एमाले, जबज र ओली

एमाले, जबज र ओली


the-buttomlineएमालेको आसन्न नवौँ महाधिवेशनको चटारोले एमालेभित्रका महाराजा, राजा र प्रजाहरूलाई छुनसम्म छोएको छ । उसले बनाएको अध्यक्षरूपी सबैभन्दा शक्तिशाली पदमा केपी ओली र माधव नेपालको दाबीको चर्चा चलेपछि एमालेभित्रका सबै लोभीपापी गुट–उपगुटमा विभाजित भएर एक–अर्कालाई हिलो छ्यापाछ्याप गर्दै गालीगलौज र आरोप–प्रत्यारोपमा उत्रिसकेका छन् । यस्ता हर्कत सार्वजनिक हुँदै गर्दा एमालेको नवाँै महाधिवेशन तोकिएकै मितिमा हुन्छ भन्ने विश्वासचाहिँ बढेको छ । नेपालको अधोगतिमा एमालेको महाधिवेशनले तात्विक असर नपारे पनि नेतृत्व चयनको सिलसिलामा होनहार कार्यकर्ताले बुद्धि–विवेक पु¥याउन नसके समसामयिक राजनीतिमा केही पृथकता र उतारचढाव आउन सक्ने ठानिएको छ ।
एमाले एउटा कम्युनिस्ट पार्टी हो र यसमा सामूहिक नेतृत्व छ भन्ने नेताहरूको भनाइ यदाकदा बाहिर आउने गरे तापनि माथिको आदेशलाई कार्यकर्ताले ‘किन ?’ भनेर सोध्ने हैसियत यो ‘प्रजातान्त्रिक’ पार्टीमा राख्छन् कि राख्दैनन्, त्यो कम्तीमा पनि एमालेपङ्क्तिले बुझेकै विषय हो । केही उछृङ्खल र उरन्ठेउला ठिटाहरूले सामन्तीको आरोपमा जमिन्दारको टाउको गिँडेर झापा विद्रोह सम्पन्न गरे र आफूलाई कम्युनिस्ट पार्टी घोषणा गरे । समयक्रममा तिनले पश्चात्ताप गरेर आजका दिनमा विदेशीका सामु ती कम्युनिस्ट भन्न पनि लजाउँछन् । आफूलाई कम्युनिस्ट नभने वा कम्युनिस्टको राजनीति नगरे एमाले समाप्त हुन्छ भनेर मनमोहन अधिकारीले उतिबेलै युरोपेलीलाई हँसाएकै हुन् । एमालेभित्रैबाट यदाकदा कम्युनिस्ट पार्टी भन्ने नाम र झन्डा पनि परिवर्तन गर्नुपर्छ भन्ने आवाजसमेत नउठेको होइन । नेपालमा सबैभन्दा बढी डलरको खेती गर्ने कम्युनिस्टहरू नै हुन् जसमा एमाओवादी र एमालेको यतिबेला प्रतिस्पर्धा चलेको छ । सर्वहाराको मुक्तिका लागि लडेको वा राजनीति गरेको भन्ने नेपालका कम्युनिस्ट पार्टीका अधिकांश सिनियर नेताहरू नवधनाढ्य बनिसकेका छन् । वास्तवमा नेपाली जनताको आँखामा छारो हाल्न मात्र माक्र्स, लेनिन, एङ्गेल्स, माओ आदिको भजन गाउनु उनीहरूको बाध्यता हो । मदन भण्डारीले बेलैमा जनताको बहुदलीय जनवाद नामक विचार र सिद्धान्तको प्रतिपादन नगरिदिएका भए एमालेको अस्तित्व यतिबेलासम्म समाप्त भइसकेको हुने थियो । मदन भण्डारीको जबज समय र युगसापेक्ष त छँदै थियो, मुलुकसुहाउँदो पनि थियो । अज माधव नेपालहरू जबजलाई चुनौती दिँदै छन् । अवसरवादी वामपन्थले मात्र जबजको विकल्प खोज्दछ । एमालेले स्वयम् जबजलाई सही ढङ्गले अङ्गीकार गर्न नसके तापनि नेपालमा कम्युनिस्टहरूलाई एकताबद्ध बनाई अस्तित्वमा राखिरहने विचार र विश्लेषण जबजमा मात्र रहेको छ ।
