एमालेको राजनीतिक सङ्कट– जीबी आचार्य

एमालेको राजनीतिक सङ्कट– जीबी आचार्य


bicharप्रसङ्ग नेकपा एमालेको संसदीय दलको नेता छान्ने समयको हो । संसदीय दलको नेता बन्ने होडमा थिए पार्टी अध्यक्ष झलनाथ खनाल र नेता खड्ग ओली । चुनावी प्रक्रियामा पार्टी अध्यक्ष झलनाथ खनाल पराजित भएका थिए र वरिष्ठ नेता खड्ग ओली विजयी भएका थिए । सोही साँझ पङ्क्तिकारले एमालेका एक केन्द्रीय सदस्यलाई भेटेको थियो । उनी यतिबिघ्न निराश र हत्प्रभ थिए कि उनको अनुहारमा पोतिएको विषाद सिङ्गो एमाले नै पराजित भएजस्तो वा एमालेभित्र अर्कै विजातीय व्यक्तिले जितेजस्तो निकै दुःखद् पो थियो । पार्टीभित्रकै चुनावमा पार्टीकै दुई नेताबीच भएको प्रतिस्पर्धामा यतिबिघ्न वैमनष्यता किन ? यो प्रश्नको उत्तर आममानिसले वा एमालेका ‘सूर्यछापी’ मतदाताले नखोज्लान्, तर यो प्रश्न केवल एमालेभित्रको मात्र वा केवल एमालेसँग जोडिएको प्रश्न पक्कै होइन । यो त नेपाली राजनीतिको आमप्रवृत्ति र समस्यासँग जोडिएको प्रश्न हो भन्दा अत्युक्ति नहोला ।
आज प्रसङ्ग फेरिएको छ । संसदीय दलको नेता छान्नेजस्तो सानो स्वार्थ पार्टी महाधिवेशनमा पार्टी नेता/अध्यक्ष छान्नेजस्तो बढी महत्वपूर्ण स्वार्थमा बदलिएको छ । अनि चर्चाको शिखरमा छन् पार्टी संसदीय दलका नेता उनै खड्ग ओली र पार्टीका वरिष्ठ नेता माधव नेपाल । आज दुवैले पार्टी अध्यक्ष बन्नुलाई प्रतिष्ठाको विषय बनाएका छन् । खड्ग ओलीलाई उनको क्याम्पका पुराना सारथिहरू विद्या भण्डारी, ईश्वर पोखरेल र अहिले सोही क्याम्पमा जोडिन आइपुगेका अर्का नेता वामदेव गौतमलगायतको साथ छ भने माधव नेपाललाई पार्टीभित्रका अध्ययनशील युवाहरूको साथ छ । केन्द्रदेखि जिल्लासम्म समानान्तर कमिटीहरू गठन भएका छन्– पक्षीय मिटिङहरू आयोजना भइरहेका छन् र आरोप–प्रत्यारोपको बाढी आइरहेको छ । यदि बीचमा केही सुलहको वातावरण बनेन भने नेताहरूको गैरराजनीतिक गाँड कोराकोर थप बढ्नेछ । इतिहासका विविध कालखण्डमा नेताहरूबाट भए–गरेका सारा पापहरू आरोप र प्रतिआरोप बनेर बाहिर आउँछन्– अवसरवादी, ढुलमुले, दरबारपरस्त, भारतपरस्त, छपन्न अर्ब वार्षिक आम्दानी हुने बकम्फुसे लोभ देखाएर महाकाली सन्धिजस्तो राष्ट्रघाती सम्झौता गर्ने देशद्रोही, दरबारमा दाम चढाउने आदि–इत्यादि शब्दमा । अनि एउटा गुटका नेताले आफ्नै पार्टीको अर्को नेतालाई लगाउने यस्ता अशोभनीय आरोपको बाढी आइरहँदा एमालेको ‘घाम’ छापलाई मतदान गरेका मतदाताको मुुटु चटक्क नचिरिएला ? हीनताबोधले तिनको शिर रछ्यानमा नगड्ला ? एउटा सत्य के हो भने एमालेका नेताहरूले एक–आपसमा लगाएका यी सबै आरोप–प्रतिआरोप साँचो हुन् भन्ने कुरामा दुईमत छैन । त्यसैले त एमाले पार्टी एउटा स्वार्थीसमूहमा परिणत भइसकेको छ । ०४९ को पाँचौँ महाधिवेशनमा अन्तिमपटक विचार, सिद्धान्त र दर्शनको व्याख्या गर्ने प्रयास गरेको यो पार्टीले ‘जनताको बहुदलीय जनवाद’ नामको संशोधनवादी कार्यक्रम पारित गरेपछि यो विधिवत रूपमा संसद्वादमा फसेको थियो । आज एमालेकै कतिपय इमानदार नेता–कार्यकर्ताहरू एमालेलाई कम्युनिस्ट पार्टी होइन भनी स्वीकार गर्दछन् । यदि एमाले कम्युनिस्ट पार्टी होइन भने एमालेभित्रको वैचारिक बहसको गुढ रहस्य के हो । वास्तवमै बहस हो कि कुनै व्यक्तिलाई पदासीन गराउन रचिएको षड्यन्त्र मात्र हो ? प्रश्न गम्भीर छ ।
एमालेले सैद्धान्तिक बहस, विचार र विमर्शलाई तिलाञ्जली दिएको दुई दशकभन्दा बढी भइसकेको छ । उसले जनताको बहुदलीय जनवादलाई आफ्नो नीति र कार्यक्रम मानेको छ । अनि बहुदलीय जनवाद भनेको बहुदलीय संसदीय राजनीति मात्र हो भने एमालेको कार्यनीति भनेको एउटा चुनावदेखि अर्को चुनावसम्म मात्र त हो । समाजलाई वास्तविक रूपमा रूपान्तरण गर्ने कार्यक्रम एमालेसँग छैन । समाजका वास्तविक शोषित–पीडितहरू त्रिशूलीका किनारमा बालुवा चालेर जीवनको दुई छाक जुटाउनेदेखि जीवनभर अर्काको हलो जोतेर ढाड कुप्रो बनाउँदा पनि दुई छाक सातु–सामल जुटाउन नसक्नेहरूलाई जीवनको आधार दिने सामाजिक राजनीतिक परिपाटी विकास गर्ने कुनै कार्यक्रम पनि छैन आजको एमालेसँग । एमालेसँग छ के त ? आजको एमाले–राजनीति घानेको छ गैरसरकारी संस्था (एनजीओ)ले अनि शिक्षकको राजनीतिले, बोर्डिङ स्कुलले, सहकारी संस्थाहरूले । आजको एमाले त यिनै कर्मकाण्डमा आधारित झुण्ड मात्र हो, तर करिब दुई दशकपछि एमालेले सुरु गरेको समाजमाथिको विश्लेषणबारे भने केही न केही लेख्नै/बोल्नैपर्छ ।
वि.सं. २००६ मा सङ्गठित भएको नेपाली सर्वहारा क्रान्तिको राजनीति अर्थात् नेपालको कम्युनिस्ट राजनीति प्रवृत्ति, चिन्तनशैली र भूमिकाको हिसाबले यान्त्रिक, भौतिकवादी, जडसूत्रवादी, सुधारवादी–संशोधनवादी, पिछलग्गुवादी, सङ्कीर्णतावादी, मनोगतवादी हुँदै प्रतिक्रियावादी र फासीवादी रूपमा समेत देखापरिसकेको छ । समाजको विकासको नैसर्गिक चरित्र, मूल्य र मान्यताको विपरीत अधिभौतिकवादी वा अधिभूतवादी प्रवृत्ति पनि नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरिरहेको छ भने समाज विकासको गति र सामाजिक रूपान्तरणको मात्राबीच सामञ्जस्यता कायम गर्ने क्षमताको अभाव पनि टड्कारो रूपमा देखिन्छ । यी तमाम विसङ्गतिपूर्ण उदाहरणबीच नेकपा एमालेको भूमिका, चरित्र र वर्गीय अडानको स्पष्ट व्याख्या नभएसम्म एमालेको सङ्कट पहिचान सम्भव देखिँदैन । तसर्थ एमालेको राजनीतिक सङ्कट भनेको स्वयम् एमालेले लिएको ‘जबज’को बाटो हो । तर, एमाले प्रवृत्ति यो कुरा स्वीकार गर्न कदापि तत्पर देखिँदैन, बरु एमाओवादी पार्टी र त्यसका हर्ताकर्ता कमरेड प्रचण्डको अदूरदर्शिता, राजनीतिक बेइमानी र अवसरवादी चरित्र अनि पार्टी विभाजनबाट राजनीतिक लाभ लिन सफल एमाले नेतृत्व आफू मात्र सही कम्युनिस्ट भएको तामसी अभिमानमा रमाइरहेको छ । नेपाली समाज अहिले के–कुन अवस्थामा छ ? नेपाली समाजको चरित्र के हो ? नेपाली समाजको प्रधान अन्तरविरोध के हो ? ०६२ को राजनीतिक परिवर्तनलाई कसरी बुझ्ने ? राष्ट्रियताको सवाल र लोकतन्त्रमा राष्ट्रियताको भूमिका, राष्ट्रिय स्वार्थको पक्षपोषण, राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रिय पुँजीको विकास कसरी गर्ने, हाम्रासामु थुपै्र सवाल ज्युँकात्युँ छन् भने यी सवालहरूको तार्किक, वास्तविक र सामाजिक आवश्यकताको आधारमा जवाफ नखोजी राजनीतिक लक्ष्य निर्धारण गर्न सकिन्न भने एमालेले गर्ने समाज विश्लेषणको आधार के हो ? त्यसको अभीष्ट के हो ? उत्तर प्रस्ट छ– राजनीतिक छलछाम, धोकाधडी र वर्गीय बेइमानी । महाकाली सन्धिजस्तो राष्ट्रघाती सन्धि गर्ने पार्टीले राष्ट्रियताको सवाललाई कसरी विश्लेषण गर्छ, त्यो भने हेर्न बाँकी छ । त्यसो त एमालेमा पार्टीको झन्डा फेर्ने वा पार्टीको नाम नै फेर्ने बहस पनि पटक–पटक भएका छन् । यदि एमालेले यसपटक आफ्नो नाम र झन्डा परिवर्तन गरी आफूलाई सामाजिक जनवादी पार्टी परिणत ग¥यो भने त्यो सबैभन्दा इमानदार प्रयास र कदम हुनेछ । नत्र यसरी वैचारिक भुमरीमा फसेको संसद्वादी पार्टी जसले पूर्वपञ्चहरूको सत्तासाझेदारीमा सरकार सञ्चालन गर्नेदेखि काङ्गे्रसको पिछलग्गु पार्टीका रूपमा निर्णय गर्ने परम्परा बसालेको छ, त्यसले अझै आफूलाई कम्युनिस्ट भनिरहनु केवल राजनीतिक बेवकुफीसिवाय अरू केही हुने छैन ।