मन्त्रालयमा माग्नेहरूको भीड– रामहरि पाण्डे

मन्त्रालयमा माग्नेहरूको भीड– रामहरि पाण्डे


othernewsविभागीय मन्त्री, सभासद् तथा राजनीतिक दलका नेताहरूको सिफारिससहित आर्थिक सहयोग माग गरिएका फाइलले विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूका घर्रा भरिन थालेका छन् । अत्यन्तै जरुरी भन्दै आएका ती निवेदन फाइल किनारा लगाउन मन्त्रालयका कर्मचारीलाई भ्याइनभ्याई भएको छ ।
‘आर्थिक सहयोग माग गर्दै आएका फाइल पढ्दापढ्दै हैरान भएका छौँ,’ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक उपसचिवले भने, ‘मन्त्रीज्यूले स्वीकृत गरिसक्नुभएको यो फाइललाई छिटो अघि बढाउनुप¥यो भन्दै दबाब दिनेहरूको भीड पनि थामिनसक्नुको छ ।’ ‘मन्त्रीको मात्र नभएर राजनीतिक दलका वडादेखि जिल्ला र अञ्चल कमिटीसम्मको सिफारिससहित आएको फाइललाई त अलि महत्व दिनु नै प¥यो,’ ती उपसचिवले भने, ‘त्यसरी आएका फाइल तत्काल किनारा लगाउन सकिने अवस्थामा छैन ।’
कर्मचारीका अनुसार आफ्नो फाइललाई प्राथमिकतामा राखी जसरी पनि बजेट निकासा गरिदिनुप¥यो भन्दै निवेदन आउने क्रम रोकिएको छैन, बढ्दै गएको छ, त्यसरी आएका फाइलमा मन्त्रीहरूले हेर्दै नहेरी ‘अत्यन्तै महत्वपूर्ण विषय भएकाले तुरुन्त आवश्यक प्रक्रियामा लैजानू’ भन्ने निर्देशन हुन्छ । सोही मन्त्रालयका अर्का एक कर्मचारीले भने, ‘त्यसरी अत्यन्त जरुरी भन्दै आएका कतिपय फाइल अघि बढउनै नसकिने खालका हुन्छन् ।’ यहाँ मन्त्रीज्यूले अत्यन्त जरुरी भनेर सिफारिस गरेका फाइलहरू मात्र हजारभन्दा बढी छन् । ती फाइलहरू आर्थिक सहयोगसहित कर्मचारी सरुवाका समेत रहेका छन् । उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव सुनिल प्रजापतिले वर्तमान सरकारप्रति धेरैको आशा र अपेक्षा भएकाले सोहीअनुसारको माग राखी मन्त्रालयमा आउने गरेको बताए । उनले भने, ‘हामीले समस्या तथा सहयोगको अपेक्षा लिएर आएकाहरूलाई निरास बनाउने गरेका छैनौँ, सबैलाई सन्तुष्ट बनाएर पठाउने गरेका छौँ ।’
सिंहदरबारभित्र २४ वटा मन्त्रालयसहित झन्डै ५० सरकारी निकाय छन् । ती सबै निकायमा आर्थिक सहयोग माग गर्दै निवेदन दिनेहरूका सङ्ख्या बढ्दै गएको छ । ‘मन्त्रालयमा मन्त्रीज्यू समक्ष आर्थिक सहयोग माग गर्दै फाइल बोकेर आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यका निजी सचिव कृष्ण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार त्यसरी आएका फाइलहरू अध्ययनका लागि सम्बन्धित निकाय तथा शाखाहरूमा पठाउने गरिएको छ । ‘कतिपय फाइलमा लेखिएका कुराहरू राम्ररी अध्ययन गर्नसमेत भ्याइँदैन,’ सापकोटाले भने, ‘नयाँ आर्थिक वर्ष आउन लागेकाले स–साना विकास निर्माणका योजनाहरू लिएर आउनेहरूको सङ्ख्या बढी देखिएको हो ।’ ‘विभिन्न जिल्लाबाट धार्मिक, सांस्कृतिक, होटल–पर्यटनसँग सम्बन्धित विभिन्न योजना बनाएर त्यसका लागि बजेट माग्नेहरूको सङ्ख्या बढी छ,’ सापकोटाले थपे । उनका अनुसार मन्त्रालयमा मात्र होइन, आर्थिक सहयोग माग गर्नेहरूको भीड निवासमा समेत हुने गरेको छ ।
अर्थ मन्त्रालयमा आर्थिक सहयोग गर्नुप¥यो भन्दै सयौँ फाइल आएका छन् । तर, ती फाइल पेन्डिङमा रहेको बजेट महाशाखाका केदारप्रसाद पनेरूले जानकारी दिए । पनेरूका अनुसार आर्थिक निकास गर्नुपर्ने फाइलहरू हुने भएकाले कानुनसम्मत् छ–छैन, हेर्दा र सम्बन्धित निकायको अनुमति माग गर्दा समय लाग्ने भएकाले धेरै फाइलहरू पेन्डिङमा रहेका हुन् । अर्थमन्त्रीका निजी सचिव उत्तर खत्रीले बजेटसँग सम्बन्धित मन्त्रालय भएकाले विकास निर्माणका आस लिएर आउनेहरू बढी रहेको बताए । उनले भने, ‘कानुनअनुसार र मन्त्रालयको दायराभित्र पर्ने कुरालाई सम्बोधन गरिएको छ ।’
सहरी विकासमन्त्री डा. नारायण खड्काका स्वकीय सचिव खगेन्द्र राईले पनि मन्त्रालयमा आर्थिक सहयोगसहितको माग गर्नेहरूको सङ्ख्या धेरै रहेको जानकारी दिए । राईले भने, ‘यहाँ आर्थिक सहयोगसहित माग भएर आएका फाइललाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायमा पठाउने गरेका छौँ ।’ मन्त्री खड्काले पनि विकास निर्माणलगायतका विभिन्न समस्या लिएर पार्टी–कार्यकर्ता तथा अन्य सर्वसाधारण आउने गरेको र उनीहरूको गुनासो सम्बोधन गरिएको जानकारी दिए । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि आर्थिक सहयोग माग गरिएका सयौँ फाइल चाङ लगाएर राखिएका छन् । त्यस्तै कृषिमन्त्री हरिप्रसाद पराजुलीका निजी सचिवालयका कर्मचारी सुशील खड्काका अनुसार कृषिमा पनि आर्थिक सहयोग माग गरिएका फाइलहरू प्रसस्तै रहेका छन् ।

तीन महिना बित्दा पनि बनेन योजना आयोग
श्री ३ देवशमशेरले तीन महिना मुलुकको प्रधानमन्त्री बन्न पाउँदा उनले गरेको कामको नेपाली इतिहासले अहिले पनि स्मरण गरिरहेको छ । तर, गठनको तीन महिना बितिसक्दा पनि वर्तमान सरकारले भने पन्ध्र मुलुकमा रिक्त राजदूत तथा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरूको चयनसमेत गर्न सकेको छैन । योजना आयोगमा प्रधानमन्त्री सुशील कोइरालाले ख्यातिप्राप्त अर्थविद् एवम् नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर डा. तिलक रावललाई उपाध्यक्ष बनाउन चाहनुभएको बुझिएको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले भने डा. गोविन्द पोखरेलको नाम अगाडि सार्नुभएको छ । युवा पोखरेल आफ्नो विषयका ज्ञाता मानिनुहुन्छ र उहाँ हाल वैकल्पिक ऊर्जा केन्द्रको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । रामचन्द्र पौडेलको नातेदार समेत रहनुभएका पोखरेललाई आयोगको उपाध्यक्ष बनाउन पौडेलले प्रधानमन्त्री कोइरालालाई पटक–पटक आग्रह गरिरहनुभएको बालुवाटारनिकट सूत्रले जनाएको छ । तर, प्रधानमन्त्री कोइराला भने डा. तिलक रावललाई उपाध्यक्ष बनाएर गोविन्द पोखरेललाई योजना आयोगको सदस्य बनाउन उपयुक्त हुने धारणा राख्नुहुन्छ । प्रधानमन्त्रीले आफ्नो सोचअनुरूप निर्णय लिनुहुनेछ या पौडेलको भन्ने जानकारीका लागि अझै केही दिन प्रतीक्षा गर्नुपर्ने भएको छ ।
सरकारले योजना आयोग र राजदूतबाहेक अन्य कैयन स्थानमा राजनीतिक नियुक्तिमार्फत पदपूर्ति गर्नुपर्नेछ । मंगलबार (वैशाख १६ गते)देखि संसद्को बैठक अन्त्य गरिएकोले अब छब्बीस सभासद् चयन, राजदूत नियुक्ति र योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको नियुक्तिलगायत अन्य महत्वपूर्ण निर्णयहरू लिने विश्वास गरिएको छ ।

