‘ज्ञानेन्द्रलाई टक्कर दिने मै हुँ’

‘ज्ञानेन्द्रलाई टक्कर दिने मै हुँ’


othernewsनेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली स्वास्थ्योपचारका लागि भारत जानुभएको मौका पारेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आगामी महाधिवेशनबाट आफैँ अध्यक्ष बन्ने भन्दै आक्रामक प्रचारबाजीमा जुट्नुभएको छ । १५ वर्षसम्म नेकपा एमालेको शीर्षस्थ पद महासचिवको जिम्मेवारी सम्हालेपछि स्वेच्छाले पद त्याग गर्नुभएका नेपालले ‘राजा’ ज्ञानेन्द्रसँग टक्कर लिनसक्ने व्यक्ति आफू भएकोले एमाले अध्यक्ष आफैँ बन्नुपर्ने घोषणा गर्नुभएको छ । यसै साताको सोमबार (चैत २४) एमाले युवा सङ्घको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन धुलिखेल पुग्नुभएका माधव नेपालले कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘राजा ज्ञानेन्द्रसँग सीधा नजरले टक्कर दिनसक्ने मै हुँ, टक्कर दिएर आएको व्यक्ति हुँ, एमालेको अध्यक्ष बनेर पार्टीलाई थप उचाइमा पु¥याउन सक्ने सामथ्र्य पनि राख्दछु ।’ नेता नेपालले यसो भनिरहँदा सहभागीहरूले माधव नेपालद्वारा तात्कालिक राजा ज्ञानेन्द्रलाई दाम राखेर दर्शन गरेको दृश्य र प्रधानमन्त्री बन्न लक्ष्मण सिंह खड्कालगायतका व्यक्तिहरूसँग लामबद्ध भएर नारायणहिटी राजदरबारमा बिन्तीपत्र हालेको सन्दर्भ स्मरण गर्न पुगेका थिए । माधव नेपालले राजा ज्ञानेन्द्रसँग टक्कर लिएको घोषणा गर्नुभएपछि एमालेभित्र उहाँले त्यस्तो टक्कर कहिले र कसरी दिनुभएको रहेछ भन्ने खोजी सुरु भएको छ । माधव नेपालले धुलिखेलमा आयोजित समारोहमा ‘आफू पार्टी अध्यक्ष बन्न तयार भएको र एमालेलाई माया गर्नेहरू सबैले आफूलाई अध्यक्ष बन्न सुझाएको’ भन्दै ‘जहाज लगेर भीरमा ठोक्काउनेहरूलाई पार्टीको नेतृत्व दिन नसक्ने’ बताउनुभएको थियो । नेपालले उक्त कटाक्ष वामदेव गौतमका तर्फ गर्नुभएको सबैले बुझेका छन् । एमालेको बुटवलमा सम्पन्न गत महाधिवेशनमा केपी ओली र झलनाथबीच प्रतिस्पर्धा हुँदा माधव नेपालले तटस्थ बसेको अभिनय गर्नुभएको थियो । तथापि उहाँले ओलीलाई परास्त गर्न भित्री सक्रियता दर्शाउनुभएको थियो । यसपालि झलनाथ खनाललाई संसदीय दलको नेता बनाएर आफू अध्यक्ष बन्ने दाउमा रहनुभएका माधव नेपाल दलको नेतामा ओलीको विजयपश्चात् विक्षिप्त बन्नुभएको छ र यस अवधिमा नेपालको अभिव्यक्ति आक्रामक र असामान्य हुँदै गएको छ ।
वामदेव गौतमलगायतका एकथरी नेताहरू केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कसरतमा जुट्नुभएको छ । ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन वर्तमान अध्यक्ष झलनाथ खनालको समेत साथ हुने विश्वास गरिएको छ । उता केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै आएको भए पनि माधव नेपालले ओलीको स्वास्थ्य कमजोर हुँदै गएको प्रचारबाजी गर्नुभएको छ । यसअघि सार्वजनिक रूपमै ओलीको स्वास्थ्यस्थितिप्रति असंवेदनशील अभिव्यक्ति दिँदै आउनुभएका नेपालले पछिल्लो समयमा आफ्ना समर्थक र कार्यकर्तामाझ मात्र नकारात्मक टिप्पणी गर्ने गर्नुभएको छ । माधव नेपालले ओलीको स्वास्थ्यस्थितिप्रति गरेको टिप्पणी सुन्नेहरूले माधवको असंवेदनशीलता मात्र बुझेका छैनन्, उहाँ ‘कहिल्यै बिरामी नपर्ने मान्छे’ हो कि भनी व्यङ्ग्यात्मक टिप्पणीसमेत गर्न थालेका छन् । जे होस्, माधव नेपाल पछिल्लो समयमा नराम्रोसँग ‘एक्स्पोज’ हुँदै जानुभएको छ र पार्टीमा केपी ओली विचार–समूहबाहेकका मानिसको समेत सहानुभूति उहाँले गुमाउनुभएको छ । त्यसैले कुनै कारणवश केपी ओली अध्यक्षको उम्मेदवार बन्नुभएनछ भने पनि माधव नेपाल अध्यक्ष बन्ने सम्भावनाचाहिँ अब समाप्तप्रायः भएको छ । अहिलेसम्मको स्थितिमा ओली नै पार्टी अध्यक्ष बन्नुहुने निश्चित मानिएको छ । कारणवश ओली अध्यक्षको उम्मेदवार नबन्नुभएमा उपाध्यक्ष विद्या भण्डारीले मधवका विरुद्ध उम्मेदवारी दिनुपर्ने मत कार्यकर्तापङ्क्तिमा रहेको छ । कुनै कारणले भण्डारी उम्मेदवार नबन्नुभएमा वर्तमान अध्यक्ष झलनाथ खनाललाई नै ओली पक्षको समर्थन हुनसक्ने सम्भावना देखिन्छ, तर माधव नेपाललाई कुनै पनि हालतमा समर्थन नदिने दृढता ओली विचार समूहमा रहेको छ ।

सुशीलको उदयपछि लगानीकर्ता उत्साहित
काङ्ग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बनेलगत्तै नेपालमा विदेशी लगानीकर्ताहरू उत्साहित बनेको पाइएको छ । नेपालमा लगानीको प्रचुर सम्भावना रहे पनि कुशल नेतृत्वको अभाव, अस्थिर सरकार, अस्थिर राजनीतिलगायतका कारण मौन रहेका विदेशी लगानीकर्ताहरू सुशील कोइराला प्रधानमन्त्री बनेलगत्तै सम्भावित लगानी र यसको सुरक्षाका मुद्दालाई चासो देखाउँदै नेपाल आउन थालेका हुन् । अर्थ मन्त्रालयका अनुसार पछिल्लो समयमा नेपालमा लगानी गर्ने तथा लगानीका सम्भावित क्षेत्रका बारेमा अध्ययन गर्ने भन्दै विदेशी लगानीकर्ताहरू दैनिकजसो नेपाल भ्रमणमा आएका छन् । उनीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगी–व्यापारीलगायत सम्बद्ध अधिकारीहरूसँग दैनिकजसो भेटघाट र छलफल गरिरहेका छन् ।
फागुन तेस्रो साता विश्व बैंक तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का कार्यकारी निर्देशकको टोली नेपाल भ्रमण आएको थियो । टोलीले नेपालको आर्थिक प्रगतिका लागि संस्थागत संरचना सुधारमा जोड दिँदै जलविद्युत्को क्षेत्रमा लगानी चाहना व्यक्त गरेका छन् भने नेपालमा पाँच खर्ब रुपैयाँसम्म लगानी गर्ने आश्वासन दिएर उनीहरू फर्किएका छन् ।
गत फागुनमै एसियाली विकास बैंक (एडीबी) का दुईवटा टोली नेपाल आए । उनीहरूको उद्देश्य पनि नेपालमा लगानी गर्नु नै थियो । एडीबीका महानिर्देशक जुवान मिराण्डा त गत बुधबार मात्र नेपाल आए । यसअघि एडीबीका कार्यकारी निर्देशकले मात्र नेपाल भ्रमण गरेका थिए । मिराण्डाले नेपाल भ्रमणका क्रममा सन् २०१४ मा करिब २० अर्ब रुपैयाँ सहयोग रकम नेपाललाई उपलब्ध गराउने वचन दिए । नेपालमा केही समय एडीबीको अध्यक्ष आउने तयारीसमेत भएको बुझिएको छ । यसैगरी विश्व बैंकका उपाध्यक्ष फिलिप हौरेउले चैत दोस्रो साता नेपाल भ्रमण गरे । विश्व बैंकको उपाध्यक्षमा नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमणमा आएका उनले जलविद्युत्मा लगानी गर्न बैंक तयार रहेको जानकारी नेपाललाई गराएका छन् ।
त्यस्तै चैत पहिलो साता एक चिनियाँ व्यवसायी निजी विमानमा नेपाल आई प्रधानमन्त्रीसँग भेटेर फर्किएका छन् । उनीहरूले पनि नेपालमा लगानीकै विषयमा कुरा गरेका थिए । लगानीको सुरक्षा हुने भए आफूहरू नेपालमा लगानी गर्न इच्छुक रहेको र त्यसका लागि वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । फागुन र चैतभरि विदेशी दातृ संस्था र नेपालस्थित दातृ निकायका प्रतिनिधिहरूको नेपालमा भीड नै लाग्यो । मलेसियाको विकास निर्माणकार्यका जन्मदाता मानिएका महाथिर मोहम्मद नेपाल भ्रमणमा आएर विकास निर्माणको उपायहरूबारे जानकारी गराए । युरोपेली युनियन (इयू)ले पनि नेपाललाई दिने पैसा बढाउने घोषणा ग¥यो । उसले सन् २०१४ देखि २०१७ भित्र ४९ अर्ब रुपैयाँ नेपाललाई दिने घोषणा फागुन दोस्रो साता ब्रसेल्समा आयोजित एसिया कन्सल्टेसनमा गरेको छ । त्यस्तै युरोपियन इन्भेस्टमेन्ट बैंकले पनि नेपालमा लगानी गर्ने जानकारी सरकारलाई गराइसकेको छ । उसले जलविद्युत् आयोजना र प्रसारण लाइन विस्तारमा १६ अर्ब रुपैयाँबराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यसबीचमा विभिन्न राष्ट्रका निजी लगानीकर्ताहरू पनि नेपाल भ्रमणमा आएका छन् । उनीहरूले नेपालका व्यापारीहरूसँग मिलेर लगानी गर्ने चाहना व्यक्त गरेका छन् । त्यसरी नेपाल आएका विदेशी लगानीकर्ताहरूले लगानीको केन्द्रबिन्दु जलविद्युत्, होटल, कृषिलगायतका क्षेत्रलाई रोजेका छन् । विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित भएसँगै प्रवासमा रहेका नेपालीहरू पनि नेपालमा लगानी गर्न तयार देखिएका छन् । सरकारी निकायले राम्रो भूमिका निर्वाह गरिदिए दातृ समुदाय सहयोग बढाउन तयार रहेको स्पष्ट सङ्केत दुई महिनामै मिलेको अर्थ विश्लेषकहरूले बताएका छन् ।

