नेपाली काङ्ग्रेस र धादिङ काङ्ग्रेस – बलराम कोइराला

नेपाली काङ्ग्रेस र धादिङ काङ्ग्रेस – बलराम कोइराला


bicharकाङ्ग्रेस र प्रजातन्त्र नेपालको परिप्रेक्ष्यमा एक–अर्काका पर्यायवाची शब्द हुन् भन्नु अत्युक्ति नहोला । काङ्ग्रेसको विजय र पराजयमा प्रजातन्त्रकै विजय र पराजय हुनसक्छ । समय, स्थान र परिस्थितिअनुकूल कर्णप्रिय कुरा गर्न, झुटा आश्वासन दिन र क्षणिक प्रभाव पार्न खप्पिस भए तापनि अधिनायकवादी चरित्र बोकेका कम्युनिस्टहरूको प्रजातन्त्रमाथि विश्वास हुने कुरामा शङ्का छ । गाई र दाइको जति नै चर्का नारा लगाए पनि कुनै राजनीतिक दलका नाममा खुलेका, निर्दलीय संस्कार बोकेका पूर्वपञ्चहरूको प्रजातन्त्रमाथि विश्वास हुने कुरै भएन । क्षेत्रीय जातीय रूपमा खुलेका पार्टीहरूमा प्रजातन्त्रप्रति आस्था खोज्नु मृगतृष्ण सावित हुनेछ ।
देशको सबैभन्दा ठूलो, पुरानो, जिम्मेवार र देशको एक मात्र प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस हो भन्ने तथ्य सर्वस्वीकार्य छ । यति हुँदाहुँदै पनि काङ्ग्रेसभित्र कमी–कमजोरी नभएका भने अवश्य होइनन् । थुप्रै त्रुटि तथा कमी–कमजोरीका बाबजुद पनि काङ्ग्रेस जनविश्वासको मूल आधार बन्नुको पछाडि यसको छुट्टै बाध्यता छ । काङ्ग्रेसले प्राप्त गरेको मत र विश्वासभित्र सिङ्गो काङ्ग्रेसको मात्र नभई प्रजातन्त्रप्रति आस्था र विश्वास राख्ने सम्पूर्णको मत काङ्ग्रेसले प्राप्त गरेको छ । काङ्ग्रेसले समर्थकको मत मात्र प्राप्त गरेको छ भन्ने काङ्ग्रेसलाई लागेको छ भने यो उसको भ्रमसिवाय केही हुन सक्दैन ।
आदर्श र सिद्धान्तको जतिसुकै रटान गरे तापनि यथार्थमा प्रजातान्त्रिक व्यवहार तथा आचरण देखाउन नसक्नु नै काङ्ग्रेसको मूल कमजोरी हो । शीर्ष नेताबीच भागबन्डाका आधारमा पार्टीभित्रका अवसर बाँड्ने काङ्ग्रेसको पुरानै रोग हो । सिङ्गो काङ्ग्रेस पार्टीलाई पैतृक सम्पत्तिका रूपमा ६० र ४० प्रतिशतका हिसाबले बन्डापत्र र भोगचलन गर्ने पद्धतिका रूपमा विकास गर्ने, राम्रो होइन हाम्रो मान्छेलाई उम्मेदवारका रूपमा छान्ने काम भयो गत संविधानसभा–२ को निर्वाचनमा । काङ्ग्रेसको होइन सुशील कोइराला र शेरबहादुर देउवाका मान्छेका रूपमा काङ्गे्रस कार्यकर्तालाई चिरा पारियो । कुन जिल्ला र निर्वाचन क्षेत्रमा कसको कत्तिको व्यक्तित्व प्रभाव छ र कसले चुनाव जित्नसक्छ नभनी आ–आफ्नै खेमाका मानिसलाई चुनाव लड्न टिकट बाँडियो । जसको कारण दुईतिहाइ बहुमत प्राप्त गर्न सक्ने पार्टी साधारण बहुमत पनि नल्याई सबैभन्दा ठूलो पार्टीको स्थान प्राप्त गर्न सफल भयो गत निर्वाचनमा नेपाली काङ्ग्रेस । यसरी प्राप्त बहुमतको आडमा काङ्ग्रेसका कोइराला र देउवा हर्षविभोर भई पार्टीभित्र संसदीय दलको नेताको रूपमा आफू नै छानिनुपर्ने उन्मादका साथ चुनावमा होमिए । शारीरिक रूपमा जतिसुकै बलियो र बहादुरको घमण्ड गरे तापनि शेरबहादुर पछारिए, जीर्ण शारीरिक अवस्था भएका सुशील’दाले विजयको ताज पहिरिए– शायद नैतिक हतियारको प्रयोगको कारणले हुन सक्छ । दलको नेताको छनोटपछि दलभित्रको बहुमत प्राप्त र झन्डै बहुमतप्राप्त गरेका समूहका नेताका रूपमा आफू बलियो भएको महसुस गर्दे सिङ्गो काङ्ग्रेस पार्टीको नभई समूहको नेताका रूपमा प्रकट हुन शीर्ष नेताका लागि अशोभनीय कुरा हो ।
गत संविधानसभा–२ को निर्वाचनमा ३ निर्वाचन क्षेत्र भएको धादिङको तीनै क्षेत्रको निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन नसक्नु धादिङ जिल्लाका समस्त प्रजातन्त्रवादी, बौद्धिक एवम् चेतनशील समुदायका लागि लज्जाको विषय बनेको छ । यसो हुनुमा प्रमुख कारण केन्द्रीय राजनीतिमा भएको भागबन्डा नै हो– यसमा कुनै शङ्का छैन ।
विभाजित मानसिकता बोकेका धादिङ काङ्ग्रेसका कार्यकर्ता निर्वाचन क्षेत्रका जनताप्रति भन्दा पार्टीका नेताप्रति बढी उत्तरदायी हुने गरे । कार्यकर्ताको जनतामाथि परेको प्रभावभन्दा नेताको कार्यकर्तामाथि परेको प्रभावले अहम् भूमिका खेल्यो । विगत ०५६ देखि हालसम्मका निर्वाचनमा आफू र आफ्नो पार्टीलाई हार खुवाउँदै सिङ्गो धादिङ काङ्ग्रेसलाई नै निरन्तर कमजोर बनाउँदै आएको धादिङ काङ्ग्रेसको नेतृत्वले न त आफ्नो अक्षमताको महसुस ग-यो न त केन्द्रले यसको जानकारी नै लिन चाह्यो । पटक–पटकको हारमा धादिङ काङ्ग्रेसको नेतृत्वले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ? शीर्ष नेतालाई रिझाएकै भरमा मात्र पटक–पटक पराजित भएकालाई पुनः टिकट दिइरहने कि यसमा गम्भीर भएर केन्द्रले पुनर्विचार गर्ने ?
