खेलकुदमन्त्री ज्योतिषीको शरणमा

खेलकुदमन्त्री ज्योतिषीको शरणमा


sportपछिल्लो समयमा खेलकुदमा प्रभुत्व जमाउन अनेक किसिमका करसत गर्दै चर्चामा आएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल अन्त्यमा ज्योतिषीको शरणमा परेका छन् । अघिल्लो साता सञ्चारकर्मीहरूसँगको भेटघाटमा मन्त्री पौडेलले लामाको चारवर्षे कार्यकाल ज्योतिषीले मात्र बताउने अभिव्यक्ति दिएपछि उनको चर्चाले शिखर छोएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई राजनीतिक र मानसिक दबाब दिँदासमेत त्यसको कुनै असर नपरेपछि पौडेल थकित मुद्रामा यसरी प्रस्तुत भएका हुन् । ‘सदस्यसचिव लामा राखेपमा कति समय रहन्छन्, त्यो ज्योतिषीलाई नै सोध्नुपर्छ’ भन्दै पौडेलले अब लामा देखाउन ज्योतिषीकहाँ जाने सङ्केत दिएका थिए । पौडेल बाजेले लामा देखाउन ज्योतिषीकहाँ जाने मनसाय बनाएपछि अलमलमा परेका सञ्चारकर्मीहरूले पौडेलको मानसिक हतासको खुलेर चर्चा गरेका थिए । सञ्चारकर्मी भन्दै थिए, ‘लामालाई गलाउन हात धोएर लागेका खेलकुदमन्त्री आफैँ गलेछन् ।’
विगत एक महिनादेखि मन्त्री पौडेल र सदस्यसचिव लामाबीच बढेको चिसोपनले अहिले खेलकुद क्षेत्रमा उखरमाउलो गर्मीले प्रवेश गरेको छ । खेलकुदका अन्य मुद्दाहरू थाङ्नामा राख्दै लामालाई विस्थापित गर्नमा मात्र मन्त्री पौडेल केन्द्रित रहेपछि यो स्थितिको सिर्जना भएको हो । अहिले पानी बाराबारको स्थितिमा पुगेको मन्त्रालय र राखेपको सम्बन्धले भविष्यमा कस्तो मोड लिन्छ त्यो प्रतीक्षाको विषय बने पनि यसको नकारात्मक असर भने खेलकुदमा पर्न थालेकोे छ । पार्टीको दबाबमा मन्त्री पौडेलले लामालाई आँखाको कसिङ्गर देख्नु र उनका हरेक क्रियाकलापमा अङ्कुश लगाउन खोज्नुले पनि यसलाई प्रमाणित गरेको छ । पछिल्लोपटक राखेपले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सङ्घहरूलाई राखेपको स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने सूचना प्रकाशित गरेपछि विवादले नयाँ मोड लिएको थियो । राखेपले यो सूचना प्रकाशित गरेलगत्तै अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको कार्यसमितिको बैठकले निकासका लागि मन्त्रालयसँग समन्वय गर्ने निर्णय गरेको थियो । त्यसपछि शुभारम्भ भएको यो विवादलाई उत्कर्षमा पु-याउने काम पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले गरेका थिए । श्रेष्ठले आफ्नै पार्टीको खेलकुदमन्त्री भएको फाइदा उठाउँदै राखेपलाई नाकमा रस्सी लगाउन मन्त्री पौडेललाई दबाब दिएका थिए । परिणाम श्रेष्ठको इसारामा ताण्डव गर्दै आएका पौडेलले तत्कालै मन्त्रालयमा राष्ट्रिय सङ्घहरूको बैठक बोलाई छलफल गरेका थिए । त्यसपछि मन्त्रालयले सूचनामा उल्लेखित भएबमोजिम नगर्न÷नराउन राखेपलाई निर्देशन दिएको थियो । जसको शिरोधार्य गर्दै राखेप अर्को सूचना प्रकाशित गर्न बाध्य भएको थियो । उक्त बैठकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
