खुल्न नपाई बन्द भो पौडीपोखरी

खुल्न नपाई बन्द भो पौडीपोखरी


sportएमालेको उद्दण्ड
सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालय एमालेको हातमा परेपछि खेलकुदमा पटक–पटक सानातिना भूकम्पले धक्का दिइरहेका छन् । यो क्रम अहिले पनि जारी छ, तर त्यसको असर खासै देखिएको छैन । एमालेले खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको काँधमा बन्दुक राखेर थुप्रैपटक खेलकुदलाई निसाना लगाएर पड्काउन कोसिस गरे पनि त्यो निस्प्रभाव सावित भएको छ । उल्टै त्यसको नकारात्मक प्रभावमा मन्त्रीको पटकपटक मानमर्दन भइरहेको छ । र पनि मन्त्री पौडेललाई बीलको बोका बनाउन एमाले अझै पनि प्रयासरत रहेको प्रस्ट रूपमा देखिएको छ । यसको पछिल्लो उदारहण सातदोबाटोस्थित पौडीपोखरी बनेको छ । जसमा एमालेले खुला हस्तक्षेप गर्दै पौडीपोखरी खुल्न नपाई बन्द गरिदिएको छ । अन्य राजनीतिक करसतमा असफल भएपछि पौडीपोखरीमा धावा बोल्न पुगेको एमालेले पौडीपोखरीमा ढुङ्गा हानेर खेलकुदमा ठूलै तरङ्ग फैलाउने कोसिस गरे पनि त्यो असरदार सावित हुन सकेको छैन ।
चैत २१ गतेदेखि सञ्चालनमा आउन लागेका दशरथ रंगशाला र सातदोबाटोस्थित पौडी पोखरीका लागि आवश्यक १५ जना ज्यालादारी कर्मचारीको पदपूर्तिका लागि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेको पदपूर्ति समितिले दुई महिनाअघि निवेदन आह्वान गरेको थियो । जसअनुसार समितिमा एक सय १२ जनाको निवेदन परेको थियो । तीमध्ये योग्य १५ जनालाई नियमसम्मत् समितिले छनोट गरेको थियो । जसमा सातदोबाटोका लागि ६ जना फाइफगार्ड, ब्वाचम्यान, लकर र टिकट चेकर गरी १२ जना र त्रिपुरेश्वरका लागि तीनजना थिए । समितिले यहाँसम्म टुङ्गो लगाउँदा कुनै विवाद र विरोध थिएन । तर, विडम्बना, एमाले कार्यकर्ताले पौडी पोखरीमा पूरै १५ जना नेपाल खेलकुद महासङ्घका कार्यकर्ता हुनुपर्ने भन्दै मन्त्री पौडेललाई दबाब दिएपछि असहज परिस्थितिको सिर्जना भएको थियो । कर्याकर्ताको यही दबाबमा मन्त्री पौडेलले पौडी पोखरी सञ्चालन हुने दिन चैत २१ गते ज्यालादारी कर्मचारीको नियुक्ति नगर्न र सातदोबाटोस्थित पौडीपोखरी सञ्चालन नगर्न निर्देशन दिएका थिए । बिहान पौडीपोखरी प्रमुख टेकबहादुर बमलाई निर्देशन दिएका मन्त्रीले दिउँसो राखेपलाई पत्राचार गरेका थिए । यसरी पूजापाठ गरेर खुल्नै लागेको पौडीपोखरी एमालेका कार्यकर्ताको निहित स्वार्थले गर्दा बन्द हुन पुगेको थियो ।
यो विषयमा मन्त्री पौडेलसँग जानकारी लिँदा उनले कार्यकर्ताको व्यापक गुनासो आएको र भर्ना प्रक्रिया बुझ्न आफूले यो कदम उठाएको बताएका छन् ।
