साधु राष्ट्रवाद

साधु राष्ट्रवाद


nisedhकसैले ‘मलाई धर्ममा विश्वास छैन’ भन्छ भने त्यो मान्छेसँग कहिल्यै लामो समयका लागि सङ्गत नगर्नु भन्ने भनाइ छ । धर्म मान्दिनँ भन्नुको अर्थ कि त त्यो मान्छे ढोंगी हो या मूल्य–मान्यताविहीन । मानिसले कुनै सही कुरा बाहिर आओस् भन्ने चाहना राख्दा प्राय: भन्ने गर्छन्– मनमा अलिकति पनि धर्म छ भने …धर्मको अर्थ दया, माया र सकारात्मक भावना पनि हो । जो मान्छेलाई धर्मको पर्वाह छैन त्यो मान्छेसँग के कुरा गर्नु ? भन्नेहरू प्रसस्तै भेटिन्छन् । धर्मको अर्थ, असल आचरण, सदाचार र सत्कर्म पनि हो । धर्मले मानिसलाई कर्तव्यपथमा अघि बढाउँछ भन्ने छ । त्यसैले त कुनै मुलुकमा उच्च ओहदामा पुगेका व्यक्तिले धर्मग्रन्थ छोएर शपथ लिने चलन छ । यद्यपि हामीकहाँ माओवादी सरकारमा आएपछि ‘ईश्वरलाई साक्षी राखी’ भन्ने शब्दमा आपत्ति जनाउँदै मन्त्री, प्रधानमन्त्रीको शपथ खाँदा ‘ईश्वरको नाममा’ भन्ने शब्द उच्चारण गरेनन् । कम्युनिस्ट हुनुको अर्थ धर्म नमान्नु हो भन्ने मान्यता राख्नेहरूका लागि यो ठीकै पनि होला, तर कम्युनिस्ट हुनुको अर्थ अधर्मी हुनु हो भन्नेचाहिँ होइन है भन्नेहरू पनि होलान् । धर्मको अर्थ मन्दिरमा गएर पूजा गर्नु मात्र हो भन्ने बुझाइ राख्नेहरूले धर्मको विरोध गर्नु कुनै अनौठो कुरा होइन, तर जसले धर्मको वास्तविक अर्थ बुझेको छ, ऊ कहिल्यै पनि धार्मिक मूल्य–मान्यताको विरोधी हुन सक्दैन । हिन्दूधर्मलाई बद्नाम गर्नका लागि कसैले गलत रूपले व्याख्या गरिदिएका यसका नकारात्मक पाटाहरूलाई मात्र लिएर हिँड्नेहरू पनि छन् । तर जसले, जसरी, जहाँ, जुनसुकै तरिकाले व्याख्या गरे पनि आफ्नो धर्मै नमान्ने मान्छेलाई हेर्न दृष्टिकोण भने मानिसको त्यति राम्रो भएको पाइँदैन । बाराक ओबामाले आफू राष्ट्रपति भएपछि बाइबल छुदै क्रिश्चियन हुनुमा म गर्व गर्छु भनेका थिए । अमेरिकी डलरमा ‘ट्रस्ट इन गड’ लेखिएको हुन्छ । तर, हामीकहाँ भने म धर्म मान्दिनँ भन्नुलाई ठूलो बहादुरीझैं ठान्निछ र धर्मविरोधी मन्तव्य दिनुलाई क्रान्तिकारी कदम मानिन्छ ।
नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाउँदा दु:ख मान्ने क्रिश्चियन र मुस्लिमहरू धेरै छन् भन्दा विश्वास नलाग्न सक्छ, तर यो वास्तविकता हो । धार्मिक दृष्टिकोणले नेपाल एउटा विशेष मुलुक थियो, तर तिमीहरूले के ग¥यौ ? भन्नेहरू धेरै भेटिन्छन् । जनआन्दोलनको कुनै एजेण्डा नबन्दानबन्दै पनि गणतन्त्रका नाममा नेपाललाई हठात धर्मनिरपेक्ष राज्य घोषणा गरिएको थियो । यसका पछाडि हाम्रा अदूरदर्शी र मनमा धर्म नभएका केही नेताको बाहेक अरूको हात छैन । यद्यपिप धर्मनिरपेक्ष बने पनि धार्मिक गतिविधिमार्फत राष्ट्रियताको खोजीको सुरुवात हाम्रो देशमा भएको छ । धेरै कुरामा छिमेकी मुलुकमा भर पर्दै अघि बढेका नेपाली धार्मिक मूल्यमान्यता र तीर्थस्थलहरूमा पनि छिमेकी मुलुकको भरमा थिए, छन् । काशी होस् या गया, हरिद्वार या ऋषिकेश नेपालीको ओइरो लाग्ने गरेको छ । आफूसँग के छ भन्ने कुराको खोजी गर्नभन्दा अरूसँग भएको कुराकै पछि लाग्न खप्पिस हामीले धर्मसँग जोडिएका कुराहरू, तीर्थस्थलहरूमा पनि अरुलाई नै महत्व दिँदै अघि बढ्ने गरेका छौँ । ढिलै भए पनि हामीकहाँ धार्मिक