व्यक्तिविशेषको होइन, देशको मान्छे बन्ने कि ?

व्यक्तिविशेषको होइन, देशको मान्छे बन्ने कि ?


bichar– महेन्द्र पाण्डेय
पहिलो संविधानसभाको असामयिक अवसानपछि भएको दोस्रो संविधानसभाको निर्वाचनबाट गुल्मी क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित सभासद् चन्द्र भण्डारीसँग पाँच महिना २२ दिनपछि जिल्लाका केही गाविसमा सँगै डुल्ने मौका प्राप्त भयो । यसबीचमा काठमाडौंमा झन्डै–झन्डै आधा दर्जनपटक भेटघाट भए पनि सँगै जिल्ला जाने अवसर प्राप्त भएको थिएन । जिल्ला जानुपूर्व भेट हुँदा केही घन्टाको भेटघाट आपसी भलाकुसारीभन्दा पनि उनको मोबाइलमा तारन्तार बजिरहने फोनको घन्टी र फोनमा गरिने सवालजवाफ सुनेरै बित्थ्यो । प्रायजसो जिल्लाबाटै आएका ती फोनकलमा निर्वाचनमा गरेका वाचाबन्धनका जति कुरा सुनिन्थे त्योभन्दा बढी व्यक्तिगत लाभका लागि कुरा गरेको महसुस सभासद् भण्डारीको जवाफ फर्काइबाट महसुस हुने गथ्र्यो । सभासद् भण्डारीसँग गुल्मी क्षेत्र नं. २ का जनताले मात्र नभएर सिङ्गो जिल्लाका तमाम कार्यकर्ताले कसैले छोरो, बुहारी, श्रीमती त कसैले शिक्षक बन्न आफैँले दिएको परीक्षामा पास गराइदिन आग्रह गरेको बुझिन्थ्यो भने कतिले सरुवा र बढुवाको माग गरिरहेका हुन्थे । जिल्लाबाट आउने फोन प्रायः निर्वाचनमा गरेको सहयोगको पैँचो फर्काउने खालको हो कि जस्तो सुनिन्थ्यो भने जिल्लाबाहिरबाट आउने शुभचिन्तकले ‘हिजोका दिनमा (चुनावमा) पेलानमा परियो दाइ, अब त केही हुनुप-यो नि’ भनी हाकाहाकी भनिरहेका हुन्थे । यसरी समाजको विकासदेखि व्यक्तिगत निकाससम्मको फोन रिसिभ गर्दा सभासद् भण्डारी भने कतिपयलाई ‘आफ्नो काबुभन्दा बाहिरको काम’ गर्न नसक्ने भनी सम्झाउँथे भने कतिपयलाई चाहिँ ‘बीस वर्षसम्म कम्युनिस्टले केही नगर्दा भयो, यो पाँच महिनामै परिवर्तन नखोजौँ न, विस्तारै सबै काम हुन्छ’ भन्दै आश्वस्त पार्न खोज्थे । अघिल्लो संविधानसभामा अप्रत्यासित सिट हात पारेको एकीकृत माओवादी यसपटकको निर्वाचनमा एकैचोटि तेस्रो स्थानमा झरेको देखेका कारणले होला सभासद् भण्डारीले पनि जनता भनेका सर्वशक्तिमान हुन् भनेर उनीहरूको टेलिफोनको घन्टीलाई मान्यता दिएको ।
लोकतन्त्रवादीहरूले डेमोक्रेसीमा संसद् जनताको सर्वोत्कृष्ट सर्वोच्च संस्था भएको ठान्छन् । ‘खसीको टाउको राखेर कुुकुरको मासु बेच्ने स्थान नै संसद् हो’ भन्नेहरू पनि यतिखेर आफूलाई सबैभन्दा बढ्ता संसद्वादी भएको प्रदर्शन गरिरहेका बेला आफ्नो आदर्श नै संसद्लाई ठान्नेहरूले जनतालाई केन्द्रविन्दुमा राख्नु स्वाभाविक हो । पत्रकार चन्द्रकिशोरले लेखेको एउटा लेखमा उल्लेख भएझैँ सभासद्हरू मूलतः लोकदूत हुन्, जसले जनताको किनारीकृत स्वरलाई मुखरित गर्छन् । जनताका पक्षमा पैरवी गरिराखेका हुन्छन्, कतिपय अवस्थामा सहजीकरण गरिरहेका हुन्छन् । विश्लेषक चन्द्रकिशोरले उल्लेख गरेझैँ हाम्रा अधिकांश सभासद्ले यो कुरालाई एक कानले सुनेर