‘अध्यक्ष कामरेड’को निकृष्ट आरोप ! – विनोद नेपाल

‘अध्यक्ष कामरेड’को निकृष्ट आरोप ! – विनोद नेपाल


bicharदुई ठूला कम्युनिस्ट पार्टीका दुई नेताबाट गत शनिबार रमाइला र आश्चर्यजनक अभिव्यक्ति आए । दुवैजना पूर्वप्रधानमन्त्री । दुवै जान्नेसुन्ने कहलिएका नेता । एउटा हुन्– संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र अर्का हुन् एमाओवादीका नेता बाबुराम भट्टराई । यीमध्ये पहिलोचाहिँ पार्टीको पछिल्लो महाधिवेशनमा प्रतिस्पर्धाबाटै चुनिएका अध्यक्ष हुन् भने दोस्रा सधैँ असहमति जनाउने, कारबाहीमा पर्ने, गनगन गर्न नछाड्ने, तर अघि बढेर केही गर्न नसक्ने र ‘नभए चिसै पानीले नुहाउन’ तयार हुने नेता हुन् । पछिल्लो परिवेशको कुरा गर्दा खनाल पार्टी अध्यक्ष भएर पनि संसदीय दलको नेताको निर्वाचनमा पराजित भएका कारण चर्चित छन् भने भट्टराईचाहिँ ‘नयाँ शक्ति’को हल्लाले चर्चामा छन् ।
यहाँ उठाउन खोजिएको प्रसङ्ग हो– खनालले खोलिदिएको दोस्रो संविधानसभा निर्वाचनमा काङ्ग्रेस ठूलो दलको रूपमा स्थापित हुन पुग्नुको रहस्य र भट्टराईलाई कम्युनिस्ट भन्न पनि लाज लाग्न थालेको कुरा । पहिलाले संविधानसभा निर्वाचनमा काङ्ग्रेसले धेरै स्थान ल्याउनुको कारण बताएका हुन् भने पछिल्ला दिनमा नयाँ शक्तिको कुरा गर्दै आएका दोस्राले चाहिँ कम्युनिस्टहरूको पारा देखेर आफूलाई कम्युनिस्ट हुँ भन्न पनि लाज लाग्न थालेको बताएका हुन् । यसो भनेर एउटाले आफ्नो कमजोरीको दोष अर्कामाथि थोपरेका छन् भने अर्काले आफ्नो कमजोरी स्वीकार गरेका छन् ।
त्यसो त हाम्रा सबैजसो नेताहरू समर्थकको भीड देखे भने कहाँ के बोल्ने र के नबोल्ने भन्ने बिर्सन्छन् । त्यसमा पनि क्रान्तिकारी र प्रगतिशीलका कुरै बैग्लै । यसै क्रममा पछिल्ला दिनमा यस मामलामा एमालेका नेताहरू निकै अघि बढेका छन् । झलनाथ खनाल होऊन् वा माधव नेपाल वा वामदेव गौतम नै, उनीहरूको बोली उस्तै–उस्तै छ र आफूहरू नै सर्वेसर्वा भएको ठान्न थालेका छन् । पहिलो संविधानसभामा ठूलो अन्तरले पहिलो दल बनेको तत्कालीन एमाओवादीका नेता र दोस्रो संविधानसभामा झिनो स्थान अन्तरले दोस्रोमा रहन पुगेको एमालेका नेताको शैली उस्तै–उस्तै देखिन थालेको हो ।
