गेरियन एअरलाइन्स मालेभ घाटा गई सबै फ्लाइटहरू अचानक बन्द भएछ । हामी दम्पती तोकिएको दिन उड्न नसक्ने भयौँ । यसपछि अर्को वर्ष अर्थात् सन् २०१२ मा पनि जान निकै कोसिस ग-यौँ, तर पनि साइत जुरेन ।
जसरी भए पनि इजरायलको यात्रा गर्ने अभिप्राय पालेर मौकाको प्रतीक्षा गरिरहेको सन्दर्भबीच अन्यन्य मित्र प्रह्हाद प्रसार्इं पनि इजरायलमा राजदूतको जिम्मेवारी सम्हाल्न खटिनुभएपछि इजरायल भ्रमणमा जाने इच्छा हामी दम्पतीमा झन् प्रबल भयो । अन्तत: २१ मार्च २०१४ का दिन पेरिसको ओर्ली एअरपोर्टबाट टर्कीको पेगासस एअरलाइन्समार्फत इस्टान्वुल पुगी त्यहाँबाट राति १० बजेको फ्लाइटबाट तेलअभिभका लागि उड्यौँ । निस्पट्ट अन्धकारका कारण प्लेन कता उडिराखेको छ अत्तोपत्तो थिएन, तर करिब ९० मिनेटको फ्लाइटपछि तेलअभिभको एअरपोर्टमा हामी उत्रियौँ ।
२२ मार्चका दिन मौसम निकै नै अनुकूल रह्यो । लन्चपछि हामीहरू तथा राजदूत प्रसाईं तथा भाउजूसमेत तेलअभिभ सहरको पश्चिम किनार भई भूमध्यसागरतिर हेर्दै हिँड्दै गयौँ । बीचमा इजरायली तथा अनगिन्ती विदेशी पर्यटक विभिन्न आकर्षक पर्यटकीय क्रियाकलापहरूमा रमाइरहेका देखियो । बीचबाटोमा हरेकृष्ण भजन टोलीसँग साक्षात्कार पनि भयो । केटाहरू इष्टकोटमा तथा केटीहरू सारी लगाई हरेकृष्ण हरेकृष्ण भनी मन्त्रमुग्ध भई तल्लीन भई गाइरहेको देखेर गजब लाग्यो । नेपाली राजदूतावास रहेको भवनसम्म पैदलै पुग्याँै । हामीलाई स्वागत गर्दै मित्र प्रसाईंजीले राजदूतावास तथा नेपालीका बारेमा केही जानकारी प्रदान गर्नुभएपछि प्रागऐतिहासिक सहर याफा हेर्न पुगियो । अहिले यो सानो सहर तेलअभिभकै अभिन्न अङ्ग भइसकेको र इजरायल बनेपछि यहुदीहरू यसै सहरबाट पसेका ठानिँदोरहेछ । साथै यहुदी तथा अरबको घना बस्ती भएको यस सहरमा एकताका फ्रान्सका शासक नेपोलियनले पनि धावा बोलिसकेको कुरा शिलालेखमा पढियो । साँझ साईकेन्द्रका अध्यक्ष मञ्जु गुरुङले डिनरमा निमन्त्रणा गर्नुभएको थियो । त्यहाँ भलाकुसारी तथा कुराकानीका क्रममा इजरायलमा नेपालीहरू कामप्रति वफादार तथा मिहिनेती भएकाले निकै नै रुचाउने कुरा बुझियो ।
भोलिपल्ट तेलअभिभ सहरबाट करिब ८० किलोमिटर उत्तरमा रहेको हाइफा सहर घुम्न गयाँै । समुद्रको किनारैकिनार भई सडक गएकाले निकै नै रमणीय भयो । हाइफा सहर समुद्रको किनारमा रही मैदानी फाँट तथा होचो डाँडाहरूको सम्मिश्रणले गर्दा निकै आकर्षक देखिन्थ्यो । बहाई बगैँचामा ढकमक्क फुलेका विभिन्न प्रजातिका पूmलहरूले गर्दा सो बगैँचा हेर्न आउनेको भीड निकै थियो । दिनको १२ बजे नै बन्द गरिने भएकाले आगन्तुकहरू हतार–हतार फोटो खिच्नमा मस्त र व्यस्त देखिन्थे । त्यसपछि डाँडाका टुप्पोमा नै रहेको कार्मेन भन्ने स्थानमा गोल्डा मायर इन्स्टिच्युट अफ फोरेन कोपरेसनको कार्यालयमा पुग्यौँ । त्यहाँ विभिन्न देशहरूबाट शिक्षक तथा विद्यार्थी गरी प्रशिक्षार्थी आइराख्ने तथा नेपालबाट पनि भर्खर दुईजना विद्यार्थी आई फर्केको कुरा ज्ञात भयोे ।