आफूले प्रतिपादन गरेको सिद्धान्तको व्याख्या जति मदन भण्डारीले गरे वा गर्न सक्थे त्यति अरूले गर्न गाह्रै हुन्छ । विश्वव्यापी रूपमा कम्युनिस्टको महत्व र कम्युनिज्मको आवश्यकता बोध गराउन सक्ने अद्भूत क्षमता भएकैले उनको हत्या घरेलु सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद मिलेर गरेका थिए । राजतन्त्रात्मक मुलुकमा पनि कम्युनिस्टले सत्ता चलाउन सक्ने सूत्र जबजसँग थियो जो व्यवहारमा खरो उत्रियो पनि । जबजलाई फ्लप तुल्याउनकै लागि अर्थात् छायामा पार्नकै लागि हतियारबन्द माओवादीको प्रायोजित कार्यक्रम नेपालमा सुरु गरिएको थियो जो हालसम्म आइपुग्दा लगभग पतन भइसकेको छ । जबजलाई खल्लो पार्न प्रचण्डपथ भन्ने जलप पनि लगाइयो । अहिले बाहिर घोर राष्ट्रवादी देखाएर, राष्ट्रिय स्वाधीनताको भाषण गरेर कहिल्यै नथाक्ने नक्कली कम्युनिस्टहरू एमालेको खोल ओढेर जबजलाई संशोधन गर्नुपर्छ भन्दै छन् । सन्दर्भ एमालेको आसन्न नवौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादका वास्तविक उत्तराधिकारीले नै वर्चश्व कायम गर्नुपर्छ भन्ने नै हो ।
लामो समय पार्टीको सर्वशक्तिमान महासचिव भएर पार्टी चुनावमा हारेपछि राजीनामा दिएर पन्छिएका व्यक्ति फेरि अध्यक्ष बन्न खोज्नु पटक्कै नसुहाउने कुरा हो । यसै पनि माधव नेपाल भिजन भएका व्यक्ति होइनन् । उनको काम गर्ने तरिका, उनका आसेपासे, उनका भाषण र विचारका बारेमा जानकारहरू अनभिज्ञ छैनन् । एमालेभित्रको युवा जोशलाई तह लगाएर राख्ने काम केपी ओलीले गरिरहेका छन् । केपी ओली माधव नेपालजस्तो ‘ताक परे तिवारी नत्र गोतामे’ गर्ने खालका दुईजिब्रे छैनन् । ओली जस्तोसुकै परिस्थितिमा पनि स्पष्ट थिए, छन् र हुनेछन् । हामी एमालेका कार्यकर्ता होइनौँ’, शुभचिन्तक हौँ । तर पनि संविधानसभामा एमाले दोस्रो पार्टी हो, सत्ताधारी पार्टी पनि हो र संविधान निर्माणलगायतका महत्वपूर्ण पक्षहरूमा एमालेको भूमिका महत्वपूर्ण हुनेछ । हामीजस्ता अधिकांशले एमालेमा नयाँ नेतृत्व आओस् भन्ने चाहेका छौँ, जो स्पष्ट होस्, निडर होस् र कमसेकम मदन भण्डारीको जबजलाई अपहरण गर्ने नभई त्यसलाई अझ बढी सशक्त रूपमा अगाडि बढाउने खालको होस् । युवा नेतृत्वले हस्तक्षेपकारी नीति लिएर पार्टी कब्जा गर्न अझै वर्षौं लाग्ने स्थिति हरेक पार्टीमा देखिएको छ । एमालेले केपी ओलीलाई संसदीय दलको नेतामा पनि चुनेकै हो । त्यसैले नवौँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीले नै जित्नुपर्छ । यसो हुँदा एमालेको मात्र कल्याण हुने नभई देशकै राजनीतिमा पनि सकारात्मक प्रभाव पर्ने अन्दाज लगाउन सकिन्छ । यसका लागि एमालेलाई नयाँपन दिन, नयाँ जोस–जाँगर र ऊर्जा भर्न एमालेका सच्चा कार्यकर्ताले केपी कामरेडलाई अध्यक्षमा जिताउने कार्य गर्नैपर्छ । समय सदा अघि बढ्नुपर्छ, पछाडि फर्कने होइन । केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन एमाले लाग्नु बेस हुन्छ । ओली एमालेका भावी अध्यक्ष मात्र नभई एकपटक मुलुकको प्रधानमन्त्री पनि हुनु प्रजातन्त्रकै निम्ति पनि जरुरी छ ।