खेलकुदमन्त्री आफैँ खेल्दै !
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठको रिमोट कन्ट्रोलबाट चल्दै आएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गत सोमबार नौलो नाटकको मञ्चन गरेपछि खेलकुदमा तनाव उत्पन्न भएको छ । राष्ट्रपति रनिङ सिल्डको उद्घाटन समारोहमा अतिथिको रूपमा रहेका पौडेलले आफ्नै निर्देशनमा मन्त्रालयको साटो राखेपमा नै ज्ञापनपत्र बुझाउन अह्राएपछि उनको खेलको पर्दाफास भएको हो । राखेप सदस्यसचिव युवराज लामालाई विस्थापित गर्न अनेक हतकण्डा अपनाइरहेका मन्त्री पौडेलले लामालाई अझ दबाब दिन यो नौलो रणनीति अख्तियार गरेको बुझिएको छ । यसपटक मन्त्री पौडेलले आफ्नो अभीष्ट पूरा गर्न तेक्वान्दोका वफादार प्रशिक्षक तथा पदाधिकारी बद्रीकुमार घिमिरे, नवीनकुमार श्रेष्ठ र हीराबहादुर थापालाई ‘बलिको बोका’ बनाएका छन् । उनीहरूले मन्त्री पौडेलको इसारामा करारमा कार्यरत प्रशिक्षक अर्जुनभक्त राई, गणेश जिम्बा र केही डोजोका खेलाडीलाई साथमा लिएर प्रतियोगितामा तेक्वान्दोलाई समावेश गर्नुपर्ने र युनियन खारेजीको माग गर्दै परिषद्मा नाराबाजीसहित ज्ञापनपत्र बुझाएका थिए ।
गत वर्ष भलिबल र एथलेटिक्स मात्रै समावेश गरेर राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको आयोजना भए पनि यो वर्षदेखि मार्सल आर्टस्का तीन खेल उसु, कराते र तेक्वान्दोलाई प्रतियोगितामा समावेश गरिएको थियो । नेपालमा नेपाल तेक्वान्दो सङ्घ र राष्ट्रिय तेक्वान्दो युनियन गरी दुई संस्था अस्तित्वमा रहेकाले राष्ट्रपति रनिङ सिल्ड तथा व्यवस्थापन समितिले डब्लूटीएफको नियमअनुसार दुवै सङ्घको सहमतिमा एउटै प्रतियोगिता सञ्चालन गर्ने जनाएको थियो । तर, क्षेत्रमै आएको विवादले प्रतियोगिता सञ्चालन गर्न असम्भव भएपछि दुवै पक्षले एकसाथ नखेल्ने निर्णय गरेका थिए । त्यसपछि तेक्वान्दो सङ्घले तेक्वान्दोलाई प्रतियोगितामा समावेश गर्नुपर्ने, तर तेक्वान्दो युनियनका खेलाडीले खेल्न नपाउने सर्त राखेपसमक्ष राखेपछि तेक्वान्दो सहभागिता अनिश्चित बनेको थियो । यसरी दुवै पक्षले छुट्टाछुट्टै खेल्न पाउनुपर्ने दाबी गर्दै विरोध गरेपछि राखेपले बाध्यतावश प्रतियोगिता सञ्चालनको एक दिनअघि तेक्वान्दोलाई प्रतियोगिताबाट हटाएको थियो । योबारेमा नेपाल तेक्वान्दो सङ्घले समितिसँग त्यस्तो कुनै किसिमको सहमति नभएको बताएका छन् । क्षेत्रमै अवरोध खडा भएपछि छैटौँ राष्ट्रिय प्रतियोगिता र लुम्बिनी च्याम्पियनसिपजस्तै छुट्टै प्रतियोगिता सञ्चालन हुनुपर्नेमा सङ्घले जोड दिएको थियो ।
आफ्नै कारणले अर्थात् दुई संस्थाको जुँगाको लडाइँले तेक्वान्दो प्रतियोगिताबाट हटेपछि नेपाल तेक्वान्दो सङ्घका केही पदाधिकारी, प्रशिक्षक र डोजोका खेलाडीले मन्त्री पौडेलको निर्देशन र इसारामा खेलकुदको हुर्मत लिने कार्य गरेपछि अहिले खेलकुदमा द्वन्द्वको स्थिति पैदा भएको छ । ३५ महिनादेखि बिनाअवरोध शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको खेलकुदमा मन्त्री पौडेलको गैरजिम्मेवार र फोहोरी खेलले खेलकुदलाई पुनः विवादमा तानेको छ । आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न मन्त्री पौडेलले जुन रणनीतिको अख्तियार गरेका छन् त्यसले खेलकुदमा भाँडभैलो मच्चिने प्रायः निश्चित छ । आज एमालेका कार्यकर्ताले विरोध गर्दै ज्ञापनपत्र बुझाउने, भोलि अन्य पार्टीका कार्यकर्ताले यसरी नै मन्त्री पौडेलको कार्यशैलीका विरुद्धमा ज्ञापनपत्र बुझाए खेलकुद क्षेत्र अराजक बन्नेमा सायद कसैको दुईमत होला । वार्ता, सहमति र छलफलबाट निकास निस्किने कुरामा समेत मन्त्री पौडेलले राजनीतिक रङ्ग दिन खोज्नु खेलकुदका लागि दुर्भाग्य भएको छ । यसले निकास होइन, खेलकुदको विनाश गर्ने पक्का छ ।
तेक्वान्दो प्रशिक्षक र पदाधिकारीहरूले राखेपको विरोध गर्दै मन्त्रालयको साटो राखेपमा मन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि केही समय परिषद्मा द्वन्द्व र झडपको स्थिति उत्पन्न भएको थियो । सदस्यसचिव लामालाई राजनीतिक दबाब दिन मन्त्री पौडेलले यो हर्कत गरेको पोल खुलेपछि राखेपले यो घटनालाई मन्त्रीको सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या गरेको छ । राखेपले तेक्वान्दो खेललाई प्रतियोगिताबाट हटाएपछि केही तेक्वान्दो प्रशिक्षक र पदाधिकारी विरोधमा उत्रिनु, तर सङ्घका जिम्मेवार पदाधिकारीहरूको उपस्थिति नहुनुले यो विरोधका लागि विरोध मात्र गरिएको सुनियोजित षड्यन्त्रजस्तो देखिएको बताएको छ । यो घटनाबारे नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशमशेर राणाले आफूलाई कुनै जानकारी नभएको बताएका छन् । राणाले सङ्घले कसैलाई पनि निर्देशन नगरेको जानकारी गराउँदै उनीहरू किन विरोधमा उत्रिए त्यसबारेमा अनविज्ञता प्रकट गरेका थिए । त्यस्तै, तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङले आफूलाई यो प्रतियोगिता आयोजनाको बारेमा समेत जानकारी नभएको बताएका छन् । प्रतियोगितामा तेक्वान्दोले सहभागिता जनाउने कार्यसमितिको निर्णय भए पनि आफ्ना पदाधिकारी किन विरोधमा उत्रिए त्यसमा बेखबर रहेको बताए । महासचिव गुरुङले भने, ‘म अहिले बल्ल तपार्इंले भनेर थाहा पाउँदै छु, अब वास्तविकता के हो त्यसबारे जानकारी लिनेछु, हाम्रो संस्था अनुशासित संस्था हो, यहाँ अनुशासनहीन कार्य गर्न कसैलाई छुट छैन, तर उनीहरूलाई तेक्वान्दोको हितको बारेमा बोल्ने अधिकार छ ।’
मन्त्री पौडेलले पार्टीको दबाबमा खेलकुदमा उपद्रव मच्चाउन थालेपछि सदस्यसचिव लामाले आफ्नो ज्यान गए पनि खेलकुद नछोड्ने बताएका छन् । लामाले मलाई एमाओवादी पार्टीले खेलकुदमा पठाएको हो, पार्टीले फर्क नभनुन्जेल आफू नफर्किने प्रस्ट पारेका छन् । उता यो खेलका महारथी पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ लामालाई हटाउन न्वारानदेखिको बल लगाएर दौडधुप गरिरहेका छन् । ओलम्पिकमा जातिवाद स्थापना गर्न र अध्यक्ष पद हत्याउन विभिन्न तिकडमबाजी गर्दै आएका श्रेष्ठले हालै एउटा पत्रकारको गुटलाई वार्षिक १० लाखको हन्डीसमेत फ्याँकिसकेका छन् । ओलम्पिकको अध्यक्ष हत्याउन र लामालाई हटाउन सक्रिय रहेका श्रेष्ठमाथि भ्रष्टाचार गरेको आरोपमा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको छ ।