मन्त्री पौडेलको निर्देशनमा सातदोबाटोस्थित पौडीपोखरीमा गुन्डा परिचालन गरेर पौडीपोखरी बन्द गराएपछि अहिले खेलकुदमा पुन: अराजक तत्वहरू हावी भएका छन् । पौडीपोखरी बन्द गराउने क्रममा उनीहरूले गरेको उद्दण्डताको अहिले खेलकुदमा व्यापक निन्दा, भत्र्सना र विरोध भइरहेको छ । स्वयम् खेलकुदमन्त्रीको निर्देशनमा एमालेका कार्यकर्तारूपी गुन्डाहरूले त्यहाँ मच्चाएको ताण्डवले खेलकुदलाई अराजकताको मार्गमा धकेलिदिएको छ । प्राप्त घटनाक्रमका अनुसार २०–२५ जनाजतिको समूह पौडीपोखरीमा प्रवेश गरी पौडीपोखरी प्रमुख टेकबहादुर बमलाई धम्क्याउँदै पौडीपोखरी बन्द गराउन लगाएका थिए । उनीहरूले राखेपका कर्मचारी बमलाई ‘हाम्रो कामै मान्छे काट्ने हो, तैँले भनेको मानिनस् भने हातखुट्टा बाँधेर यही पौडीपोखरीमा फ्यालिदिन्छौँ’ भनेका थिए । यसपछि उनीहरूले पौडीपोखरी बन्द गरी पौडी खेली फर्किएको प्रत्यक्षदर्शीले बताएका छन् । यतिबेला मन्त्री पौडेल र सदस्यसचिव युवराज लामाबीच जुँगाको लडाइँ चले पनि एक निर्दोष कर्मचारीमाथि भएको निन्दनीय व्यवहारले मन्त्रीको चरित्रमाथि नै प्रश्नचिह्न खडा भएको छ । उनी खेलकुदमा खेलकुदको विकासभन्दा पनि राजनीति र गुन्डागर्दीको विकास गर्न आएको यो घटनाक्रमले प्रस्ट पारेको छ । एमालेजस्तो जिम्मेवार पार्टीका मन्त्रीले गुन्डा लगाएर खेलकुदको हुर्मत लिन खोजेपछि अहिले सर्वत्र यसको विरोध भइरहेको छ ।
प्राप्त जानकारीअनुसार मन्त्री पौडेलकै निर्देशनमा १५ जना ज्यालादारी कर्मचारीलाई नियुक्ति गरिएको थाहा भएको छ । ती नियुक्ति पाएका कर्मचारीमा मन्त्रीकै नौजना रहेको पनि बुझिएको छ । मन्त्री पौडेलले आफ्ना नौजना मान्छे राख्दासमेत अहिले किन बखेडा निकालेका हुन् त्यो बुझ्न सकिएको छैन । मन्त्रीले छानी–छानी राखेका मान्छेप्रति आखिर उनैले किन बिमति जानएर पौडीपोखरी बन्द गर्ने आदेश दिए त्यो सोचनीय बनेको छ । ललितपुरका कार्यकर्तालाई पौडीपोखरीमा नियुक्ति गर्ने भनिए पनि मन्त्रीले अन्य कार्यकर्तालाई त्यहाँ नियुक्ति गरेकाले यो विवाद निस्किएको सूत्रको दाबी छ । पछि यो कुराको चाल पाएर ललितपुरका कार्यकर्ताले सातदोबाटोस्थित पौडीपोखरीमा ललितपुरकै कार्यकर्ता राख्नुपर्ने अन्यथा पौडीपोखरी सञ्चालन गर्न नदिने भन्दै विरोध गरेपछि मन्त्रीले बाध्यतावश यो कदम उठाएको बुझिएको छ । अन्यथा छानीछानी आफ्ना नौजना कार्यकर्ता राख्ने मन्त्री पौडेलले यो कुरामा विमति राख्ने प्रश्नै उठ्दैन । अहिले यो घटनाको दोषीको रूपमा मन्त्री पौडेलले राष्ट्रिय खेलकुदप्रति निसाना साँधे पनि त्यो उनको पानीमाथि ओभानो बन्ने चाल मात्रै हो । साँचो रूपमा भन्नुपर्दा मन्त्री पौडेल चोखिन मात्रै खोजेका हुन् ।
मन्त्री पौडेलले सहमति र सहकार्यलाई पाखा लगाउँदै अराजकतालाई आत्मसात् गरेपछि अहिले पौडीपोखरामा नयाँ भागबन्डाको खेल शुभारम्भ भएको छ । अहिलेसम्म मौन रहेका नेपाली काङ्ग्रेसले पनि आफ्नो भाग मागेको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै काङ्ग्रेसले सात सिट मागेको थाहा भएको छ । राखेपका सदस्य मनबहादुर न्यौपानेको नेतृत्वमा गएको उक्त टोलीले सदस्यसचिव लामासँग भेटमा उक्त प्रस्ताव राखेको बुझिएको छ । सो कुराबारे सदस्यसचिव लामासँग सम्पर्क गर्दा