‘शरीर होइन मन मिल्नुपर्छ’

‘शरीर होइन मन मिल्नुपर्छ’


funtimeचलचित्र हिम्मतवालीको छायाङ्कन सकाएर यो चलचित्रलाई पोस्ट प्रोडक्सनमा छिराएपछि अहिले अभिनेत्री रेखा थापा केही फुर्सदमा देखिन्छिन् । तर, यो फुर्सदमा पनि उनी विभिन्न कारण चर्चामा आइरहेकी छिन् । फेरि एकपटक उनी पूर्वपति तथा चलचित्र निर्माता छवि ओझाले दिएको सार्वजनिक अभिव्यक्ति र चलचित्र हिम्मतवालीकै एक पात्र सुदर्शन गौतमका कारण बजारमा छाइरहेकी छिन् ।
० चलचित्रमा मात्र होइन, चलचित्रबाहिर पनि अभिनय गर्न रेखालाई कसैले सक्दैन भन्छन् नि ?
– कुरा त्यस्तो होइन । म मेरो क्षेत्र र पेसालाई माया गर्छु अनि सम्मान । तर, केहीले यसलाई गलत रूपमा व्याख्या गरे ।
० दुवै हात नभएका सुदर्शन गौतमसँग सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक रूपमा नै माया साटेको देखियो नि ?
– म त भन्छु सबैले सबैलाई माया गर्न जान्नुपर्छ । सुदर्शन मेरो चलचित्रको एउटा बलियो पात्र पनि हो । दुवै हात नभएको ऊ उदाहरणीय पुरुष हो । उसबाट सबैले सिक्नुपर्छ । उसलाई साथ अनि हौसला दिनुपर्छ । मैले यिनै कुरा उल्लेख गरेँ, तर यहाँ गलत रूपमा व्याख्या गरियो । मेरो चलचित्र हिम्मतवालीका सबै युनिट र दर्शकलाई माया गर्छु म ।
० जबजब चलचित्र चल्न सुरु हुन्छ तब रेखा विभिन्न तिकडम मच्चाउँछिन् भन्ने कुराचाहिँ के हो नि ?
– मैले सुनियोजित रूपमा नै कुनै तिकडम मच्चाएकी छैन र मच्चाउनु पनि पर्दैन । अब फिल्म चलाउन वा मलाई चर्चामा आउन यस्तो फोहोरी खेल खेल्नुपर्ने आवश्यकता छैन । दुवै हात नभएका सुदर्शन गौतमसँगको फेसबुक कुराकानी कुनै पे्रम वा विवाहका लागि होइन, ऊ मेरो मिल्ने साथी अनि चलचित्रको बलियो पात्र हो । उसलाई नै मैले चलचित्रमा खेलाएकी हुँ ।
० पूर्वपतिका बजारमा आएका नयाँ गुनासाहरू रेखाले बच्चा जन्माउन मानिनन् भन्ने कुरा के हो नि ?
– जिम्मेवारीको महसुस नगर्ने र प्रतिबद्धता नभएको मान्छेसँग जीवन बिताउन गाह्रो हुन्छ । अहिले यस्तो अभिव्यक्ति दिनेको के भर थियो होला । त्यतिबेला सन्तान जन्माएको भए के हुन्थ्यो ? विजोग हुन्थ्यो अहिले मेरो । कसैलाई धर्तीमा ल्याएपछि उसको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।
० अझै निर्माता छवि ओझाका अभिव्यक्तिहरू आइरहेका छन् । कस्तो लाग्छ ?
– बोल्न पाउनुपर्छ । पीडालाई व्यक्त गर्न पाइयो भने मन शान्त हुन्छ ।
० भनेपछि मन त पहिलेदेखि नै मिलेको रहेन छ, होइन त ?
– शरीर होइन मन मिल्न सक्नुपर्छ । अनि मात्र परिवारमा शान्ति र समृद्धि छाउँछ । शरीर मिलेर पाएको शान्ति र आनन्द क्षणिक हो । म त अरूलाई भन्छु नि शरीर होइन मन मिलाउनतिर लाग्नोस् । त्यो नै लामो समयसम्म चल्छ ।
० के अब रेखा विवाह गर्छिन् त ?
– त्यो समयको जिम्मेवारी हो । म यो गर्छु र ऊ गर्छु भनेर हिँड्दिनँ । मैले आजसम्म जे गरेँ अनि जहाँ छु मेरै क्षमता र दक्षता अनि बलबाहुले हो र दर्शकहरूको साथले हो । अरूलाई विवाहले सुख दियो, आनन्द दियो होला अनि जीवन सुखद होला तर विवाहभन्दा डिभोर्सपछि मैले स्वतन्त्रता, आँट, जाँगर र हौसला अनि काम गर्ने हिम्मत पाएकी छु । तर, स्वतन्त्रताको नाममा गलत नभएर सही काम गरेर हिँडेकी छु । कसैको बन्धनमा बस्दा आफ्नो इच्छा र उद्देश्यमा असर पर्दोरहेछ । विवाहले अरूलाई के दियो त्यो मलाई थाहा भएन, तर मलाई विवाहले पीडा, दुःख र बन्धन दिएको थियो । तर, आज त्यो छैन । विवाह ठूलो कुरा होइन जब मन नै मिल्दैन भने । शरीर होइन पहिले मन मिल्नुपर्छ । विवाहको बारेमा यति नै अहिलेलाई ।
० रेखालाई ताक्नेहरू कत्तिको छन् नि अहिले ?
– होलान् धेरै । तर, ताक्दैमा कहाँ पाइन्छ र ? भन्न आँट गर्नेहरू कमै छन् र शरीर ताक्नेहरू धेरै छन् मन खोज्नेहरू पाइएको छैन । पाइयो भन्दैमा सुटुक्क अर्काको मनमा छिरिहाल्ने पनि परिनँ नि म ।

बेलायतमा ‘हँसिया’को रेडकार्पेट प्रिमियर
वर्ष २०१४ को बहुप्रतीक्षित नेपाली फिल्म ‘हँसिया’को बेलायतको अल्डर्सटस्थित प्र्रिन्सेस हलमा रेडकार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा सहभागी हुन अभिनेता राजेश हमाल बेलायत पुगेका थिए । प्रिमियरमा हमाल नै मुख्य आकर्षणको केन्द्र बनेको बताइन्छ । एनआरएन यूकेको अध्यक्ष शान्ति थापाको अध्यक्षता रहेको सो प्रिमियर शोमा अभिनेता तथा विमानचालक विजय लामा, विल्सनविक्रम राई, अभिनेता ध्रुवदत्तलगायत करिब तीन सय नेपालीको उपस्थिति रहेको थियो ।
फिल्म सुरु हुनुअघि सञ्चारकर्मी सरोज केसी र लक्ष्मी राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘हँसिया’ छायाङ्कन गर्दाको अनुभव सुनाउनुका साथै निर्देशक मिलन चाम्सको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए । साथै उनले नायिका हेमाको कामको पनि प्रशंसा गरे । निर्देशक चाम्सले नेपाली फिल्मलाई माया गरिदिन आग्रह गर्नुका साथै फिल्ममा भएका कमी–कमजोरीलाई औंल्याइदिन अनुरोध गरे । उनले आफ्नो पक्षबाट गर्ने काम, आफ्नो जिम्मेवारी आफूले पूरा गरेकोले अब पालो दर्शकहरूको रहेको प्रतिक्रिया दिँदै ‘हँसिया’को एक्सन दर्शकहरूले मन नपराउनुभएमा आफूले एक्सन फिल्म निर्देशन गर्ने–नगर्ने भन्ने विषयमा निर्णय गर्ने उल्लेख गरे ।
‘हँसिया’ हेरेपश्चात् रेडकार्पेट प्रिमियरमा दर्शकहरूले डेब्यु निर्देशक मिलन चाम्सको काम र फिल्मको राम्रो प्रतिक्रिया दिए । विशेषगरी हेमा श्रेष्ठको एक्सनलाई रुचाइएको पाइयो । डायस्पोरादेखि स्वदेशमा समेत छुट्टै हाइप सिर्जना गर्दै गरेको यस फिल्मले नेपालमा कस्तो प्रतिक्रिया पाउँछ ? त्यसका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।
बेलायतका विभिन्न स्थानमा यसै साता महानायक राजेशको उपस्थितिमा विशेष शोसमेत आयोजना गरिन लागेको ‘हँसिया’ रिलिजअघि हङकङ र नेपालमा समेत विशेष शो आयोजना गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
‘हँसिया’मा राजेश हमालको साथै हेमा श्रेष्ठ, अनुपविक्रम शाही, विशाल ढुङ्गाना, आलोक कार्कीलगायतको मुख्य भूमिका रहेको छ । फिल्मको एक आइटम गीतमा नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘हँसिया’लाई दुर्गा घलेले निर्माण गरेकी हुन् ।

व्यवसायीद्वारा कलाकारको सम्मान
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी सङ्घको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा गत शनिबार गोदावरीमा आयोजित कार्यक्रमबीच नेपालका वरिष्ठ महिला कलाकारद्वारा सिर्जित चित्रकलाअङ्कित भित्तेपात्रो लोकार्पण गरियो । जसमा नेपालको पहिलो महिला कलाकार ज्वालासम शाहदेखि उर्मिला गर्ग, शारदा चित्रकार, रागिनी उपाध्याय, चन्दा श्रेष्ठ, मदनकला कर्ण, विन्दु श्रेष्ठ, एरिना ताम्राकार, सुनिता राना, जस्मिन राजभण्डारी, स्वरगंगा दर्शनधारी, विधाता केसी, डा. शमा शर्माको चित्रकला समावेश रहेका थिए भने राधेश्याम मुल्मीलगायतका कलाकारलाई सम्मान गरिएको थियो ।
समारोहका प्रमुख अतिथि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सङ्घलाई शुभकामना दिँदै देशमा हेभी इक्विपमेन्टले पु-याएको योगदानको चर्चा गर्नुभयो । यस्तै, कार्यक्रमका विशेष अतिथि नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष जयराम लामिछानेले सडक बनाउने तथा नदीको ढुङ्गा झिक्ने कार्यमा हेभी इक्विपमेन्ट प्रयोगका लागि सरकारको द्वैधनीतिका कारण व्यवसायी सधैँ मर्कामा परेको बताउनुभयो भने अर्का अतिथि सहरी विकाससचिव किशोर थापाले लामो सङ्क्रमणपछि बल्ल जननिर्वाचित सरकार आएकाले यसतर्फ विधेयक निर्माण भइरहेको र चाँडै नै यस्ता समस्याबाट व्यवसायीलाई राहत दिलाउने विश्वास दिलाउनुभयो ।
नेपाल हेभी इक्विपमेन्ट व्यवसायी सङ्घका अध्यक्ष ताराबहादुर कुँवरको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा हेभी इक्विमेन्ट क्षेत्रबाट संविधानसभामा प्रतिनिधित्व गरेका सभाषद्लाई सम्मान गरिएको थियो । र, यसै साथ सम्पन्न सङ्घको वार्षिक साधारणसभाले व्यवसायीको विभिन्न हकहितलाई सम्बोधन गरेर अगाडि बढाउन १५बँुदे गोदावरी घोषणापत्र जारी गरेको छ । भविष्यमा यसरी नै कलाकारलाई सम्मान गर्दै क्यालेन्डर प्रकाशनलाई निरन्तराता दिइने संयोजक प्रेमलाल श्रेष्ठले बताउनुभयो ।

दुई कृति विमोचित
स्रष्टा श्याम दाहाल र हरि थापाद्वारा लिखित दुई कृति राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । श्याम दाहालद्वारा लिखित ‘मेरा संस्मरणात्मक अनुभूतिहरू’ र हरि थापाद्वारा लिखित ‘तिब्बती बिम्बहरू’को विमोचन महिला अधिकारकर्मी शान्ता श्रेष्ठ, प्रा. गोपीकृष्ण शर्मा, साहित्यकार श्रीओम रोदन, श्याम दाहाल र डोलिन्द्र शर्माले संयुक्त रूपमा गरे ।
कार्यक्रममा दुवै कृतिमाथि प्रकाश पार्दै प्रा. गोपीकृष्ण शर्मा र श्रीओम रोदनले पुस्तकको साङ्गोपाङ्गो समीक्षा गरेका थिए । स्रष्टा श्याम दाहालले आफ्ना अनुभव र अनुभूतिहरूलाई पुस्तकमा समावेश गरिएको बताए । महिला अधिकारकर्मी शान्ता श्रेष्ठले श्याम दाहालजस्ता स्रष्टाहरूको खोजी हुनुपर्ने बताइन् ।
साहित्य, शिक्षा र दर्शन, सामाजिक उत्थान र प्रवद्र्धन नाराका साथ साहित्यिक कृतिहरूको प्रकाशनमा सक्रिय रहेको अक्सफोर्ड पब्लिकेसनको भगिनी संस्था शमी सम प्रकाशन गृहले उक्त कृति प्रकाशन गरेको हो । प्रकाशन गृहका निर्देशक डोलिन्द्र शर्माले आगामी दिनमा चौध अञ्चलभरि नै साहित्यिक सभा गर्ने पनि बताए ।