नेपाली चलचित्रको– ०७०

नेपाली चलचित्रको– ०७०


funtimeहिट थोरै, फ्लप धेरै
नेपाली चलचित्र प्रदर्शन हुने हल थोरै, नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या थोरै, चलचित्र बनाउँदा हुने नाफा थोरै, तर चलचित्रको सङ्ख्या र घाटा भने धेरै । सुन्दा अटपटे लाग्छ, तर वास्तविकता यही नै हो । विगतका वर्षजस्तै नेपाली चलचित्र क्षेत्रका लागि ०७० मा पनि सङ्ख्यात्मक हिसाबले वृद्धि र गुणात्मक रूपमा कमी आयो । कलाकार धेरै जन्मियो, प्राविधिकहरूको ओइरो लाग्यो, टोलैपिच्छे कलाकार जन्मिए, जग्गाव्यापारिदेखि मेनपावर, होटल व्यवसायी, कपडा व्यवसायी, बस व्यवसायी आदि सबै रहरले निर्माताको भीडमा जम्मा भए । यस्ताका प्रवेशले कलाकार र प्राविधिकले काम त पाए तर दीर्घकालीन रूपमा नेपाली चलचित्र क्षेत्रलाई असर पा-यो । मनदेखि नभएर रहरले चलचित्र बनाउनेहरूको जमात बढ्नाले यस्तो जमातको भीडबाट साँच्चिकै चलचित्र क्षेत्रमा आएका र आउन खोज्नेहरू पनि तर्सिए ।
वर्ष ०७० मा नेपाली दर्शक, चलचित्रकर्मी अनि नेपाली चलचित्र चलाउने हलले पनि थेग्न नसक्ने गरी चलचित्र प्रदर्शनमा आए । नेपाली चलचित्र क्षेत्रसँग आबद्ध सरोकारवालाको आँकडाअनुसार वर्ष ०७० मा ९७ वटा चलचित्र प्रदर्शनमा आएका छन् । तर, विडम्बना ! यो भीडमा दश प्रतिशत चलचित्रले मात्र लगानी उठाएर थोरै रकम भए पनि आफ्नो गोजीमा हाल्ने अवसर पाए । काली, ६ एकान ६, झोला, झोले र वर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘नाइँ नभन्नु ल’लगायतका केही चलचित्र मात्र उकासिएका छन् भने बाँकी सबै आए पनि गएजस्तै भए ।
विगतका वर्षमा जस्तै ०७० मा पनि चर्चा र लोकप्रियताको हिसाबले अभिनेत्री रेखा थापा अन्य अभिनेत्रीका तुलनामा अगाडि नै रहिन् । सुतिरहेको नेपाली चलचित्र क्षेत्रमा काली नामक चलचित्र बनाएर उनले राम्रो चलचित्र बनाउन सकियो भने नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण पस्किदिइन् । झरना थापा, झरना बज्राचार्य, निशा अधिकारी, केकी अधिकारी र नम्रता श्रेष्ठलाई निकै पछाडि पारिन् रेखाले । बरु बिस्तारै भए पनि नम्रता श्रेष्ठ उकालो लागिन् भने केकी अधिकारी पर्दामा मात्र जमिन्, दर्शकमाझ जम्न सकिनन् । लाग्छ, यिनीहरू मनबाट होइन दामका लागि मात्र फिल्म खेलिरहेका छन् । अधिकांश अभिनेत्रीमा चलचित्र क्षेत्रप्रति अन्तरमनको प्रतिबद्धता नै देखिन्न ।
नायकहरूको कुरा गर्दा आर्यन सिग्देल र जीवन लुइँटेल सर्वाधिक रुचाइए भने सङ्गीतकारमा शम्भुजित बास्कोटा, सुरेश अधिकारी, रमेश खड्का गुमनामजस्तै भए । यी सबैलाई उत्कृष्ट सङ्गीत दिएर वसन्त सापकोटाले पछारे । चलचित्र जञ्जिरबाट आएका सङ्गीतकार टंक बुढाथोकीले पनि सम्भावना देखाएका छन् ।
वर्ष ०७० मा केही कलाकर्मी विवाह सम्बन्धमा पनि गाँसिए । अभिनेत्री रेजिना उपे्रती, मोडल तथा गायिका शंकर बिसी र निशा सुनुवार, अभिनेत्री पूजा चन्द अनि नवअभिनेता यशराजले विवाह गरे भने अभिनेता राजेश हमालको बिहे वर्ष ०७० मा पनि गफमै सीमित रह्यो । वादविवाद र चर्चामा पनि वर्ष ०७० मा धेरै कलाकार आए । रेखा थापा र श्याम भट्टराईको लफडा, अभिनेत्री शुभेच्छा थापा र क्षितिजा शाक्यबीचको दुश्मनी अनि निर्मात्री कविता श्रेष्ठ र अभिनेत्री रेजिना उपे्रतीबीचको लेनदेनको विषयले पनि चलचित्र बजार रामै्रसँग गर्मायो ।
बितेको वर्ष नेपाली चलचित्र क्षेत्रले नाम मात्र होइन बद्नामी पनि खुवै कमायो । थोरै लगानीमा अश्लील चलचित्र निर्माण भए पनि बजारमा नेपाली चलचित्रप्रति हेर्ने नजर नै गलत भइदियो । रङ वे, लभ फरेभर, डिभोर्सलगायत केही खराब सोच र विषयमाथि निर्माण भएका चलचित्रले गलत सन्देश प्रवाह गरे तापनि यस्ता चलचित्रलाई दर्शकले नै बहिष्कार गरिदिए ।
समग्रमा भन्दा नेपाली चलचित्र क्षेत्रका लागि वर्ष ०७० त्यति फलदायी बन्न सकेन । चलचित्र धेरै बन्दा प्राविधिकले काम पाए या फटाफट सिनेमा फेरिँदा सिनेमाहलहरूको आम्दानी बढायो होला, तर लगानीको अनुपातमा व्यापार र नाफाबीच असन्तुलन भएको छ । निर्माणमा होस् या अभिनय विधामा, रहरेहरूको भीड र प्रवेशले गतिलो प्रतिभा र लगानीकर्तालाई प्रवेश गराउन सकेन । तन्नम तालले सिनेमा बनाउँदा त्यसको परिणाम पनि जीर्ण नै निस्किँदा लगानीकर्ताले नाक उचो पार्न पाउने अवस्थाको सिर्जना नै हुन पाएन । सीमित निर्माता, नायक र नायिकाले नाम र दाम कमाउँदा उनीहरूमाझ मात्र चलचित्र क्षेत्र घुम्यो । आशा गरौँ, आगामी वर्ष यसो नहोस् र नेपाली चलचित्रको प्रगति, उन्नति र कामप्रति सबैले समान सहभागिता जमाउने अवसर पाऊन् ।

