एयरपोर्टका ट्याक्सी र राष्ट्रको इज्जत

एयरपोर्टका ट्याक्सी र राष्ट्रको इज्जत


nisedhकेही वर्षअघि सिंगापुर घुम्न गएका बेला हाम्रा केही नेपाली अधिकारीहरूले ट्याक्सी चढेछन् । आफू चढेको ठाउँबाट गन्तव्यसम्म पुग्दा प्रत्येक दिन ट्याक्सीमा उति नै पैसा उठेछ । लगातार तीन दिनसम्म अलग–अलग ट्याक्सी चढ्दा पनि एक पैसा तलमाथि नभईकन पैसा उठेको देखेपछि छक्क पर्दै उनीहरूले पछिल्लो ट्याक्सीड्राइभरलाई सोधेछन्– हामीकहाँ त ट्याक्सीमा एकै ठाउँ जाँदा पनि फरक–फरक पैसा उठ्छ, तर यहाँ त उतिनै उठ्दो रै’छ, अलिकति पनि तलमाथि भएन…कसरी ? ट्याक्सी ड्राइभरले भनेछन्, ‘हेर्नुस्, यहाँ हामीले तपाईंहरूलाई ठग्यौँ भने भोलि तपाईं आफ्नो देश गएर ट्याक्सीले ठग्यो या कुनै ट्याक्सीड्राइभरको नाम लिएर त्यसले ठग्यो भन्नुहुन्न, सिंहापुरको ट्याक्सीले ठग्यो भन्नुहुन्छ । म या मेरो ट्याक्सीभन्दा अगाडि मेरो देशको नाम आउँछ र हामी आफ्नो देशको छविप्रति असाध्यै सचेत छौँ । त्यसैले हामी त्यस्तो काम गर्दैनौँ ।’ यता हाम्रो देशमा भने ठीक उल्टो छ । यो देशको एयरपोर्टमा झरेर ट्याक्सी चढ्नुप-यो भने ट्याक्सीवालाको मोलमोलाईले विदेशीको त के कुरा नेपालीलाई नै पनि हरे… यो ट्याक्सी भन्ने त जिन्दगीमा कहिल्यै चढ्नु नपरे पनि त हुन्थ्यो नि जस्तो लाग्छ । अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै एयरपोर्टमा ट्याक्सीवालाको तानातान र पैसाको बार्गेनिङ हेर्दा यस्तो लाग्छ– यो मुलुकमा कुनै कानुन छैन जसले जति पैसा लिए पनि हुन्छ, यात्रुलाई जस्तो व्यवहार गरे पनि हुन्छ, प्रहरी, ट्राफिक कार्यालय, प्रशासन केही पनि छैन । अझ विदेशी देखे भने त ट्याक्सीवालाले यस्तो व्यवहार गर्छन् कि मानौँ तिनीहरू त पैसाको बोट हुन्, ट्याक्सीले ठग्न या नेपाली ट्याक्सीड्राइभरहरूबाट ठगिनकै लागि तिनीहरू नेपाल आएका हुन् । ‘कति पैसा दिने ?’ बाट सुरु भएको उनीहरूको बार्गेनिङ ‘यतिबिना त हुँदैन’सम्ममा पुग्दा यस्तो लाग्छ एयरपोर्ट ट्याक्सी व्यवस्थापनका लागि यहाँ कुनै आधिकारिक निकाय नै छैन । ट्याक्सीवालाको हारालुछबाट उम्किएर गन्तव्यस्थान पुग्दासम्म यो मुलुकबारे एकप्रकारको छवि पर्यटकहरूले बनाइसकेका हुन्छन् । अनि बाहिर जसले जतिसुकै राम्रो गरे पनि त्यसले जुन महत्व पाउनुपर्ने हो त्यो प्राप्त गर्न गाह्रो छ ।
मुलुकको इज्जत के के कुरासँग जोडिएको हुन्छ भन्ने कुरा जबसम्म नागरिकले महसुस गर्दैनन् तबसम्म देशको छवि जोगाउन गाह्रो हुन्छ । नेता, प्रहरी, पत्रकार, वकिल, कर्मचारी मात्र नभएर सबै तह र तप्काका नागरिकले आफूसँगसँगै आफ्नो देशको बारेमा पनि सोच्न सक्ने परिस्थिति निर्माण गर्न नसक्नु नेतृत्वमा बस्नेहरूको कमजोरी हो । चाहे ती जुनसुकै क्षेत्रसँग जोडिएका किन नहुन् । हिजोआज नेपाल प्रहरीमा राम्रो काम गर्नेहरूको प्रतिस्पर्धा चलेझैँ देखिएको छ, पूर्वमा डीआईजी नवराज सिलवालले यसो गरे, पश्चिममा एसपी विक्रम थापा यसो गर्दै छन्, डीआईजी विज्ञानराज शर्मा या एसएसपी रमेश खरेललगायतले गरेका राम्रो कामका गुणगान राम्रै तरिकाले आइरहेका छन् । व्यक्तिहरू राम्रो भए क्षेत्र सुधार त्यति गाह्रो कुरा होइन भन्ने उदाहरणहरू एकपछि अर्को गर्दै पेस भइरहेका छन्, तर एयरपोर्टका ट्याक्सीहरूको मनोमानी रोक्न नसकुन्जेल यस्ता धेरै सफलताका कथाहरू छायामा परिनै रहनेछन् । यस कुराको जल्दोबल्दो उदाहरण संयुक्त राष्ट्रसङ्घीय निकायमा काम गर्ने एक विदेशी मित्रले हालै यस पङ्क्तिकारलाई गरेको प्रश्नलाई लिन सकिन्छ । प्रहरीमा सुधारका कामहरू हँुदै गएका र नमुना कामहरू अघि बढ्दै गएका कुराको चर्चा गर्दै जाँदा उनले सोधेकी थिइन्– अनि यस्तो राम्रो काम गर्नेहरूले एयरपोर्टका ट्याक्सीलाई भने केही गर्न सक्दैनन् ? तिनलाई प्रयोग गर्ने कुनै कानुन छैन ? ट्याक्सीले मोलमोलाई गर्ने क्रममा बीचबाटोमै आफूले ट्याक्सी छोडेर हिँड्नुपरेको कुरा उनले बताएकी थिइन् । हुन पनि एयरपोर्टमा ट्याक्सीको मनोमानी र व्यवहार मानसिक तनाव नै हुने प्रकारको छ ।