योजना आयोगमा को ?
मन्त्रिमण्डलमा काङ्गे्रसका तर्फबाट सदस्यहरू चयन गरेझैं प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय योजना आयोग र अन्य राजनीतिक नियुक्तिहरूमा पनि गतिशील र सक्षम व्यक्तिहरूलाई प्राथमिकता दिन लाग्नुभएको छ । प्रधानमन्त्री कोइरालाले आफ्नोवरिपरि वर्षौंदेखि जमेर बसेका आधा दर्जन व्यक्तिलाई पन्छाएर डा. रामशरण महत, डा. नारायण खड्का र नरहरि आचार्यलगायत सक्षम मानिएका नेताहरूको मन्त्रिमण्डलमा चयन गर्नुलाई उहाँको केही गर्ने चाहनाका रूपमा बुझिएको छ । राष्ट्रिय योजना आयोगमा पनि प्रधानमन्त्री कोइरालाले सक्षम एवम् गतिशील व्यक्तिको खोजी गर्नुभएको र यसक्रममा डा. तिलक रावलको नाम अगाडि आएको जानकारी प्राप्त भएको छ । योजना आयोगको उपाध्यक्षमा डा. रावलका अतिरिक्त डा. विश्वम्भर प्याकुरेल, रामेश्वर खनाल, डा. पुष्कर बज्राचार्य, डा. जगदीशचन्द्र पोखरेललगायतको नाम पनि प्रधानमन्त्रीसमक्ष पुगेको छ । डा. प्याकुरेललाई प्रधानमन्त्रीले अन्य कुनै महत्वपूर्ण जिम्मेवारी दिने इच्छा राख्नुभएको, रामेश्वर खनालप्रति अत्यन्त सकारात्मक हुँदाहुँदै पनि तात्कालिक प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सल्लाहकारको रूपमा काम गर्नुभएकोले खनाललाई योजना आयोगको उपाध्यक्ष नै बनाउन प्रधानमन्त्री कोइराला हिचकिचाउनुभएको, पुष्कर बज्राचार्यका प्रति प्रधानमन्त्री विश्वस्त हुन नसक्नुभएको, डा. जगदीशचन्द्र पोखरेल पहिले उपाध्यक्ष रहेर ‘टेस्टेड’ भइसक्नुभएकोले प्रधानमन्त्रीको ‘च्वाइस’मा डा. तिलक रावल पर्नुभएको बुझिएको छ । कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख हुँदै राष्ट्र बैंकको गभर्नरसमेत भइसक्नुभएका डा. तिलक रावल गतिशील एवम् कार्यक्षमतावान् अर्थविद्का रूपमा स्थापित हुनुहुन्छ । भौतिक तथा आर्थिक विकासप्रति ज्यादा संवेदनशील प्रधानमन्त्री कोइरालाले रावललाई उपाध्यक्ष चयन गर्दा सरकारको कामले गति लिने विश्वास गर्नुभएको छ । तर, केही मन्त्रीहरूले भने डा. रावलको सट्टा रामेश्वर खनाललाई उपाध्यक्ष बनाउन प्रधानमन्त्रीमाथि दबाब दिइरहेका छन् । मन्त्रीहरूको दबाबमा पर्नुभयो भने कोइरालाले रामेश्वर खनाललाई नियुक्त गर्ने सम्भावना रहेको छ । प्रधानमन्त्रीमाथि कतिपयले चार वर्षसम्म अमेरिकाको राजदूत भई हालै मात्र नेपाल फर्किएका डा. शंकर शर्मालाई समेत उपाध्यक्षमा नियुक्त गर्न दबाब दिएको पनि जानकारीमा आएको छ । तर, प्रधानमन्त्रीले शंकरलाई तत्काल कुनै जिम्मेवारी सुम्पने इच्छा राख्नुभएको छैन ।

सहसचिवको पछि लाग्दा मन्त्रीकै प्रतिष्ठामा धक्का
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘राष्ट्रद्रोही’ कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएर चर्चाको शिखरमा आउनुभएको भए पनि एकजना कर्मचारीमाथि पूर्वाग्रह राख्दा उहाँमाथि नै प्रश्न उठ्ने स्थिति बनेको छ । निजामती सेवामा वामपन्थीहरूको दबदबा बढेको र यसक्रममा अर्थ मन्त्रालयजस्तो संवेदनशील र महत्वपूर्ण मानिने निकायमा समेत वाम कर्मचारीको हालिमुहाली बढेकोतर्फ प्रजातन्त्रवादीहरूको ध्यानाकर्षण भएको छ । हालै सहसचिवमा बढुवा भएका भरत सुवेदीलाई अर्थ मन्त्रालयले मातहतमा पोस्टिङ गराउन औपचारिक पहल गर्दा मन्त्री पण्डितले अवरोध सिर्जना गरेपछि गैरवामपन्थी कर्मचारीहरूप्रतिको उनको पूर्वाग्रह प्रकट हुन पुगेको छ । राजस्व समूहका कर्मचारी भरत सुवेदीलाई विभिन्न कारणवश विवादमा तान्ने प्रयास भए पनि उनी राजस्व उठाउन सक्ने कर्मचारीका रूपमा चिनिन्छन् । राजस्व अनुसन्धान विभागमा रहँदा विवादास्पद राजेन्द्र खेतानबाट भएको करछलीलाई सप्रमाण पक्राउ गरी दश करोड रुपैयाँ राजस्व असुलउपर गराएर थप चर्चामा आएका भरत सुवेदी दुई वर्षअघि नै फाइल बढुवाबाट सहसचिव बन्नुपर्ने थियो । तर, वाम घेराबन्दीका कारण सुवेदीले बढुवा पाएनन् । दुई वर्षअघि ३१ जना उपसचिवको फाइल बढुवाबाट उनी सहसचिव हुनुपर्ने थियो, तर ३१ रिक्त स्थान भए पनि २९ स्थानका लागि मात्र बढुवाको सूचना निकालिएको थियो । सबै (३१) रिक्त स्थानमा बढुवा गर्दा ३१औँ नम्बरमा भए पनि सुवेदी पर्ने देखिएपछि त्यसबेला २९ जनालाई मात्र बढुवा गरिएको थियो । यसपटक भरत सुवेदी बढुवामा परेपछि वाम कर्मचारीहरूको उक्साहटमा विनोदकुमार उपाध्याय नामक कर्मचारीले भरत सुवेदीको ठाउँमा आफू बढुवा हुनुपर्ने भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उपाध्यायको माग अदालतबाट सदर हुन नसकेपछि सुवेदीको बढुवा कायम भएको छ । यसैबीच अर्थ मन्त्रालयले सुवेदीको दक्षता र कार्यक्षमतालाई दृष्टिगत गरी अर्थ मन्त्रालयमा पोस्टिङको लागि सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, मन्त्री पण्डितले सुवेदीलाई अर्थ मन्त्रालयमा पठाउन इन्कार गर्नुभयो । अर्थले सुवेदीलाई काजमा भए पनि पठाइदिन पटकपटक आग्रह गर्दासमेत मन्त्रीले रोक लगाउनुभएको छ । त्यसरी मन्त्री पण्डितले सुवेदीप्रति पूर्वाग्रह राख्नुको कारण उहाँको आफ््नै इच्छा नभई एमालेसमर्थित कर्मचारीको दबाब भएको बुझिएको छ । स्मरणीय छ, अर्थ मन्त्रालयमा यतिबेला एमालेसमर्थक कर्मचारीको बोलवाला रहेको छ । भरत सुवेदीको पोस्टिङ अर्थ मन्त्रालयमा भएमा आफूहरूको हालिमुहाली समाप्त हुने भयले मन्त्री पण्डितमाथि उनीहरूले दबाब दिइरहेको बुझिएको छ । सहसचिव सुवेदीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ । जब कि अहिले अर्थ मन्त्रालयमा चार सहसचिवको स्थान रिक्त रहेको छ । रिक्त स्थानमा कर्मचारी माग गरी पठाउँदासमेत सत्ता साझेदार दल एमालेका मन्त्रीले अवरोध सिर्जना गर्दा साझेदार दलहरूबीच नै तनाव पैदा हुने सम्भावना बढाएको छ । भरत सुवेदीलाई अर्थमा पोस्टिङ नगराइनुको कारण अस्टे«लियाको स्थायी बसोबास अनुमति लिएको भनी बताउने गरिएको छ । तर, सुवेदीनिकट सूत्रहरूसँग सम्पर्क गर्दा उनले अस्टे«लिया र कुनै पनि मुलुकको स्थायी बसोबास अनुमतिपत्र नलिएको र सुवेदी विगत तीन वर्षदेखि काठमाडौं छोडेर बाहिर नगएकोसमेत बुझिएको छ । अर्को एक सूत्रबाट प्राप्त जानकारीअनुसार भरत सुवेदीलाई अर्थमा पोस्टिङ हुनबाट रोक्न बिमा ठगीमा दोषी ठहरिएका राजेन्द्र खेतान र राजस्व छलीमा परेका वल्र्ड लिङ्क नामक कम्पनीका मालिकहरू दिलीप अग्रवाल, मनोज अग्रवाल र विजय जलानलगायतका व्यक्तिहरू सक्रिय भएको बुझिएको छ । उनीहरू भरतलाई रोक्नका लागि करोडौँ रुपैयाँ खर्च गर्न पनि तयार भएको बताइन्छ । देशका लागि केही गर्न सक्रिय देखिएका मन्त्री पण्डित यसरी एउटा कर्मचारीको पछि लाग्नुलाई शोभनीय मानिएको छैन ।