खेलकुदमन्त्रीभन्दा पनि एमालेको मन्त्रीको रूपमा प्रस्तुत भइरहेका पौडेलले ओलम्पिक विवादको समाधान गर्नुको सट्टा उल्टै अवैधानिक ओलम्पिक कमिटीसँग हिमचिम र साँठगाँठ बढाएका छन् । उनको यो हर्कतले सम्माननीय सर्वोच्च अदालतको फैसलाको समेत अपहेलना भएको छ । सार्वजनिक पदमा बसेर मुलुकको कानुन र सर्वोच्चको फैसलाको समेत अवज्ञा गर्दै आएका मन्त्री पौडेलको यो हर्कतले सर्वोच्चको मानहानिसमेत भएको छ । यसरी सर्वोच्चको फैसलाको विरुद्धमा जानीजानी कदम बढाइरहेका मन्त्री पौडेलमाथि मन्त्रिपरिषद्ले कुनै कदम नचाल्नु र मूकदर्शक भएर बस्नु विडम्बनाको विषय बनेको छ । वर्तमान अवस्थामा ओलम्पिक भवनमा दुईवटा साइनबोर्ड राखेर सर्वोच्चको खिल्ली उडाउँदै आएको प्रधान एनओसीलाई मन्त्री पौडेलले विवादरहित बताउँदै आएका छन् । सो कुरा उनले हालै सञ्चारकर्मीसँगको भेटको अवसरमा समेत बताएका थिए । स्मरण रहोस्, सर्वोच्चको फैसलापछि प्रधानको एनओसी नेपाल ओलम्पिक कमिटी र नेसनल ओलम्पिक कमिटीका दुई संस्थाका नामले सञ्चालन भइरहेको छ । नेसनल ओलम्पिक कमिटी डोटी जिल्लामा दुई वर्षअघि दर्ता भएको हो । प्राप्त जानकारीका अनुसार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी –आईओसी)ले प्रदान गर्ने आर्थिक सहयोग सर्वोच्चको फैसलाद्वारा राष्ट्रिय मान्यता प्राप्त रुक्मशमशेर राणाको एनओसीमा जाने भएपछि गोप्य रूपमा आर्थिक रूपमा चलखेल गर्न यो संस्था डोटीमा दर्ता गरिएको थियो ।
तर, विडम्वना † वास्तविक सत्यतथ्य मन्त्री पौडेलको आँखैअगाडि र नाकैमुनि हुँदासमेत उनले यसमा अनदेखि र अनसुनी गर्दै आएका छन् । उल्टै महासचिव जीवनराम श्रेष्ठको दबाबमा पर्दा हाल्ने कोसिस गरिरहेका छन् । साँचो अर्थमा भन्नुपर्दा अवैधानिक र अनियन्त्रित रूपमा सञ्चालन हुँदै आएको एनओसीलाई मन्त्री पौडेलले काखी च्यापेर सर्वोच्चको फैसलालाई समेत खुलारूपमा चुनौती दिएका छन् । तर, मन्त्रिपरिषद् यसमा बेखबर छ । मन्त्री पौडेलले जीवनराम श्रेष्ठको स्वार्थ पूरा गर्न बेलगामी भई मुलुकको कानुनलाई समेत धोती लगाउँदा खेलकुदका संरक्षक तथा प्रधानमन्त्री सुशील कोइराला चुप लागेर बस्नु दुर्भाग्य भएको छ । पौडेललाई सर्वोच्चको फैसलाको अवज्ञा गरेको र कानुनसम्मत नचलेकोमा प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ कि पर्दैन त्यो अहम् प्रश्न बनेको छ । एनओसीमा अनैतिक र अवैधानिक चलखेल वृद्धि भएपछि ओलम्पिक विवाद र सर्वोच्चको फैसलाबारे राणा एनओसीका पदाधिकारीहरूले प्रधानमन्त्री कोइरालालाई भेटेका थिए ।
सो अवसरमा उनीहरूले वास्तविक सत्यतथ्यको जानकारी गराउँदै समस्या समाधानका लागि अनुरोध गरेका थिए । तर, त्यसले मूर्तरूप लिन सकेको छैन । सुनिनमा आएअनुसार प्रधानमन्त्रीले ओलम्पिक विवाद समाधानका लागि कानुनी प्रक्रिया अगाडि बढाएको बुझिएको छ । यसबारे राणासँग बुझ्दा सबै आन्तरिक कुरा बताउन नमिल्ने भन्दै प्रधानमन्त्री समाधानका लागि प्रयासरत रहेको मात्र खुलासा गरेका थिए ।
