मोफसलतर्फ प्रस्थान गर्नुको पीडा भोग्दै डा. थापा

मोफसलतर्फ प्रस्थान गर्नुको पीडा भोग्दै डा. थापा


bicharव्यक्तिचित्र
न्युरो सर्जनका रूपमा ख्याति कमाएका डा. बालकृष्ण थापासँग पङ्क्तिकारको पहिलो भेट तथा चिनजान करिब ३४ वर्षअघि पार्टीविशेषको साङ्गठनिक क्रियाकलापका दौरान कुशादेवीमा भएको हो । वामपन्थी पृष्ठभूमिको विद्यार्थी राजनीतिक क्रियाकलापको सिलसिलामा भएको उक्त भेट यति लामो अवधिसम्म ताजा र झन्–झन् गाढा होला भन्ने कुनै अनुमान गरिएको थिएन । पङ्क्तिकारको राजनीतिक आस्थामा समयसापेक्ष रूपमा आएको परिवर्तन र पेसागत दायित्व निर्वाहसँगै दलीय राजनीतिक क्रियाकलापमा संलग्न नभई स्वतन्त्र र सचेत नागरिकको भूमिकामा रहने डा. थापाको अठोटपछि पनि हाम्रो मित्रवत् सम्बन्धको न्यानोपनमा कुनै फरक परेन । सम्बन्धको यो प्रगाढता कसरी सम्भव भयो भन्ने जिज्ञासा आफैँभित्र पनि यदाकदा उठ्ने गर्छ । यस्तै जिज्ञासाको पृष्ठभूमिमा डा. बालकृष्ण थापाबारे केही पङ्क्ति कोरिएका हुन् ।
डा. थापा फिलोसफर माइन्डेड व्यक्ति हुन् भन्ने चिनजान भएदेखि नै कता–कता मलाई लागिरहन्थ्यो । लगभग साढे तीन दशकको यस अवधिमा यो धारणा झन् प्रबल बन्दै आएको महसुस हुन्छ । हुन पनि प्रमाण र तर्कबिना कुनै पनि कुरा नगर्ने उहाँको स्वभाव छ । उहाँका कतिपय भविष्यवाणीहरू अपत्यारिला लागे पनि वास्तविक ठहरिएका छन् । राजनीतिक होस् वा सामाजिक, पेसागत वा व्यावहारिकतासम्बन्धी, जुनसुकै पाटोमा पनि उहाँको हेर्ने दृष्टिकोण, तर्कशैली र विश्लेषण अत्यन्त गहन प्रकृतिका हुन्छन् । देश राजनीतिज्ञहरूको पेवा होइन, उनीहरूले मात्र देश चलाउन सक्दैनन् भन्ने दृढ मान्यता उहाँले पङ्क्तिकारसँग मुलुकमा गणतन्त्र घोषणा गरिनुभन्दा धेरै अघि नै व्यक्त गर्नुभएको हो । बुद्धिजीवी त्यो हो जसले राजनीतिलाई ठाउँमा ल्याउन सक्छ भनी उहिल्यैदेखि भन्नुहुन्थ्यो उहाँ । उहाँको विचारमा सबै राजनीतिक शक्तिको अन्तिम लक्ष्य भनेको समाजको विकास हो, त्यसैले राजनीतिज्ञहरू समाजशास्त्री हुनुपर्छ । समाजशास्त्रलाई माक्र्सले व्याख्या गरे, तर माक्र्सवाद पूर्ण समाजशास्त्र होइन, यो त त्यसको प्रवेशद्वार मात्र हो । यसबाट भित्र छिरेपछि बल्ल समाजशास्त्र सुरु हुन्छ । डा. थापाका अनुसार नेपाली राजनीतिको ठूलो गल्ती के हो भने प्रजातान्त्रिक शक्तिहरू माक्र्सवादको ढोकातिर चिहाउनै चाहँदैनन्, वामशक्तिहरू मूल द्वारलाई नै अन्तिम (लक्ष्य) ठान्दछन् । उहाँको यो तर्कमा प्रचुर गहनता या दार्शनिकता छ । विद्यालय तहदेखि कलेजजीवनमा पनि उहाँ धारिला या तिखारिला (तीक्ष्ण) हुनुहुन्थ्यो, प्रखरवक्ता हुनुहुन्थ्यो डा. थापा त्यो जमानादेखि नै । जनआन्दोलन–१ र २ मा उहाँको आफ्नै स्थानको लिडरसिप र संलग्नता आजका नेता–परिनेताका भन्दा धेरै उच्च थियो भन्ने लाग्छ, जुन कुरा उहाँको चिरफार नामक पुस्तकमा पनि प्रस्ट उल्लेख छ । राज्य सञ्चालन राजनीतिले गर्छ र राज्यका सबै इन्जिनचाहिँ बुद्धिजीवीले चलाउँछन् भन्ने मान्यता बोक्ने उहाँ राज्यका अवयवहरूमा राजनीति हाबी हुनुहँुदैन