राष्ट्र बैंकमा यस्तो पनि हुन्छ !
मुलुकको केन्द्रीय बैंकका कर्मचारीको नियुक्ति, सरुवा र बढुवासँग सम्बन्धित कर्मचारी सेवा विनियमावली संशोधनको क्रममा त्यो सबैको निम्ति गलपासो बनेको छ । गत वर्ष वैशाखमा युनियनहरूसँग सम्झौता गरेर गत जेठमै विनियमावली संशोधन गर्न सञ्चालक रामहरि अर्यालको संयोजकत्वमा बनेको समितिले अनावश्यक बैठक बसेर लाखौँ रुपैयाँ कुम्ल्याए पनि माखो नमारेकोमा कर्मचारीहरू क्रूद्ध बनेका छन् ।
कर्मचारीहरूको विद्यमान सेवा अवधिमा पुनरावलोकन गर्न गठित उक्त समितिका संयोजकले गत शुक्रबार बसेको समितिको बैठकमा आफू र गभर्नरअनुकूलको विषयलाई मात्र उठाएपछि नयाँ रहस्य खुल्न थालेको हो । सम्भवतः यो साता बस्ने बैंक सञ्चालक समितिमा पेस हुनसक्ने विनियमावली संशोधन प्रस्तावमा कर्मचारीहरूको सेवाबारेमा आफूलाई गभर्नरले कुनै म्यान्डेट नदिएकोले त्यो विषयमा समिति मौन रहेको उल्लेख हुनेछ । स्रोतका अनुसार विनियमावली संशोधन समितिको काँधमा बन्दुक राखेर गभर्नरले सके यो वर्ष नसके आगामी वर्ष आफ्नो डीभीहोल्डर ज्वाइँ रामशरण खरेललाई बढुवा गराउन कर्मचारीहरूको एसएलसीदेखिको शैक्षिक योग्यताअनुरूपको थप अङ्क प्रदान गर्ने व्यवस्थाका लागि सिफारिस गराएका छन् । यसबाट धेरै कर्मचारी मर्कामा पर्ने देखिएको छ ।
सञ्चालक अर्यालले यसरी विनियमावली संशोधनको निम्ति सिफारिस गर्नुको कारण उनलाई बैंकमा जतिवटा बैठक बसेर भत्ता पचाए पनि हुने छुट दिएको कारण हुनसक्ने अड्कल काट्न थालिएको छ । विशेषगरी लेखा परीक्षण समितिको संयोजकको नाताले अर्याल विनाअर्थको विषयमा पनि हरेक हप्ता कम्तीमा दुईपटक बैठक डाकेर प्रतिबैठक चार हजार रुपैयाँ कुम्ल्याउँछन् । हप्ताको बढीमा दुईपटक नभए एकपटक सञ्चालक समितिको बैठकको भत्ता पनि बुझ्छन् नै । लेखा परीक्षण समितिको संयोजकले बैंकको आन्तरिक लेखा परीक्षण विभागको मसलन्द खर्चका निम्ति निकासा भएको रकमलाई कसरी खर्च गर्ने भन्ने एजेण्डा बनाएर बैठक भत्ता पचाएको विषय पनि केन्द्रीय बैंकका कर्मचारीहरूमाझ निकै चर्चा हुने गर्दछ । गभर्नरले आफूअनुकूलको विषय सिफारिस गर्न लगाएर अर्याललाई त्यस्ता कार्यबाट उन्मुक्ति दिनु नै बैंकको सञ्चालक समिति र माथिल्लो निकायको समस्या रहेको एकजना निर्देशकले बताएका छन् ।
आचार्यको योग्यता पनि फन्दामा
कर्मचारी सेवा विनियमावली संशोधन समितिका सदस्यसचिव तथा बैंकको प्रशासन विभागका निर्देशक झलक शर्मा आचार्यको बेलायतको स्नातकोत्तरसम्बन्धी योग्यता पनि यतिखेर फन्दामा परेको छ । समितिमा अर्याललाई विभिन्न कुनाबाट सहयोग पु¥याएपछि कर्मचारीहरूले नै आचार्यको योग्यता परीक्षण गरेको बुझिएको छ । आचार्यले दुई दशकअघि बेलायतबाट एक वर्षको स्नातकोत्तर तह अध्ययन गरेका हुन् । उनी त्यसबखत नेपालको स्नातक तह (बीए) उत्तीर्ण गरेर एकवर्षे स्नातकोत्तर तहका लागि बैंकको खर्चमा बेलायत गएका थिए । दुईवर्षे स्नातकोत्तरको मात्र औपचारिक अध्ययन घन्टा (क्रेडिट आवर) हुने भएकाले एक वर्षको स्नातकोत्तरले आवश्यक अध्ययन घन्टा नपुग्ने हुँदा आचार्य उक्त योग्यताकै आधारमा मात्र निर्देशक हुन नसक्ने जिकिरसहित कर्मचारीको एउटा समूहले सम्बन्धित निकायलाई गुहारिसकेको बुझिएको छ ।

डा. महतले गरे चमत्कार
अर्थ मन्त्रालयको जिम्मेवारी लिइसकेपछि काङ्ग्रेस नेता डा. रामशरण महतले विभिन्न क्षेत्रका लागि चालीस खर्बभन्दा बढी रकम जुटाउनुभएको छ । अर्थमन्त्री बनेको तीन महिना नपुग्दै उहाँले जुटाउनुभएको सहयोग रकमलाई ठूलो उपलब्धिको रूपमा लिइएको छ । अर्थ मन्त्रालयका अनुसार केही दिनभित्रै पाँच खर्बभन्दा बढी सहयोग रकम थपिनेछ भने अन्य निकायहरूसँग वार्ता र संवाद चलिरहेको छ ।
मन्त्री महतले ठूलो सहयोगसहित युरोपियन इन्भेष्टमेन्ट बैंकलाई पनि बहुपक्षीय दाताको सूचीमा नाम लेखाउँदै नेपालका परम्परागत वैदेशिक सहयोग स्रोतको रूपमा विश्व बैंक, मुद्राकोष, एसियाली विकास बैंकबाट करिब १० खर्ब रुपैयाँजतिको सहयोग नेपाललाई उपलब्ध गराएका छन् । सरकारले यसलाई सबैभन्दा ठूलो उपलब्धिको रूपमा लिएको छ ।
अर्थमन्त्री महतले ल्याएका सहयोग रकममध्ये सबैभन्दा बढी जलविद्युत्का ठूलाठूला आयोजना निर्माण, प्रसारण लाइन विस्तारसँग सम्बन्धित रहेका छन् । इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि ६ खर्ब रुपैयाँबराबरको सहायता प्राप्त गरेको छ । आईएफसीले तीन हजार मेगावाट विद्युत् उत्पादनका लागि र प्रसारण लाइन निर्माणका लागि उक्त सहायता दिने भएको हो । साथै मन्त्री महतकै पहलमा आईएफसीले ३८ मेगावाटको काबेली जलविद्युत् आयोजना, २१३ मेगावाटको अपर त्रिशूली, ६०० मेगावाटको अपरमस्र्याङ्दी, ९०० मेगावाटको अपरकर्णाली, ९०० मेगावाटको अरुण ३ लगायतका करिब तीन हजार मेगावाटका ठूला विद्युत् आयोजनाहरूमा लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन् । यसका लागि छिट्टै दुईपक्षीय सम्झौताको प्रक्रिया अघि बढेको छ ।
मन्त्री महतले नेपाललाई सहायता दिने सूचीमा यसपटकदेखि युरोपियन इन्भेष्टमेन्ट बैंक पनि थपेका छन् । युरोपेली बैंकले नेपालको जलविद्युत् आयोजना प्रवद्र्धन र प्रसारण लाइन विस्तारका लागि करिब १६ अर्ब ५० करोड रुपैयाँबराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । अर्थमन्त्री डा. महतसँगको भेटमा ब्रसेल्समै यो सहायताको प्रतिबद्धता आएको थियो । बैंकले कालीगण्डकी तथा मस्र्याङ्दी करिडोर विद्युत् प्रसारण लाइन निर्माणका लागि १२० मिलियन डलर अर्थात् करिब रु. १२ अर्ब, त्रिशूली करिडोरमा विद्युत् प्रसारण लाइन निर्माणका लागि पनि ३० मिलियन डलर अर्थात् करिब रु. तीन अर्ब र तनहुँ जलविद्युत् आयोजनाका लागि पनि नपुग डेढ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै युरोपेली युनियनले नेपालको ग्रामीण पूर्वाधार विकासमा आगामी सात वर्षभित्रमा (सन् २०१४—२०२०) करिब ४९ अर्ब रुपैयाँबराबरको सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यो सहायता रकमले ग्रामीण खानेपानी, सिँचाइ, कृषि, सडकलगायतका क्षेत्रमा खर्च गर्ने मन्त्री महतको योजना छ ।
यस्तै मन्त्री महतले नेपालमा वैदेशिक लगानीकर्ताहरू पनि उल्लेख्य मात्रामा भित्याउन लागेका छन् । यसका लागि लगानीको सम्भावना खोज्दै नेपाल आएका वैदेशिक लगानीकर्ताहरूसँग मन्त्री महतले भेटिरहेका छन् । मन्त्रीको निजी सचिवालयका अनुसार मन्त्री महतले तीन महिनाको अवधिमा सयभन्दा बढी वैदेशिक लगानीकर्ताहरूसँग भेट गरिसकेका छन् ।