ट्याक्सीड्राइभरको व्यवहारले आजित भएकाहरूले सीधै ट्राफिक प्रहरीले यति त विचार गर्नुपर्ने नि भनी गाली गर्ने गरेका छन् । यद्यपि एयरपोर्ट व्यवस्थापन गर्ने नागरिक उड्ययन प्राधिकरणलगायत सम्बन्धित सबै पक्षको सरकोकार र उत्तरदायित्वको विषय हो यो । हामी नेपाली आफ्नो देशको छवि र मान्छेलाई पर्न सक्ने अभरप्रति कति असंवेदनशील छौँ भन्ने कुराको उदाहरण पनि हुन् काठमाडौंका ट्याक्सीड्राइभर र तिनका व्यवहार । त्यसो त ट्याक्सी चलाउनेहरूमै पनि कति राम्रा मान्छेहरू पनि होलान् । नीति, नियममा रहेर हिँड्नेहरू पनि होलान्, तर एयरपोर्टमा त्यसप्रकारको व्यवहार नपाइने हुँदा त्यसप्रकारको महसुस कमै मात्रले गर्न पाएका छन् । बाहिरबाट काठमाडांै आउनेबीच एयरपोर्टमा प्राय: ट्याक्सीकै बारेमा कुरा भइरहेको हुन्छ । विराटनगर, भैरहवा र नेपालगन्जबाट राति पनि प्लेन उडाउन सक्ने व्यवस्था भएकाले कहिलेकाहीँ त्यताबाट राति
फर्कनेहरूले बाटोभरि ट्याक्सीकै बारेमा तनाव लिएको देखिन्छ । रातिको समय कति पैसा भन्ने हुन्, बार्गेनिङ गरेर दिक्कै लाउँछन् लगायतका कुराहरूले नै दिमागमा ठाउँ लिइरहेको हुन्छ । यसो हेर्दा हाम्रो आन्तरिक समस्याझैँ देखिए पनि एयरपोर्टमा ट्याक्सीका फरक–फरक मोलमोलाइपूर्ण व्यवहारले मुलुकको इज्जतमा प्रत्यक्ष खेलवाड गरिरहेको छ । अन्तर्राष्ट्रिय एयरपोर्टमा जब मानिस बाहिर आउँछन् ट्याक्सीड्राइभरहरूको हारालुछ यसरी सुरु हुन्छ मानौँ भुस्याहाहरूले हड्डी भेटेका छन् । अरू देशमा जाँदा ट्याक्सीका लागि हामी यात्रीहरू लाम लाग्नुपर्छ, हामीकहाँ भने फरक–फरक दर लिएर ट्याक्सीवालाहरू यात्रीका वरिपरि झुम्मिन्छन् । दरभाउलाई लिएर कहिलेकाहीँ ट्याक्सीवालैबीच पनि एक–अर्कामा झगडा पर्छ । समग्रमा एयरपोर्टमा गजबको असभ्य रमिता देखिन्छ । यो असभ्य रमिताको अन्त्यका लागि सम्बन्धित निकायले कुनै न कुनै ठोस कदम चाल्नैपर्छ । कहाँ जाने रेट कति हो भनेर फिक्स्ड रेट ट्याक्सी नभएको होइन, तिनको दररेट यति अव्यावहारिक छ कि सर्वसाधारणले आँट्नै सक्दैनन् । व्यावहारिक दरसहितको सहज ट्याक्सी व्यवस्थापन गर्न सके यात्रुका आवश्यकता पूरा हुने मात्र होइन यो मुलुकको बिगँ्रदो छविलाई तटस्थ बनाउनमा पनि केही मद्दत पुग्ने थियो भन्न सकिन्छ । जर्मनीबाट नेपाल घुम्न आएका पर्यटकका लागि नेपालबारेको इम्प्रेसन एयरपोर्टबाटै सुरु हुन्छ । प्रधानमन्त्री सुशील कोइराला कति स्वच्छ छविका मानिस हुन् या आईजीपी उपेन्द्रकान्त अर्यालले प्रहरीमा के परिवर्तन ल्याइरहेका छन् वा मुख्यसचिव लीलामणि पौडेलले कर्मचारीतन्त्र सुधारका लागि के गरिरहेका छन् भन्नेबारेमा ती पर्यटकको खासै चासो नरहन सक्छ । तर, काठमाडौंमा ओर्लिनेबित्तिकै उनले त्यहाँका कर्मचारीबाट कस्तो व्यवहार पाए, कस्तो शौचालय प्रयोग गरे र ट्याक्सीवालाहरूको व्यवहार कस्तो थियो भन्ने कुरा तिनको नेपाल भ्रमणको छुटाउनै नमिल्ने अनुभव बन्न सक्छ । त्यसैले नियममा बाँधेर यहाँका ट्याक्सीलाई व्यवस्थित गर्नका लागि सम्बन्धित पक्षले काम गरोस् ।