उनले निधि र विधिअनुसार नभए अब भागबन्डा हुन्छ भनेका थिए । अहिले काङ्ग्रेसले सात सिट मागेको छ, भोलि राप्रपा, एमाओवादी र मधिसे दलले पनि माग्न सक्छन् । त्यसैले यो विवाद मन्त्री पौडेलले झिकेका हुन्, उनैले समाधान गर्नुपर्छ, यसबारेमा मेरो भन्नु केही छैन । पौडीपोखरी बन्द गरेपछि निकै आलोचित बन्न पुगेका मन्त्री पौडेलले यसको निकासका लागि सदस्यसचिव लामासँग गोप्य मन्त्रणा गरेको सूत्रले बताएको छ । उक्त गोप्य मन्त्रणामा मन्त्री पौडेलले अर्को तीन सिट थप्नुहोस्, पौडीपोखरी खोल्नुहोस् भनेको थाहा भएको छ । तर, सदस्यसचिव लामाले यो प्रस्तावलाई ठाडै इन्कार गर्दै आफूले जस्तोसुकै जटिल परिस्थितिमा पनि नियम–कानुन नतोड्ने बताएको सूत्रको दाबी छ ।
सातदोबाटोस्थित पौडीपोखरी बन्द भएपछि अहिले दैनिक २५ देखि ३० हजारसम्म घाटा भइरहेको छ । ठेक्कामा दिँदा भएको व्यापक अनियमिता र कमिसनले राखेपलाई लाखौँ घाटा भएपछि विगत दुई वर्षदेखि राखेपले नै पौडीपोखरी सञ्चालन गर्दै आएको छ । पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठको पालामा दिइएको ठेक्कामा राखेपलाई ५४ लाख घाटा भएको थियो । जुन रकम अहिलेसम्म उठ्न सकेको छैन । तर, अहिले सातदोबाटोस्थित पौडीपोखरीबाट मात्रै वार्षिक ८० लाख आम्दानी भइरहेको राखेपले बताएको छ । स्मरण रहोस्, पौडीपोखरीबाट आम्दानी हुने रकम श्रेणीविहीन कर्मचारीको तलब, भत्ता र आन्तरिक खर्चको रूपमा प्रयोग हुँदै आएको छ । विगत दुई वर्षमा एक करोड ६० लाख रुपैयाँ आम्दानी गर्न सफल पौडीपोखरीलाई व्यक्तिगत स्वार्थ र राजनीतिक रिसइबी साँध्न अनिश्चित कालका लागि बन्द गरिनु अहिले खेलकुदका लागि दुर्भाग्य भएको छ । यो घिनौलो खेलले स्वयम् मन्त्री पौडेलको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने प्रस्ट रूपमा देखिन्छ । मन्त्री पौडेललाई भगवान्ले सद्बुद्धि दिऊन् ।

खेल समाचार
जितकुन्डोमा पूर्वाञ्चल टिम च्याम्पियन
पूर्वाञ्चलले तेस्रो राष्ट्रिय जितकुन्डो प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चलले पाँच स्वर्ण, दुई रजत र दुई कास्य जितेको थियो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल चार स्वर्ण, दुई रजत र दुई कास्यका साथ दोस्रो भएको थियो भने तेस्रो स्थानमा रहेको सुदूरपश्चिमाञ्चलले तीन स्वर्ण, पाँच रजत र दुई कास्य हात पारेको थियो । नेपाल जितकुन्डो मार्सल आर्ट सङ्घद्वारा आयोजित प्रतियोगिताको पुरुषमा सुदूरपश्चिमाञ्चलका प्रकाश राई तथा महिलामा पश्चिमाञ्चलकी सिर्जना लामा उत्कृष्ट खेलाडी चुनिएका थिए । प्रतियोगिताको अन्तिम दिन पुरुषमा आठ र महिलामा सात गरी प्रतियोगितामा समावेश सबै १५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरुषको ३५ केजीमुनि पूर्वाञ्चलका रूपेश कार्की, ३५.५–४० केजीमा सुदूरपश्चिमाञ्चलका प्रकाश राई, ४०.५–४५ केजीमा सुदूरपश्चिमाञ्चलका सुरेन्द्र घलान, ४५.