ज्योतिषीका दृष्टिमा केपी ओली, प्रधानमन्त्री बन्ने सम्भावना प्रबल
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यस्थितिलाई लिएर मुलुकभर चिन्ता प्रकट भइरहेको बेला दुई चर्चित ज्योतिषीले आगामी केही महिनाभित्रै ओली उच्च पदमा पुग्ने भविष्यवाणी गरेका छन् । ज्योतिषी आत्माराम उपे्रतीले ओलीको जन्मलग्नको अध्ययन गर्दा उहाँले पार्टी अध्यक्षभन्दा प्रधानमन्त्री बन्न प्रयत्न गरेमा सफलता मिल्ने सम्भावना बढी देखिएको बताउनुभएको छ । उप्रेतीको भनाइ छ, ‘ओलीजीको जन्मकुण्डलीमा दशौं स्थानको मालिक छैटौँ स्थानमा रहेको छ, सोही स्थानको स्वामी (शुक्र) मा पत्नी सिद्ध दशा जोडिन आउँदा उहाँले आफन्त प्रतिस्पर्धीहरूसँग भिड्नुपर्ने देखिन्छ । यस्तो अवस्थामा अध्यक्ष पदमा बल गर्नुभन्दा सरकार परिवर्तनपछिको प्रधानमन्त्री बन्नेतर्फ लाग्दा सफल हुनसक्ने बढी सम्भावना छ । तथापि विपक्षीहरूको कडा सामना गर्नुपर्ने अवस्था भने विद्यमान छ ।’ नेता ओलीको स्वास्थ्यस्थितिबारे जिज्ञाशा राख्दा ज्योतिषी उपे्रतीको भनाइ छ, ‘सामान्य त्रिभागीमा केतुको असर छ । त्यसले आगामी पुससम्म एउटा खड्गो रहेको देखाउँछ, तर यो खड्गो उपचारले कटाउन सक्ने स्पष्ट देखिन्छ । यो खड्गो काटेपछि उहाँको आयु लामो हुन जानेछ ।’ उपे्रतीले भन्नुभयो, ‘योगिनी दशामा सिद्धमा भद्रिका दशा अन्तरमा सकारात्मक–ुकारात्मक योग आएको छ । यस्तो योग आउँदा डाक्टरभन्दा तान्त्रिक र वैदिक उपचारहरूबाट उपचार गराउनु उपयुक्त हुनेछ ।’ नेता ओलीको जन्मकुण्डली विश्लेषण गर्दै उपे्रतीले भन्नुभयो, ‘सिंह लग्न भएकोले सिंहजस्तै तेजस्वी र लग्नको केतुले तीखो वाणरूपी वचन भएको देखाउँछ । लग्नेष सूर्य सातौँमा भएकोले देह कष्टकार (रोगी) हुनुपर्ने भन्ने सङ्केत गर्दछ । घुँडा दुख्ने र दायाँपट्टिको मिर्गौलामा खराबी हुनसक्छ । ओलीजीले जीवनभर पत्नीको तीखो वचनको सामना गरिरहनुपर्ने हुन्छ । उहाँका दाजुभाइ साथमा रहने देखिँदैनन्, दाजुभाइ भए पनि आफू टाढा बस्नुपर्ने हुन्छ । यो कुण्डलीका व्यक्तिलाई कमिसनमार्फत धनप्राप्ति हुने देखिन्छ । मँन्छेमाथि हतपति विश्वास नगर्ने र तीव्र बुद्धिमान एवम् स्पष्ट वक्ता भएको कुण्डली देखिएको छ ।’ उपे्रतीले अगाडि भन्नुभयो, ‘हाल शनिमा राहु अन्तर भएको छ । यसरी शनि र राहु जोडिन आउँदा कार्य व्यवसायमा अधिक परिश्रमबाट थोरै लाभ हुने, मानसिक उत्साहमा कमी आउने, सांसारिक सुख–सम्पत्ति भोग गर्न नपाउने हो कि भन्ने चिन्ता पैदा गराउने गर्दछ । त्यस्तै मित्रमा कलह, शत्रुबाट पीडा, भाइबन्धुजनबाट दुःख उत्पन्न हुनसक्ने सम्भावना पनि देखिन्छ । बाथरोग पीडा, ज्वर, अतिसार आदि शारीरिक रोगको सामना गर्नुपर्ने र मानसिक कष्ट गराउने पनि देखिएको छ । सन् २०१५ सम्म यस्तै–यस्तै अवस्थाबाट यस कुण्डलीका मानिसले गुज्रनुपर्ने हुन्छ ।’ अष्टोत्तरीमा रोग घरको सूर्यले छैटौँ स्थानमा मकरको चन्द्रमालाई च्यापमा पारेका कारण शत्रुभयबाट रोग उत्पन्न हुन्छ । मूत्रासय र मिर्गौलासम्बन्धी बिरामीले पीडा उत्पन्न गराउनेछ । यस्तो बेलामा लाग्ने रोग भौतिकभन्दा आध्यात्मिक/मानसिक कारणले हुने हुँदा उपचार विधिमा परिवर्तन ल्याउन पनि ज्योतिषी उपे्रतीले सुझाउनुभएको छ ।
त्यसैगरी अर्का ज्योतिषी आचार्य वीरेन्द्र कापरले आगामी असार ३ गतेदेखि केपी ओलीको जन्मकुण्डलीमा वृहस्पति उँचो भएर डेढ वर्षका लागि बलियो स्थिति बनाउने बताउनुभएको छ । आगामी कात्तिक २५ गतेपछि साढे दुई वर्षका लागि शनि बलियो भएर आउनेछ र असार ३ गतेपछि सुरु हुने ओलीका राम्रा दिनहरू कात्तिकपछि प्रधानमन्त्री बन्ने अवस्थासम्म पुग्ने आचार्य वीरेन्द्रको भनाइ छ । अप्रत्यासित रूपमा परिस्थिति अनुकूल भई आफ्नो पक्षमा ठोस उपलब्धि हासिल हुने पनि वीरेन्द्रले बताउनुभएको छ । वीरेन्द्र कापरका अनुसार केपी ओलीको कुण्डलीमा सन् २००० देखि शनिको महादशा उन्नाइस वर्षका लागि आएकोले कठोर सङ्घर्ष गराइरहनेछ । सन् २०१३ को सेप्टेम्बरदेखि २०१६ को जुलाईसम्म शनिमा राहुको अन्तर आएकोले ओलीलाई विशेष कूटनीतिक क्षमताको बनाउनेछ । आयुको ग्रह बलियो भएकोले बेलाबेलामा गम्भीर बिरामी परे पनि डराउनुपर्ने अवस्था देखिँदैन, वृहस्पति ग्रह आयुको घरमा छ । ज्योतिषी वीरेन्द्रको भनाइ छ, ‘सन् २०१९ पछिका तीन वर्ष भने ओलीका निम्ति निकै कष्टकर हुनेछन् ।’

पूर्वराजाले पठाए तराईका विद्यार्थीलाई पहाड
तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रले सिमरा क्याम्पसका विद्यार्थीलाई पहाडको अध्ययन भ्रमणका लागि सहयोग गर्नुभएको छ । पूर्वराजाको सहयोगमा सिमरा क्याम्पसका बीबीएस र बीएडका विद्यार्थी अहिले पोखरा, बाग्लुङ र मुस्ताङ भ्रमणमा छन् । तराईका युवाले पहाड र हिमाल बुझ्नुपर्छ भनेर यसप्रकारको भ्रमणलाई प्रोत्साहन गरेको बुझिएको छ । जबसम्म तराईवासीले पहाड, हिमाल र पहाड, हिमालवासीले तराई बुझ्ने काम हँुदैन तबसम्म राष्ट्रिय एकतामा एकप्रकारको खाडल भइरहने हुँदा देश बुझ्नलाई क्रमशः भ्रमणमा युवाहरूलाई पठाउनैपर्ने धारणा पूर्वराजाको रहेको उहाँका निकतवर्तीले बताएका छन् । बारामा मात्र नभएर तराईका अन्य जिल्लाका कलेजमा पनि यसप्रकारको कार्यक्रम राख्नका लागि पूर्वराजपरिवार उत्सुक र इच्छुक रहेको बुझिएको छ । आफू नरहेको अवस्थामा पनि आफूले गरेको प्रयास निरन्तर भए मुलुकलाई फाइदा हुने भनाइ उहाँहरूको रहेको बताइन्छ ।
प्राप्त जानकारीअनुसार सिमरास्थित प्रभु शाहको निवासलाई मुकाम बनाई तराईको भ्रमणमा रहँदा पूर्वराजाले सिमरा कलेजका विद्यार्थीसँग सामूहिक भेटघाट गर्नुभएको थियो । बीबीएस र बीएडका करिब सयजना विद्यार्थीसँग भेटघाट गरेपछि मुस्ताङ, पोखरा र बाग्लुङ भ्रमणको कार्यक्रम तय भएको थियो । पूर्वराजासँगको भेटलाई विद्यार्थीले अपूर्व अवसर भनेका थिए भने राजाले अब मुलुकको भविष्य युवाहरूको काँधमा रहेको उल्लेख गर्नुभएको थियो । ‘मुलुक बुझ्नलाई आफू बसेको स्थान या भूभाग मात्र बुझेर हँुदैन, तराईका युवाले अब हिमाल र पहाड बुझ्नुप¥यो,’ पूर्वराजाको भनाइ उल्लेख गर्दै स्रोतले भन्यो । राजा र नेताबीचको फरक के रहेछ त भनी घटना र विचारले गरेको प्रश्नमा एक विद्यार्थीले भने, ‘लेभलको फरक छ, बोल्ने तरिका र मुलुकलाई हेर्ने दृष्टिकोणमा फरक छ । नेताले पार्टीलाई केन्द्रमा राखेर कुरा गर्छन, पूर्वराजाले देशलाई केन्द्रमा राखेर कुरा गर्नुभो । धेरै रमाइलो लाग्यो, आफ्नोपनको महसुस पनि भयो ।’ पूर्वराजा आफूले सोचेभन्दा धेरै नै साधारण भएको पनि उनले बताए । विद्यार्थीले प्रभुनिवासमै राजालाई भेटेका थिए । यसप्रकारको क्रस भिजिटहरू सरकारीस्तरबाटै गरिए झनै राम्रो हुने विद्यार्थीको धारणा छ । राम्रो काम जसले गरे पनि राम्रै हुने र त्यस्ता कामलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ ।
विद्यार्थीका अलावा पूर्वराजाले सिमरामा पत्रकार तथा अन्य व्यक्तित्वहरूसँग पनि भेटघाट गर्नुभएको थियो । सो अवसरमा सिमराका पत्रकारहरूले राजासँग फोटो खिचाएका थिए भने विभिन्न क्षेत्रका व्यक्तित्वहरूले पूर्वराजाको प्रत्येक वर्षको सिमरा भ्रमणले आफूहरूलाई हर्षित तुल्याएको बताएका थिए । उनीहरूले राजालाई आफ्नो ठाउँमा पटक–पटक आइदिन अनुरोध गरेका थिए । गत वर्ष छोरा पारसको स्वास्थ्यस्थितिका कारण राजदम्पतीले भ्रमण छोट्याउनुपरेको थियो । सिमरा बसाइका क्रममा पूर्वराजाले चितवन तथा चतराको भ्रमण गर्नुभएको थियो । कुम्भमेलामा सबैभन्दा बढी मान्छे पूर्वराजा गएकै दिन जम्मा भएका थिए ।
यसैबीच यही वैशाख २१ गते पूर्वराजदम्पती पूर्वाञ्चल भ्रमणमा निस्कने भएको छ । दमकको चियाबगानस्थित आफ्नै निवासलाई मुकाम बनाई अर्जुनधारालगायत विभिन्न स्थानमा उहाँहरूको भ्रमण हुने बुझिएको छ ।