भन्नुहुन्छ । त्यहाँ त पेसागत धर्म हाबी हुन्छ भन्ने उहाँको प्रस्ट धारणा छ । राजनीति एउटा गाडी हो भने बुद्धिजीवी गाडीको इन्जिन भनी उहाँ बारम्बार भन्ने गर्नुहुन्छ । जसरी गाडीको इन्जिन बाहिर नदेखिईकनै गाडी चलाउँछ, त्यसैगरी बुद्धिजीवी पनि राजनीतिमा प्रत्यक्ष देखिनुहुँदैन, तर राजनीति सञ्चालन गर्नुपर्छ भन्ने अभिव्यक्ति उहिल्यै–उहिल्यै नै दिनुहुन्थ्यो डा. थापा । हो, हुनुपर्ने त यस्तै नै हो, तर आजको अवस्था भने यसभन्दा फरक छ । यसैले नै त आजको राजनीति नै विकृत भइरहेको सबैले अनुभूति गरिरहेका छन् ।
डा. थापा आजभन्दा १२ वर्षअघि एक न्युरोसर्जनको परिचय बनाएर समाजसामु उभिनुहुँदा अखबारमा उहाँको पहिलो अन्तर्वार्ता पङ्क्तिकारले नै प्रकाशित गरेको थियो । उक्त कुराकानीमा डा. थापाले तीन तरिकाले न्युरोसर्जन बन्न सकिने विश्लेषण गर्नुभएको थियो, जसलाई कतिले त पचाउनै सकेनन् । तर, अन्ततोगत्वा त्यही नै सत्य रहेछ भन्ने आज देखिँदै छ ।
मुलुकको राजधानी भएकोले काठमाडौंमै उहाँजस्ता कुशल तथा विज्ञ चिकित्सकले एक्सपोजर पाउने र प्रगतिका खुड्किला पनि छिटो र सजिलै उक्लन सकिने तर्क गर्दै पङ्क्तिकारले त्यसबेला उहाँलाई काठमाडौंमै रहन सुझाव दिँदा काठमाडौंबाहिर अर्थात् चितवनमा न्युरोसर्जरी, खासगरी ब्रेन ट्युमरको अपरेसन सेवा विकास गर्ने डा. थापाको कमिटमेन्ट थियो । हुन पनि राजधानीमा बस्न भनी गरिएको आग्रहपूर्ण सुझावका लागि ‘धन्यवाद’ मात्र दिई उहाँ आफ्नो ब्रह्मले घचघच्याएको स्थानतर्फ नै आकर्षित हुनुभयो । सबैले राजधानीलाई नै लक्ष्य बनाउन थाल्ने हो भने त मुलुकको चौतर्फी विकास र उन्नति कसरी हुन्छ भन्ने उहाँको प्रतिप्रश्नको कुनै जवाफ पङ्क्तिकारले त्यसबेला दिन सकेको थिएन र आज पनि डा. थापा वास्तवमा सही ठाउँमा उभिनुभएको रहेछ भन्ने लाग्छ ।
विगत १२ वर्षमा डा. थापाले चितवनमा ब्रेनट्युमर सर्जरी सम्भव रहेको मात्र सिद्ध नगरी अन्तर्राष्ट्रियस्तरमै गर्व गर्न लायकको बनाउनुभएको त उहाँलाई त्यससम्बन्धी विश्व सम्मेलनमा प्रदान गरिएको सम्मानबाटै प्रस्ट हुन्छ । आफ्नो पेसामा मात्र अब्बल नभई बहुमुखी प्रतिभाका धनी डा. थापा साहित्य सिर्जनामा पनि उत्तिकै पोख्त हुनुहुन्छ । डाक्टरी कविता, वावापुरा मोडेल, समावेशी संविधानसभा (सहलेखन), डाक्टरका कविता, न्युरोअङ्कोसर्जरी इन नेपाल, चिरफार गरी उहाँका पाँचवटा पुस्तक–कृति प्रकाशित भइसकेका छन् । उहाँका चोटिला र घतपूर्ण अन्य फुटकर लेख–रचना पनि विभिन्न पत्रपत्रिकामा समय–समयमा प्रकाशित हुँदै आएका पढ्न पाइन्छ ।
सन् २००९ मा अमेरिकाको बोस्टनमा आयोजित विश्व सम्मेलनमा कार्यपत्र पेस गरेर न्युरोअङ्कोलोजीको एक्सपर्ट सावित भई डा. थापा नेपाल आएपछि पङ्क्तिकारले उहाँलाई ‘अब त तपाईं काठमाडांै नै आउनुपर्छ, धेरै समय बाहिर (मोफसल) बस्दा करियरका निम्ति प्रत्युत्पादक हुनसक्छ’ भनी आग्रह गरेको थियो । त्यसबेला पनि उहाँले ‘काठमाडौं त जहिले पनि आउन सकिन्छ, तर मोफसलमा रहन र अरूलाई पनि मोफसलमा जान उत्प्रेरित गर्नु भनेको त फरक कुरा हो नि’ भन्ने मीठो जवाफ दिनुभयो । ‘सजिलो काम त सबैले गरिहाल्छन् नि, गाह्रो काम पो मैले गर्नुपर्छ’ भन्ने उहाँको आशय थियो । एसियामै उत्कृष्ट बनाउन सकिने सम्भावना बोकेको भरतपुरको क्यान्सर अस्पताललाई एक निर्दिष्ट दिशा दिई एउटा क्यान्सर इन्स्टिच्युट बनाएर मात्र फर्किने उहाँको विचार तारिफलायक छ ।