२५ मार्चका दिन हामी विश्वको सबैभन्दा होचो ठाउँ ‘डेड सी’ (मृतसागर)को अवलोकन गर्न जाने कार्यक्रम थियो । घरबाट हिँडेपछि चिल्ला सडकको दायाँबायाँ रमणीय हरिया फाँटहरू, अनगिन्ती भवनहरू, कारखानाहरूको अवलोकन गर्दै हामीहरू करिब साढे दुई घन्टापछि मृतसागरको किनारमा पुग्यौँ । जति–जति मृतसागर नजिक हुँदै आयो फुस्रा होचा डाँडाहरू देखिँदै आए । यता इजरायल उता जोर्डनको बोर्डर । दुवैतिर उस्तै प्रकारका फुस्रा तथा होचा डाँडाहरू । यसैको बीचमा मृतसागर रहेछ । करिब सय किलोमटिरको क्षेत्रफलमा फैलिएको मृतसागरको पानी स्वच्छ तथा निर्मल देखिन्थ्यो । यो सागर प्रत्येक वर्ष केही प्रतिशतले खुम्चिँदै गइराखेको कुरा पनि सुनियो । पानीमा नुन, पोटासियम, सल्फर तथा ब्रोमाइड भन्ने खनिज पदार्थहरू रहने गरेकाले यहाँ कुनै पनि जीवजीवाणु बाँच्न नसकिने कारणले गर्दा नै मृत सागर नामाकरण रहेको बुझियो । पानीको आन्तरिक चापले गर्दा मानिस नडुब्ने रहेछ । पानीमा अलिकति सन्तुलन मिलेन भने गुल्टिने पनि रहेछ । पानीमा नडुब्ने भएकाले जान्ने मानिसहरू हामोकमा बसेजस्तो गरी आकाशतिर हेरी आरामले बस्दा रहेछन् । तर, त्यहाँको पानी आँखामा पस्यो भने निकै पोल्ने भएकाले तुरुन्तै अर्को सफा पानीले पखाल्नुपर्ने रहेछ । साथै पानीमा नुन अत्यधिक रहने भएकाले पानीमा पस्नुअगाडि पानी पिउनु पनि जरुरी छ भन्ने जानकारी दिइँदोरहेछ । पोटासियम भएका कारण पानीमा छिरेपछि तुरुन्तै शरीरमा चिप्लेकीरा टाँसिएजस्तो गरी चिप्लो हुने रहेछ । मृतसागर समुद्री सतहभन्दा चार सय २२ मिटर तल रहेछ । भूमध्यसागर तथा मृतसागरबीच इजरायलको होचा डाँडाहरू नभएको भए ६० करोड वर्ष अगाडि एटलान्टिक सागरबाट छुट्टिएर बनेको भूमध्यसागरको पानी बगेर आई यो मृतसागर शायद बन्दैनथ्यो होला भनी राजदूत प्रसाईंले ठट्टा पनि गर्नुभयो । मृतसागरको पानी उपयोग गरी मानव शरीरका लागि अति उपयोगी धेरै नै प्रकारका सामान उत्पादन गरिँदा रहेछन् । फर्कने क्रममा मृतसागरको पानीबाट नुन निकाल्ने विश्वकै ठूलो कारखाना पनि अवलोकन गरियो ।
अर्काे घतलाग्दो कुरा के पनि थाहा पाइयो भने विश्वको सर्र्वाेच्च टाकुरा सगरमाथाको ढुङ्गाको टुक्रा तथा विश्वको सबभन्दा होचो ठाउँ मृतसागरको पानीलाई एकै ठाउँमा समाहित गरी एउटा सानो मन्दिरजस्तै बनाएर सन् २०१२ स्थापना गरिएको र नेपालबाट त टिकट पनि निकालिएको रहेछ । समुद्र सतहभन्दा चार सय २२ मिटर तलबाट ८,८४८ मिटर अग्लो ठाउँको प्रतिनिधित्व एकै ठाउँमा हुनु अति नै रोमाञ्चकारी कुरा भयो ।