केयू र टीयूमा प्रोफेसर सक्सेना
सार्क सदस्यीय राष्ट्रहरूको पहलमा स्थापित नयाँदिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्रोफेसर राजीव सक्सेना गत साता नेपाल भ्रमणमा थिए । भारतीय राजदूतावास र बीपी कोइराला भारत नेपाल फाउन्डेसनको पहलकदमी तथा ‘आणविक गतिशीलता नेपाल’ नामक संस्थाको सहआयोजनमा नेपाल आएका प्रोफेसर सक्सेनाले नेपाल यात्राका दौरान काठमाडौं विश्वविद्यालय (धुलिखेल) र त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर)मा ‘वल्र्ड डीएनए डे’को अवसरमा आयोजित विशेष कार्यक्रममा सारगर्वित प्रवचन दिए । ‘द इन्ट्रयाक्सन अफ नानो–पार्टिकल्स विथ बाइलोजिकल सिस्टम’ शीर्षकमा दिएको प्रोफेसर सक्सेनाले वैज्ञानिक अन्वेषणमा त्यसको सकारात्मक र नकारात्मक पाटोमाथि प्रकाश पारे । दुवै विश्वविद्यालयका प्रमुख कार्यकारी सदस्यहरूसँगको विशेष बैठकका क्रममा उनले भविष्यमा दक्षिण एसियाली विश्वविद्यालय र केयू एवम् टीयूबीच आपसी सहकार्य वा सहयोग आदानप्रदानको सम्भावनाबारे पनि छलफल गरे ।
यसैबीच नेपाल–भारत पुस्तकालयमा आयोजित ‘भ्वाइसेस’को १२औँ शृङ्खलामा समेत प्रोफेसर सक्सेना अतिथिका रूपमा सहभागी भए । लगभग एक घन्टा लामो संवादका क्रममा उनले दक्षिण एसियाली विश्वविद्यालयबारे महत्वपूर्ण जानकारी दिँदै नेपाली छात्रछात्रा, शिक्षाविद् एवम् सम्बन्धित अन्य व्यक्ति–व्यक्तित्वहरू कसरी यसमा आबद्ध हुन सक्छन् भन्ने जानकारी पनि पस्किए । डा. समीरमणि दीक्षितको सञ्चालनमा सम्पन्न ‘भ्वाइसेस’को उक्त कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति विभाग प्रमुख अभय कुमारले साउथ एसिएन युनिभर्सिटीमा आबद्धता जनाई ज्ञान आर्जन गर्न नेपाली छात्रछात्रालाई आमन्त्रण दिएका थिए ।
उता, महात्मा गान्धी अन्तर्राष्ट्रिय हिन्दी विश्वविद्यालयले नेपाली भाषा र साहित्यलाई आफ्नो एमफिल तथा पीएचडी पाठ्यक्रमअन्तर्गत तुलनात्मक अनुसन्धान गराउने भएको छ । नेपाली र हिन्दी साहित्यको तुलनात्मक अध्ययन गराउने योजना कार्यान्वयन गर्न उक्त विश्वविद्यालयको कोलकातास्थित क्षेत्रीय केन्द्र तत्पर रहेको केन्द्रका प्रमुख एसोसिएट प्रोफेसर डा. कृपाशंकर चौबेलाई उद्धृत गर्दै जनाइएको छ । भारत महाराष्ट्रको वार्धास्थित विश्वविद्यालयका उपकुलपति गिरिश्वर मिश्राको संयोजकत्वमा कोलकातामा बसेको बैठकले नेपाली भाषा साहित्यको तुलनात्मक अध्ययनसम्बन्धी प्रस्तावलाई पारित गरेको हो ।
उपकुलपति मिश्राले नेपाली साहित्यमा पनि हालका निम्ति कवितालाई हिन्दीमा अनुवाद र प्रकाशनको कार्यलाई आफ्नो विश्वविद्यालयले तदारुकताका साथ अघि बढाउने जानकारी दिएका बताइन्छ । त्यसैगरी, उपकुलपतिले नेपालको त्रिभुवन विश्वविद्यालयको उपयुक्त विभागसँग अन्तरसम्बन्ध स्थापना गर्ने र सोमार्फत आगामी दिनमा तुलनात्मक अनुसन्धान, शिक्षण, पुस्तक प्रकाशनजस्ता क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

पाटनमा भारतीय कलाकारको कला प्रदर्शनी
नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले पाटन दरबार स्क्वायरस्थित पाटन सङ्हालयमा आयोजित भारतीय कला प्रदर्शनीको सोमबार उद्घाटन गर्नुभयो । भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजित उक्त कला प्रदर्शनीमा भारतका ख्यातिप्राप्त कलाकारहरू लक्ष्मण एले, सुदिप राय, नगेश गौड, असितकुमार पटनायक, आनन्द पाञ्चाल र मेघना अग्रवालका चित्रकला प्रदर्शनमा राखिएको छ ।
उल्लेखित कलाकारहरू एक साताअघि नेपाल यात्रामा आएका थिए भने यही अप्रिल २४–२७ सम्म लैनचौस्थित दूतावासको लनमा आयोजित कला शिविरमा सहभागी भई उनीहरूले कला सिर्जना गरेका थिए । तिनै चित्रकलाहरू पाटन सङ्ग्रहालयमा ‘नेपालमा भारतीय चित्रकला प्रदर्शन’ शीर्षकमा प्रदर्शनीमा राखिएका हुन् ।
प्रदर्शनीको उद्घाटन गर्दै राजदूत रायले आफू सदा नेपाली र भारतीय कलाको आदानप्रदान तथा प्रदर्शनीमा रुचि राख्ने व्यक्ति भएको खुलासा गर्दै भारतदेखि नेपाल आई कला प्रदर्शन गर्ने कलाकारहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो । यस्तै, दूतावासका प्रेस, सूचना तथा संस्कृति विभाग प्रमुख अभय कुमारले पनि नेपालसम्म आएर कला प्रदर्शनी गर्न उत्साह दर्शाउने कलाकारहरूप्रति बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका तर्फबाट आभार प्रकट गर्दै कला आदानप्रदान गरी दुई देशबीच सांस्कृतिक प्रगाढता बढाउन पहल गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

डेनिस दूतावासद्वारा प्रहरीलाई लाखौँको उपहार
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई डेनिस राजदूतावासले अत्याधुनिक डीएनए उपकरणलगायतका अपराध–अनुसन्धानसम्बन्धी उपकरणहरू उपहार प्रदान गरेको छ । अपराध–अनुसन्धान उपकरण ६० थान, क्यामेरा ३५ थान, कम्प्युटर ६ थान र प्रयोगशालामा प्रयोग हुने रासायनिक तत्वहरू गरी कुल पाँच लाख ३४ हजार नौ सय ४१ अमेरिकी डलरबराबरका विधिविज्ञान उपकरणहरू सहयोगस्वरूप प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सामाखुसीस्थित उक्त प्रयोगशालामा सोमबार एक समारोह आयोजना गरी ती सामग्री प्रदान गरिएको हो ।
अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई नेपालस्थित डेनिस राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले उक्त उपकरणहरू हस्तान्तरण गरेका हुन् । प्रहरी नायव महानिरीक्षक शाह र राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले उक्त प्रयोगशालाको संयुक्त रूपमा उद्घाटनसमेत गरेका थिए । प्राप्त उपकरणहरूले अपराध अनुसन्धानमा प्राप्त सबुदको वैज्ञानिक परीक्षणका लागि नेपाल प्रहरीलाई अत्यन्तै ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै शाहले महत्वपूर्ण सहयोगका लागि डेनिस सरकारप्रति हार्दिक आभार व्यक्त गरे । अपराधी पहिचानको लागि सफल अनुसन्धान गर्न उपकरणहरू अत्यन्तै उपयोगीसिद्ध हुने भएकाले यसबाट नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धानमा क्षमता वृद्धि हुनुको साथै आधुनिक अनुसन्धान पद्धतिको बिकासमा समेत उल्लेखनीय सहयोग पुग्ने उनको धारणा थियो ।
नेपालस्थित डेनिस राजदूतावासका नायव नियोग प्रमुख यान मोलर ह्यान्सेनले समाजमा शान्तिसुरक्षा कायम गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने नेपाल प्रहरीलाई उसको कार्यमा वैज्ञानिक एवम् सहज तरिकाले कार्य गर्ने वातावरण बनाउन मद्दत पु¥याउने यस्ता उपकरण सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको उल्लेख गरे ।