एमाओवादी उपाध्यक्ष सत्याग्रहमा
निर्वाचनमा पराजय व्यहोर्नुपरेपछि एनेकपा माओवादीभित्र रूपान्तरणको आवाज नेतृत्व तहमै तीव्र गतिका साथ उठ्न थालेको छ । पार्टीलाई रूपान्तरण गर्नुपर्छ भन्नेमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच मतैक्य देखिएको छ । तर, रूपान्तरण कसरी, कहाँबाट, कसले गर्ने भन्ने विषयमा भने तीनैजना नेताका आ–आफ्नै दृष्टिकोण छन् । अध्यक्ष प्रचण्ड एमाले र माओवादीसमेतलाई मिलाएर बृहत्तर कम्युनिस्ट पार्टी निर्माणको पक्षमा हुनुहुन्छ भने डा. बाबुराम भट्टराई आर्थिक विकासमा केन्द्रित हुने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता महसुस गर्दै हुनुहुन्छ । तर, उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सोच भने अन्य दुई नेताभन्दा पृथक रहेको पाइएको छ । एमाओवादीको सचिवालय सूत्रले दिएको जानकारीअनुसार नारायणकाजी श्रेष्ठ प्रकाश रूपान्तरण आफैँबाट सुरु गरिनुपर्छ भन्ने धारणा राख्नुहुन्छ र उहाँले गाडी छोडेर सार्वजनिक यातायातका साधनमा यात्रा गर्न थालिसक्नुभएको छ । श्रेष्ठले आफूसँगै हिँड्ने सशस्त्र प्रहरीको टोलीलाई सँगै हिँड्न रोक लगाइसक्नुभएको छ र नयाँ सालको वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको टोलीलाई पनि फर्काइँदै छ । व्यक्तिगत सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीलाई बिदा गर्नेबारे छलफल चलिरहेको बताइएको छ । नारायणकाजी श्रेष्ठनिकटको एक अर्को सूत्रले दिएको जानकारीअनुसार श्रेष्ठले पार्टीका बैठकहरूमा आफैँबाट रूपान्तरण सुरु गर्नुपर्छ भन्दै सवारीसाधन प्रयोग गर्ने पचासभन्दा बढी नेताको आर्थिक हैसियतमाथि उहाँले प्रश्न उठाउनुभएको छ । गाडीको प्रयोगलाई पारदर्शी तुल्याउनुपर्ने र क–कसले कसरी गाडी प्रयोग गर्ने भन्नेबारेमा पार्टीले स्पष्ट दृष्टिकोणसहित निर्णय लिनुपर्ने माग श्रेष्ठको रहेको छ । एकातिर सर्वहाराको पक्षमा छौँ भन्ने, आफूलाई सर्वहाराकरण गरेको दाबी पनि गर्ने, अनि अर्कोतिर एमालेको जस्तै धनसम्पत्ति कमाउने, धनी बन्ने तर कुन नेता या कार्यकर्ता कसरी धनी बन्दै छ भन्ने विषयमा चासो नराख्ने परम्परा बसाउन नहुने विचार नारायणकाजी श्रेष्ठले पार्टी बैठकहरूमा राख्ने गर्नुभएको बुझिएको छ । जबसम्म गाडी तथा अन्य सेवा–सुविधालाई पारदर्शी एवम् व्यवस्थित गराइँदैन तबसम्म गाडीको प्रयोग नगर्ने निर्णयसहित श्रेष्ठले सत्याग्रह गर्नुभएको उहाँका निकटवर्तीहरूले जनाएका छन् । सूत्रका अनुसार पार्टीले गाडी प्रयोगलाई पारदर्शी र व्यवस्थित बनाएमा उहाँले गाडीको प्रयोग गर्नुहुनेछ, तर पार्टीले गाडी प्रयोग नगर्ने निर्णय लिएमा श्रेष्ठले त्यसको स्वागत गर्दैै सधैँ सार्वजनिक सवारीसाधन मात्र प्रयोग गर्नुहुने बताइएको छ । पार्टीको समग्र रूपान्तरणको सङ्केत देखापरेन भने पार्टी रूपान्तरणको मुद्दा नै सकिन्छ भन्ने निष्कर्षमा पुग्नुभएका श्रेष्ठ त्यस्तो अवस्थामा के गर्ने भन्नेबारे त्यतिबेलै निर्णय लिने गरी तयारीमा बस्नुभएको पनि सम्बद्ध सूत्रले जनाएको छ ।
स्मरणीय छ, नारायणकाजी श्रेष्ठ पुँजीवादी जनवादी क्रान्ति मूलभूत रूपमा सकिएको धारणा राख्नुहुन्छ र सामन्ती राज्य–व्यवस्था मूलभूत रूपमा सकिएकोले अब नयाँ जनवादी या पुँजीवादी जनवादी क्रान्ति भनिरहनु नपर्ने, बरु पुँजीको विकास गर्दै समाजवादतर्फ लाग्नुपर्छ भन्ने विचार नारायणकाजी श्रेष्ठले बनाउनुभएको छ । यो विचार डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणको निम्ति तयार पार्नुभएको प्रारूपभन्दा कतै भिन्न देखिएको छैन । तर, डा. भट्टराईले नयाँ शक्ति निर्माणको अभियान सुरु गर्नुभन्दा एक वर्षअघि नै नारायणकाजी श्रेष्ठले आर्थिक विकासमा केन्द्रित रहँदै समाजवादतर्फ जानुपर्ने विचार लिपिबद्ध गर्नुभएको बताइन्छ । नारायणकाजीले सुरु गर्नुभएको सत्याग्रहले एमाओवादीको रूपान्तरण गर्न सक्ने हो कि होइन भन्ने जानकारीका लागि अरू केही समय प्रतीक्षा गर्नुपर्नेछ ।

राष्ट्रद्रोहीहरूलाई तह लगाउन मन्त्री पण्डित दृढ
निजामती सेवाको शुद्धीकरणका निम्ति कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेर सुशील कोइराला नेतृत्वको सरकारका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विशेष चर्चामा आउनुभएको छ । त्यस निम्ति मन्त्री पण्डितले निजामती सेवा ऐनमा चौथो संशोधनको तयारी गर्नुभएको छ । सरकारी सेवामा रहँदारहँदै विदेशको पीआर (स्थायी बसोबास अनुमति) लिने र डीभी चिठ्ठा पारेर बस्नेहरूलाई नेपाल या विदेश दुईमध्ये एक विकल्प रोज्न बाध्य तुल्याउने तयारीमा पण्डित लाग्नुभएको छ । नेपालको नागरिकता ऐनले एउटा नेपालीलाई दुई ठाउँबाट नागरिकताको प्रमाणपत्र लिने अधिकार दिएको छैन र कसैले दुई ठाउँबाट नागरिकता लिएमा उसले कारबाहीको भागीदार बन्नुपर्ने हुन्छ । तर, यहाँ निजामती सेवामा रहेर आफूलाई राष्ट्रसेवक दाबी गर्नेहरूले द्वैध ‘नागरिकता’ लिँदा पनि तीमाथि कुनै कारबाही नहुनुलाई मन्त्री पण्डितले गम्भीरतापूर्वक लिनुभएको छ । मन्त्री पण्डित यसरी दोहोरो नागरिकता लिनुलाई गम्भीर प्रकृतिको राष्ट्रघात मान्नुहुन्छ र तिनलाई नेपाल वा विदेश दुईमध्ये एक रोज्न बाध्य पार्ने अभियानमा जुट्नुभएको छ । पण्डितको भनाइ छ, ‘एउटा व्यक्ति बहुराष्ट्रिय मान्यताअनुरूप जान सक्दैन, हरेक नेपालीको सपना÷बिपना नेपाल बनाउने हुनुपर्छ । जसमा नेपाली हुनुको गौरव छैन त्यस्ता मानिसले नेपाल बनाउलान् भनेर विश्वास गर्नु पनि हुँदैन ।’ घटना र विचारसँग कुरा गर्दै उहाँले अगाडि भन्नुभयो, ‘अहिले हामी त्यस्ता ‘राष्ट्रसेवक’हरूको बारेमा सूचना सङ्ग्रह गर्दै छौँ, त्यसका लागि औपचारिक र अनौपचारिक तहमा आह्वान पनि भइसकेको छ । विवरण प्राप्त भइसकेपछि हामी कारबाहीको प्रक्रियामा जानेछौँ ।’ आफ्नो मुलुकप्रति आस्था र भरोसा नराख्नेहरू राष्ट्रवादी हुन सक्दैनन्, जो राष्ट्रवादी होइनन्, तिनलाई कसरी राष्ट्रसेवक मान्न सकिन्छ भन्ने प्रश्न गर्दै पण्डितले भन्नुभयो, ‘विदेशमा यस्ता व्यक्तिलाई राष्ट्रघात गरेको अपराध मानेर कारबाही हुन्छ ।’
ज्ञातव्य छ, नेपालमा निजामती, प्रहरी र अन्य सेवाका गरी दुई हजार बढीले युरोप, अमेरिका र अन्य विकसित मुलुकमा स्थायी बसोबास अनुमतिपत्र लिएको अनुमान गरिन्छ । निजामती सेवाका ‘राष्ट्रसेवक’ मात्र बाह्र सय (१२००) भन्दा बढीसँग त्यस्तो अनुमतिपत्र रहेको तथ्य फेलापरेको छ । राज्यले तलब, भत्ता र अन्य सेवा–सुविधा उपलब्ध गराइन्जेल मात्र नेपाललाई ‘आफ्नो’ ठान्ने र अवकाशपछि नेपालको पेन्सन बुझ्दै विदेशको सेवामा समर्पित रहन चाहने प्रवृत्तिलाई निर्मूल गर्ने अभियान सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुरु गर्नुभएपछि देशभरिबाट त्यसको स्वागत भएको छ । पण्डितको अभियानप्रति स्वयम् प्रधानमन्त्री सुशील कोइराला पनि सकारात्मक हुनुभएको बताइन्छ । तर, कतै मन्त्री पण्डित यस अभियानबाट अनायासै पछि हट्नुहुने हो कि भन्ने आशङ्का भने गरिएको छ । यसबारेमा ध्यानाकर्षण गर्दा मन्त्री पण्डितले भन्नुभयो, ‘म निजामती ऐनमा चौथो संशोधन गर्छु÷गर्छु, यसमा कसैसँग सम्झौता हुँदैन । राष्ट्रद्रोहीहरूलाई कानुनी कारबाही गर्न म पछि हट्ने छैन ।’ तपाईंले मन्त्री बनेपछि मात्र यो समस्याबारे जानकारी पाउनुभएको हो कि पहिलेदेखि नै यसबारे सचेत हुनुहुन्थ्यो भन्ने जिज्ञाशा राख्दा पण्डितको भनाइ छ, ‘म धेरै पहिलेदेखि नै यसबारेमा सचेत र संवेदनशील थिएँ । ०४८ तिर धरानको घोपा क्याम्पभित्र पुनरावेदन अदालत या पूर्वाञ्चलको क्षेत्रीय अदालत राख्ने भनी सर्वोच्च अदालतका तात्कालिक प्रधानन्यायाधीशले प्रयास गर्नुभएको थियो । तर, हामी अदालतभन्दा पनि जनउपयोगी अरू केही काममा घोपा क्याम्पको सदुपयोग गरिनुपर्छ भन्नेमा थियौँ । त्यसैबीच यस विषयलाई लिएर हाम्रो पार्टीका नेता भरतमोहन अधिकारीसँगै म पनि तात्कालिक प्रधानन्यायाधीशकहाँ परामर्शका लागि गएका थियौँ । कुराकानीका क्रममा अनौपचारिक सेसन सुरु भयो र न्यायाधीशज्यूले आफ्ना छोराछोरी तथा परिवारका कतिपय सदस्य अमेरिकामा बस्ने गरेको प्रसङ्ग निकाल्दै आफू पनि सर्वोच्च अदालतबाट अवकाश पाइसकेपछि अमेरिका गएर बस्ने सोचमा रहेको बताउनुभयो । यो कुरा सुनेर म स्तब्ध भएँ । यस्ता मानिसलाई कसरी देशभक्त र राष्ट्रसेवक भन्न सकिन्छ भन्ने मेरो मनमा परेको थियो । पहिलोपटक मलाई २२ वर्षअघिको यसै घटनाले प्रभाव पारेको थियो । ०५७ तिर तात्कालिक सभामुखसहितको टोलीमा सामेल भएर मैले जापानको भ्रमण गर्ने मौका पाएको थिएँ । जापानका प्रधानमन्त्रीबाट हामीले आफ्नो देश आफैँले बनाउनुपर्छ, अरू कसैले बनाइदिँदैन भन्ने अर्ती पाएका थियौँ । फर्किएर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै सभामुखज्यूले ‘मलाई त विदेश बसेर नेपाल आएपछि टाउको दुख्छ’ भन्नुभयो । यसलाई पनि मैले निकै गम्भीरतापूर्वक लिएको थिएँ । यस्ता अनेक घटनाले देशप्रति मलाई संवेदनशील बनाएको हो ।’ अन्त्यमा मन्त्री पण्डितले भन्नुभयो, ‘यो देश हामी आफैँले बनाउने हो । सपना–बिपना देशकै हितमा देख्नुपर्छ, त्यसको लागि सानो पाइला चाल्ने प्रयास मात्र हामीले गरिरहेका छौँ ।’
०१५ मङ्सिर १९ गते जन्मनुभएका लालबाबु पण्डितले मेकानिकल इन्जिनियरिङ विषयमा प्रवीणता प्रमाणपत्र तह हासिल गर्नुभएपछि सार्वजनिक प्रशासन विषयमा स्नातक गर्नुभएको छ । ०३५ देखि राजनीतिमा प्रवेश गर्नुभएका उहाँले पटक–पटक गरी चार वर्ष जेल र सात वर्ष भूमिगत जीवन बिताउनुभएको छ । हाल एमालेको केन्द्रीय समिति सदस्य रहनुभएका पण्डित राष्ट्रवादी नेताका रूपमा चिनिनुहुन्छ । ‘देशद्रोही’हरूलाई तह लगाउने सफलता प्राप्त भएमा लालबाबु ‘राष्ट्रबाबु’ बन्ने विश्वास गरिएको छ ।

यी राजदूत हुन् कि जग्गा व्यापारी ?
साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डे अहिले राजधानी काठमाडौंमा निकै व्यस्त रहेका छन् । उनको व्यस्तता विभिन्न मुलुकमा राजदूत खाली भएकोले अझ राम्रो मुलुकतिर हान्निऊँ भनेर नभई अन्य दुई कारणले बढेको बताइन्छ । एउटा वामदेव गौतम र केपी ओलीबीचको समीकरणलाई छिन्नभिन्न पार्ने र अर्को गृहमन्त्री गौतमसहित आफू आर्थिक रूपले सशक्त बन्ने । प्राप्त जानकारीअनुसार राजदूत पाण्डे अहिले यी दुई कुरामा केन्द्रित भएर कार्य सफलताका लागि धौडधुपमा छन् । एमालेका युवा नेता तथा आफ्ना सहकर्मी योगेश भट्टराई र घनश्याम भुसालको दह्रो साथ पाएका राजदूत पाण्डेको दौडधुप हिजोआज कुनै रियल स्टेटका व्यापारीको भन्दा कम छैन । उनले यता जग्गा सस्तो पाइएला कि उता भनेर जग्गाको खोजी तीव्र रूपले गरिरहेका छन् । धेरै र सस्तो जग्गा कहाँ पाइएला भन्ने एउटा मिसन छ भने अर्को मिसन वामदेव र केपीबीचको समीकरणलाई अलग बनाउनु छ । हेर्दा फरक लागे पनि यी दुई मिसनबीच ठूलो अन्तरसम्बन्ध रहेको उनका निकटवर्तीहरूले बताएका छन् ।
प्राप्त जानकारीअनुसार साउदी अरबले निकट भविष्यमै नेपालमा खोल्न लागेको राजदूतावासका लागि आवश्यक जग्गाको बन्दोबस्त राजदूत आफँैले गर्न लागेका छन् । राजदूतावासका लागि जग्गा तथा घर बस्ने स्थानका लागि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयको स्वीकृति आवश्यक पर्छ । आफूनिकटका व्यक्ति गृहमन्त्री भएका बेला जग्गाको काम सकिहालँु भन्नेमा राजदूत देखिएका छन् । जग्गाबाट आउने मोटो कमिशनले आफूसहित गृहमन्त्री गौतमको समेत आर्थिक स्थिति थप मजबुत बनाउनेमा ढुक्क भएर उनी लागिपरेका छन् । यही मौकामा वामदेव–केपी सम्बन्ध टुटाएर वामदेवलाई केपीविरुद्ध प्रयोग गर्ने रणनीति बनाइएको पनि बुझिएको छ ।
तीन वर्षअघि साउदी अरबका लागि राजदूत बनेका उदयराज पाण्डे गृहमन्त्री वामदेव गौतमको पकेटका मान्छेका रूपमा चिनिन्छन् । प्रजातान्त्रिक युवा सङ्घका पूर्वअध्यक्ष उनी पार्टी फुट्दा गौतमसँगै नेकपा मालेमा थिए । अहिले नेपालका लागि साउदी अरबको दूतावास खोल्ने कुरालाई लिएर उनी जति ‘फुरफुर’ भएका छन् केपी–वामदेव समीकरणलाई लिएर त्यति नै दुःखी देखिन्छन् । कूटनीतिक पेसामा रहे पनि राजनीतिक र आर्थिक मिसन लिएर राजधानी आएका कारण उनको भूमिका आर्थिक चलखेलपट्टि नै केन्द्रित देखिएको छ ।

सुरजका कारण भाष्करलाई सकस
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्य ४८औँ साधारणसभाको पूर्वसन्ध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनको घेरामा पर्नुभएको छ । विद्युत् प्राधिकरणलाई गुणस्तरहीन चिनियाँ ट्रान्सफर्मर सप्लाई गरेकोले वैद्य अख्तियारको घेरामा पर्नुभएको हो । उहाँलाई अख्तियारले बयान लिन सुरु गरिसकेको छ । महासङ्घको अध्यक्षमा उम्मेदवारी दिनुभएका बहुचर्चित व्यवसायी भाष्करराज राजकर्णिकारलाई समेत यस घटनाले असर गर्ने आशङ्का गर्न थालिएको छ । ज्ञातव्य छ, भाष्करलाई समर्थन गर्ने दुई अध्यक्षमध्ये एक सुरज वैद्य हुन् । पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पनि भाष्करलाई समर्थन गरेका छन् । चुनावी मैदानमा उत्रिएका भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डेमध्ये पाण्डेलाई पूर्वअध्यक्षहरू महेशलाल प्रधान, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, चण्डी ढकाल, कुशकुमार जोशी, प्रदीपकुमार श्रेष्ठ र विनोदकुमार चौधरीको समर्थन रहेको छ भने चौधरीकै कारण सीएनआईले समेत प्रदीपजंग पाण्डेलाई समर्थन गर्ने निर्णय गरेको छ । यसैबीच नेपाली काङ्गे्रसले प्रदीपजंग पाण्डेको उम्मेदवारीलाई सघाउने भएको छ । काङ्गे्रसले यसरी प्रदीपजंगलाई समर्थन गर्ने भएपछि पछिल्लो समयमा उनको स्थिति सुदृढ हुँदै गएको देखिएको छ । भाष्करराज राजकर्णिकार प्रदीपजंगभन्दा ‘पपुलर’ भएका र उनको सक्रियता ज्यादा भएकोले यसअघि भाष्करको पल्ला भारी भएको देखिएको थियो । अहिले दुई पक्षबीच तीव्र टक्करको स्थिति पैदा भएको छ । सुरुमा भाष्कर समूहले कम्तीमा ६५ प्रतिशत मत प्राप्त गर्ने विश्वास गरेको भए पनि अहिले परिस्थिति केही बदलिएको छ । पाण्डे पक्षले साठी प्रतिशत मत आफूहरूले प्राप्त गर्ने विश्लेषण गर्न थालेको छ । देशभरिका ९३ जिल्ला–नगर समितिमध्ये ५६ वटाले प्रदीपजंग पाण्डेलाई समर्थन गर्ने विश्वास पाण्डे पक्षले लिएको छ । जम्मा सात सय चौरानब्बे मतदाता रहेको महासङ्घमा जिल्ला–नगरका ९३, वस्तुगत ८९, एसोसिएट ६ सय र द्विराष्ट्रिय १२ मत रहेको छ । भाष्कर समूहको सदस्यका उम्मेदवार बलबहादुर तामाङ वैदेशिक रोजगार सङ्घको अध्यक्ष रहेकोमा पुनरावेदन अदालतले यसै साता गरेको निर्णयअनुसार तामाङको अध्यक्ष पद धरापमा परेको छ । वैरोसङ्घको अध्यक्ष नै नरहेको अवस्थामा उनको उम्मेदवारी के हुने भन्ने प्रश्न उठेको छ ।
महासङ्घको साधारणसभा यसै साताको शुक्रबार (चैत २८ गते) राजधानीमा सुरु हुँदै छ । उद्यमी–व्यवसायीहरूको छाता सङ्गठनको साधारणसभा प्रधानमन्त्री सुशील कोइरालाबाट उद्घाटित हुने अपेक्षा गरिएकोमा सुरज वैद्यले सभामुख सुवास नेम्वाङलाई प्रमुख अतिथि बनाउने निधो गरेका छन् । एमालेले भाष्करको उम्मेदवारीलाई समर्थन गर्नु र नेम्वाङलाई प्रमुख अतिथि बनाइनुलाई संयोग मात्र मानिएको छैन । एमालेसँगको विशेष गठबन्धनकै कारण भाष्करजस्ता लोकप्रिय उम्मेदवारको विजयमाथि आशङ्का उत्पन्न भएको छ । उद्यमी–व्यवसायीबीच अत्यन्त अलोकप्रिय रहेका सुरज वैद्यले समर्थन गरेकोले पनि भाष्करलाई नकारात्मक असर परेको छ । उद्योग वाणिज्य महासङ्घमा वैद्यले गरेको अनियमिततालाई अर्को पक्षले साधारणसभामा जोडतोडका साथ उठाउने भएको छ । जसको चित्तबुझ्दो जवाफ दिन वैद्य असमर्थ भएमा त्यसको असरसमेत भाष्करलाई पर्ने देखिन्छ ।
स्वतन्त्र व्यवसायीहरूबीचको प्रतिस्पर्धासँग राजनीतिक दल जोडिन आइपुगेकोले महासङ्घको निर्वाचन परिणाम अप्रत्यासित हुनसक्ने सम्भावना बढाएको छ ।

माओवादी अर्को फुटको सङ्घारमा
सम्पूर्ण वामपन्थी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने सपना एमाओवादी अध्यक्ष प्रचण्डले देख्न थालेका भए पनि कम्युनिस्ट पार्टीहरूभित्रको अन्तरविरोध चर्किएर पुनः विभाजनसम्म पुग्न सक्ने स्थिति देखापरेको छ । प्रचण्डले वैद्य नेतृत्वको माओवादीसँग पार्टी एकताको लागि प्रयास गरिरहँदा उनकै पार्टी एमाओवादीभित्र अन्तरविरोध बढ्दै गएको छ भने नेकपा–माओवादीभित्र पनि अन्तरविरोध चर्किएर पुनः विभाजनको खतरा बढेको छ । नेकपा–माओवादी आगामी असारमा राष्ट्रिय सम्मेलन गर्ने तयारीका साथ जिल्ला सम्मेलनहरूमा जुटिरहँदा कतिपय जिल्लामा समानान्तर पार्टी कमिटीहरू बन्न थालेका छन् । माओवादीमा नेत्रविक्रम चन्दले क्रान्तिकारी धारको नेतृत्व गरेको र सीपी गजुरेल, देव गुरुङ पक्षले सुविधाभोगी ‘लाइन’ लिएको बताउन थालिएको छ । गजुरेल र गुरुङसहित रामबहादुर थापा बादल, पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेलले नेत्रविक्रम चन्दमाथि जनयुद्धवादी भएको आरोप लगाएका छन् भने चन्दले आफू पार्टी निर्णयभन्दा एक इञ्च पनि तल या माथि नचलेको बताएका छन् । चन्दले आफ्नो उपस्थितिमा तीस जिल्लामा सम्मेलन गराएका र तीसवटै जिल्लामा सर्वसम्मत ढङ्गले नेतृत्व चयन कार्य सम्पन्न गराएका छन् । तर, काठमाडौं उपत्यका र आसपासका जिल्लामा अर्को पक्षले सम्मेलन गराउँदा विप्लव समर्थकलाई बढार्न प्रयास गरेको बताइएको छ । कर्मचारीहरूको सङ्गठनमा विप्लव पक्ष र अर्को पक्षबीच विवाद भएर दुई समानान्तर सङ्गठनहरू अस्तित्वमा आएका छन् भने मजदुर फाँटमा पनि समानान्तर सङ्गठन निर्माण हुन थालेका छन् । विप्लव पक्षका नेता खड्ग विश्वकर्मा फ्र्याक्सन प्रमुख रहेको मजदुर सङ्गठनमा आफ्नो पकड जमाउन गजुरेल–गुरुङ पक्षले बल गर्दा होटल मजदुरहरू दुई भागमा विभाजित भएको बताइएको छ । हितमान शाक्य इन्चार्ज रहनुभएको विद्यार्थी सङ्गठनमा पनि दुईपक्षीय विवाद सुरु भइसकेको छ । ज्ञातव्य छ– कर्मचारी फाँटको इन्चार्ज पम्फा भुसाल हुनुहुन्छ र कर्मचारीहरू गत वर्ष नै विभाजित भइसकेका छन् ।
नेत्रविक्रम चन्द विप्लव पक्षले गजुरेल–गुरुङ पक्षमाथि पार्टी लाइनविपरीत चलेको र कायरतापूर्ण व्यवहार गर्ने गरेको आरोप लगाएको छ । माओवादी पार्टी एकताबद्ध हुँदा पालुङटारमा सम्पन्न विस्तारित बैठकले ‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने लाइन पारित गरेको थियो र यही लाइनअनुरूप प्रचण्डहरू नचलेको भन्दै मोहन वैद्य नेतृत्वमा करिब दुई वर्षअघि नेकपा–माओवादी पार्टी पुनर्गठन गरिएको थियो । गत असार (२०७०) १५ गते पोखरामा सम्पन्न माओवादी केन्द्रीय समितिको बैठकले पनि जनयुद्धको जगमा जनविद्रोह गर्ने लाइन अनुमोदन गर्दै जनमुक्ति सेना निर्माण गर्ने निर्णय गरेको थियो । युवा प्रतिरोध दल नाममा जनमुक्ति सेना गठन गर्ने निर्णयसहित बैठकले त्यसको जिम्मेवारी नेत्रविक्रम चन्दलाई दिएको थियो । संविधानसभाको निर्वाचनलाई पूर्ण असफल तुल्याउने र पार्टीका नेताहरू राज्यद्वारा उपलब्ध गराएको सेवा सुविधा छोडेर भूमिगत जाने निर्णय पनि सो बैठकले गरेको थियो । तर, उक्त निर्णयको कार्यान्वयन नेत्रविक्रम चन्द र उहाँका केही समर्थकबाहेक कसैले पनि नगरेको बताइन्छ । चुनावअघि नै चन्द सुरक्षाकर्मी र अन्य सुविधा छोडेर पश्चिम नेपालतिर लागेका थिए । गजुरेललगायतका नेताहरूले भने पार्टी निर्णय कार्यान्वयन गर्न आनाकानी गर्दै आएका छन् । गत मङ्सिर २१ देखि २९ गतेसम्म भएको माओवादी केन्द्रीय समितिको बैठकले ‘लगभग जनविद्रोहको सम्भावना टरेको’ निष्कर्ष निकालेको थियो । जनविद्रोहको सम्भावना टर्नु भनेको जनयुद्धमा जाने तयारी गर्नु हो भन्ने बुझाइ चन्द र चन्द पक्षको रहेको छ । तर, गजुरेल–गुरुङ पक्ष भने जनविद्रोहको सम्भावना टर्नुलाई जनयुद्ध सुरु गर्नुपर्ने अर्थमा बुझ्न चाहँदैन । त्यसैले माओवादी पार्टीमा यतिबेला क्रान्तिकारी र गैरक्रान्तिकारी पक्षबीच मतभिन्नता बढेर गएको छ । यो मत–विभाजनको समयमै व्यवस्थापन हुन सकेन भने आगामी असारको सम्मेलन वा त्यसअगावै उक्त दलमा विभाजन आउन सक्ने देखिएको छ । यस स्थितिमा प्रचण्डले माओवादी र सबैखाले कम्युनिस्ट पार्टीहरूबीच देख्नुभएको एकताको सपना पूरा हुन असम्भव मानिएको छ ।

पङ्गु बन्दै खेलकुदमन्त्री
सर्वोच्च अदालतको फैसलालाई मुख्य हतियार बनाएर खेलकुद हाँकिरहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई विस्थापित गर्न नसकेपछि अहिले एमालेका नेता, कार्यकर्ता र स्वयम् युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल सार्वजनिक रूपमै लामाविरुद्ध खनिन थालेका छन् । राखेपका पूर्वसदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले लामालाई खेलकुदको सबैभन्दा भ्रष्टाचारी सदस्यसचिव भनी टिप्पणी गरेलगत्तै मन्त्री पौडेलले पनि झोले र बन्दुकेबाट खेलकुद चल्न नसक्ने अभिव्यक्ति दिएपछि खेलकुद परिषद्को माहोल निकै तातेको छ ।
सदस्यसचिव लामाले जीवनराम श्रेष्ठप्रति औंला सोझ्याउँदै आरोप लगाउनेले प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । लामाले काठमाडौंमा सम्पन्न भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा के भएको थियो र कसले अख्तियारमा भ्रष्टाचारको मुद्दा खेपिरहेको छ त्यसतर्फ श्रेष्ठलाई ध्यान दिन सुझाएका छन् । बिनाप्रमाण जथाभावी जे पायो त्यही बोल्नुभन्दा पहिला ऐनामा गएर आफ्नो मुख हेर्न लामाले श्रेष्ठलाई चेतावनी दिएका छन् । स्मरण रहोस्, व्यापक भ्रष्टाचार भएको पाँचौँ राष्ट्रिय प्रतियोगिता हुँदा जीवनराम श्रेष्ठ राखेपका सदस्यसचिव थिए । उक्त प्रतियोगिता सञ्चालन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेपलाई २५ करोड रुपैयाँ प्रदान गरेका थिए ।
त्यस्तै पार्टीको निर्देशनमा सातदोबाटोस्थित पौडीपोखरी खुल्न नपाई बन्द गरेका मन्त्री पौडेल अहिले लामाविरुद्ध खुलेर लागेका छन् । कहिले ऐन संशोधन गरेर लामालाई हटाउने र कहिले झोले र बन्दुकेले खेलकुद सञ्चालन गर्न नसक्ने विवादास्पद अभिव्यक्ति दिइरहेका छन् । देशको मन्त्रीभन्दा पनि पार्टीका मन्त्रीको रूपमा प्रस्तुत भइरहेका पौडेल ऐन संशोधन गर्न आवश्यक दुईतिहाइ मतबारे भने बेखबर छन् । यसको लागि काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपालगायतका पार्टीको मत आवश्यक पर्दछ । अन्यथा संसद्मा दर्तासमेत हुन सक्दैन ।
एकातिर लामालाई हटाउन एमाले ज्यान छोडेर लागेको छ भने अर्कोतर्फ लामालाई टिकाउन एमालेकै एकथरी कार्यकर्ता दिनरात खटेर लागेका छन् । जब लामाविरुद्ध क्याबिनेटमा फाइल जान्छ त्यो बीचैमा रोकिन्छ, त्यो रोक्ने काम अन्यले नभई एमालेकै ‘कार्यकर्ता’ले गर्दै आएका छन् । यही गुटबन्दीले गर्दा एमालेले राखेपमा रिक्त रहेका तीन सिटको अहिलेसम्म पदपूर्ति गर्न सकेको छैन । प्राप्त जानकारीअनुसार नेपाल खेलकुद महासङ्घले सोबारेमा निर्णय गरे पनि उक्त पत्र मन्त्री पौडेलले खल्तीबाट बाहिर निकाल्न सकेका छैनन् ।

मैनालीसँग मिलेपछि कारबाहीको डण्डा
गत संविधानसभाको निर्वाचनमा पार्टीलाई लज्जाजनक रूपले पराजित गर्न दर्बिलो भूमिका निर्वाह गरेको भन्दै चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले अध्यक्ष बद्री न्यौपानेलाई पार्टीका कुनै पनि तहमा काम गर्न नपाउने गरी निलम्बन गरेको छ । आफूलाई पार्टीको सहअध्यक्ष दाबी गर्ने कृष्णगोपाल श्रेष्ठका अनुसार न्यौपानेमाथि संविधानसभा निर्वाचनपछि पार्टी एकता गरिएको भनी झुटको खेती गरेको, पार्टीको अनुशासन र नीतिविपरीत भ्रष्टहरूसँग साँठगाँठ गरेको, पार्टीको नियमित बैठक राख्न नसकेको, बहुमत केन्द्रीय सदस्यले पटक–पटक अनुरोध गर्दा पनि केन्द्रीय समितिको बैठक बोलाउन नचाहेको तथा पार्टीको नाममा व्यक्तिगत लाभ र स्वार्थका कार्यमा मात्र लाग्ने गरेकोजस्ता गम्भीर आरोपसमेत लगाइएको छ ।
हालै बसेको सो पार्टीको बैठकले पार्टीको सङ्गठन विस्तार गर्ने, भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त पार्ने, पार्टीभित्र मौलाउँदै गएको विकृति–विसङ्गति हटाउने तथा शुद्धीकरण गर्ने र पार्टी अनुशासनविपरीत कार्य गर्नेहरूलाई पार्टीबाट निलम्बन तथा निष्कासन गर्नेलगायतका निर्णय गरेको थियो ।
निलम्बनमा परेका बद्री न्यौपानेले हालै चुरेभावर पार्टीका अध्यक्ष केशव मैनालीलाई भावर आन्दोलनका सर्वोच्च नेता भन्दै पार्टी एकीकरण गरेका थिए । यसरी मैनालीको दलसँग एकता गरेको भन्दै असन्तुष्ट पक्षले पूर्वमन्त्रीसमेत रहेका न्यौपानेलाई कारबाही गरिएको अनुमान गरिएको छ ।

एक हातले स्टेयरिङ समातेर संविधानको गुहार
एक मात्र हात प्रयोग गरेर कार ड्राइभिङ गर्दै सिङ्गो नेपालको यात्रा कति सम्भव होला ? असम्भव नै नभए पनि यो काम सहज भने पक्कै छैन । तर, यस्तै असहज काम गरिदेखाउन उद्यत् बनेका छन् एक हात नभएका धनकुटा छिन्ताङ–७ का हिमाल राई । राईले फगत लहड प्रदर्शनका लागि यो काम गर्न लागेकाचाहिँ होइनन् । उनको यो जोखिमपूर्ण यात्रा शान्ति र संविधानको कामनासहित हुन लागेको हो । राईले आफ्नो यस कामलाई ‘मेची–काली जागरण अभियान’ नाम दिएका छन् । हिमालको यस अभियान २७ गते बिहीबार राजधानीको सहिदगेटबाट सुरु हुनेछ । आफूसँग रहेको एक मात्र हातले कार चलाउँदै उनले मेची–काली जागरण यात्रा सम्पन्न गर्नेमा हिमाल दृढप्रतिज्ञ छन् ।
नागरिक स्वयम्सेवक सङ्घको आयोजनामा हुन लागेको यस अभियानअन्तर्गत राई र उनको टोलीले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत दबाबमूलक ज्ञापनपत्र बुझाउँदै अन्तक्र्रिया गर्ने बताइएको छ । सङ्घका संयोजक केशव स्थापितले अहिलेको अभियान कुनै राजनीतिक नभई राजनीतिक पार्टीहरूलाई जनतासँग गरेको प्रतिबद्धता पूरा गराउन झकझक्याउने उद्देश्यले गरिएको जानकारी दिए । शान्ति र संविधान निर्माणको अभियानमा सम्पूर्ण नेपाली जनताले दबाबमूलक भूमिका निर्वाह गर्नुपर्नेमा स्थापितको जोड छ ।

पारि झलमल्ल वारिका अल्लमल्ल
उदयपुर (मैनामैनी)÷ जिल्लाको सुदूरपूर्वी सीमावर्ती गाविस मैनामैनीमा गजबको दृश्य हेर्न पाइन्छ । चतरा सप्तकोशीपारिका सुनसरी चतरा, विष्णुपादुका गाविस हुँदै बराहक्षेत्र जाने सडकको दुवै किनाराका स्थानीय झलमल्ल बिजुली बालेर रमाइलो जीवन बिताइरहेका हुन्छन्, तर त्यसकै वारितर्फ उदयपुर मैनामैनीका बासिन्दा भने अँध्यारोमा रात कटाउन विवश छन् । पारिकाहरू घरैपिच्छे जडित विद्युत्का कारण रङ्गीन टेलिभिजन र आईटीका अन्य सुविधामार्फत संसार च्याइरहेका हुन्छन् तर त्यहीँ वारिका चाहिँ राति कुपी र स–साना सोलार प्यानेलको सहाराले मधुरो बत्तीमा रात कटाइरहेका हुन्छन् । यसरी, कोशीपारिका बिजुलीबत्तीमा रमाउँदा मैनामैनीवासीहरू पारिको बत्ती हेर्दै थुक निलेर आफ्नो भाग्यलाई सराप्छन् ।
मैनामैनीको केही वडा सुगम मानिए पनि विकासका पूर्वाधारले भने मैनामैनी अति सुदूर या पछि परेको छ । सो गाविसमा अहिलेसम्म बिजुली बल्न सकेको छैन । तीन वर्षअघि गाडेको बिजुलीको पोल र एक वर्षअघि टाँगिएको तार हेर्दै मैनामैनीवासी बिजुलीको सपना देखिरहेका हुन्छन् । हालसम्म गाउँ विकास समिति मैनामैनी, जिल्ला विकास समितिलगायतले बिजुलीको पोल र तार टाँगिदिए पनि ट्रान्समिटर खरिद गर्ने पैसा नहुँदा मैनामैनी गाविसवासी बिजुलीको पोल र तार भए पनि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
स्थानीयवासी छिमेकी गाविस रामपुर–१ डुम्रिबोटेका गोपाल वान्तवा राई भन्छन्, ‘सय वाटको दुईवटा ट्रान्समिटर खरिद गर्न झन्डै १५ लाख पैसा चाहिन्छ, मैनामैनी गाविसवासीले त्यति धेरै पैसा कहाँबाट ल्याउने ?’ आर्थिक अभावका कारण ट्रान्समिटर खरिद गर्न नसक्दा मैनामैनी गाविसवासी गाडिएको पोल र त्यसैमाथि टाँगिएको बिजुलीको तारलाई हेरेर बिजुली बाल्ने सपना देखिरहेका महाकाली उमावि मैनामैनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनवीर दाहालको कथन छ ।
गाविस मैनामैनीले यो वर्ष गाउँ परिषद्बाट एक लाख २५ हजार बजेट बिजुलीका लागि छुट्याएको छ । ट्रान्समिटर खरिद गर्न सके मैनामैनीको वडा नम्बर ९ सोमबारे बजार, कोठु गाउँ, रामपुर गाविसको वडा नम्बर–१ डुम्रिबोटे, संगमेला गाउँलगायतका पाँच सय घरधुरीले बिजुलीको उज्यालोबाट लाभान्वित हुनेछन् । खरिद गर्न नसक्दासम्म मैनामैनीवासीले बिजुलीको पोल र तार हेरेरै चित्त बुझाउनुको विकल्प देखिँदैन ।

काठमाडौंमा गान्धी–कथा
गान्धीबारे नसुन्ने नेपाली कमै होलान् । धेरै मानिसले उनलाई पुस्तकमार्फत विश्वभर पढिरहेका छन् । अहिंसाका पुजारीका रूपमा विश्वभर पुजिएका गान्धीको जीवनका रोचक पक्ष सुन्ने मौका नेपालमा महेन्द्रनिधि फाउन्डेसनले मिलाएको हो ।
गान्धी–कथा सुनाउन ९० वर्षीय नारायणभाइ देसाईबाट गान्धीको जीवनका रोचक विचार र व्यवहारबारे सुन्न पाइन्छ । गत शनिबार प्रधानमन्त्री सुशील कोइरालाले कथा वाचन कार्यक्रमको उद्घाटन गरेका थिए । चैत २२ देखि २६ (आज बुधबार)सम्म कथा वाचन काठमाडौंको आनन्द पार्टी प्यालेसमा भइरहेको छ ।
एउटा सामान्य व्यक्ति कसरी महात्मा बन्न सक्छ र यसको रहस्य बुझ्न किताबका ठेली र दर्शनका पाना पल्टाउनुपर्छ । गान्धी दर्शनमा रुचि राख्नेहरूका लागि भने यतिबेला ऐतिहासिक अवसर काठाडौंमै जुरेको छ, गान्धीकै काखमा हुर्केका ९० वर्षीय नारायणभाइ देसाईबाट उनको जीवन स्पर्श गर्ने ।
‘गान्धी महात्मा हुनुका पछाडि तीन कारण छन्’ देसाईले भने, ‘आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशोधन ।’ आफूले गरेको काम ठीक भयो–भएन भनेर निरीक्षण गर्ने, गलत भयो कि भनेर जाँच्ने र त्यस्तो भए शुद्धीकरण गर्ने यी तीन औजार जीवनमा पालना गरेकै कारण सामान्य व्यक्ति महात्मा बनेको उनको ठम्याइ छ । ‘शरीर स्पर्शले शारीरिक सुख मात्र हुन्छ, आत्माको स्पर्शले आत्मीय सुख प्राप्त हुन्छ,’ देसाईले भने ।
उनी गान्धीले सन् १९२० मा स्थापना गरेको गुजरात विद्यापीठका कुलपति हुन् । उनले सन् २००२ देखि गान्धीका कथा वाचन गर्दै आएका छन् । ‘२००२ मा भारतको गुजरातमा भएको दङ्गामा धेरै मानिस हताहत भएको घटनाबाट चिन्तित भएका देसाईले त्यसपछि शान्तिको महत्व अझै बढेको भन्दै विभिन्न देशमा कथा वाचन गर्दै आएका छन्,’ गान्धी दर्शन पढेर फर्किएका शंकर तिवारीले भने ।
दैनिक तीन घन्टा चल्ने कथा नेपालमा पहिलोपटक भए पनि देसाईको यो १ सय १६ औं कथावाचन हो । उनले भारतसहित अमेरिका, मेक्सिको, क्यानडा, बेलायतमा वाचन गरिसकेका छन् । शान्ति र अहिंसा नै बलवान हतियार हुन् भन्ने सन्देश विश्वभर पु¥याउनु उनको उद्देश्य हो । नेपालमा महेन्द्रनारायण स्मृति प्रतिष्ठानले यो अवसर जुराएको हो ।

कवि महेशको एकल कविता
‘हामी र कविता’अन्तर्गत राम्रा कविता सुनेर मनाऔँ अभियानमा यसपटक चर्चित कवि महेश रेग्मीलाई उभ्याइने भएको छ । सर्वनाम नाट्यघर र लुनकरणदास गैगादेवी चौधरी प्रतिष्ठानको आयोजनामा आगामी वैशाख १ गते दिनको ३ बजे सुरु हुने कार्यक्रममा कवि रेग्मीले चालीसको दशकदेखि सत्तरीको दशकसम्म लेखिएका कविता वाचन गर्नेछन् । डिल्लीबजारमा रहेको सर्वनाम नाटकघरमा हुने सो कार्यक्रममा कविता सुन्न साहित्यप्रेमीहरूको व्यापक उपस्थिति हुने अपेक्षा कवि रेग्मीले गरेका छन् ।

स्वर्गीय पराजुलीका कृति खोजी गर्न सुझाव
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानले नेपाली भाषा साहित्यका दीर्घसेवी सुप्रसिद्ध साहित्यकार कवि कृष्णप्रसाद पराजुलीको ७८ वर्षको उमेरमा भएको असामयिक निधनले नेपाली भाषा, साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै यस दुःखद् घडीमा उहाँका शोकसन्तप्त परिवारजनहरूप्रति धैर्यधारण गर्ने शक्ति र दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको बैठकले स्वर्गीय पराजुलीद्वारा रचित एवम् प्रकाशित कृतिहरूको संरक्षण र अप्रकाशित कृतिहरूको खोजी गरेर प्रकाशन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग पनि गरेको छ ।

बागबजारमा बेगमको सम्झना
हजरत महलको १३५औँ मृत्यु वार्षिकीको अवसरमा भारतीय राजदूतावासले गत सोमबार एक माल्यार्पण कार्यक्रमको आयोजना ग¥यो । बेगम हजरत महललाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा विभिन्न दलका नेता, सामुदायिक अगुवा तथा सञ्चार क्षेत्रका व्यक्तिलगायत विविध क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
बेगम हजरत महलको बागबजार क्षेत्रमा रहेको समाधिमा माल्यार्पण गर्दै नेपालका लागि भारतीय राजदूत रणजित रायले बेगम हजरत महल भारतका एक असाधारण स्वतन्त्रता सेनानी रहनुभएको सन्दर्भ उल्लेख गर्दै भारतको पहिलो स्वतन्त्रता सङ्ग्राममा बेगमले निर्वाह गर्नुभएको महत्वशाली भूमिकाको चर्चा गर्नुभयो । उहाँको सो योगदानलाई भारतले सदैव स्मरण गरिरहने राजदूत रायको कथन थियो ।
बेगम हजरत महल तत्कालीन अवध (उत्तर प्रदेश, भारत)का शासक नवाव वाजिद अली शाहकी श्रीमती हुनुहुन्थ्यो । उहाँको अविवाहित नाम मुहम्मदी खानुम थियो भने छोरा बिर्जिस कदरको जन्मपछि उहाँलाई ‘हजरत महल’को सम्मान दिइएको थियो । उहाँले सन् १८५७–५८ मा अवधको क्रान्तिकारी सरकारको नेतृत्व गर्नुभएको थियो । महान् नेता हुनाको नाताले उहाँले भारतको स्वतन्त्रताका लागि जीवन आहुति दिनुभएको कार्यक्रममा जानकारी दिइयो । जनतालाई उपनिवेश शासकका विरुद्धमा उतारेर उहाँले उपनिवेशका भारतीय सेनालाई समेत विद्रोहमा सहभागी गराउनुभएको थियो । बेलायतले अवधको राजधानी पुनः कब्जा गरेपछि उहाँले नेपालमा शरण लिनुभएको थियो ।
बेगम हजरत महलको काठमाडौंस्थित बागबजार क्षेत्रमा रहेको समाधिमा लेखिएअनुसार उहाँले ७ अप्रिल १८७९ मा अन्तिम श्वास लिनुभएको हो । उहाँले आफ्ना अनुग्राहीहरूका लागि निर्माण गर्नुभएको ‘हिन्दुस्तानी मस्जिद’को आँगनमा उहाँलाई गाडिएको थियो । दशकौँपछि यो स्थललाई भत्काएर जामे मस्जिद नामको नयाँ संरचना निर्माण गरियो । हाल, हजरत महलको समाधिस्थल काठमाडांैस्थित जामे मस्जिद परिसरमा रहेको छ ।

माइन्ड मेनेजमेन्ट शिविर
नेपाल बैंक लिमिटेड प्रशिक्षण केन्द्र कुपण्डोलमा एकदिवसीय माइन्ड मेनेजमेन्ट शिविर सञ्चालन भयो । सद्गुरु आचार्य श्री स्वामी धु्रवबाट सञ्चालित यस शिविरमा बैंक प्रमुख महेश्वरलाल श्रेष्ठ, महाप्रबन्धक किरण श्रेष्ठलगायत पैंतीस वरिष्ठ अधिकारी सहभागी भए । तनाव प्रबन्ध र कार्यक्षमता वृद्धिका लागि यस्ता शिविरको आयोजना बेलाबेलामा गरिराख्ने कुरामा केन्द्रप्रमुख माधव देवकोटाले प्रतिबद्धता जनाए ।

मधुमेहविज्ञको टोलीद्वारा स्वास्थ्य शिविर
गान्धी ग्लोबल फेमिली नेपाल र नयाँदिल्लीको दिल्ली डाइबिटिक फोरमबीच एक विशेष सम्झौता भएको छ । गत साता फागुनमै भएको उक्त सम्झौताअनुसार सो डाइबिटिक फोरममा आबद्ध वरिष्ठ चिकित्सकहरू प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविरका लागि नियमित रूपमा नेपाल आइरहने छन् । उक्त सम्झौतामा नेपालका तर्फबाट गान्धी ग्लोबल फेमिलीका अध्यक्ष तथा नेपाल–भारत मैत्री हस्पिटलका संरक्षक सूर्य भुसाल र दिल्ली डाइबिटिक फोरमका महासचिव प्रोफेसर डा. अनुपम प्रकाशले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताबमोजिम गत साता मित्रपार्कस्थित नेपाल–भारत मैत्री हस्पिटलमा आयोजित स्वास्थ्य शिविरमा भारतबाट मधुमेहविज्ञ डा. अनुपम प्रकाशको नेतृत्वमा आएको सात सदस्यीय डाक्टरको टोलीले शिविर सञ्चालन गरेको छ । चिकित्सकहरूको सो समूहमा डा. अनुपम प्रकाशका अलावा डा. अरुणा निगम, डा. जीवन प्रकाश, डा. राहुल खरे, डा. सुची बर्मा, डा. गुञ्जन अग्रवाल मित्तल र डा. विकास मित्तल रहनुभएको थियो ।

निःशुल्क शिविरमा चार हजार बिरामी
सिरहा समाज सेवा गुठी काठमाडौं तथा हनुमाननगर गाविसको संयुक्त आयोजनामा स्थानीय भलुवाही स्कुलको प्राङ्गणमा हालै दुइदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । प्रा.डा. सुनीलकुमार शर्मा ढकालको नेतृत्वको २५ सदस्यीय स्वास्थ्यकर्मीको टोलीले करिब चार हजार बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । बिरामीको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सकहरू अञ्जनीकुमार शर्मा र गौरीशङ्कर लाल दासले पनि सयौँ बिरामीको जाँच गरेका थिए ।
सिरहाको हनुमाननगर गाविसस्थित श्री उच्च माध्यमिक विद्यालय परिसरमा सम्पन्न उक्त स्वास्थ्य शिविर सो विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरी राज्यको सम्मानित पदमा पुगेका भलुवाहीवासी तथा स्कुलको स्थापना एवम् विस्तारमा सहयोग गर्ने विभिन्न दातालाई विद्यालयले सम्मानित गरेको थियो । हनुमाननगर गाविस वडा नं. ५ मा अवस्थित विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा भलुवाहीवासी वरिष्ठ शल्यचिकित्सक प्राडा अञ्जनीकुमार शर्मा, शिक्षाविद् डा. पराशर कोइराला, डा. विजयकुमार शर्मा, उपेन्द्र उपाध्याय, हरिनारायण साह, रमेशकुमार अर्याल, प्रदीपकुमार अर्याल, वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मालगायत विभिन्न व्यक्तित्वलाई सम्मानित गरियो ।
वि.सं. २००४ सालमा स्थापित भलुवाही स्कुलमा अहिले दश जोड दुईको कक्षा सञ्चालनमा आइसकेको छ । कार्यक्रममा विद्यालय स्थापना गर्न सक्रिय रूपमा लाग्नुहुने भैरवप्रसाद उपाध्याय, कृष्णविनोद उपाध्याय तथा माधवप्रसाद गौतमलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सभासद् सीतादेवी यादवले भलुवाही स्कुलले गरेको यस किसिमको कार्यको सराहना गरिन् । सम्मानित व्यक्तित्व प्राडा अञ्जनीकुमार शर्माले भलुवाही स्कुललाई आफूले हरपल सहयोग गरिरहने बताए । कार्यक्रममा शिक्षाविद् डा. पराशर कोइराला, रमेश अर्याल, प्रदीप अर्याल, प्राडा सुनीलकुमार शर्मा, चन्द्रदेव कामती, हरिनारायण साह, हरिनारायण यादव, नत्थु बासकोटा, अवधेश गौतमलगायतले आफ्ना धारणा राखेका थिए ।
स्वास्थ्यकर्मी समूहका नेतृत्वकर्ता प्राडा सुनीलकुमार शर्माले आगामी वर्षमा पनि आफ्नो गाउँमा यस किसिमको शिविर सञ्चालनका लागि सहयोग गर्ने बताए । कार्यक्रम विद्यालयका अध्यक्ष ब्रह्मदेव कामतीको सभापतित्वमा सम्पन्न भएको थियो ।