भीआईपी आतङ्क !

भीआईपी आतङ्क !


nisedhराजधानीका सडकमा हिजोआज धेरै कुराको आतङ्क छ । धुलो नियन्त्रणको उपायबिना नै सडक निर्माणको कार्य जारी रहेकाले सडकमा हिँड्नेहरू धुलोले छोपिएर नचिनिने अवस्था छ । धुलोका कारण आज लगाएको लुगा भोलि लाउन नसकिने, धुनलाई पानी नहुनेलगायतका चौतर्फी असरहरू त छन् नै धुलोको कारणले सबैभन्दा ठुलो असर त जनस्वास्थ्यमा परेको छ । अस्पतालमा आउने धेरैजसो बिरामीहरू श्वास–प्रश्वाससँग सम्बन्धित छन् भनेर चिकित्सकहरूका प्रतिक्रिया आइरहेका छन् । राजधानीमा फराकिलो सडकमा हिँड्नका लागि मानिसले आफ्नो स्वास्थ्यलाई जोखिममा पार्नुपरेको छ । श्वास–प्रश्वास, छाती र फोक्सोको समस्याले ग्रस्त भएर जिन्दगीभरलाई पुग्ने रोग लाग्नेहरूको सङ्ख्या बढ्दै छ । दश या बीस वर्षपछि आफ्ना सन्ततीलाई धेरैले भन्नेछन्, ‘काठमाडौंका सडक बन्दा उडेको धुलोको कारण मेरो स्वास्थ्य बिग्रिँदा आज मेरो यो हालत भयो र तिमीहरूले दुःख पायौ ।’ सडकमा हिँड्नेलाई एकप्रकारको दुःख छ भने गाडीमा हिँड्नेलाई अर्कै प्रकारको । सडक ठूलो हुँदै गए पनि पार्किङ स्थलहरू साँघुरिँदै गएका छन् । पार्किङमा रेखदेख गर्ने कोही नहुँदा गाडीलाई ठोकेर हिँडिदिने, सिसा फुटाइदिनेजस्ता कार्यहरू बढ्दै गएका छन् । केही दिनअघि खोलाको छेउको सडकमा पार्क गरेर राखेको मोटरसाइकललाई गाडीले हानेर खोलामा झारिदियो, कसले झा¥यो थाहा पाउने कुरै भएन । न कम्प्लेन, न कारबाही, गाडी पार्क गरेर काममा कतै जानेहरूको हालत त्यस्तै छ, फर्किंदा कसैको सिसा हुँदैन, कसैको कता ठोक्किइराखेको हुन्छ । अरू ठाउँमा जस्तै सडकमा पनि सभ्यताले धेरै अर्थ राख्दोरहेछ । सडक प्रयोगकर्ताहरूमा सभ्यताको विकास नहुन्जेल सडक मात्रै फराकिलो भएर खासै फरक पर्लाजस्तो देखिएको छैन । ट्राफिक जामलगायतका कुराहरू त छँदै छन् ।
सडकका यी अनेक समस्याका बाबजुद अर्को थप आतङ्क राजधानीवासीले भोग्दै आउनुपरेको छ, त्यो हो– सडकमा भीआईपीका सवारीआतङ्क । सडकमा हिँडिरहेका या गाडी चलाइरहेका बेला साइरन बजाउँदै या नबजाई टाँटाँ र टीँटीँ गर्दै अगाडि–पछाडि टन्न सुरक्षाकर्मीले भरिएका गाडी लिएर हिँड्ने भीआईपीहरूलाई देख्दा आफैँसँग केही प्रश्न गर्न मन लाग्छ— कठै यो शान कसलाई देखाएका होलान् ? के काठमाडांै सहर यति धेरै असुरक्षित छ ? यदि छ भने उहाँहरूलाई कोबाट असुरक्षा छ ? जनताका नेता नै यति असुरक्षित छन् भने यहाँ अरूले कसरी सुरक्षाको अनुभूति गर्ने ? भीआईपीका अगाडिपछाडि रहेका गाडीको गतिको तीव्रता यति हुन्छ कि कुनै पनि सहरमा त्यसप्रकारको गतिमा गाडी चलाउन पाइँदैन । अझ त्यहाँभित्र रहेका सुरक्षाकर्मीहरूले बाटोका गाडी र मान्छेलाई ‘उता जाऊ’ या ‘बाटो छोड’को सङ्केतमा गर्ने इसारा गाडीको स्पिडभन्दा आतङ्कित पार्ने प्रकारको हुन्छ । यहाँ विशेष मान्छे हिँड्दै छन्, तिमीहरू को हौ ? को शैलीमा व्यवहार गर्दा स्वाभाविक रूपले मनमा अर्को प्रश्न जन्मिन्छ, होइन यिनीहरू नेता हुन् कि शासक ? धेरै नै असुरक्षित अवस्था भएको भए फरक कुरा, तर अहिलेको अवस्थामा भीआईपीआतङ्क राजधानीवासीले भोग्नुपरेको अतिरिक्त समस्या हो, जुन जरुरी नै छैन । हेर्दा एकैछिन त हो नि भनेजस्तो तर यो सर्वसाधारणका लागि मानसिक तनाव दिने प्रकारको आतङ्क हो । केही दिनअघि एमाले नेता माधवकुमार नेपालको स्कर्टिङ गरिरहेको गाडीले किचेर बानेश्वरमा एक बालिकाको मृत्यु भयो । भीआईपीको गाडीले यसप्रकारको दुर्घटना हुनु दुःखलाग्दो कुरा हो । यद्यपि दुर्घटना आखिर दुर्घटना नै हो । यो जहाँ पनि या जसबाट पनि हुन सक्छ । तर, जुनप्रकारले हामीकहाँ भीआईपीहरूको सवारी चलाइन्छ उक्त घटना त्यसैको परिणाम हो । घटनापछि के भयो र के हुनुपथ्र्यो यो छुट्टै बहसको विषय हो, तर भीआईपी सवारी शैली आफैँमा आतङ्कित बनाउने प्रकारको छ, यसमा सुधार आवश्यक छ ।