स्काउटमा पनि भाँडभैलो
नेपाल स्काउटमा अनुशासनको खोजी गर्न र त्यसभित्र व्यापक रूपमा भ्रष्टाचार, अनियमिता, नातावाद, कृपावाद व्याप्त हुनुका साथै योग्यता नपुगेका आयुक्तहरूको वर्चस्व रहेको भन्दै नेपाल स्काउटका युवा सदस्यहरूले लैनचौरस्थित नेपाल स्काउटको केन्द्रीय कार्यालयमा कालो स्कार्फ प्रदर्शन गरी धर्ना दिएका छन् । विगत दुई वर्षदेखि नेपाल स्काउट प्रगतिशील सङ्घर्ष समिति गठन गरी विभिन्न किसिमका दबाबमूलक कार्यक्रम गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि युवा स्काउटरहरूले गत २ गते तीनसूत्रीय माग राखी पदीय हिसाबले स्काउटप्रमुखसमेत रहेका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई सातदिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । प्रमुख आयुक्त श्रीराम लामिछानेको राजीनामा, तदर्थ समितिको गठन र ऐननियम पुनर्लेखनसहितको माग राखेर ज्ञापनपत्र बुझाएको निकै दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाइएको छ । कालो स्कार्फ प्रदर्शन, नेपाल स्काउट र युवा तथा खेलकुद मन्त्रालयमा धर्नादेखि रिले अनशन हुँदै आमरण अनशनसम्मको आन्दोलनको कार्यक्रम रहेको बताइएको छ ।
विश्वमा स्काउटिङ युवाहरूका लागि लक्षित गरी तयार पारिएको नौलो किसिमको शैक्षिक कार्यक्रम भए पनि नेपालमा भने वृद्ध र पुरातन सोच भएकाहरूको अवकाशको जीवन बिताउने थलो बन्दै गएकोमा युवा स्काउट सदस्यहरूले गुनासो राखेका छन् । साथै ०६१ साल वैशाखमा चितवनस्थित टिकौलीमा भएको दोस्रो राष्ट्रिय ज्याम्बोरीको खर्च विवरण हालसम्म पनि बाहिर नल्याउनु, नेपाल स्काउटवरपर बनेका व्यावसायिक भवन बिनाटेन्डर निर्माण गरिनु र नेपाल स्काउटलाई घाटामा देखाएर आयुक्तहरू मनोमानी तवरले विदेश भ्रमण गर्नुले नेपाल स्काउटमा व्यापक आर्थिक चलखेल हुने गरेको आरोप युवा स्काउटरहरूले लगाउँदै आएका छन् । अनुशासन सिकाउने संस्थाका रूपमा चिनिने ‘नेपाल स्काउट’ नै यसरी आन्दोलित बनेको सन्दर्भलाई सम्बन्धित निकायले कसरी सम्बोधन गर्ने हो, प्रतीक्षाको विषय बनेको छ ।

ग्यालरी सञ्चालनको आवरणमा बेग्लै धन्दा
दुर्लभ वन्यजन्तुका आखेटोपहार तथा पुरातात्विक महत्वका वस्तुसहित ललितपुर उपमहानगरपालिका–१५ घर भई ललितपुर कुपण्डोलमा निजी हस्तकला सङ्कलन केन्द्र (प्राइभेट ग्यालरी) सञ्चालन गर्दै आएका ४२ वर्षीय सुदनरत्न शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । ग्यालरीको नाममा गैरकानुनी रूपमा वन्यजन्तुको आखेटोपहार तथा पुरातात्विक महत्वका वस्तुहरू बिक्री–वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले शाक्यको ग्यालरीमा खानतलासी गर्दा वन्यजन्तुका आखेटोपहारका साथै पुरातात्विक महत्वका विभिन्न चिजवस्तुहरू बरामद भएका थिए । उक्त ग्यालरीबाट आठ सय ग्राम तौल भएको हात्तीको दाँतले बनेको शङ्ख फुकिरहेको मान्छेको आकृति, ६ सय ७३ ग्राम तौल भएको हात्तीकै दाह्राले बनेको मानिसले शारीरिक व्यायाम गरेकोजस्तो आकृति, लम्बाइ २१ सेमी तथा दुई सय ४७ ग्राम तौल भएको जरायोको सिंगले बनेको कलात्मक सामग्री, लम्बाइ १२ इन्च तथा तौल सात सय १६ ग्राम तौल भएको जरायोको सिंगकै अर्को सामग्री, लम्बाइ ८.५ इन्च तथा ९७ ग्राम तौल भएको मृगको सिंगको एक आकृति, लम्बाइ ६ इन्च तथा ६४ ग्राम तौल भएको कछुवाको खपटाको वस्तु, ८० ग्राम तौल भएको हात्तीको दाह्राबाट बनेको देवीको आकृति, ४ केजी एक सय ९० ग्राम तौल भएको हात्तीको दाह्रा, लम्बाइ दुई फिट र चौडाइ ६ इन्च १० सेमी भएको दुवैतर्फ काठको कभरभित्र राखिएको १० किलो एक सय ६५ ग्राम तौल भएको तिब्बतीयन लिपिमा रहेको बौद्ध ग्रन्थ आदि बरामद भएको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ तथा प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको अपराधमा निजलाई आवश्यक कानुनी कारबाही भइरहेको उक्त ब्युरोले जनाएको छ ।

जागिर लगाइदिने भन्दै कर्मचारीद्वारा ठगी
नेपाल कृषि अनुसन्धान परिषद्मा जागिर लगाइदिने भन्दै परिषद्मै कार्यरत कर्मचारी दम्पतीले करोडौँ ठगी गरेको खुलासा भएको छ । परिषद्की प्राविधिक सहायक गौरीमाया घिमिरे र उनका श्रीमान् गोविन्दले १७ जनासँग जनही ६ लाखका दरले रकम उठाएर ठगी गरेका हुन् । गौरीमायाले आफूलाई चुनावी सरकारका पूर्वप्रमुख खिलराज रेग्मीकी साख्खै बहिनी हुँ भन्दै परिषद्मा जागिर खान चाहने बेरोजगार महिला तथा पुरुषलाई जालमा पारेको बताइएको छ । त्यसरी ठगिनेमा धेरैजसो धनकुटा, झापा र काठमाडौंका युवायुवती रहेका छन् । आश्चर्य त के छ भने त्यत्रो रकम ठगेर पनि गोविन्द कार्यालयमै हाजिर भइरहेका छन् भने गौरीमाया कार्यालयमा गयल रहे पनि हाजिरकापीमा उनको हाजिरी जनिइरहेको छ । पीडितहरूले प्रहरी निकायमा खबर गर्दा पनि प्रमाण नपुगेको भन्दै प्रहरीले कुनै कारबाही नगरेको पीडितहरूको गुनासो छ । गोविन्दसमक्ष पीडितहरूले श्रीमती भेटाइदिन आग्रह गर्दा ‘मेरी स्वास्नीले कहाँ–कहाँ के–के गर्छे मलाई जानकारी हुँदैन’ भन्दै पन्छिने गरेको ठगीमा परेकी रिता दंगालले बताइन् । सो कार्यालयका हाकिमदेखि पियनसम्मले पनि यस प्रकरणमा कुनै चासो नदिएर ठगहरूलाई सघाएको उनको कथन छ । जागिर लगाइदिने भन्दै नक्कली फर्म भराएको बेला पती–पत्नी दुवै मिलेर फर्म भराएका पीडितहरूको दाबी छ ।
यसरी खुलेआम ठगी गरे पनि पीडकलाई कारबाही गर्नुको साटो कार्यालयमा उपस्थित नै नभई हाजिरी जनाइदिएर कार्यालयका हाकिमले पनि ठगीमा मिलेमतो जनाएको भन्दै पीडितहरूले केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ढोका ढक्ढक्याउन लागेका बुझिएको छ ।

जिउँदै गाडिएका सहिदको सम्झना
प्रजातन्त्रका सेनानी सहिद हरिप्रसाद गुरुङको ९८औँ जन्मजयन्ती कास्की पोखरामा गत शुक्रबार मनाइएको छ । पञ्चायती निरङ्कुशताविरुद्ध लड्दा तत्कालीन सरकारले २०१८ साल माघ १८ गते चितवनको भरतपुरमा गुरुङलाई जिउँदै गाडेको थियो । गुरुङलाई ०४६ सालको जनआन्दोलनपश्चात् गठित नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले सहिद घोषणा गरेको थियो । तत्कालीन पञ्चायती सरकारले गुरुङसहित अन्य तीनजनालाई जिउँदै गाडेको थियो । उनै स्वार्गीय गुरुङको स्मृतिमा सहिद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी पोखरामा स्मृति दिवस मनाएको हो ।
स्मृतिसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाटले सहिदको बाटो अवलम्बन गर्न सके मात्र सहिदको सपना पूरा हुने बताए । सहिद हरिप्रसादजस्ता योद्धाहरूले पञ्चायतका विरुद्ध लडेका कारण नै जनताले लोकतन्त्रको आभास गर्न पाएको उनको कथन थियो । रानाभाटले जुनजुन नामका आन्दोलनमा सरिक भएका भए पनि सहिदहरूको सपना सुन्दर नेपाल बनाउनु नै रहेकाले यसमा सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिए । वर्तमानमा देखिएको अन्योल केही समयपछि हटेर जाने विश्वास व्यक्त गर्दै रानाभाटले सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले नै समयमै संविधान जारी गर्ने दाबी गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस कास्की कार्यवाहक सभापति विष्णु बास्तोलाले सहिदको सपना साकार गर्नका लागि आ–आफ्नो ठाउँबाट इमानदार भएर लाग्नुपर्ने बताए भने पूर्वसभापति शोभियतबहादुर अधिकारीले लोकतन्त्रको संस्थागत विकास गर्नका लागि केही समय धैर्य गर्नुपर्ने सुझाव दिए । काङ्ग्रेस नेता खेमराज पौडेलले सहिद हरिप्रसाद गुरुङले दिएको योगदानको सरकारबाट उचित कदर गर्नुपर्ने औँल्याए । त्यसैगरी जिल्ला सचिवद्वय कृष्ण केसी र युवराज कुँवरले सहिद गुरुङले पार्टी र देशका निमित्त गरेको योगदानको कदर गर्दै सहिदको सपना पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिष्ठानका अध्यक्ष समबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रचार विभाग सदस्य राजबहादुर गुरुङ, कास्की क्षेत्र नम्बर ४ सभापति आइबहादुर गुरुङ, नेपाल महिला सङ्घ कास्कीका अध्यक्ष तारा अधिकारी, नेपाल तरुण दल कास्कीका अध्यक्ष ऋषि काफ्ले, नेता टंकनाथ पौडेललगायतले सहिद गुरुङले दिएको योगदानका बारेमा चर्चा गरेका थिए । पोखरेली साङ्गीतिक प्रशिक्षणबाट सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत भएको कार्यक्रममा सहिद गुरुङका परिवार, आफन्तजन, राजनीतिकर्मीलगायतका व्यक्तिहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

