लडाकु भाग्नेक्रम जारी सङ्ख्या घटे पनि रकम पूरा !

लडाकु भाग्नेक्रम जारी सङ्ख्या घटे पनि रकम पूरा !


-रामहरि पाण्डे
सजिलै नेपाली सेनामा भर्ती हुन पाइने सपना साकार नहुने भएपछि अस्थायी शिविरमा बस्दै आएका माओवादी लडाकु निराश भई धामाधम शिविर छाडी भाग्न थालेका छन् । उनीहरू पाँच वर्षअघि ‘जनमुक्ति सेना’का नाममा भर्ना भएर सजिलै नेपाली सेनामा रोजगारी गर्ने अभिलाशामा विभिन्न अस्थायी शिविरमा बस्दै आएका थिए । यसरी नेपाली सेनामा रोजगारी पाउने आशामा सात डिभिजनका २१ शिविरमा १९ हजार ६ सय माओवादी लडाकु छन् भनिएको छ । तर, त्यो सङख्या घटेर यतिबेला १३/१४ हजारको हाराहारीमा मात्र सीमित रहेको स्रोतको भनाइ छ । सरकारले १९ हजार ६ सय लडाकुको गणना गरी प्रतिमहिना १७ करोडभन्दा बढी रकम माओवादीलाई एक मुष्ट बुझाउँदै आएको छ । तर, शिविरमा कति लडाकु छन् भन्ने यकिन तथ्याङ्कबिना सरकारले रकम उपलब्ध गराएर सरकारी ढुकुटी रित्याइरहेको छ ।
आर्थिक अभावले पिरोलिरहेको, आफ्नो तथा परिवारको भविष्य अन्धकार बन्दै गएको, पार्टी नेतृत्वले आफ्ना परिवारलाई बेवास्ता गरिरहेको तथा सरकारबाट मासिक उपलब्ध हुँदै अँएको तलब-भत्ता पनि पूर्णरूपमा नपाएकोलगायतका आरोप लगाउँदै लडाकुहरूले शिविर छाडिरहेका छन् । स्रोतका अनुसार अनमिनको निगरानीमा रहँदै आएका लडाकुहरू गत असोजमा भएको अनमिनकै बहिर्गमनपछि शिविर छाडी भाग्ने क्रम एकाएक बढेको छ । स्रोतका अनुसार शिविरबाट भागेका अघिकांश लडाकुहरू बिदेसिएका छन् भने केही वैकल्पिक पेसामा लागेर आफ््नो गुजारा चलाइरहेका छन् । ‘शिविर छाडी वैकल्पिक पेसामा लाग्नेहरूमध्ये अधिकांश आपराधिक कार्यमा संलग्न भएको पाइन्छ,’ स्रोतको भनाइ छ । त्यसोत प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका अपराधीहरूको तथ्याङ्कले पनि छिटो धनी हुने लोभमा शिविर छाडेर आएका लडाकुहरू बढी देखिएको उल्लेख छ ।
माओवादी लडाकुका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल -बलदेव) पनि शिविरबाट केही लडाकु भागेको बताउनुहुन्छ । ‘अनमिनले प्रमाणीकरण गरेका सबै लडाकु शिविरम छैनन्,’ खनालले भन्नुभयो, ‘यसबीचको अवधिमा कोही शिविरमै मृत्यु भएको, कोही कारबाहीमा परेको, कोहीले आत्महत्या गरेकोलगायतका कारणले शिविरमा रहेका लडाकुको सङ्ख्यामा केही कमी भएको सत्य हो ।’ खनालले बाहिर हल्ला भएजस्तो शिविरबाट धेरै लडाकु नभागेको जिकिर भने गर्नुभयो । शिविरमा रहेका लडाकुलाई पार्टीले सक्दो सेवासुविधा दिएको जानकारी गराउँदै खनालले पछिल्लो समयमा शिविरमा केही समस्या देखिएको जानकारी गराउनुभयो ।
सँगै युद्धमा सामेल भएको साथी वाईसीएलतिर गएर लखपति भएको तर आफू भने शिविरमा कोचिएर भविष्य अन्धकार बन्दै गएकोले बँध्य भई शिविर छाडेर भागेको चितवनस्थित शक्तिखोरमा कार्यरत लडाकु सुमन लामाले बताए । शिविरबाट एक महिनाअघि मात्र भागेर राजधानी आएका दोलखा जिल्लाको सैलुङ्गेश्वरी स्थायी घर भएका लामाले भने, ‘मेरो त भविष्य अन्धकार भयो नै, मेरो परिवारको भविष्य पनि अन्धकार हुने देखेर शिविर छाडेर भागेँ ।’ वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका लामाले आइतबार साँझ घटना र विचारसँग भने, ‘हामीलाई भजाएर शिविरमा रहेका कमाण्डरहरू मोटाइरहेका छन्, सँगै पार्टीमा लागेको तर वाईसीएल बनेकाहरू लखपति भएका छन्, हामी उस्ताको उस्तै, अनि नभागेर के गर्ने ?’ ‘हामीले प्रतिमहिना पाँच हजार सरकारबाट पाउँछौँ, त्यसमा एक हजार लेभीस्वरूप पार्टीलाई बुझाउनुपर्छ, पाँच सय विभिन्न सेवा-सुविधाका नाममा कमाण्डरलाई दिनुपर्छ, यी सबै कटाएर हामीले ३५ सय मात्र पाउँछौँ, अनि यति पैसाले के गर्ने ?’ लामाले भने, ‘यी विविध समस्यासँग जुधेर बस्नुभन्दा शिविर छाडेर भाग्नु नै उत्तम ठानेको हुँ ।’ उनका अनुसार चितवनबाट मात्र तीनदेखि चार सयका हाराहारीम्ाा लडाकु भागेका छन् । तर, लडाकुका नाममा सरकारले उपलब्ध गराउने तलब भने शिविरका प्रमुखले पूरै बुझिरहेका छन् ।
०६२/०६३ को जनआन्दोलन समाप्तिलगत्तै माओवादीले तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद सिटौलाको सल्लाहमा सात हजारको हाराहारीमा रहेका लडाकुलाई बढाएर ३३ हजार पुर्‍याएका थिए । तत्कालीन समयमा कोइरालासँग भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले आफूसँग सात हजार मात्र सेना रहेको जानकारी गराएपछि जवाफमा कोइरालाले ‘ए, त्यति थोरै लडाकु छन्, त्यतिले पुग्दैन किनकि तपाईंहरूलाई पछि नेपाली सेनाले पेल्न सक्ने भएकोले सङ्ख्या बढाउनू’ भन्ने सुझाव दिनुभएको थियो । कोइरालाको सल्लाहअनुसार नै प्रचण्डले आफूसँग भएका अधिकांश लडाकुलाई वाईसीएलमा रूपान्तरण गरी नेपाली सेनासरह तलब-भत्ता तथा सुविधा उपलब्ध गराउने भन्दै देशव्यापी लडाकु भर्ना अभियान सञ्चालन गरेर सात हजारको सेनालाई बढाएर ३३ हजार पुर्‍याएका थिए । तर, अनमिनले लडाकुको प्रमाणीकरण गर्दा लडाकुको सङ्ख्या घटाएर १९ हजार ६ सय बनाएको थियो । हतियार भने ६ हजार पनि थिएन उनीहरूसँग । हतियारको प्रसङ्गमा प्रचण्डले केही खोलाले बगाएको र केही जलेर नष्ट भएको प्रतिक्रिया दिनुभएको थियो ।