सदस्यसचिव लामालाई विस्थापित गर्न र प्रधानको एनओसीलाई वैधानिकता दिलाउन ज्यान छोडेर लागेका मन्त्री पौडेल आफ्नो रणनीतिमा कति सफल हुन्छन् त्यो अहिले चासोको विषय बनेको छ । लामालाई विस्थापित गर्न ज्योतिषीलाई समेत चिना देखाउने प्रतिबद्धता जाहेर गरेका पौडेल भोलि त्यहाँबाट पनि समाधान ननिस्किए कुनै बाबाको शरणमा अवश्य पुग्नेछन् । बाबाबाट पनि निराशा हात लागे ‘लामा’ देखाउन पनि बाँकी राख्ने छैनन् । यस्तो मनस्थितिमा रहेका मन्त्री पौडेललाई श्रेष्ठले अब अचुक गुरुमन्त्र दिने पक्का छ । श्रेष्ठको गुरुमन्त्रमै आफ्नो पहलकदमी अगाडि बढाउँदै आएका पौडेलले पुनः लामाका विरुद्धमा अर्को जेहाद छेडे त्यसलाई अन्यथा मानिने छैन । कुरो सफलता र असफलतासँग मात्र जोडिनेछ । सदस्यसचिव लामालाई हटाउन मन्त्रिपरिषद्बाट तीनपटक फाइल फिर्ता भए पनि आफ्नो अदम्य साहस देखाउन नचुकेका मन्त्री पौडेलले अब बाघको जुँगा उखेल्न कस्तो दाउपेच र रणनीति अख्तियार गर्छन् त्यो हेर्न लायक बनेको छ ।

राणाको मौनता प्रत्युत्पादक बन्दै
नेपाल ओलम्पिक कमिटीको विवादले खेलकुदलाई गाँजेको लामो समय बितिसक्दा पनि निकास निस्कने कुनै सम्भावना देखिएको छैन । सर्वोच्च अदालतले रुक्मशमशेर राणाको ओलम्पिक कमिटीलाई वैधानिकता प्रदान गरेको लामो समय भइसक्दासमेत उक्त कमिटी अस्तित्वमा आउन सकेको छैन । सर्वोच्चको फैसलासँगै राष्ट्रिय मान्यता पाएको राणाको एनओसी अहिले पनि फैसलामै सीमित छ । अन्तर्राष्ट्रियको त कुरै छोडौँ राष्ट्रिय मान्यतासमेत राणाको एनओसीले पाउन सकेको छैन । साँचो अर्थमा भन्नुपर्दा राणाको एनओसी घरको न घाटको बनेको छ । सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसक्नु र झर्ला र खाउँलामै विश्वास गर्दा यस्तो हरिविजोग भएको हो । र पनि राणाको अहिलेसम्म चेत खुलेको छैन । वर्तमान अवस्थामा एनओसीमा भइरहेका चलखेलवाट परिचित राणा समस्याको समाधानभन्दा पनि मुलुकको कानुन र नीति–नियमले मात्रै अगाडि बढ्ने ढ्वाङ रच्दै आएका छन् । एनओसीमा विवाद निकालेर खेलकुदमा अराजकता कायम गर्नकै लागि राणा नेतृत्वले अहिले यो नाटक रचेकोजस्तो देखिएको छ । अन्यथा सर्वोच्चले गरेको फैसलालाई राणा पक्षले किन कार्यान्वयन गर्न सकेको छैन, यसले खुद सर्वोच्चको समेत अवहेलना र मानहानि भएको छ । कानुनी लडाइँ जितेर पनि मौनता साँध्नुले पनि राणा केही गर्न सक्तैनन् भन्ने कुरालाई यसले पुष्टि गर्छ । यतिबेला राणालाई केही गर्ने हो र हिरो बन्ने हो भने सुवर्ण अवसर छ । खेलकुदका संरक्षक प्रधानमन्त्री सुशील कोइराला भएकाले उनले यो विवाद सदाका लागि समाप्त गर्न सक्छन् । काङ्ग्रेसकै पालामा ओलम्पिक कमिटीको विवाद सिर्जना भएको र यतिबेला काङ्ग्रेसकै प्रधानमन्त्री भएकाले राणाले समाधानका लागि विशेष कदम चाल्नुपर्ने आवश्यकता भइसकेको छ । अन्यथा बिनाअर्थ खेलकुदलाई अनिर्णयको बन्दी बनाउँदै अराजकतातर्फ धकेल्नुभन्दा ध्रुवबहादुर प्रधानसँग हात मिलाएर एनओसीको संरक्षक बन्नु नै वेश होला । होइन भने हात बाँधेर मूकदर्शक बन्नुभन्दा आफ्नो अस्तित्व र सर्वोच्चको सम्मानका लागि पनि राणाले वारपारको लडाइँ लड्नुपर्ने देखिन्छ ।

नेपाल दोस्रोपल्ट च्याम्पियन
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउन सफल तेक्वान्दो खेलको वृद्धि विकासका लागि आयोजित दोस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ । पहिलो संस्करणमा झैं उत्कृष्ट प्रदर्शन गर्दै नेपाली खेलाडीले यो प्रतियोगितामा पनि दबदबा कायम राख्दै नेपाललाई दोस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि दिलाएका छन् । नेपालले प्रतियोगितामा कुल नौ स्वर्ण, पाँच रजत र १० कास्य जित्दै उपाधि रक्षा गरेको थियो । गत संस्करणमा टिम च्याम्पियन हुँदा नेपालले ६ स्वर्ण र आठ रजत जितेको थियो ।
पहिलो दिन दुई, दोस्रो दिन चार स्वर्ण पदक जितेको नेपालले अन्तिम दिन तीन स्वर्ण पदक जितेको थियो । अन्तिम दिन नेपालले तीन स्वर्ण, दुई रजत र ६ कास्य जितेको थियो । सुजन जोशी, निमा गुरुङ र संगीता बस्यालले स्वर्ण जितेका थिए । सक्षम कार्की र यानकुमारी चौलागाईंले रजत हात पारे । रोहित तामाङ, सीता तामाङ, पूर्णसिंह गुरुङ, पहिलो संस्करणका स्वर्ण विजेता अनोज पुजारी, रामदत्त भट्ट र रेश्मा थापाले कास्यमा चित्त बुझाए । सोमबार पुरुष र महिलातर्फ समान तीन–तीन गरी ६ स्वर्णका लागि भिडन्त भएको थियो । मलेसियाले दुई र बंगलादेशले एक स्वर्ण जितेका थिए । अन्तिम दिन भारत स्वर्ण जित्न असफल रह्यो । भारत पहिलो र दोस्रो दिन समान दुई–दुई गरी प्रतियोगितामा जम्मा चार स्वर्ण हात पार्न सफल भएको थियो ।
बंगलादेशका मिजानुर रहमान पुरुष तथा मलेसियाकी नूर फसाक्यास्टिना महिलामा उत्कृष्ट खेलाडी घोषित भए । प्रशिक्षकमा बंगलादेशका चोई सिउङ गिल उत्कृष्ट ठहरिए । अनुशासित टिमको उपाधि श्रीलङ्काले हात पा-यो । दक्षिण कोरियाका नाम योल किम र मलेसियाका बालकृष्णन् मुनियान्डी उत्कृष्ट निर्णायक चुनिएका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ६३ केजीमुनि फाइनलमा सुजनले भारतका आशिष सिन्हालाई पराजित गरेका थिए । सुजन गत संस्करणको पनि स्वर्ण विजेता हुन् । महिलाको ५३ केजीमुनि निमा गुरुङले उपाधि भिडन्तमा मलेसियाकी जस्मिन नविला सुकर्दीलाई पाखा लगाएकी थिइन् । महिलाको ७३ केजीमुनि संगीताले मलेसियाकी थाभाकुमारीशालाई पाखा लगाउँदै च्याम्पियन बनिन् । पुरुषको ८७ केजीमाथि मोहम्मद मिजानुर रहमानले भारतका सोहाम साधुकामको चुनौती समाप्त पार्दै बंगलादेशलाई पहिलो र एक मात्र स्वर्ण दिलाएका थिए । ७४ केजीमुनि मलेसियाका खिर अमिर सलामबी मोहम्मद सुलेमान पहिलो भएका थिए । उनले फाइनलमा नेपालका सक्षम कार्कीलाई पराजित गरेका थिए । महिलाको ४९ केजीमुनि मलेसियाकी नूर फसाक्यास्टिना साहाराउद्दिनले शीर्ष स्थान कब्जा गरिन् । फाइनलमा नूरले पहिलो संस्करणकी स्वर्ण विजेता नेपालकी यानकुमारी चौलागाईंलाई सनसनीपूर्ण खेलमा पराजित गरेकी थिइन् । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरेका थिए ।
वैशाख २० देखि २२ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, मलेसिया, बंगलादेश, अष्ट्रेलिया, श्रीलंका, भुटानलगायतका १० राष्ट्रले सहभागिता जनाएका थिए । महिला र पुरुषतर्फ समान आठ–आठ– गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगितामा नेपालका तर्फबाट २३ पुरुष र २१ महिलाको सहभागिता रहेको थियो । प्रतियोगिता विश्व तेक्वान्दो नियमअनुसार सञ्चालन भएको थियो । एसियाली तेक्वान्दो महासङ्घबाट अफिसियल मान्यता प्राप्त यो प्रतियोगिताको अवसरमा एसियाली तेक्वान्दो महासङ्घका अध्यक्ष प्रो. लि. क्युसिक र विश्व तेक्वान्दो मुख्यालयका उपाध्यक्ष ह्योन दिउक वोको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले गर्नुभएको थियो । यो प्रतियोगितालाई सफलताका साथ सञ्चालन गर्न नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष सञ्जीव रेग्मीको अध्यक्षतामा ७६ सदस्यीय मूल आयोजक समितिको गठन गरिएको थियो । जसमा दीपक विष्टले सचिवको जिम्मेवारी पाएका थिए ।

लोकतान्त्रिक खेलकुद सङ्घ गठन
नेपाली काङ्ग्रेसले कास्कीका देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ गठन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा हालै आयोजित एक कार्यक्रमबीच केन्द्रीय सदस्य एवम् खेलकुद विभाग प्रमुख धनराज गुरुङले शेरचनको अध्यक्षतामा ६७ सदस्यीय सङ्घ गठन गरिएको औपचारिक घोषणा गरेका थिए । सङ्घमा चितवनका सुबोध प्रधानले सचिवको जिम्मेवारी पाएका छन् भने बाँकी सबै ६५ जना सदस्यमा चयन भए । सदस्यमा कुमार बस्नेत, दामोदर अर्याल, उपेन्द्र यादव, टेकराज जोशी, फूलमहमद मन्सुर, भूपेन्द्र भण्डारी, बसन्त थकाली, पंकज नेम्वाङ, रञ्जन थापा, दिलबहादुर बम, वृजेन्द्र हमाल, नवीन उप्रेती, शान्ति सिंह, रामकृष्ण केसी, हेमन्त मुकारुङ, दशरथ रिसाल, राजेशहरि जोशी, दीपक गुरुङ, नीरज कार्की, नरेन्द्र थापा, विपिन श्रेष्ठ, सैलेश कर्माचार्य, दीपक लामा, नारायणदेव राणा, रामकृष्ण महर्जन, सरोज मुल्मी, पेमा लामा, अर्जुन विक, जितबहादुर केसी, फणीन्द्र पौडेल, गंगाराम महर्जन, ओमकुमार मास्के, राजुविक्रम थापा, दीपक कोइराला, सरस्वती केसी, मनीष जोशी, मथुराराम श्रेष्ठ, अनुयाज गौतम, प्रशान्त भण्डारी, वेदप्रसाद वन, धर्म पाच्छे, हरिश्वर पोखरेल, ऋषि पौडेल, विजय लामा, रामकुमार थारू, दिलबहादुर ओली, कुमार गुरुङ, चित्रबहादुर कार्की, कुलबहादुर राना, मोहन महर्जन, दीपक खाती, नारायण मगर, सैलेश बास्कोटा, दीपक श्रेष्ठ, अनमोल श्रेष्ठ, कुवेर सिंह, मनोज खड्का, बखतबहादुर शाही, शंकर राई, शशि बुढा, दिनेश श्रेष्ठ, रामबहादुर लामा, रत्नसुन्दर खाइतु, तारा गुरुङ तथा यमकुमारी गुरुङ रहेका छन् । सङ्घ गठनको घोषणापछि धनराज गुरुङले खेलकुदलाई राजनीति छाया नभई राजनीति माया दिने उद्देश्यले सङ्घ गठन गरिएको बताए । उनले सो अवसरमा सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग छलफल गरेर अगाडि बढेको जानकारी गराएका थिए । अध्यक्ष शेरचनले खेलकुदमा रहेको विकृति र अप्ठ्यारा परिस्थितिलाई हटाउने बताउँदै सहमति र सहकार्य गरी खेलकुदको विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।