आजभन्दा तीन वर्षअघि उहाँलाई डा. चोपलाल भुसालसहित भएर क्यान्सर अस्पतालको डाइरेक्टर बन्ने कसरत गर्न सल्लाह दिँदा उहाँले भन्नुभयो, ‘अहिले बेला भएको छैन ।’ उहाँलाई यसरी सुझाइएको थियो कि डा. थापा, तपाईंलाई कुनै राजनीतिक पार्टीको छायामा नराखी या सदस्य नबनाईकन यो देशमा कुनै पनि पोस्ट दिइने छैन, चाहे तपाईं मन्त्री वा ठूला नेताहरूको नजिक नै किन नहुनुहोस् ? त्यसैले चितवनको सीमित दायरामा नखुम्चिनुहोस्, आफ्नो प्रतिभा र क्षमतालाई नखुम्च्याउनुहोस्, डाइरेक्टर ओहोदा हासिल गर्नकै लागि जघन्य अपराधका नाटकहरू रच्न सक्ने चितवनजस्तो ठाउँमा अब धेरै नबस्नुहोस् ताकि देशले एउटा होनहार व्यक्तिको प्रतिभा मार्न नपरोस्, बाँकी तपाईंकै हातमा भनी उहाँलाई सुझाव–सल्लाह दिने अरू हितैषी पनि थिए । तर, यस्ता सल्लाहलाई उहाँले फगत मुस्कुराएर टार्दै आउनुभयो ।
नेपालमा एउटा मात्र मेडिकल कलेज भएको बेला महाराजगञ्ज कलेजबाट कन्ट्रीटपर बनेर जम्मा नौमध्ये सातवटा गोल्डमेडल लिन सक्ने विद्यार्थी त्यतिखेरसम्म सायद कोही थिएन होला । त्यति मात्र नभई उहाँ हेल्थ असिस्टेन्टबाट कन्ट्री टप गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । तत्कालीन मन्त्री हृदयेश त्रिपाठीले उहाँलाई दूरदराजमा न्युरोसर्जरीको सेवा पु-याएबापत दिगो विकासका लागि सम्मानपत्र दिएको पनि यहाँनेर सम्झनु सान्दर्भिक होला । मुलुकका विभिन्न क्षेत्रबाट सम्मान गरिएको, प्रमुख अतिथि, विशिष्ट अतिथि आदिका रूपमा देशका धेरै भूभागमा निम्त्याएर डा. थापालाई सम्मान गरिएको सबैसामु छर्लङ्गै छ, जो कि डा. थापाका गुणदायी सोच, शैली र व्यवहारकै उपज हो भन्न कञ्जुस्याइँ गरिरहनुपर्दैन ।
हरदम सकारात्मक सोच राख्न सक्ने विरलै व्यक्तिमध्येका उहाँ विषम परिस्थिति वा लगभग सम्भावनाको अन्त्य हुँदासम्म पनि सम्भावना देख्ने गर्नुहुन्छ । यस्तो अति आशावादीपन कतै उहाँको कमजोरी पो हो कि भन्ने पनि लाग्छ पङ्क्तिकारलाई कहिलेकाहीँ त । समय परिवर्तनसँगै दलहरूमा, नेताहरूमा, उहाँका साथीसङ्गतिहरूमा भएको परिवर्तन उहाँले आत्मसात् गर्न सक्नुभएको छैन कि भन्ने सवाल पनि पैदा हुन्छ । मुद्रा–संस्कृति, दरिद्रता–संस्कृति र पेवा–संस्कृतिको सिकार भएको आजको हाम्रो देशमा प्रगतिका लागि कि पैसा चाहिन्छ कि पावर, कि दल चाहिन्छ कि गुण्डादल, सोझो वा इमानदार भएर या आफूसँग बुद्धि र क्षमता छ भनेर त कतै मूल्याङ्कन नै नहुने परिपाटी विकसित भएको देखिन्छ । यस्तोमा डा. थापाका आशा र आत्मविश्वास कतै यत्तिकै खेर जाने त होइन भन्ने पीडादायी सवाल पनि यहाँनेर खडा हुन्छ । यो तीतो पाटोको हेक्का डा. थापाजस्ता देशका होनहार सुपुत्रले राख्नैपर्छ ।
प्रस्तुति : त्रिपाठी डीपी