राष्ट्रियताको बहस सुरु भएको छ । राष्ट्रियताको जगेर्नामा धर्मको महत्वको चर्चा मात्र भएको छैन, नेपाललााई अन्तर्राष्ट्रिय रूपमै चिनाउन यहाँका तीर्थस्थलको सदुपयोग पनि हुन थालेको छ । यसको ज्वलन्त उदाहरण चतरामा अहिले चलिरहेको कुम्भमेला र त्यहाँ देखिएको धार्मिक जमघटलाई लिन सकिन्छ । धार्मिक स्थलको रूपमा चतरामा विभिन्न मुलुकका हजारौँ मानिसको प्रवेशले मुलुकलाई चिनाउने काम मात्र गरेको छैन, मुलुकवासी मृत्यु कुर्न अब हरिद्वार पुगिरहनु आवश्यक छैन है भन्ने सन्देश पनि गएको छ । धर्मको नाममा नेपालबाट ठूलो धनराशि छिमेकी मुलुकतर्फ जाने गरेको छ ।
नेपालमा कुम्भमेलाको आयोजनाले धर्मको माध्यमबाट राष्ट्रियता, राष्ट्रिय एकता, सहिष्णुता, सद्भावको संरक्षण सम्वद्र्धन तथा बाह्य पर्यटनको प्रवद्र्धन पनि भएको छ । नेपाल र नेपालीको छुट्टै पहिचान र नेपालको छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च राख्ने काम भएको छ । शास्त्रीय तथ्य तथा प्रमाणका आधारमा नेपालका प्रथम ऐतिहासिक जगत्गुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यबाट भएको यस कार्यलाई मुलुकमा गणतन्त्रपछिको असल कार्य ठानिएको छ । पिण्डेश्वर कुम्भमेलाका नामले परिचित यो धर्म मेलाले नेपाल कुनै पनि आकारको धार्मिक कार्य गर्न सक्षम छ भन्ने सन्देश पनि दिएको छ । स–साना कुराका लागि पनि छिमेकीको मुख ताक्ने या मुड हेर्ने नेपाली नेताहरूले धर्मका लागि छिमेकी मुलुकका गतिलै टाउकाहरूको चतरा भ्रमणबाट आफूले राष्ट्रको इज्जत बढ्ने काम गर्न सके आफू धाइरहनुनपर्ने रहेछ, उताबाटै मानिस आफूलाई भेट्न आउने वातावरण पनि बनाउन सकिनेरहेछ भन्ने पाठ सिक्न पनि आवश्यक छ । वास्तवमा छिमेकी पनि नेपालमा केही राम्रो होस् भनेरै हेर्न चाहन्छन्, सुधार गर्न सकिने क्षेत्रलाई पनि जस्ताको तस्तै छोडेर रमिता देखाउने त हामी नेपाली नै हौँ । विगतमा शिक्षाका लागि धेरै रकम छिमेकी मुलुकमा गयो, कारण रात दिनको जाम, हड्ताल, अस्थिरता । जुन कुरा बाहिरका मानिसले आएर गरिदिएका होइनन्, हामी आफँैले गरेका हौँ । धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको देश हो नेपाल । तर, कतिपय ठाउँमा आधारभूत संरचना नै बन्न नसकेका कारण केही नभएजस्तो भइरहेको छ । राज्य धर्मनिरपेक्ष भए पनि भोलि चर्च हेर्नका लागि विश्व समुदायका मानिस नेपाल आउने होइनन्, मन्दिर हेर्नकै लागि आउने हुन् । धार्मिक अनुष्ठानहरू राष्ट्रियताका प्रखर माध्यम हुन् भन्ने उदाहरण पनि कुम्भमेला बनेको छ । राष्ट्रियताको जगेर्नाको पक्षमा अनन्त श्री बालसन्तले दिने गर्नुभएको प्रवचन माओवादी नेताका भाषणभन्दा हजारौँ गुणा तार्किक र मानिसलाई आकर्षित गर्ने प्रकारका छन् । उहाँले हाम्रा नेताहरूले झैं छिमेकीहरूका अगाडि एउटा पछाडि अर्को कुरा गर्ने गर्नुभएको छैन । उहाँका प्रवचन सधैँ सार्वजनिक छन् । यी साधुमहात्माको राष्ट्रप्रतिको चिन्ता र राष्ट्रवाद हरेक नेपालीलाई जगाउने प्रकारको छ । महात्माको दर्शनका लागि मुलुकबाहिर पुग्नुपर्ने कुराको अन्त्य हुनु पनि आफँैमा महत्वपूर्ण कुरा हो । राष्ट्रियता भन्ने कुरा टनकपुरसँग मात्र होइन, अरू धेरै कुरासँग जोडिएको छ भन्ने कुरा सबै नेपालीले बुझ्नु आवश्यक छ ।