रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoमहिलाको दूधबाट साबुन
स्तनबाट अस्वाभाविक रूपमा दूधको मूल फुटेको, तर आफ्नो दूधेबालकले नखाइदिएर खेर गइरहेको अवस्थाबाट दुःखी बनेकी एक चिनियाँ महिलाले त्यसरी खेर जान लागेको ब्रेस्टमिल्कको गजबसँग सदुपयोग गरेकी छिन् । बच्चाले दूध नखाइदिएर खेर जाँदा सुरुसुरुमा त उनलाई निकै दिक्क लाग्यो, तर छिट्टै नै उनलाई एउटा आइडिया फु¥यो– आफ्नो दूधबाट साबुन बनाएर बिक्री गर्ने । यो सोचलाई उनले तत्काल व्यवहारमा उतारिन् । उनले स्तनबाट दूध निचोर्दै कछुवा, माछा, शंखेकीरा, मुटुलगायत विभिन्न आकार–प्रकार दिएर साबुन उत्पादन गर्न थालेकी छिन् । महिलाको दूधबाट बनेको साबुन बालबच्चाको छालाका लागि अत्यन्त उपयोगी हुने र सबै उमेरसमूहका मानिसको शरीर चिलाउने रोगबाट समेत छुटकारा मिल्ने भन्दै उनले उक्त साबुनको प्रचार गरेकी छिन् । ब्रेस्टमिल्क सोपको प्रचारका लागि अनलाइनको सहारा लिएकी ती महिलाको दूधको साबुन किन्ने ग्राहकको यतिबेला लाइन लागेको र चीनका अन्य महिला पनि आफ्नो स्तनबाट खेर जाने दूधबाट साबुन बनाएर बेच्न प्रेरित भएका छन् ।

रोबोटले ओबामालाई अत्याउँदा…
अमेरिकी राष्ट्रपति बाराक ओबामासँग एउटा जापानी रोबोटले भन्यो, ‘तपाईंलाई भेटेर निकै खुसी लाग्यो ।’ आश्चर्यमा परेका ओबामाले पनि आफ्नो ताजुबपनलाई भरसक लुकाउने चेष्टा गर्दै जवाफ दिए, ‘तपाईंसँग भेटेर मलाई पनि खुसी लाग्यो !’ एसिमो नाम दिइएको उक्त रोबोटले आफ्नो मेटलीय आवाजमा फेरि भन्यो, ‘म त फुटबललाई लात हान्न पनि सक्छु ।’ चकित परेका ओबामाले पनि ‘लौ त फुटबल खेलौँ’ भन्न करै लाग्यो । रोबोटसँग एकछिन फुटबल पनि खेले उनले । रोबोटले ‘कस्तो लाग्यो त ?’ भनी प्रश्नसमेत गरेपछि ओबामाले दङ्ग पर्दै ‘मज्जा लाग्यो’ भन्ने जवाफ फर्काए । त्यसपछि चुलबुले बालकझैँ एसिमोले कोठामा उछलकुद मच्चाउन थाल्यो । त्यो देखेर ओबामा डराए । हालै जापानको भ्रमणमा रहँदा अमेरिकी राष्ट्रपति ओबामालाई जापानी होण्डा कम्पनीले आविष्कार गरेको उक्त रोबोट प्रदर्शन गराइएको थियो । वास्तवमै ओबामा मनुष्यकै झल्को दिने उक्त रोबोट देखेर छक्क परेका थिए । मानिसले जस्तै बोल्ने, हिँड्ने, दौडने, फुटबल खेल्ने यस्तो रोबोट ओबामाले जीवनमै पहिलोपटक देखेका हुन् । उक्त रोबोटले घरको सिँढी उक्लने–ओर्लने तथा सामानहरू उठाउने कामसमेत गर्दछ । त्यसलाई ल्यापटप कम्प्युटर तथा कुनै वायरलेस नेटवर्कद्वारा परिचालित गर्न सकिने होण्डा कम्पनीले जनाएको छ ।