२६ मार्चका दिन नजिकै रहेको साइप्रस टापुको भ्रमण गर्ने कार्यक्रम रहेकाले झिसमिसेमा नै एयरपोर्ट पुग्यौँ । सुरक्षा भन्नासाथ इजरायलको नाम अनायास नै आउँछ धेरैको मनमा । तेलअभिभ एअरपोर्ट निकै व्यवस्थित थियो । तर, चेक इन काउन्टरमा जानुअगाडि नै अन्तर्वार्ता दिनुपर्ने नियम रहेछ । सामान कसले प्याक गरेको, के–के छन्, कसैले दिएको सामान राखेको छ कि आदि प्रश्नहरू यात्रुहरूलाई तेस्र्याउँदा रहछेन् । सबै प्रश्नहरूको छोटकरीमा चित्तबुझ्दो उत्तर दिएपछि चेक इन काउन्टर जान पायौँ । करिब ४५ मिनेटको साइप्रस एअरलाइन्सको फ्लाइटपछि पूर्वी तटमा रहेको लारनाका सहरमा पुग्यौँ । हामीलाई लिन साइप्रसका लागि नेपाली अवैतनिक वाणिज्यदूत डा. रामजीवन पञ्जियार आउनुभएको थियो । उहाँले एयरपोर्ट सीधा झन्डै १८० किलोमिटर पर रहेको ऐतिहासिक पाफोस भन्ने सहरमा लानुभयो । शान्त सुन्दर चारैतिर मध्यपूर्वसागरले घेरिएको साइप्रस साह्रै राम्रो ठाउँ रहेछ । बाटोघाटो का सुविधा पनि राम्रो रहेछ । सानो देश भएकाले केही घन्टामा नै जहाँबाट जहाँ पनि पुग्न सकिने रहेछ । राजधानी निकोसिया फर्कने क्रममा लिमासोल सहर पनि हेरियो । जताततै शान्त तथा सुन्दर देखिने यो देशको हावापानी पनि उत्तिकै रमणीय पायौँ । भोलिपल्ट निकोसिया सहर घुम्न निस्कियौँ । डा. पञ्जियारले लेद्रा भन्ने सानो सहरतिर गाडी मोड्नुभयो र त्यहाँ टर्किस साइप्रस तथा ग्रीक साइप्रसलाई छुट्याउने गरी संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा काँडाको तारले बेरिएको बोर्डर देखाउनुभयो । साथै सन् १९७४ मा युद्ध हुँदा भत्केका, गोली लागेर क्षतविक्षत भएका भवनहरू पनि देखाउनुभएको थियो । तर, अब ३० वर्षपछि यो सहरमा सम्बन्ध सामान्यीकरण हुँदै एक–आपसमा सहयोग तथा बन्धुत्वको भावना विकास भइआएको समाचार पनि केही अगाडि सीएनएनमा पढेको थिएँ, खुसी नै लाग्यो । वैरभावभन्दा समझदारी निश्चय नै ठूलो कुरा हो ।
अवैतनिक नेपाली वाणिज्य दूतावासको कौसीमा फर्फराइरहेको नेपालको राष्ट्रिय झन्डा देखेर साह्रै खुसी लाग्यो । डा. पञ्जियारलाई साइप्रसमा नेपालीको हित प्रवद्र्धन गर्ने कसरी गर्ने भन्ने धुन चढेको रहेछ । लन्चका लागि हामीहरू उहाँहरूको निवासमा गयौँ । श्रीमती नीलम पञ्जियारले साह्रै न्यानो स्नेहका साथ हामीलाई स्वागत गर्नुहुँदै मीठा नेपाली परिकारहरू पस्कनुभयो । उहाँहरूको न्यानो आतिथ्य सदा अविष्मरणीय रहनेछ । त्यसपछि हामी लारनाका सहर जाने क्रममा समुद्रको किनारमा रहेको एउटा रेस्टुरामा गयौँ । अचानक त्यहाँको मेनेजरसँग जम्काभेट भयो । हामी नेपाली भन्ने थाहा पाउनासाथ आप्mनो रेस्टुरामा चार–पाँचजना नेपाली काम गरी आएकोमा हाल फर्केको र नेपालीहरू साह्रै मिजासिलो तथा मिहिनेती पाएको जानकारी गराए । कुराकानी नसक्दै अर्काे एकजना ठिटो आएर आफू साथीको विवाहका लागि नेपाल गएर आएको र नेपालको प्राकृतिक सौन्दर्य देखेर दङ्ग भएको बताए ।