अर्को कानले उडाए पनि चन्द्र भण्डारी भने यो कुरामा ज्यादै संवेदनशील भएको यो पङ्क्तिकारले महसुस गरेको छ । राज्य सञ्चालक र त्यसका पालकले सेवा प्रदान गर्ने तरिकालाई सन्तुलित, तटस्थ र समयबद्ध नगराई विधिको मान्यतालाई उपेक्षा गरिएका कारणले पनि जनता बाध्य भएर झिना–मसिनादेखि ठूला कामसम्म आफ्नै सभासद्ले गरिदियोस् भन्ने अपेक्षा राखेका हुन्छन् । पञ्चायती व्यवस्था समाप्त भएको यो दुई दशकभन्दा बढीको समयमा धेरै व्यक्ति फेरिए, पुनः दोहोरिए, नीति, नियम कागजमा २१औँ शताब्दी भन्दै फेरिए । तर, दुर्भाग्य † ती व्यक्तिको सोच, चिन्तन र व्यवहार ज्युँकात्युँ रहेका कारण जनता यसरी आफूले मतदान गरेको व्यक्तिलाई तारन्तर फोन गर्न विवश बनेका छन् ।
आज सङ्घीयताको चर्को आवाज उठाउनेहरू नै हिजो एकात्मक शासनका पक्षधर थिए । सिंहदरबारको अधिकार वडाध्यक्षकहाँ थोरै भए पनि पु-याउनुपर्छ भन्दा बुरुक्क उफ्रनेहरू नै यतिखेर चर्का सङ्घीयतावादी भएको हामीले देखिरहेका छौँ । मुलुक सात वर्षदेखि अन्तरिम विधानबाट चलेको छ । स्थायी संविधान बनाउने कुरामा भन्दा फलानो पार्टीको नेतृत्वमा संविधान बन्यो भने त्यसको श्रेय उसैलाई जान्छ भनेर असफल पार्नतिर सबैको ध्यान केन्द्रित भइरहेको देखे–भोगेका जनताले आफ्नो सभासद् खोज्नु स्वाभाविक पनि हो । देश बिरामी परिरहेका बेला व्यक्तिको उपचारतर्फ दौडिनुपर्ने बाध्यताका साथ अघि बढेका हाम्रा ६ सय १ सभासद्को भीडमा रहेका नेता भण्डारी आफ्नो कर्तव्यमा जति चिन्तनशील छन् त्यति नै जनतासँगको भेटघाटमा भावनामा पनि बहने गरेका देखिन्छन् । यस्तो कार्यले उनलाई केही क्षणलाई फाइदा भए पनि यसले दीर्घकालीन सन्तुष्टि भने दिन सक्दैन । सभासद् भनेको व्यक्ति होइन, संस्था हो । एक हातले मात्र ताली बजाउन खोजियो भने यो सम्भव हुँदैन । त्यसैले संस्था रहे व्यक्ति रहन्छ भन्ने कुरालाई सबै सभासद्ले राम्रोसँग बुझ्न जरुरी छ । एक्लै दौडिन खोजेर कुनै काम सफल हुँदैन, कुनै पनि काम टिमबिना सफल हुन सक्दैन भन्ने कुरालाई प्रखर युवा नेता चन्द्र भण्डारीले मात्र होइन अन्य दल वा आमसभासद्ले पनि बुझ्नु जरुरी छ ।
जनताले सभासद्सँग ज्यादै अपेक्षा राखेका हुन्छन् । आफ्नो व्यक्तिगतभन्दा पार्टीको करियरलाई ख्याल गर्न जरुरी हुन्छ । पङ्क्तिकारले यहाँ उपमाका रूपमा खडा गरेका काङ्ग्रेस नेता चन्द्र भण्डारीले यतिखेरसम्मको तामझाम हेर्दा पार्टीकै करियरलाई बढी ख्याल गरेको देखिन्छ । चैत २६ गते गुल्मीको रिडीबाट नेता भण्डारीसँग ०७१ वैशाख १ गतेको साँझसम्म सँगै घुम्ने मौका यो पङ्क्तिकारले पायो । ऐतिहासिक, धार्मिक तथा तीर्थस्थल रुरु रिडीबाट सुरु भएको जनतासँगको सभासद् भेटघाट कार्यक्रममा नेपाली काङ्गे्रस गुल्मीका उपसभापति एवम् प्रभावशाली नेता भुवनप्रसाद श्रेष्ठ र तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी यात्रामा सँगै थिए । रिडीबाट सुरु भएको जनतासँग भेटघाट