धादिङको तीनवटै निर्वाचन क्षेत्र जिताउने जिम्मा बोकेको धादिङ काङ्ग्रेसको नेतृत्व आफ्नो कारणले हारेको जगजाहेर हुँदाहुँदै पनि यतिबेला हारको कारण खोजेको अभिनय गर्दै इमानदार, स्वाभिमानी र प्रभावशाली कार्यकर्ताले गर्दा आफू चुनाव हारेको निष्कर्ष निकाल्दै उनीहरूका विरुद्ध कारबाहीको निर्णय गर्नमा व्यस्त देखिन्छ । ‘मुतको न्यानो’ खोज्ने काम गरिँदै छ एकातिर भने जिल्ला र निर्वाचन क्षेत्रभित्र प्रभाव जमाएका हालको नेतृत्वविरुद्ध प्रस्तुत हुनसक्ने व्यक्तित्वलाई छानी–छानी निर्वाचन हराएको बिल्ला भिराएर भविष्यको आफ्नो राजनीतिक यात्रा सहज हुनसक्ने अल्पबुद्धिको खेलमा धादिङ काङ्ग्रेसको वर्तमान नेतृत्व अभ्यस्त रहेको पाइन्छ । जिल्ला र निर्वाचन क्षेत्रका कार्यकर्ता मात्र नभई प्रजातन्त्रप्रति आस्था राख्ने साधारण शिक्षक, प्राध्यापक, कर्मचारी र सर्वसाधारणलाई समेत आफूलाई टिकट प्राप्त गर्नदेखि चुनाव जिताउनसम्मको कार्यमा सहयोग नगरेको भन्दै सार्वजनिक रूपमा खुला लाञ्छना लगाउने कार्यमा सक्रिय रहेको देखिन्छ वर्तमान धादिङ काङ्ग्रेसको नेतृत्व । यसबाट धादिङ काङ्ग्रेसको भविष्यमा कस्तो असर पर्ला ?
व्यक्तिगत कमी–कमजोरीको आत्मालोचना गरिनुपर्छ । साङ्गठनिक कमी–कमजोरीको मूल्याङ्कन गरिनुपर्छ । प्राप्त परिणामका आधारमा सुधार गरिनुपर्छ । अन्यथा त्यस्ता व्यक्ति र संस्थाको प्रगति त हुँदैन नै, त्यसकारण सम्बन्धित अन्य व्यक्ति र संस्थाले समेत दुःख पाउन सक्छ ।
देशको एक मात्र प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसभित्र आन्तरिक प्रजातान्त्रिक अभ्यास हुनु जरुरी छ । मुख होइन रूख हेरिनुपर्छ । व्यक्ति होइन, पद्धतिलाई प्राथमिकता दिइनुपर्छ । विधिको शासनलाई वास्तविक व्यवहारमा उतारिनुपर्छ । काङ्ग्रेसका नेता तथा कार्यकर्ताको मात्र होइन प्रजातन्त्रप्रति आस्था राख्ने समस्त व्यक्ति र व्यक्तित्वको मनोबल उच्च राख्दै राष्ट्रिय रूपमा प्रजातन्त्रको सम्मान गर्दै प्रजातान्त्रिक शासन प्रणलीको माध्यमबाटै समुन्नत नेपाल निर्माणको अभियानको नेतृत्व सुशील कोइराला र शेरबहादुर देउवाले गरून्, उनीहरू समूहका होइनन् राष्ट्रका नेता बनून्– इतिहासले कोइराला र देउवालाई दिएको जिम्मेवारी यही छ– यही जिम्मेवारी पूरा भएमा मात्र उनीहरूको नेतृत्व सफल हुनसक्छ । अन्यथा इतिहासले उनीहरूलाई धिक्कार्नेछ ।
– बलराम कोइराला