नाग–नागिनले मान्छेसँग प्रेम गरेपछि…
के कुनै साप मानिसको साथी हुन सक्छ ? वैज्ञानिकहरूको कुरा मान्ने हो भने यो सम्भव छ । हो, यस्तै एक मामला भारतको मथुरामा घटेको छ । मथुराको अगरयाला भन्ने गाउँका निवासी लक्ष्मण नामक युवकप्रति एउटी नागिन यतिसम्म हुरुक्कै भएकी छ कि नागपञ्चमीको दिन लक्ष्मण जहाँसुकै पुगेका भए पनि उक्त नागिन लक्ष्मण भए ठाउँ पुग्छे र उनसँग टाँसिएर लुट्पुटिन्छे । नागिनको यस्तो चाल देखेर अनुमान गरिएको छ कि यो नागिन अरू कोही नभई लक्ष्मणकी पूर्वजन्मकी पत्नी हो । यस्तै अर्को घटना उत्तरपश्चिमी श्रीलंकामा पनि घटिरहेको छ । बताइएअनुसार एक नाग त्यहाँकी ३० वर्षीया एक विवाहिता महिलाप्रति हुरुक्कै भएको छ । हरदम ती महिलाको आसपास मडारिने उक्त नाग ती महिला आफ्ना पतिसँग सुत्ने कोठामा प्रवेश गरेपछि चाहिँ एकदम रिसाउँछ । महिलाप्रति प्रेम दर्शाए पनि उनका पति र सन्तानलाई भने ऊ रुचाउँदैन । तथापि, नागले उनीहरूलाई कुनै हानि भने पु¥याएको छैन । कतिपयले महिलालाई उनी सुत्ने कोठामा उक्त नागलाई आरामले बस्न मिल्ने एउटा स्थान बनाइदिनुपर्ने सुझाव दिएका छन् ।

नङ पालेर विश्व रेकर्ड
केही न केही चर्तीकला देखाएर चर्चामा आउन चाहने व्यक्तिको संसारमा कमी छैन । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन नयाँ–नयाँ उपायको खोजी गर्नेहरू पनि दिनानुदिन अनेक भेटिन्छन् । यसरी गिनिज बुकमा नाम लेखाएर चर्चामा आउनकै लागि न्युयोर्ककी एक महिलाले आफ्नो हातका नङको सहारा लिएकी छिन् ।
क्रिस वाल्टन नामकी यी महिलाले १८ वर्ष लगाएर हातका नङलाई बडो जतनपूर्वक लामो बनाइन् । सन् २०११ मा लामो नङकै लागि गिनिज बुकमा नाम लेखाउँदा उनको बायाँ हातका नङको लम्बाइ १० फिट दुई इञ्च थियो भने दायाँ हातका नङचाहिँ नौ फिट सात इञ्च लामा थिए । अठार वर्षसम्म हातका नङ नकाटी जोगाउन उनलाई निकै हम्मे–हम्मे परेको थियो । उनको यस्तो धैर्यको तारिफ नगर्ने को होला र ?

आधा मिनेटमै मोबाइल चार्ज हुने
पूरै सकिएको मोबाइलको ब्याट्री एक मिनेटभित्रै फुल चार्ज हुने भयो भन्दा पत्याउन मुस्किल नै पर्ला । तर, इजरायलको एक कम्पनीले ३० सेकेन्डभन्दा कम समयमा चार्ज हुने मोबाइल–ब्याट्री आविष्कार गरेको दाबी गरेको छ । उक्त ब्याट्री हालै तेल अविवमा आयोजित एक प्रविधि सम्मेलनमा प्रदर्शनसमेत गरिएको छ । माइक्रोसफ्टको थिङ्क नेक्सट सम्मेलनमा इजरायलको कम्पनी स्टार्ट–अप स्टोर डटले जैविक संरचनाबाट निर्मित उक्त ब्याट्री प्रस्तुत गरेको थियो । प्रदर्शनका लागि राखिएको ब्याट्रीचार्जर एक सिगरेटको बट्टा आकारको थियो भने त्यसलाई एक स्मार्टफोनमा प्रयोग गरिएको थियो । प्रदर्शनको दौरान उक्त ब्याट्री चार्जरले सामसङ एस४ स्मार्ट फोनको पूरै समाप्त भएको एक ब्याट्रीलाई जम्मा २६ सेकेन्डमा पूरै चार्ज गरी देखाइएको थियो । उक्त ब्याट्रीचार्जर अहिले प्रयोगका रूपमा मात्र रहेको छ । यसलाई व्यावसायिक रूपमा उत्पादन गर्न अझै तीन वर्षजति लाग्ने बताइएको छ । स्टोरडटको संस्थापक डा. डोर्न मेयर्सडार्फले बताएअनुसार एक वर्षभित्रै स्मार्ट फोनमा प्रयोग गर्न सकिने गरी ब्याट्री निर्माण गरिने र अन्य सबै प्रकारका फोनमा प्रयोग हुनेगरीचाहिँ उत्पादन गर्न तीन वर्षजति लाग्नेछ ।