अध्यक्ष खनालले आफूसमर्थक पत्रकारहरूको एक कार्यक्रममा ‘आफ्नो पार्टी झन्डै–झन्डै पहिलो नै भएको’ भन्दै त्यसो नहुनुको दोष काङ्ग्रेसलाई दिएका हुन् । ‘काङ्ग्रेसले भोट किनेकाले एमाले पहिलो नभएको’ भन्दै उनले नेकपा–माओवादी अर्थात् वैद्य माओवादीले बहिष्कारका नाममा काङ्ग्रेसलाई भोट बेचेकाले आफ्नो पार्टी गत चुनावमा पहिलो हुन नसकेका बताएका हुन् । माओवादीले पैसा लिएर काङ्ग्रेसलाई भोट दिएको आरोप लगाएका उनले केही ठाउँमा आन्तरिक कारणले चुनाव हारेको, निश्चित रूपमा विजय प्राप्त हुने केही क्षेत्रमा पनि व्यवस्थापकीय कमजोरीका कारण चुनाव हारे पनि ‘बहिष्कारका नाममा नेकपा–माओवादीले राष्ट्रव्यापी रूपमा काङ्ग्रेसलाई भोट बेच्यो, किनेको मतले काङ्ग्रेस पहिलो पार्टी भयो र हामी पहिलो हुन सकेनौँ’ भनेका कुरा पनि सञ्चारमाध्यममा आए ।
त्यसो त आफ्ना पक्षका पत्रकारको भेलामा यस्तो क्रान्तिकारी कुरा गरेबापत वाहवाही मात्र पाएनन् उनले खोजेको तालीको गडगडाहट पनि पक्कै पाए । तर, त्यसबाहिर रहेका र खनालको यस्तो अभिव्यक्ति सुन्ने सबैलाई भने यसले आश्चर्यमा पारेको छ । निर्वाचन सम्पन्न भएको पाँच महिना पूरा हुन लाग्दा कसरी कमरेडमा यो दिव्य ज्ञान फु-यो भन्ने विषयले सबैलाई आश्चर्यमा पारेको हो । कतै संसदीय दलको नेतामा पराजित भएपछि, अलिकति अरू आफ्ना मान्छेले जितेका भए त जितिने नै पो रहेछ भन्ने लागेर पो यस्तो हिसाबकिताबतिर लागेका पो हुन् कि ? अझ उनले ‘यति स्थानमा हाम्रा उम्मेदवार यति मतको अन्तरले मात्र पराजित भएका छन्, के हामीलाई मत दिएका भए हामीले काङ्ग्रेसभन्दा बढी स्थान ल्याउँदैनथ्यौँ ?’ भन्नुले त कताकता यस्तो मनोविज्ञानले नै काम गरेको ठान्न सकिन्छ । कस्तो आश्चर्य ? के काङ्ग्रेस पनि थुप्रै स्थानमा त्यत्तिकै झिनो मतअन्तरले पराजित भएको छैन ? के झिनो मतअन्तरले पराजित हुनु कसैले मत किन्नुको परिणाम हुन सक्छ ? कस्तो बुद्धि, कस्तो शुद्धि होला कमरेडको ?
कमरेडको गुनासो के पनि रहेछ भने ‘वर्गीय हिसाबले पनि वैद्य माओवादीले आफूलाई मत दिनुपथ्र्योे’ रे । एमाले कुन आधारमा कुन वर्गमा पर्छ वा एमाले के हो र उसलार्ई एमालेइतर कसैले मत दिने ? अझ माओवादीको कुरा गर्दा त ऊ नै सबैभन्दा क्रान्तिकारी र अग्रगामी अनि जनताको पार्टी पो हो त । उसका लागि एमाले ‘गंगा आए गंगाराम जमुना आए जमुनादास’ अर्थात् अवसरवादी हो । उसको न कुनै नीति छ न सिद्धान्त नै । उसलाई कम्युनिस्ट पार्टी त मान्दैनन् नै लिङ्ग नै नछुट्टिएको पो ठान्छन् सानो र ठूलो दुवै माओवादीले । अनि कसरी पो दिऊन् एमालेलाई ‘वर्ग मिल्यो’ भन्दै मत ? बरु एमाओवादी विभाजित भएकाले यो हैसियत पाइयो भन्ने पो नभुल्नुपर्ने थियो त कमरेडले । के अघिल्लोपटकको लज्जास्पद हारको सम्झना छैन ? कतै बुढ्यौलीले छोएर पुराना कुरा बिर्सने रोग लागिसकेको त होइन कमरेडलाई ?