कर्यक्रम अगाहा, दौघा, मनवाग, मानकोट, वीरवासको भट्टेचौर, बाखे्र, दिगामलगायतका ठाउँमा भएको थियो । यी सबै स्थान ०४८ देखि अनवरत एमालेलाई मनदान गर्ने मात्र नभई काङ्गे्रसलाई प्रवेशसम्म नदिइएका क्षेत्र हुन् । दुई दशकभन्दा लामो अवधि शासन गरेको एमालेले त्यहाँका जनताबाट मत लिनेबाहेक अरू सिन्कोसम्म भाँचेको रहेनछ । एमालेबाट वाक्कदिक्क भएका त्यहाँका जनताले ०७० को संविधानसभा निर्वाचनमा चन्द्र भण्डारीलाई दिलैदेखि मत दिए । तिनै मतदाताले ‘टेलिभिजनमा मात्र होइन वास्तविक अनुहार पनि देखाउनु आउनू’ भन्ने आह्वान गरेपछि त्यहाँबाट दिइएको मतको सम्मान गर्दै सदन रोकिएको मौका छोपेर त्यहाँ पुगेका रहेछन् । सय मिटर तल कलकल खोला बगेको छ भने माथि सिँचाइ नभएर सयौँ हेक्टर जमिन सुक्खा छ । त्यहाँ जनताले सिँचाइ मात्र भइदिए यहाँका युवा विदेशमा गई दुःख गर्ने र बाकसमा लास बनेर आउनुपर्ने त्रासबाट मुक्त हुने थियौँ भनी आर्तनाद गरेछन् ।
कुनै अस्वाभाविक या ठूलो माग जनताले राखेनन् त्यहाँ । सभासद् इमानदारीका साथ लाग्यो र काम गर्ने राम्रो टिम बनायो भने त्यो सहजै पूरा हुन्छ । बाखे्रका एक पूर्व प्रहरी हवल्दारले त चुनावमा एमाले उम्मेदवार प्रदीप ज्ञवालीलाई आक्रोश पोख्दै ‘हेर्नुस्, ०४८ देखि एमालेसँग नियमित सहवास गर्दै आइयो, तर त्यो पार्टीबाट न त छोरा भयो न त छोरी नै, त्यसैले चन्द्रसँग पोइल जान बाध्य भइयो’ भन्ने अभिव्यक्ति दिएछन् । ६ दिनसम्म सँगै घुम्ने क्रममा जनताले विकास मात्र मागेनन्, मुलुकको निकासका लागि पनि गम्भीर बन्न भण्डारीलाई आग्रह गरे ।
हो, लोकतन्त्रमा जनअपेक्षालाई निषेध गर्न खोजियो भने आफैँ भोलि निषेधित भइन्छ भन्ने कुरालाई सबैले मनन गर्नुपर्ने हुन्छ । जनअपेक्षालाई आधिकारिक उपयुक्त व्यवस्थापन गर्नु नै सफल नेतृत्वको लक्षण हो । मनवाग भन्ने ठाउँमा एकजना श्रेष्ठ थरका एमाले कार्यकर्ताले बडो रोवका साथ आफ्नो चिनारी दिँँदै ‘आफूले चन्द्रजीलाई मनदान नगरे पनि निर्वाचित सभासद् तपाईं नै हो काम त गर्नुप-यो नि’ भन्दै डायलग दिँदा सभासद् भण्डारीले ‘हामी तपाईंसँग मतदान कसलाई गर्नुभयो भनेर सोध्न आएका नभई यहाँको समस्या के छ भनेर बुझ्न आएका हौँ’ भन्ने उत्तर दिँदा ती एमाले कार्यकर्ता तुरुन्तै रुझेको बिरालोजस्तै भएका थिए । सभासद् भण्डारीको जनतासँग आग्रह थियो, ‘राजनीति पाँच वर्षपछि गरौँला, चुनावमा मत दिनेको मात्र होइन नदिनेको पनि अब सभासद् बनियो, त्यसैले विकास र निकासका कुरा गरौँ ।’ उनले यसो भन्दा त्यस क्षेत्रका जनता खुसीले गद्गद् देखिए । यसरी बिहान उज्यालो भएदेखि राति सुत्ने बेलासम्म फोन र प्रत्यक्ष भेटमा जनताले गरेका अपेक्षालाई बिनापूर्वाग्रह पूरा गर्न लागिपरेमा मात्र कुनै व्यक्तिविशेष या पार्टीविशेषको नभई देशकै मान्छे हुन सकिन्छ । बीपी कोइरालाले भनेझैँ ‘राम्रो मान्छे होइन असल मान्छे’ बन्न समस्त जनप्रतिनिधिलाई पङ्क्तिकार आग्रह गर्दछ ।