‘पोयमाण्डु’मा नारी स्रस्टाको जमघट
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा नयाँसडकस्थित नेपाल–भारत पुस्तकालयमा साप्ताहिक रूपमा नियमित आयोजना हुँदै आएको ‘पोयमाण्डु’को १४औँ शृङ्खला गत शुक्रबार सम्पन्न भयो । यस शृङ्खलाको खास विशेषता के थियो भने नेपाली काव्य साहित्यमा आफ्नो पहिचान बनाएका प्रख्यात नारी स्रष्टाहरू आफ्ना शक्तिशाली सिर्जनाका साथ उपस्थित थिए । हाम्रो समाजमा महिलाले भोग्नुपरेका या सामना गरिरहेका हिंसाका विभिन्न रूप सर्जकहरूले आफ्ना रचनामा चित्रित गरेका थिए । घरेलु हिंसा, लैङ्गिक हिंसा, असमान व्यवहार, दुव्र्यवहार, मानसिक प्रताडनाजस्ता विसङ्गतिलाई स्रष्टाहरूले कवितामार्फत सजीव ढङ्गमा प्रहार गर्न कुनै कसर छोडेनन् । यसरी पोयमाण्डुमा कविता वाचनमार्फत पोखिने नारी स्रष्टाहरूमा डा. बेञ्जु शर्मा, उषा शेरचन, शकुन्तला जोशी, प्रभा भट्टराई, हरिमाया भेटुवाल, प्रतिमाविवश राई, अनुपम जोशी, शमिता श्रेष्ठ, मनीषा गौचन, उषा हमाल, सविता बिमली, ए. कुमार, कञ्चना झा, मोमिला जोशी, बुनु लामिछाने र मञ्जु काँचुली थिए ।
कार्यक्रममा बीपी प्रतिष्ठानका सचिव एवम् भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति विभाग प्रमुख अभय कुमारले महिलाबिनाको संसार सम्भव नहुने शाश्वत सत्यमाथि जोड दिँदै जीवन सञ्चालनमा महिलाको भूमिका अपरिहार्य रहने उल्लेख गर्नुभयो । पोयमाण्डुमा उपस्थित भई सुन्दर र शक्तिशाली रचना पाठ गरिदिएकोमा नारी स्रष्टाहरूप्रति उहाँले आभार प्रकट गर्नुभयो ।