जिउँदा सहिद उप्रेती रहेनन्
रूपन्देही/ नेपाली काङ्ग्रेसका जिउँदा सहिद घनश्याम उप्रेतीको निधन भएको छ । लामो समयदेखि बिरामी रहँदै आएका उप्रेतीको ८१ वर्षको उमेरमा आफ्नै निवास रूपन्देहीको मक्रहर पेटरानीमा गत साता निधन भएको हो ।
०४० फागुन २० गते रूपन्देहीको केरवानी सुरजपुरा घटनामा तत्कालीन पञ्चायती शासकले मरणासन्न हुने गरी कुटपिट गराएर मरेको ठानी उनलाई फालिएको थियो । पछि उप्रेती जीवित भेटिएपछि काङ्ग्रेसले ‘जिउँदो सहिद’को उपाधि दिएको हो ।
त्यतिबेला सङ्गठन विस्तारका क्रममा सुरजपुरा पुगेका पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शैलेजा आचार्यलगायत विभिन्न नेता–कार्यकर्तामाथि पञ्चायतका गुण्डाहरूद्वारा आक्रमण गराइएको थियो । कोइरालाको ज्यानै लिने नियतले घटाइएको ठानिँदै आएको सो घटना ‘सुरजपुरा काण्ड’का रूपमा चिनिन्छ ।
०७ मै राणाविरोधी आन्दोलनमा सक्रिय रहेका स्वर्गीय उप्रेती ०१७ मा भूमिगत भएका थिए । उनले ०३६ को जनमतसङ्ग्रह, ०४२ सत्याग्रह र ०४६ को जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । जिउँदा सहिद उप्रेतीको निधनमा नेपाली काङ्ग्रेस रूपन्देहीले गहिरो शोक प्रकट गर्दै मक्रहर पेटरानीमा आयोजित शोकसभामा उप्रेतीको शवमा पार्टीको झन्डा ओडाएर सम्मान गरेको छ । नेपाली काङ्गे्रसका जिल्ला सभापति तथा सभासद् अब्दुल रज्जाक, केन्द्रीय सदस्य बाबुराम राना, पूर्वमन्त्री दुर्योधनसिंह चौधरी, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला सचिव हीराबहादुर खत्री, महासमिति सदस्य मणिप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, खुम भण्डारी, महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, रोमणीप्रसाद पाठक, जिल्ला सदस्य प्रेमनारायण खरेल, क्षेत्रीय सभापति विश्वनाथ यादव, शक्तिप्रसन्न गिरी, हरिप्रसाद काफ्ले, वैजनाथ सहानी, गाउँ सभापति व्यासमुनी चौधरी, युनिक अन्सारी, हरिलाल पाण्डे, चुरामणि भट्टराई, शिक्षक सङ्घका अध्यक्ष कुलप्रसाद लामिछाने, तरुण दलका मोहन जीसीलगायतले स्वर्गीय उप्रेतीले पार्टीका लागि पु¥याएको योगदानको चर्चा गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

वार्सिलोनामा एनआरएनको चहलपहल
वार्सिलोना, (स्पेन)/ गैरआवासीय नेपाली सङ्घको सातौँ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौँ महिला भेला आगामी जुन ७ र ८ का दिन स्पेनको वार्सिलोनामा आयोजना गरिने भएको छ । युरोपियन क्षेत्रमा रहेका राष्ट्रिय समन्वय परिषद्बीचको सम्बन्ध बढाउँदै क्षेत्रीय सवालहरूमा केन्द्रित रहेर सहकार्य र आत्मनिर्भरताका लागि छलफल गर्ने तथा युरोपमा रहने नेपालीका समस्याका लागि समाधानका उपायहरू पहिचान गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको बताइएको छ ।
युरोपका २७ राष्ट्रका प्रतिनिधिको सहभागितासँगै एनआरएनका अभियन्ता, आईसीसीका पदाधिकारीसहित करिब तीन सयभन्दा बढीको उपस्थिति रहने अपेक्षा गरिएको उक्त कार्यक्रमका लागि वार्सिलोनाको मुटुमा रहेको फिरा कङ्ग्रेस होटेल तोकिएको र सहभागीका लागि करिब सयवटा कोठाहरू बुक गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता, सामूहिक लगानी, परोपकारी कोष, नेपालको आर्थिक कूटनीतिक नीति, सीप तथा नेपाली उत्पादनको बजार विस्तारजस्ता सवालहरूमा विभिन्न समिति तथा उपसमितिहरूबाट आएका विभिन्न सवालहरूलाई प्राथमिकताका आधारमा छनोट गरेर प्रस्तावित योजना र कार्यक्रमबारे छलफल केन्द्रित हुने बताइएको छ ।
कार्यक्रमको तयारीबारे जानकारी दिँदै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का युरोपियन संयोजक अर्जुनकुमार श्रेष्ठले कार्यक्रमलाई भव्य बनाउन युरोपमा रहेका नेपाली कूटनीतिक नियोगका प्रमुखलगायत वार्सिलोनामा रहेका उच्च ओहोदाका व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको बताउनुभयो । उहाँले उक्त कार्यक्रममा युरोपियन क्षेत्रका सवाल तथा समस्यामाथि छलफल गरेर सामूहिक धारणा, नीति तथा कार्यक्रम बनाइने बताउनुभयो ।
गैरआवासीय नेपाली सङ्घ युरोपियन सहसंयोजक सोम सापकोटाका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अगाडि बढेकोे र कार्यक्रममा विशिष्ट व्यक्तित्वहरूको सहभागिताका लागि आमन्त्रण गर्ने कार्य जारी रहेको छ भने कार्यक्रम आयोजक गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरीले कार्यक्रम अहिलेसम्म भएका क्षेत्रीय भेलाहरूभन्दा उत्कृष्ट बन्ने दाबी गर्नुभएको छ ।
– गुणराज शर्मा/दीपक क्षेत्री

दक्षिण भारतमा नेपाली जनसम्पर्क समिति
नेपाली जनसम्पर्क समिति दक्षिण भारतको महाधिवेशन नेपाली काङ्ग्रेसका विदेश विभाग सदस्य महेन्द्र शर्मा भुसाल, समितिका सभापति बाबुराम शर्मा, केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त आचार्य, कृष्ण आचार्य, काशीराम आचार्य, नन्दराम अधिकारी, रामप्रसाद रिमाल, कान्तीप्रसाद धमला र नेवि सङ्घ बागलुङका अध्यक्ष हरि सुवेदीको उपस्थितिमा सम्पन्न भएको छ । अधिवेशनबाट कमल गुरुङको अध्यक्षतामा राजबहादुर कुँवर, ठाकुरप्रसाद शर्मा र केशव सुवेदी (उपाध्यक्ष), महासचिवमा योगेन्द्र गौतम, सह–महासचिवमा धनबहादुर केसी, कोषाध्यक्षमा दुर्गाबहादुर कार्की तथा सदस्यहरूमा नन्दसिंह बोगटी, शिवप्रसाद शर्मा, बृषबहादुर बिक, लोकबहादुर साउद, प्रेमप्रसाद ढकाल, शशिधर शर्मा, ज्योतिन्द्रनाथ आचार्य, जनक जनेला, ठाकुर गैरे, रेशम शाह, समन्वय समितिमा श्यामलाल पौडेल, सोभाखर आचार्य र कमानसिंह भण्डारी तथा सल्लाहकार समितिमा अर्जुन पौडेल, इन्द्रराज अधिकारी र गोविन्द भण्डारीलगायत चयन भएका छन् ।
यसैगरी, नेपाली जनसम्पर्क समिति भारतअन्तर्गत मध्यभारत क्षेत्रको नवौँ अधिवेशन भोपालमा सम्पन्न भएको छ । अधिवेशनद्वारा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले पद र गोपनियताको सपथ दिलाएका छन् । नरिनारायण पन्थको अध्यक्षतामा नवगठित समितिका सदस्यहरूमा पिताम्बर पराजुली, दामोदर बेलवासे, इश्वरीप्रसाद खनाल, गोपाल जोशी, घनश्याम पाण्डे, बोधराज पाण्डे, रामप्रसाद खनाल, तिलकराम पाण्डे, श्रीमती मथुरादेवि र जनकराज बेलवासे बस्याल रहेका छन् भने प्रमुख सल्लाहकारमा रामनाथ अधिकारीलाई चयन गरिएको नेपाली जन सम्पर्क समिति (भारत)ले जनाएको छ ।

लेक लागेर भारतीय पर्यटकको मृत्यु
हिमाली क्षेत्रको टे«किङ गर्ने सिलसिलामा सोलखुम्बु खुमजुङ–६ देवुचे पुगेका भारतीय पर्यटक २५ बर्षीय प्रवीरप्रताप सिंहको लेक लागेर मृत्यु भएको छ । स्थानीय गधौन एभरेष्ट होटलमा बास बसेको अवस्थामा अचानक लेक लागेर असक्त भएका उनलाई उपचारको लागि हेलिप्याडतर्फ लैजाने क्रममा गत आइतबार बाटैमा मृत्यु भएको हो ।
यसैगरी नवलपरासी दुम्कीवास–६ दाउन्नेस्थित महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय २० बर्षीया पुर्णीमा गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