हामीकहाँ बहालवाला राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीहरूले स्कर्टिङ गाडीसहितको सुरक्षा प्राप्त गर्दै आएका छन् । पूर्वराजालाई पनि यो सुविधा दिइएको छ । तर, राजधानीमा हिँड्दा पूर्वराजा प्रायः आफँै गाडी चलाएर हिँड्ने भएकाले सुरक्षा दस्ता लिएर हिँडेको देखिँदैन । भीडभाडमा जाँदा या टाढाको यात्रा गर्दा भने सशस्त्र प्रहरी बलको गाडी र सुरक्षाकर्मी साथमा हुन्छन् । सबैभन्दा धेरै सुरक्षाकर्मी लिने पूर्वप्रधानमन्त्री एनेकपा माओवादीको अध्यक्ष प्रचण्ड हुन् । नेता प्रचण्डसँग अहिले ५० जनाभन्दा माथि सुरक्षाकर्मी तैनाथ छन् । पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) भने सबै मन्त्रीहरूलाई प्राप्त छ । मन्त्रीहरूलाई सुरक्षागार्डको अतिरिक्त पीएसओको व्यवस्था गर्ने गरिएको छ । कुनै सार्वजनिक व्यक्तित्वले आफूलाई असुरक्षा भएको भनी सुरक्षा मागेमा पीएसओ दिने गरिएको छ । वास्तवमा सुरक्षा भन्ने कुरा अनुभूति हो, आफू कति सुरक्षित या असुरक्षित छु भन्ने कुरा आफूले अनुभूति गर्ने कुरा हो । कतिपय मुलुकमा नेताहरूमाथि व्यापक असुरक्षा हुन्छ, जस्तो अफगानिस्तान, पाकिस्तानजस्ता मुलुकमा सुरक्षा दस्ता लिएरै हिँड्दा पनि नेताहरू मारिएका छन । धेरैजसो युरोपियन मुलुकमा पूर्वप्रधानमन्त्री त के बहालवाला मन्त्री पनि साइकलमा हिँड्छन । अमेरिकाका पूर्वराष्ट्रपतिहरू पनि सुरक्षाघेराभित्र साइरन बजाउँदै हिँड्दैनन् । पूर्वउपराट्रपति अल गोरलगायत धेरै पूर्वअधिकारीहरू कलेज पढाउँछन या आफ्नो व्यवसाय गर्छन जहाँ सुरक्षा दस्ता लिएर हिँड्ने कुरै हुँदैन । उनीहरू आवश्यक पनि ठान्दैनन् । तर, हामीकहाँ भने नेताहरू आफन्तको विवाहको पार्टीमा जाँदासमेत दस्ता लिएर जाने गरेका छन् । कतिले सुरक्षाको अनुभूति नभएर र कतिले चाहिँ पाएको सुविधा हो किन प्रयोग नगर्ने भनेर । नत्र हामीकहाँ नेताहरूलाई त्यति धेरै असुरक्षा छैन । निर्वाचनका बेला केही नेताहरूले सुरक्षा मागेको प्रहरी तथ्याङ्कमा देखिन्छ । विभिन्न दलका गरी ४५० जना उम्मेदवारले पीएसओ लिएकोमा ५० जना महिला थिए । आफू कसरी सुरक्षित हुनेभन्दा पनि मुलुकलाई कसरी सुरक्षित बनाउने भनेर सोच्नुपर्ने नेताहरूकै स्कर्टिङ गर्ने गाडीले जनमानसमा आतङ्क छर्दा नेताहरूप्रति वितृष्णा बढ्ने मात्र होइन, यिनीहरूचाहिँ हामीभन्दा छुट्टै हुन् भन्ने भावनामा पनि वृद्धि हुन्छ । नेताहरू मात्र होइन कहिलेकाहीँ सुरक्षा क्षेत्रका उच्च अधिकारीका गाडीहरू सडकमा हिँडेको बेलाको अवस्था पनि त्यत्तिकै आतङ्कित बनाउने प्रकारको हुने गरेको छ । सुरक्षा क्षेत्रका उच्च अधिकारीहरूकै गाडीका लस्कर र तीव्र गतिबाट मानिसले असुरक्षाको अनुभूति गर्ने अवस्था रह्यो भने त्यो पनि सर्वसाधारणका लागि थप मानसिक तनावबाहेक अरू केही हुँदैन । नेता हुन् या सुरक्षा प्रमुख, गाडीको लस्करभन्दा पनि समस्या तीव्र गति र शैलीसँग हो । नेताहरूलाई मुलुकमा ठूलै सुरक्षा खतरा भए जनताले पनि थाहा पाउनुपर्छ, होइन भने यसप्रकारको आतङ्क अब बन्द गर्नुपर्छ ।