साँझपख अर्काे सहर अगियानापातर्फ घुम्न गयौँ । चन्द्रमाको प्रकाशले समुद्रको दूर क्षितिजसम्म देखाइरहेको थियो । चन्द्रमाको चुम्बकीय शक्तिले समुद्रमा छाल आउँछ भन्ने सुनेकोमा प्रत्यक्ष रूपमा देख्न पायौँ । छालको आवाजले त्यहाँ एकाग्रता सम्भव थिएन, तर पनि छालको आवाजले एक प्रकारको आनन्द भने दिइराखेको नै थियो । समयमै लारनाका एयरपोर्टमा पुग्यौँ । सानो चिटिक्क परी बनाइएको एयरपोर्ट राम्ररी व्यवस्थित देखिन्थ्यो भने एयरपोर्टका बारेमा मिस्टर कोस्तासले जानकारी दिनुभएकोे थियो । हामी पुन: तेलअभिभ फर्कंदा मध्यरात भइसकेको थियो । इमिग्रेसनमा धेरै समय लाग्दोरहेछ । मध्यरातमा पनि आगन्तुकहरू आएको आयै थिए ।
२८ मार्चका दिन जेरुसलेम सहर घुम्ने कार्यक्रम थियो । पुरानो हितैषी मित्र डाक्टर ध्रुव कोइराला लिन आउनुभयो । उहाँ गत १० वर्षदेखि संयुक्त राष्ट्र सङ्घअन्तर्गतको कार्यालयमा कार्यरत रहिआउनुभएको रहेछ । जेरुसलेम जाने बाटोको दुवैतिर मनमोहक दृश्यहरू हेर्दै हामीहरू साँझपख जेरुसलेम सहरमा पुग्यौँ । सहर त अति नै सफासुग्घर रहेछ । जेरुसलेम सहरभन्दा सबैमा एकप्रकारको बेग्लै भावना पनि पैदा हुँदो हो । यो त एकप्रकारले विश्वको मानचित्रमा बहुचर्चित सहर नै हो । फुस्रा डाँडाहरूमा बनेका अनगिन्ती घर तथा भवनहरू र साँझपखको दृश्य रमणीय देखियो । हामीलाई पार्लियामेन्ट भवन, प्रधानमन्त्री कार्यालय तथा अन्य महत्वपूर्ण ठाउँहरूको परिचय दिनुहुँदै डा. कोइरालाले निकै राम्ररी घुमाइदिनुभयो । उहाँ बस्नुभएको घर पनि डाँडाको टुप्पोमा नै रहेछ । त्यहाँबाट जेरुसलेम सहरको दृश्य साँच्चै नै हेर्न लायकको थियो । भोलिपल्ट हामीहरू जेसस क्राइष्ट जन्मेको स्थान हेर्न गयौँ । बेथलहेम सहरमा पर्दाेरहेछ । उहाँ जन्मेको स्थानमा तारा अङ्कित थियो । त्यहाँ दुवै हात राखी आप्mनो मनको इच्छा पूरा गरिदिन प्रार्थना गरिँदोरहेछ । केही स्थान पर क्राइष्ट जन्मनुभएपछि राखिएको ठाउँ पनि हे-यौँ । पछि अर्कै ठाउँमा क्राइष्टको शव राखिएको भनिएको सिंगमर्मरको ढुङ्गा पनि हे-यौँ । यहाँ पनि दुवै हात राखी ढोगेर प्रार्थना गर्ने चलन रहेछ । जता गए पनि अनगिन्ती पर्यटकहरूको घुइँचो थियो । यसरी छोटो समयमै हेर्नुपर्ने स्थानहरूको अवलोकनपश्चात् लन्च खाने तरखरमा थियौँ । अचानक एभरेस्ट रम्जी क्याफेमा आँखा प-यो । त्यता छिरेपछि यो नाम कसरी रहेको भनी सोध्यौँ । क्याफेका मालिक मिस्टर सब्री सन् १९६८ मा नेपालको भ्रमणमा गएको र फर्केपछि खुसी भई यो एभरेस्ट नामाकरण गरेको भन्ने बुझियो । अङ्ग्रेजी पटक्कै नबोले पनि उनको हातको स्पर्शले आत्मीयता महसुस भयो । त्यति टाढा रहेको सहरमा पनि आप्mनो देशको सर्वाेच्च टाकुरा सगरमाथाको नामाङ्कन गरेर मानसम्मान गरेका सब्रीलाई धन्यवाद दिँदै हामी ३० मार्चका दिन पुन: इस्तानबुल हुँदै इजरायल तथा साइप्रसको रमणीय भ्रमण सकेर पेरिस फर्कियौँ ।
(मोहनकृष्ण श्रेष्ठ फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि हुनुहुन्छ ।)