सडकमा लगानी बालुवामा पानी
पटके मर्मतमै दुईदेखि चार अर्बको बजेट सकिन्छ, तर सडकका खाल्डा भने कहिल्यै सकिँदैनन्
– दिनेश सुनार
सरकारले राजमार्ग तथा सहायक मार्गको मर्मतसम्भार गर्न वार्षिक दुईदेखि चार अर्बसम्म लगानी गरेर सडकलाई खाल्डा–खुल्डीरहित, स्तरीय र भरपर्दो बनाएको दाबीसहित प्रतिवेदन दिन्छ, तर खाल्डाखुल्डीले सडकलाई कहिल्यै छाड्दैन । जनताले तिरेको करबाट नेपाल सरकारले सडक बोर्ड, सडक विभाग, जिल्ला विकास समिति, नगरपालिका र कृषि सडक विस्तार आयोजना (डोलिडार)मार्फत सडकको मर्मत सुधार तथा स्तरोन्नति गर्ने गर्छ । जनताले तिरेको कर कहाँ हिँड्छ, जनता हिँड्ने सडकमा भने खाल्डैखाल्डा हुन्छ । र त सबैले भन्ने गरेका छन्, ‘हाम्रो सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्छ ।’ सरकारले बोर्डमार्फत सडक विभाग, जिल्ला विकास समिति र नगरपालिकालाई मर्मतसम्भार गर्न दिन्छ, तर सडकमा भने खाल्डा कहिल्यै हराउँदैनन् । सडक विभागअन्तर्गतको सडक सम्भार महाशाखाका उपमहानिर्देशक रवीन्द्रनाथ श्रेष्ठको दाबी छ, ‘हाम्रो सडक ९० प्रतिशत अति राम्रो छ ।’
सरकारले हरेक वर्ष सात हजार किलोमिटरको नियमित मर्मतसम्भार गर्ने गरेको छ । सडकको नियमित मर्मत गर्दा सडक किनाराको मर्मत, घाँस सफा गर्ने, ढल सफा गर्ने, कल्भर्ट सफा गर्ने, ढललाई सामान्य रूपमा फेरबदल गर्ने, पुलको सफाइ, सडक बढार्ने, सामान्य खालको पहिरो वा भूस्खलन हटाउने र सडकमा राखिएका अन्य संरचनाको सफाइ गर्ने काम मात्र हो ।
पटके मर्मतसम्भारसम्बन्धी व्यवस्था खाल्डाखुल्डी टाल्ने, कालोपत्रे तथा ग्राभेल सडकमा पटहोल प्याचिङ, ढल कल्भर्ट पहिरो सफा, माटेढल मर्मत आदि काम गर्नेछन् । यति काम सक्दासम्म सरकारले दिएको दुई अर्बदेखि चार अर्बसम्मको बजेट सकिन्छ, तर सडकका खाल्डा भने जहाँको त्यहीँ रहन्छन् ।
सडक बोर्डका कार्यकारी निर्देशक रमेशनाथ बास्तोलाका अनुसार सडकको यस्तो हालत आउनुमा सडकको डिजाइन अवधि सकिनु तथा अर्थ मन्त्रालयले मागेजति रकम नदिँदा भएको हो । बोर्डले भने सडक मर्मत गर्न वार्षिक आठ अर्ब रुपैयाँ आवश्यक रहेको माग अर्थ मन्त्रालयमा पठाउँछ । तर, बजेट आउँदा मागको ४० प्रतिशत पनि आउँदैन ।
सरकारले सडकको मर्मत तथा सम्भार गर्न ०५९ मा छुट्टै निकाय ‘सडक बोर्ड’ बनाए पनि सडकको अवस्थामा परिवर्तन आउन सकेको छैन । जनताबाट हरेक वर्ष सडक कर तथा यातायात कर र सडक दस्तुरका नाममा उठाएको रकम मात्र दिए पनि सडकको अवस्था अझ राम्रो गर्न सकिने बाँस्तोलाको भनाइ छ । तर, बोर्ड भन्छ– अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थ पैठारी गर्दा आएको सडक मर्मत दस्तुर पनि पूरा आउँदैन, कसरी सबै सडकलाई राम्रो बनाउने ?
भौतिक तथा योजना मन्त्रालयको तथ्याङ्कअनुसार सरकारले विनियोजन गरेको बजेटको ५५ प्रतिशतभन्दा कम मात्र काम र बजेट खर्च हुने गरेको छ । सडक बोर्डले मर्मतसम्भार गर्ने राजमार्ग तथा सहायक मार्गको लम्बाइ १४ हजार चार सय ४८ किलोमिटर रहेको छ । बोर्डले वर्षमा जम्मा चार सय २९ किलोमिटर मात्र अद्यावधिक मर्मत गर्ने गरेको छ । सडक बोर्डले आव ०६९/७० मा चार सय २९ किलोमिटरको आवधिक मर्मत र सात हजार चार सय ५४ किलोमिटरको सडकको नियमित तथा पटके र आकस्मिक मर्मत गरेको जनाएको छ । तर, बोर्डअन्तर्गत निर्माणाधीन दुई राजमार्ग हुलाकी राजमार्ग (एक हजार पाँच किलोमिटर) र मध्यपहाडी लोकमार्ग (एक हजार सात सय ७६ किलोमिटर) सहित पाँच हजार दुई सय ५७ किलोमिटर मात्रमा सवारी सञ्चालनमा छैनन् ।
सहरी सडक निर्माण तथा सम्भार दस्तुरको नाममा सरकारले वर्षमा दुई अर्ब ३० करोडबराबरको रकम उठाउने गरेको छ । तर, सडकको अवस्था भने झन्भ्mन् बिगिँ्रदै गएको छ । सरकारले गरेको लगानी केही ठेक्कापट्टामा संलग्न व्यवसायीभन्दा अरूले फाइदा लिन सकेका छैनन् भन्दा अत्युक्ति नहोला । व्यवसायीले ठेक्का लिने, पुनः सम्पर्कमा नआउने र समयमा काम सक्दैनन् । जनता सधँै सास्ती भोग्न बाध्य छन् । यसमा सरकारले काम नगर्ने कम्पनीलाई कारबाही गर्न नसक्ने र कर्मचारीकै मिलेमतोका कारण यस्तो हुने गरेको छ ।
भौतिक प्रगति कागजमा मात्र देखिन छाडेको छैन । अर्बांै रुपैयाँको कागजी विकासका कारण जहिल्यै समस्या आउने गरेको छ । सरकारले विनियोजन गरेको बजेट सकिन्छ, तर यो रकम कहाँ जान्छ भन्ने प्रश्नचाहिँ प्रत्येक सचेत नागरिकमा पैदा हुने गरेको छ ।

बागमती सफाइमा नेपाली सेना
बागमती सरसफाइ अभियानमा योगदान पु¥याउने उद्देश्यले नेपाली सेनाको उपत्यका पृतना हेडक्वार्टरको संयोजकत्वमा करिब पाँच सय सैनिक जवान परिचालन गरी बागमती सरसफाइ कार्यक्रमअन्तर्गत गुह्येश्वरी इलाकामा सरसफाइ कार्य गरिएको छ । नेपाली सेनाको तर्फबाट गत शनिबार बिहान उक्त जनशक्ति परिचालन गरी बागमती नदीमा रहेको फोहोर व्यवस्थापन गरी सरसफाइमा योगदान पु¥याइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सरसफाइ कार्यक्रममा अन्य सुरक्षा निकाय, सरसफाइ अभियानमा संलग्न विभिन्न सङ्घ संस्थाहरू एवम् सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । सरसफाइसम्बन्धी क्रियाकलाप सफल बनाउन आप्mनोतर्फबाट योगदान दिँदै आएको र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता सेनाले जनाएको छ ।

ट्रेड युनियन र सहकारिताबारे गोष्ठी
क्लास नेपाल र फ्रेडरिक इबर्ट स्टिफुङको सहकार्यमा ट्रेड युनियन र सहकारिता विषयक दुईदिवसीय गोष्ठी सम्पन्न भएको छ । उक्त दुईदिवसीय कार्यक्रमको उद्घाटन गर्दै सहकारी क्षेत्रमा सक्रिय केशव बडालले सहकारिता र ट्रेड युनियन आन्दोलनको महत्वमाथि प्रकाश पार्दै कुल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशतको सहभागिता सहकारिताका क्षेत्रबाट हुँदै आएको उल्लेख गरे । प्रमुख अतिथि बडालले सहकारिताको दर्शन, सिद्धान्त, मूल्य–मान्यताबाट सहकारीहरू विमुख हुँदै गएको देखिएकाले निरन्तरको अध्ययन तथा सहभागिताले मात्रै सहकारिताको क्षेत्र सबल हुने बताए ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुरेश प्रधानले मन्त्रालयले सहकारी नीतिको व्यवस्था गरिसकेकाले यस किसिमका गोष्ठीहरूबाट प्राप्त सुझावहरूले नीति कार्यान्वयनमा सहज हुने बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विभिन्न क्षेत्रहरूमा सहकारिताको माध्यमबाट विकास गर्न सकिने बताए ।
कार्यक्रममा एफईएसका प्रतिनिधि देवराज दाहाल, यूएनआई एप्रोका राजेन्द्र आचार्य, जिफन्टका केशव दवाडी, उमेश उपाध्याय, नेपाल ट्रेड युनियन काङ्ग्रेसका उपाध्यक्ष गणेश निरौला, शंकर लामिछाने र क्लास नेपालकी दीपा भारद्वाजले ट्रेड युनियन र सहकारिताका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा दीपा भारद्वाजले ट्रेड युनियनको मजबुतीमा सहकारीको भूमिका विषय कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने दोस्रो सत्रमा गणेश अर्यालले सहकारीको माध्यमबाट उद्यमशीलता र रोजगारी विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन प्रस्तुत कार्यपत्र र छलफलबाट सिर्जित निष्कर्षलाई रणनीतिक अवधारणाका रूपमा प्रस्तुत गरियो । कार्यक्रममा सत्तरीजनाभन्दा बढी ट्रेड युनियनकर्मी तथा विविध क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो ।