खेलकुदमन्त्रीको ग्य्राइन्ड डिजाइन बीचैमा तुहियो

खेलकुदमन्त्रीको ग्य्राइन्ड डिजाइन बीचैमा तुहियो


sportक्रिकेट काण्ड
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई विस्थापित गर्न साम, दाम, डण्ड, भेद चारै नीतिको अवम्लबन गर्दै आएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको पछिल्लो रणनीति पनि बीचैमा तुहिएको छ । लामालाई हटाउन पछिल्लोपटक नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मन्त्री पौडेलले दाउमा लगाए पनि अहिले उनको गलत मनसायमा पानी फिरेको छ । क्रिकेट खेलाडीले नेपाल क्रिकेट सङ्घ (क्यान) समक्ष विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि त्यसमा घ्यू थप्ने काम मन्त्री पौडेलले गरेको भित्री खेलको अहिले पर्दाफास भएको छ । राखेपको अध्यक्ष तथा मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले विवादलाई साम्य पार्नुको साटो उल्टै कप्तान पारस खड्कालगायत अन्य खेलाडीलाई उचालेर क्रिकेटको हुर्मत लिन कार्य गरेको थाहा भएको छ । विशेष सूत्रका अनुसार आन्दोलित क्रिकेट खेलाडीलाई अझ उग्र बनाउन र अनुशासित क्रिकेटको साखलाई नै धुमिल्याउन र समाप्त पार्न मन्त्री पौडेलले घिनौनो खेल खेल्दै खेलाडीलाई बलिको बोका बनाएको बुझिन आएको छ । एक तीरबाट दुई सिकार गर्न तम्सिएका मन्त्री पौडेलले क्रिकेट खेलाडीको काँधमा बन्दुक राखेर र क्यान र राखेपतर्फ निशाना साँधे पनि त्यो अहिले दुस्साहसमा परिणत भएको छ । मन्त्रीको उक्त चाल अहिले कुचालमै सीमित बन्दै उनैतर्फ सोझिएको छ ।
प्राप्त जानकारीअनुसार मन्त्री पौडेलले कप्तान पारस खड्कालगायतका खेलाडीलाई भेटी क्यानविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएको थाहा भएको छ । सो अवसरमा मन्त्री पौडेलले ‘तिमीहरू क्यानविरुद्ध आन्दोलन चर्काऊ, म राखेपलाई क्यान विघटन गर्न दबाब दिन्छु, यदि राखेपले क्यान विघटन गर्न मानेन भने राखेपलाई नै विघटन गरिदिन्छु,’ भनेको स्रोतको दाबी छ । मन्त्रीको सोही निर्देशनलाई आत्मसात् गर्दै खेलाडीहरूले क्यानविरुद्ध आक्रोशित भएको र क्यानलाई दबाब दिन बाध्यतावश कदम उठाएको बुझिएको छ । सोही रणनीतिअनुरूप क्यानसँग वार्ता नगर्ने अडान लिएर बसेका खेलाडीलाई मन्त्रीले वार्तामा ल्याएका थिए । यसपछि वार्तामा सहसचिव शान्तिराम शर्मालाई मन्त्रालयको प्रतिनिधिको रूपमा पठाएका मन्त्री पौडेलले जसरी पनि वार्ता भाँड्न निर्देशन दिएको बुझिएको छ । मन्त्रीको यस्तो खेलाडीलाई उचाल्ने र पछार्ने गैरजिम्मेवारी भूमिका र चरित्रले गर्दा खेलाडीसँगको पहिलो वार्ता तनावपूर्ण रहँदै बिनानिष्कर्षमा टुङ्गिएको थियो । सो अवसरमा खेलाडीहरूले पनि ‘सुगा रटान’मा प्रस्तुत हुँदै क्यानको विघटन गर्नुपर्छ भन्ने अडानलाई दोहो-याएका थिए । खेलाडीको कुरामा सहमति जनाउँदै सहसचिव शर्माले पनि नुनको सोझो गर्दै मन्त्रीको पौडेलको रणनीतिलाई सफल बनाउन अहम् भूमिका निर्वाह गरेका थिए ।
यसरी मन्त्रीको कुटिल चालमा अञ्जान र बेखबर क्रिकेट खेलाडी वार्ता भङ्ग भएकैमा उपलब्धि मानिरहेका थिए । उनीहरूले आफू मन्त्री पौडेलको षड्यन्त्रको सिकार भएको सुइँकोसमेत पाएका थिएनन् । परिणाम दोस्रो वार्तामा पनि खेलाडीहरू पहिलेकै रूपमा प्रस्तुत हुन पुगे, क्यानको विघटनको माग लिएर । यहाँ पनि मन्त्रालयका प्रतिनिधि शर्माले होस्टेमा हैँसे गर्दै वार्ता बिथोल्न पटकपटक प्रयास गरेका थिए, तर सफल हुन सकेनन् । मन्त्री पौडेलको जालमा परेर ‘बबुरो’ बनेका क्रिकेट खेलाडीलाई जब सदस्यसचिव युवराज लामाले तीन घन्टा एक्लै भेटेर वास्तविकताको बोध गराए त्यसपछि मात्रै कप्तान पारस खड्काको टोलीको होस खुलेको थियो, अर्थात् ठेगानामा आएको थियो । सो भेटको अवसरमा सदस्यसचिव लामाले निर्वाचित कमिटी नेपाल क्रिकेट सङ्घ (क्यान)लाई कुनै नियम–कानुनले विघटन गर्न नसकिने र जसलाई विघटन गर्न दुईतिहाइ बहुमतको आवश्यकता पर्ने आत्मज्ञान दिलाएपछि खेलाडी सहमतिमा पुगेका थिए । यसपछि कप्तान पारस खड्काले आफूलाई खेलकुदको नियम–कानुन थाहा नभएको प्रतिक्रिया दिँदै क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट कमिटी (आईसीसी)ले पनि विघटन गर्न नसक्ने अभिव्यक्ति सञ्चारमाध्यमलाई दिएका थिए । परिणामस्वरूप क्रिकेटको विवाद समाधान गर्न राखेपका सदस्यसचिव युवराज लामाको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । जसले अब क्रिकेटको समग्र विकासका लागि सङ्घलाई निर्देशन दिनेछ भने क्यानले त्यसलाई कार्यान्वयन गर्नुपर्नेछ ।
क्यान काण्डमा असफल भएपछि नुन खाएको कुखुरोजस्तै बनेका मन्त्री पौडेल अहिले पनि भालेको ‘डाँको’ निकाल्न भने पछि परेका छैनन् । क्रिकेटमा राजनीतिक रङ, गन्ध र सुगन्ध दिन न्वारानदेखिको बल लगाए पनि आफ्नो स्वार्थ पूरा नभएपछि मन्त्री पौडेलले अहिले अर्को बखेडा निकालेका छन्– राखेपको सदस्यसचिव खुला प्रतिस्पर्धाबाट ल्याउने भनेर । जुन लोकतान्त्रिक मुलुकका लागि स्वागतयोग्य कुरा भए पनि एमाले पार्टीको दबाबमा खेलकुद महासङ्घले गरेको निर्णय खल्तीमा बोकेर हिँडेकाले के खुला प्रतिस्पर्धाबाट सदस्यसचिव ल्याउन सक्लान्– त्यो अहम् प्रश्न बनेको छ । यो त हात्ती तर्साउन ढ्याङ्ग्रो ठटाएको हो भन्दा अतिशयोक्ति नहोला । अन्यथा राखेपमा रिक्त रहेको तीनवटा पदमा अहिलेसम्म पदपूर्ति गर्न नसक्नेले सदस्यसचिव खुला प्रतिस्पर्धाबाट ल्याउने कुरो कसले पत्याउने ? यो कुरा त अलि हजम भएन नि मन्त्रीज्यू । तपाईंले राजनीतिक पाचक खानु भो भन्दैमा अरूले पनि खानुैपर्छ भन्ने छ र ? साँचो अर्थमा भन्नुपर्दा खेलकुदको समग्र विकासका लागि सदस्यसचिव रोडा होइन, रोडा त तपाईंको राजनीतिक सोच हो, जसले खेलकुदलाई आक्रान्त बनाउनतर्फ उद्यत् गरिरहेको छ । जुन खेलकुदको स्वास्थ्यको मात्रै नभई खुद तपाईंको स्वास्थ्यका लागि पनि हानिकारक बन्दै छ । अनाहकमा सस्तो लोकप्रियतका लागि आफ्ना कार्यकर्तालाई झुटो आश्वासन दिनुभन्दा वास्तविकतालाई आत्मसात् गर्दा बुद्धिमानी ठहरिनेछ । तसर्थ हात्ती तर्साउन ढ्याङ्ग्रो ठोकेर समय बर्बाद गर्नुभन्दा समयको माग र नीति–नियमलाई नजिकबाट अध्ययन गरे खेलकुदको कल्याण हुन्थ्यो कि ?
आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ पूरा गर्न विगत डेढ महिनादेखि अनेक हथकण्डा मच्चाउँदै आएका मन्त्री पौडेलले अहिले नयाँ अस्त्रको रूपमा ‘खुला प्रतिस्पर्धाबाट सदस्यसचिव नियुक्ति गर्ने’लाई प्रयोगमा ल्याएका छन् । पौडी काण्ड र क्रिकेट काण्डमा मात खाएपछि धुमलिएको आफ्नो छवि बचाउन मन्त्री पौडेलले यस्तो तमासा र नौटङ्की देखाएको स्रोतको दाबी छ । मन्त्री पौडेलको यो हर्कतले खेलकुदमा खासै प्रभाव नपरे पनि सदस्यसचिव लामालाई हटाउन उनी कतिसम्म कसरत गरिरहेका छन् त्यो भने सार्वजनिक रूपमा उजगार भएको छ । तर, कानुनलाई हतियार बनाएर खेलकुदलाई हाँकिरहेका लामाले भने मन्त्रीको यो हर्कतलाई टेरपुच्छर नलगाएको अवस्था छ । त्यसैले त लामाले भन्दै आएका छन्, ‘राखेपको सदस्यसचिव खुला प्रतिस्पर्धाबाट ल्याउने मन्त्री पौडेलको सोच स्वागतयोग्य छ, तर ऐन परिवर्तनका लागि राखेप, खेलाडी, प्रशिक्षक, राष्ट्रिय सङ्घ, राखेप कर्मचारी, राजनीतिक दल, खेलविज्ञ, खेलकुद पत्रकार र सबै सम्बन्धित सरोकारवालासँग छलफल र सामूहिक अन्तक्र्रिया गरेर सामूहिक अवधारणा बनाउन जरुरी छ ।’ लामाले यसै प्रसङ्गलाई जोड्दै ‘म राखेपको ऐन, नियमावली, निर्देशिका, कार्यविधिको अधीनमा रहेर खेलकुदको स्पिरिटमा काम गरिरहेको छु, त्यो सिङ्गो खेलकुद जगत् र राष्ट्रलाई थाहा छ । कसले कहाँ के बोल्छ, इच्छा के छ, त्यसको कुनै अर्थ छैन । मूल कुरा खेलकुदको विकास कसरी गर्न सकिन्छ, विकास गर्नका लागि के–के गर्नुपर्छ भन्ने हो । अर्को कुरा सामूहिक रूपमा गर्ने हो कि एकल रूपमा प्रश्न यहाँनिर छ । तसर्थ यसो गर्छु, त्यसो गर्छु भन्नुको कुनै अर्थ र औचित्य छैन ।’ म यसलाई लोकतन्त्रको अभ्यास मान्छु, मन्त्री पौडेलले पनि अभ्यास गर्नुभएको छ, त्यो आमनेपालीले गर्न पाउनुपर्छ र गर्छ । यसलाई अन्यथा सोच्न मिल्दैन ।
मन्त्री पौडेलको सोच आफैँमा उत्कृष्ट भए पनि त्यो दीर्घकालीन र कानुनसम्मत हुनुपर्नेमा सायदै कसैको दुईमत होला । तर, पार्टी र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र सदस्यसचिव युवराज लामालाई विस्थापित गर्न मन्त्री पौडेलले यो बखेडा निकालेका हुन् भने त्यो पानीमा उठेको फोकासरी मात्रै हुनेछ । त्यसले असर पनि क्षणिक मात्रै हुनेछ । मुद्दा उठायो, तर कार्यान्वयन गर्नेबेलामा खुट्टा कमायो र सुरुवालमा सुसु ग-यो भने के होला ? यसबारेमा मन्त्री पौडेलले गम्भीर भएर सोच्नुपर्ने जरुरी भइसकेको छ । उहाँ साँच्चै समग्र खेलकुदको विकासका लागि संवेदनशील र गम्भीर हुनुहुन्छ भने कुरो मात्रै होइन काम गरेर देखाउने बेला भइसकेको छ । एक वर्षका लागि नियुक्ति पाउनुभएको उहाँको खेलकुदमा अब नौ महिना मात्र बाँकी छ, नौ महिनामा त छोराछोरी नै जन्माउन पर्याप्त समय पुग्छ, तसर्थ बिनाअर्थको गलफत्ती गर्नुभन्दा चौध महिना बाँकी रहेका सदस्यसचिव लामासँग हातेमालो गरेर अगाडि बढ्दा नै उत्तम हुनेछ । मन्त्री पौडेलको कार्यकाल पनि सफल हुनेछ । अन्यथा ‘काग कराउँदै गर्नेछ, हात्ती लम्किँदै जानेछ’ मन्त्री पौडेललाई चेतना भया ।

ओलम्पिकमा भुइँचालो आउने पूर्वसङ्केत
गत साता राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्षसहित केही पदाधिकारीले प्रधानमन्त्री तथा खेलकुदका संरक्षक सुशील कोइरालालाई भेटेपछि नेपाल ओलम्पिक कमिटीमा भुइँचालो आउने पूर्वसङ्केत देखापरेको छ । खेलकुदमा नौलो तरङ्ग उत्पन्न गराएको प्रधानमन्त्रीसँगको यो भेटले विभिन्न अनुमान र अड्कल काटिन थालेको छ । काङ्गे्रसकै पालामा ओलम्पिक विवादको विजारोपण भएको र काङ्ग्रेसले नै फसल काट्ने सम्भावना बढेर गएको छ । लामो समयपछि कुम्भकर्णको निद्राबाट ब्युँझिएको राणा ओलम्पिकका पदाधिकारीले भेटका अवसरमा प्रधानमन्त्री कोइरालाई विश्वका प्रायः सबै मुलुकमा एउटै ओलम्पिक कमिटी रहेको र नेपालमा पनि एउटै ओलम्पिक कमिटी हुनुपर्ने कुरामा जोड दिँदै यसका लागि पहल र आवश्यक निर्देशन दिन सुझाएको थाहा भएको छ । सो भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले आफूलाई ओलम्पिक विवादबारे सामान्य ज्ञान भएको र विवाद सुल्झाउन छिट्टै पहल गर्ने बताएको राणा ओलम्पिक कमिटीका पदाधिकारीहरूले बताएका छन् । उनीहरूले ओलम्पिक विवादको समाधान कानुनको सम्मानबाट हुने प्रस्ट पारेका छन् । प्राप्त जानकारीका अनुसार सर्वोच्च अदालतले प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अवैधानिक भएको फैसला सुनाएको लामो समय बितिसक्दा पनि त्यसको अहिलेसम्म कार्यान्वयन नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षक गराइएको बुझिएको छ ।

खेल समाचार
केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड काठमाडौंमा
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा छैटौँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता वैशाख १५ गतेदेखि हुने भएको छ । विद्यालयस्तरीय यो प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँँचै टिमको सहभागिता रहने आयोजक समितिका सदस्य मीनकुमार शर्माले जनाएका छन् । एथलेटिक्स, भलिबल, कराते, उसु र तेक्वान्दो गरी पाँच खेलमा प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा २६, भलिबलमा दुई, करातेमा आठ तथा उसु र तेक्वान्दोमा ६–६ गरी कुल ४८ स्वर्णका लागि भिडन्त हुनेछ । मार्सल आर्टका तीनवटै विधा पहिलोपटक समावेश गरिएको हो । एथलेटिक्समा विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान भङ्ग गर्नेलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । एथलेटिक्सको हरेक व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार दिइनेछ । रिलेमा पहिलो हुनेले एक हजार पाँच सय, दोस्रोले एक हजार र तेस्रोले पाँच सय नगद पुरस्कार थाप्नेछन् ।
एथलेटिक्समा छैटौँ र भलिबलमा तेस्रोसम्म रहने टिमलाई निश्चित अङ्क दिएर सर्वाधिक अङ्क ल्याउने टिमलाई टिम च्याम्पियन घोषणा गरिनेछ । टिममा पहिलो हुनेले २५ हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार पाउनेछन् । मार्सल आर्टको पदक टिम च्याम्पियनमा गणना गरिने छैन । एथलेटिक्सको व्यक्तिगत विधामा पहिलोदेखि छैटौँ स्थानसम्म रहने टिमलाई क्रमशः ७, ५, ४, ३, २ र १ तथा रिलेमा क्रमशः १४, १०, ८, ६, ४ र २ अङ्क दिइनेछ । भलिबलमा पहिलो हुने टिमलाई ३५, दोस्रोलाई २१ तथा तेस्रो हुने दुई टिमलाई १४–१४ अङ्क प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित बजेट ३३ लाख रुपैयाँ रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेप सदस्यसचिव युवराज लामा संयोजक र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनाल सचिव रहेको १४ सदस्यीय आयोजक समिति गठन गरिएको छ । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र कभर्डहलमा हुनेछन् ।

सिटिजन्स टेनिस अर्को साता
दशरथ रंगशाला टेनिस कम्प्लेक्स व्यवस्थापन समितिको आयोजनामा तेस्रो सिटिजन्स बैंक लनटेनिस प्रतियोगिता अर्को साता हुने भएको छ । प्रतियोगिता वैशाख १५ देखि २० गतेसम्म हुने सिटिजन्स बैंकका निर्देशकसमेत रहेका आयोजकका अध्यक्ष एवम् अखिल नेपाल लनटेनिस सङ्घका महासचिव मनोहरदास मुलले जानकारी गराएका छन् । पुरुष र महिला सिङ्गल्ससहित प्रतियोगितामा विभिन्न नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । भेट्रान्स ३५, ४५ र ५५ वर्षमाथि सिङ्गल्स र डबल्स तथा ६५ वर्षमाथि सिङ्गल्समा खेल हुनेछ । एक सय ४० भन्दा बढी खेलाडीको सहभागिता रहने सिटिजन्सका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी दिए ।
कुल पुरस्कार राशि एक लाख ४५ हजार पाँच सय रुपैयाँ रहेको छ । पुरुष सिङ्गल्समा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार, दुई सेमिफाइनलिस्टले पाँच–पाँच हजार तथा चार क्वाटरफाइनलिस्टले समान दुई हजार पाँच सय नगद पुरस्कार पाउनेछन् । महिलाको विजेताले १५ हजार, उपविजेताले सात हजार पाँच सय, दुई सेमिफाइनलिस्टले समान तीन हजार पाँच सय तथा चार क्वाटरफाइनलिस्टले एक हजार पाँच सयका दरले नगद पुरस्कार हात पार्नेछन् । ३५ र ४५ वर्षमाथि सिङ्गल्स र डबल्सका विजेतालाई १०–१० हजार तथा उपविजेतालाई पाँच–पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

सचिव नेपाल सम्मानित, पाठकको स्वागत
राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएका सचिव हरिप्रसाद नेपाललाई सम्मान गरेको छ । नेपाललाई खेलकुद मन्त्रालयमा करिब डेढ वर्ष रहँदा खेलकुदको विकास र प्रवद्र्धनमा महŒवपूर्ण भूमिका निर्वाह गरेबापत सम्मान गरिएको हो । नेपाललाई बिदाइ गर्न र सिँचाइ मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भई आएका सचिव प्रतापकुमार पाठकलाई स्वागत गर्न आयोजित कार्यक्रममा राखेप सदस्यसचिव युवराज लामाले नेपाललाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । सो अवसरमा सदस्यसचिव लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायतका पदाधिकारी, विभागीय प्रमुख, शाखा प्रमुखलगायतका कर्मचारीले खादा ओढाई सचिव नेपाललाई बिदाइ र सचिव पाठकलाई स्वागत गरेका थिए ।
सदस्यसचिव लामाले विगतमा परिषद् र मन्त्रालयबीच बाङ्गो–टिङ्गो खालको सम्बन्ध भए पनि अहिले आएर त्यसको अन्त्य भएको बताए । सदस्यसचिव लामाले खेलकुदले यो आर्थिक वर्षमा एक अर्ब आठ करोडको बजेट पाउनुमा मन्त्रालयको पनि ठूलो भूमिका रहेको बताउँदै सचिव नेपाल खेलकुदको अन्तरङ्ग बुझेको व्यक्तिका रूपमा आफूले पाएको बताए । त्यस अवसरमा सदस्यसचिव लामाले परिषद्को संरचना, ओलम्पिक कमिटीको विवाद, परिषद्ले आफ्नो कार्यकालमा गरेको प्रगति विवरणलगायतका बारेमा सङ्क्षिप्त रूपमा अवगत गराएका थिए ।
सचिव नेपालले आफ्नो कार्यकालमा कुनै पनि काम अगाडि बढाउँदा मन्त्रालय र परिषद्का महŒवपूर्ण व्यक्तिलाई छलफलमा ल्याएर मात्र अगाडि बढाउने गरेको बताउँदै वर्तमान सदस्यसचिव लामाले परिषद्लाई व्यावसायिक नेतृत्व दिन सफल भएको विचार व्यक्त गरेका थिए । नेपालले अहिले खेलकुदले पूर्वाधारका हिसाबले धेरै फड्को मारेको बताउँदै बाहिर रहेर पनि खेलकुदको विकासका लागि आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सचिव पाठकले मन्त्रालय र परिषद्बीच स्थापित भएको प्रगाढ सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास गर्ने बताउँदै खेलकुदलाई हेर्ने दृष्टिकोणमा अहिले धेरै परिवर्तन भएको बताए । उनले खेलकुदलाई अन्य मुलुकमा झै ‘कर्पोरेट कल्चर’का रूपमा विकसित गर्न सके लगानीकर्ता अगाडि आउने धारणा राखेका थिए । उनले खेलकुदलाई अझै पनि विकासको मूल प्रवाहमा लैजानुज्ञपर्नेमा जोड दिए ।

राष्ट्रिय पौडी वैशाख अन्तिम साता
राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी सङ्घको आयोजनामा १७औँ राष्ट्रिय पौडी प्रतियोगिता वैशाख अन्तिम साता हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल विज्ञान खेलकुद प्रतिष्ठान परिसरको पौडी पोखरीमा वैशाख २८ र २९ गते हुनेछ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत हुन लागेको प्रतियोगितामा पाँच विकास क्षेत्रका ३५ जिल्ला, नेपाली सेना र नेपाल प्रहरीका गरी करिब एक सय ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता दक्षिण कोरियाको इन्चेनमा हुने एसियाली खेलकुदका लागि खेलाडी छनोटका रूपमा समेत रहेको आयोजक नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
लुम्बिनी च्याम्पियनसिपअन्तर्गत पौडीको यो अन्तिम प्रतियोगिता हो । ३३ खेल समावेश लुम्बिनीअन्तर्गत यसअघि विभिन्न ३२ खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेका छन् ।

सूर्य नेपाल मास्टर्स गल्फ सुरु
सूर्य नेपाल प्रालि मास्टर्स गल्फ प्रतियोगिताको २१औँ संस्करण आज देखि सुरु हुँदै छ । वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३३ जना नेपाली व्यावसायिक र प्रोफेसनल गल्फ टुर भारतका उच्च बरियताक्रमका ८६ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपाल प्रोफेसनल गल्फर्स सङ्घ तथा प्रोफेसनल गल्फ टुर भारतको सहआयोजनामा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगितमा प्रथम हुनेले सात लाख ७५ हजार, दोस्रो हुनेले पाँच लाख ३५ हजार, तेस्रो हुनेले तीन लाख, चौथोे हुनेले दुई लाख ४३ हजार र पाँचौँ हुनेले एक लाख ९५ हजार प्राप्त गर्नेछन् । त्यस्तै चार दिनको स्ट्रोक प्ले फम्र्याटमा उच्च अङ्क हासिल गर्ने ५० जना मनी मेकिङ राउन्डका लागि छनोट हुनेछन । मनी मेकिङ राउन्डमा अन्तिम हुने खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

कन्सिन कप जुडो हुने
बालबालिका पुनस्र्थापनामा क्रियाशील संस्थाहरूको महासङ्घ, नेपाल (कन्सिन) को आयोजनामा तेस्रो कन्सिन कप खुला क्याडेट जुडो प्रतियोगिता वैशाख १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १८ वर्षमुनिका विभिन्न २० संस्थाका ३० टिमका दुई सय खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा कन्सिनका अध्यक्ष गणेशभक्त श्रेष्ठले जानकारी दिएका थिए । पुरुष र महिलामा समान आठ–आठ गरी १६ स्वर्णका लागि भिडन्त हुनेछ । प्राविधिक पक्षमा प्रतियोगितालाई नेपाल जुडो सङ्घले सहयोग गर्नेछ । ब्ल्याकबेल्ट धारी खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाउने जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी गराए । दुईदिने प्रतियोगिताका खेलहरू नयाँबजारस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुनेछ ।

नोभिस राष्ट्रव्यापी बक्सिङ हुने
नेपाल बक्सिङ सङ्घको आयोजनामा दोस्रो नोभिस राष्ट्रव्यापी पुरुष तथा महिला बक्सिङ प्रतियोगिता काठमाडौंमा हुने भएको छ । प्रतियोगिता जेठ ६ देखि १० गतेसम्म हुनेछ । प्रतियोगितामा ७५ जिल्लाका दुई सय खेलाडीको सहभागिता अनुमान गरिएको बक्सिङ सङ्घका महासचिव दीपक गुरुङले जनाएका छन् । पुरुषतर्फ १५ देखि १८ र १९ देखि २५ गरी दुई उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा १५ देखि २५ वर्ष उमेरसमूहमा खेल हुनेछ । पुरुषमा १० र महिलामा पाँच गरी कुल १५ स्वर्णका लागि भिडन्त हुनेछ । प्रतियोगितामा कुनै पनि बक्सिङ प्रतियोगिता नखेलेका नयाँ खेलाडीले मात्र सहभागिता जनाउन पाउने महासचिव गुरुङले बताए ।

धर्मश्री शारीरिक सुगठन हुने
नेपाल व्यायाम मन्दिर, ज्याठाको आयोजनामा १३औँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता असारमा हुने भएको छ । प्रतियोगिता असार २० र २१ मा राजधानीमा हुने आयोजकका अध्यक्ष नारायण प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । विभिन्न ६ तौलसमूहमा करिब तीन सयजनाले भाग लिने जानकारी दिइयो । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौलसमूहमा पहिलो हुने ६ खेलाडी पुनः धर्मश्री अवार्डका लागि भिड्ने छन् । हरेक तौलसमूहमा दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन् ।
धर्मश्री अवार्ड विजेतालाई दुई लाख नगदले पुरस्कृत गरिनेछ । त्यस्तै समग्रमा दोस्रो हुनेले एक लाख, तेस्रोले ७५ हजार, चौथोले ५० हजार, पाँचौँले ४० हजार र छैटौँले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब २४ लाख खर्च हुने आयोजकले जनाएको छ । लोकेन्द्र परियार साविक विजेता हुन् । ०१० मा स्थापना भएको नेपाल व्यायाम मन्दिरले सहिद धर्मभक्त माथेमाको स्मृतिमा ०४२ देखि प्रतियोगिता आयोजना गर्न थालेको हो ।