टेलिकमको लापरबाहीले सर्वसाधारणलाई सास्ती

टेलिकमको लापरबाहीले सर्वसाधारणलाई सास्ती


mukti– मुक्तिनाथ भुसाल
कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित नेपाल टेलिकम कार्यालयको काम–कारबाहीमाथि राज्यले निगरानी राख्न नसक्दा सर्वसाधारण मर्कामा परेका छन् । ‘राज्यको काम कहिले जाला घाम’ शैलीमा काम गरेर पनि तलबभत्ता–सुविधा लिन पाइने कारण राज्यलाई गुमराहमा पारेर जनता अलमल्याउन यो कार्यालय ‘माहिर’ मानिन्छ । आजको परिवेशमा सञ्चारप्रविधिप्रति आममानिसको लगाव बढ्दो छ र मोबाइल फोन प्रयोगको सवालमा अन्य सेवाप्रदायकको तुलनामा भरसक नेपाल टेलिकमकै सेवा अर्थात् नमस्तेको सिम प्रयोग गर्ने चाहना प्रायजसो ग्राहकमा रहेको पाइन्छ । तर, राज्यको नुन खाएर पनि नुनको सोझो नगर्ने कारण नमस्तेको टावर आफ्नो गाउँ–टोलमा हुँदाहुँदै पनि सर्वसाधारण एनसेल वा अन्य कम्पनीको सिम प्रयोग गर्न विवश बनेका छन् । कपिलवस्तुमा कैयौँ त्यस्ता स्थान छन् जहाँ नमस्तेको टावर छैन र भएका स्थानमा पनि काम गर्दैन । नेपाल टेलिकमको कार्यालय तौलिहवाले व्यक्तिगत स्वार्थका लागि कतिसम्म निम्नकोटिको कार्य गर्दछ भन्ने सानो उदाहरणका लागि कपिलवस्तुको महेन्द्रकोट गाविसलाई आजको लेखनीमा उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ ।
घरधुरी सङ्ख्या एक हजार चार सय ३७ रहेको महेन्द्रकोट गाविसमा जम्मा जनसङ्ख्या आठ हजार चार सय १६ रहेको छ । जसमा अस्थायी बसोबास गर्ने विभिन्न तह र तप्काका कर्मचारी समावेश गरिएको छैन । नेपाल टेलिकमको टावर पत्थरकोट बजारमाथि अर्थात् अर्घाखाँचीमा राखिएको भए पनि नजिकै रहेको ठाडा–५ पिडापानीलगायतका गाउँमा कहिल्यै पनि काम नगरेको स्थानीय खगेश्वर गैरेको भनाइ छ । टावरमा भएका ब्याट्रीहरू बसोबास गर्ने स्थानमा लगी हालीमुहाली गरिएको र कमसलखाले ब्याट्री त्यहाँ प्रतिस्थापन गरिएकाले महेन्द्रकोट गाविसलगायत वरपर बसोबास गर्ने स्थानीयले बिजुली गएको समयमा नमस्तेको सिमकार्ड प्रयोग गर्न सक्दैनन् । नमस्तेको समस्यालाई लिएर केही स्थानीय टेलिकम कार्यालय तौलिहवामा पुगी हाकिमसमक्ष गुनासो गर्दा ‘मैले काठमाडौंमा कुरा गरेको छु, अब चाँडै समस्या समाधान हुन्छ’ भन्ने जवाफ दिने गरेको पनि ६ महिनाभन्दा बढी भएको भुक्तभोगीको भनाइ रहेको छ । जब नमस्तेको टावर पाउन नसकेका स्थानीय उपभोक्ताले इन्टरनेटमार्फत भिडियो सेवा प्रयोग गर्न सकिने कुरा त कल्पनाभन्दा पनि बाहिरको हो ।
टेलिकमको कार्यालय तौलिहवाले ६ महिना बित्दा पनि किन आफ्नो सेवालाई यस्तो दयनीय हालतमै राखेकोे होला भनी निगरानी राख्ने क्रममा एनसेलको मार्केट उकासिदिएमा त्यताबाट दह्रिलो ‘उपहार’ प्राप्त हुने कारण टेलिकमका कर्मचारीको मिलेमतोमै यस्तो रवैया हुने गरेको बुझिन्छ । नमस्तेको सिम मात्र चलाउने स्थानीय हालका दिनमा सबैले एनसेल सिम खरिद गरिसकेका कारण पनि अब बिजुली जाँदा पनि नमस्तेमा टावर आउने गराइदिएमा टेलिकमको गुमेको इज्जत फिर्ता आउने थियो । २० रुपैयाँ सापटी दिएबापत दुई रुपैयाँ ब्याज जोड्नुको अलावा कहिलेकाहीँ फ्रिकलजस्तो भ्रम दिलाएर एकैचोटि रकम काट्ने एनसेलले ब्रह्मलुट मच्चाउँदा निम्न आय भएकाहरू पनि हैरानीमा परेका छन् । स्थानीय टिक्करनिवासी एन्जिला आजको युगमा मोबाइल अपरिहार्य भए पनि नमस्तेले यस क्षेत्रमा कहिलेकाहीँ मात्र काम गर्ने भएकाले आफूले एनसेल सिम प्रयोग गरेको बताउँछिन् । उनका अनुसार नमस्तेमा भन्दा एनसेलमा धेरै रिचार्ज चाहिने कारण मोबाइल चलाउनका लागि आफूले दुईवटा कुखुरा पालेको र अन्डा बिक्री गरी रिचार्ज खरिद गर्ने गरेको बुझिएको छ । राज्यले सबै नागरिक सञ्चारको नजिक रहून् भन्ने सोचबाट स्थापना गरेको नेपाल टेलिकमजस्तो गरिमामय संस्थाको लगाम समालेका तौलिहवाका कर्मचारी हाकिमले ६ महिना बित्दा पनि आफ्ना ग्राहकलाई सास्ती दिनुको अभिप्रायबारे कडाइका साथ छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने जिम्मा कपिलवस्तुका प्रजिअ कृष्णचन्द्र घिमिरेको काँधमा आएको स्थानीयको गुनासो रहेको छ । आफ्नो कार्यक्षेत्रभित्र अनियमितता फेलापारेमा सशक्त ढङ्गले प्रस्तुत हुने उहाँको सकारात्मक व्यवहार महेन्द्रकोट गाविसको टेलिकमको लापरबाहीप्रति ध्यान आकृष्ट भएमा झनै उहाँको उचाइ बढेर जाने बुझिन्छ । नेपाल टेलिकम तौलिहवाले सेवाग्राहीलाई दिएको सास्ती समाधान गर्दै उक्त टावरमा ई–भिडियो जडान हुने माहोल पैदा गर्न पहलकदमी लिइदिए हजारौँ युवा इन्टरनेट चलाउन ११ किलोमिटरको यात्रा गरी गोरुसिङ्गे जानुपर्ने बाध्यताबाट मुक्त हुन्थे कि ?