अहिलेकै कुरा गर्दा पनि एमालेभित्रको रडाकोको कसलाई जानकारी छैन र ? एकातिर ओली–गौतम गठजोड बलियो हुँदै गएको छ, साँच्चै बलियो भएको हो कि सुन्निएको मात्र हो भविष्यले बताउला । अर्कोतिर खनाल कमरेडको आफ्नै पारा छ । अझ अर्कोतिर आफ्नै धुनमा छन् कमरेड माधव नेपाल । आफ्नो थैलीको मुख राम्ररी नबाँध्ने अनि अरूलाई दोष दिने ? कस्तो पारा हो यो कमरेडको ? फेरि गजब त के छ भने एउटा होइन पछिल्ला दिनमा ओली कमरेड दिल्लीको आसनमा रहे पनि यता गौतम, नेपाल र खनालको आफ्नै फुर्ती छ । गौतम आगामी अध्यक्ष ओली, नभए आफू भन्दै छन् । नेपालचाहिँ आफू अध्यक्षको उम्मेदवार हुने बताइरहेका छन् । अध्यक्ष कमरेड भने आफ्नो कुर्सी ताक्नेहरूलाई जवाफ दिनुको साटो अर्को पार्टीमाथि खनिएर के गर्न खोजेका हुन् बुझ्न गाह्रो परेको छ । के गर्नु र कसो गर्नुको अवस्थामा कतै असन्तुलित दिमागको उपज त होइन यो मत खरिद–बिक्रीको कुरा ?
त्यसो त यतिखेर संसारभरका कम्युनिस्ट अन्योलमा छन् । द्विविधामा छन् । इन्तु न चिन्तु अवस्थामा छन् । कुन बाटो कहाँ जाने भन्ने सोच्न र आफ्नो गन्तव्य पहिल्याउन नसकेर अलमलमा छन् । सम्भवतः यस्तो स्थितिमा मुखको तीतो फाल्न मुखमा जे आयो त्यो बोलेका पनि हुन सक्छन् नेपालको नाममा कम्युनिस्ट शब्द जोडिएको पार्टीका अध्यक्ष कमरेड । तर, बोल्ने सही ठाउँको चयन त हुनुपर्छ कमसेकम । यस्ता अभिव्यक्तिले आफूप्रतिको आमधारणा कस्तो बन्ला त्यो त ख्याल गर्न सक्नुपर्छ । मुखमा जे आयो त्यही बोल्दा आफ्नै योग्यता, क्षमता र नैतिकतामाथि नै प्रश्न उठ्न सक्छ भन्ने किन सोच्न सक्दैनन् यी ? यो भने रहस्यकै विषय छ ।
समग्रमा, वर्तमान संविधानसभाको ‘झन्डैझन्डै पहिलो ठूलो दल’ नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनालको काङ्ग्रेसमाथिको पछिल्लो आरोप गैरजिम्मेवार एवम् निकृष्ट आरोप हो । एउटा दलको अध्यक्षले अर्को दलका विरुद्ध यस किसिमका भाषणबाजी गरेर लोकप्रिय हुने प्रयत्न गर्नु निन्दनीय हो । यस्ता अभिव्यक्तिले दलहरूबीच सहकार्यको वातावरण बनाउनभन्दा सम्बन्धमा तिक्तता ल्याउन र परिस्थितिलाई बिगार्न नै सहयोग गर्ने भएकाले यस्ता अशोभनीय अभिव्यक्तिबाट टाढै रहनु तिनका लागि उचित हुन्छ । यसो हुन सकेमा मात्र यस्ता नेताको आफ्नो मर्यादासमेत कायम रहन सक्छ ।