५–५० केजीमा मध्यपश्चिमाञ्चलका अल्ताप दनुवार, ५०.५–५५ केजीमा मध्यपश्चिमाञ्चलका श्रवण गाउछामगर, ५५.५–६० केजीमा पश्चिमाञ्चलका सुमन गुरुङ, ६०.५–६५ केजीमा पूर्वाञ्चलका कवीन्द्र पुनमगर तथा ६५.५ केजीमाथि मध्यपश्चिमाञ्चलका सुरेन्द्र घलेले स्वर्ण जितेका थिए । त्यस्तै महिलाको ३५ केजीमुनि पूर्वाञ्चलकी शर्मिला तामाङ, ३५.५–४० केजीमा मध्यपश्चिमाञ्चलकी मीना बुढाथोकी, ४०.५–४५ केजीमा पूर्वाञ्चलकी निशा चौलागाई, ४५.५–५० केजीमा पश्चिमाञ्चलकी सिर्जना लामा, ५०.५–५५ केजीमा पूर्वाञ्चलकी आशिका लामा, ५५.५–६० केजीमा मध्यमाञ्चलकी लिया सुनवार तथा ६०.५–६५ केजीमा सुदूरपश्चिमाञ्चलकी जुनु लामाले शीर्ष स्थान हात पारेका थिए । विजेतालाई आयोजक सङ्घका महासचिव एवम् प्रमुख प्रशिक्षक शिवबहादुर थापा, कोषाध्यक्ष तेजविक्रम थापा, समाजसेवी ध्रुव अधिकारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

सातौँ दक्षिण एसियाली जुडो चैत अन्तिममा
अन्तर्राष्ट्रिय जुडो महासङ्घ र जुडो युनियन अफ एसियाको सहयोगमा नेपाल जुडो सङ्घले सातौँ दक्षिण एसियाली सिनियर जुडो च्याम्पियनसिप चैतको अन्तिम साता आयोजना गर्ने भएको छ । नेपालले यसअघि पनि उक्त प्रतियोगिताको दुई फरक संस्करण आयोजना गरिसकेको छ । प्रतियोगिता चैत २८ र २९ मा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिएका छन् ।
प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका खेलाडीले पुरुष र महिलातर्फ समान सात–सात गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट सबैभन्दा बढी १६ खेलाडीको सहभागिता रहनेछ । बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट समान १४ खेलाडी सहभागी हुनेछन् । भारतले १२ खेलाडीलाई उतार्नेछ । अन्यभन्दा कम आठ खेलाडीले अफगानिस्तानको प्रतिनिधित्व गर्नेछन् । भुटान पनि ‘अब्जर्भर’का रूपमा सहभागी हुने जानकारी गराइएको छ । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै यो प्रतियोगितालाई मध्यनजर गरी जुडो सङ्घले चार खेलाडीलाई विशेष वैदेशिक प्रशिक्षणमा पठाएको छ । रमेश मगर, खेम थापा, देवीका खड्का र लीला अधिकारी हाल विशेष प्रशिक्षणका लागि उज्वेकिस्तानमा छन् ।
पुरुषतर्फ ६०, ६६, ७३, ८१, ९० तथा १०० केजीमुनि र १०० केजीमाथि भिडन्त हुनेछ । महिलामा ४८, ५२, ५७, ६३, ७० तथा ७८ केजीमुनि र ७८ केजीमाथिमा खेल हुनेछ । त्यस्तै चैत २६ देखि ३० गतेसम्म आईजेएफ कन्टिनेन्टल रेफ्री सेमिनार तथा एक्जामिनेसन नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा हुने जुडो सङ्घका महासचिव रमेश महर्जनले जानकारी दिए । सेमिनारमा नेपाललगायत १६ राष्ट्रका ३९ रेफ्री तथा प्रशिक्षकको सहभागिता रहनेछ । सेमिनार र प्रतियोगिता सञ्चालन गर्न अनुमानित ५० लाख खर्च हुने आयोजकले जनाएको छ । त्यसमा राखेपले १० लाख र जुडो युनियन अफ एसियाबाट १४ हजार नौ सय ५० अमेरिकी डलर उपलब्ध हुने बताइएको छ ।