बाहिरी चक्रपथको पर्खाइमा काठमाडौं उपत्यकाको काँठ क्षेत्र

बाहिरी चक्रपथको पर्खाइमा काठमाडौं उपत्यकाको काँठ क्षेत्र


bichar– इन्द्रबहादुर बराल
विकसित मुलुकहरू विकासको पूर्वाधारमध्ये शिक्षालाई पहिलो सर्त मान्ने गर्दछन् भन्ने सुनिन्छन् । तर, हाम्रोजस्तो विकासोन्मुख देशमा विकासको पहिलो खुड्किलो सडक यातायात नै हो भन्नेमा विवाद देखिँदैन । त्यसैले पञ्चायतकालदेखि नै सडक यातायात ग्रामीण भेकसम्म पु-याउने हेतुले ०३२ तिर पञ्चायतमार्गको नाममा ग्रामीणमुखी विकासको प्रारम्भ भएको थियो । तर, त्यसबेलाका शासक र तिनका पृष्ठपोषकहरू सेवामुखीभन्दा पनि पञ्चायती सत्ता टिकाउने प्रचारबाजीमा सीमित रहे । जसले गर्दा उक्त अवधिमा उल्लेख्य रूपमा ग्रामीण क्षेत्रको विकास हुन सकेन । केवल पञ्चायती निरङ्कुशतालाई बलियो बनाई टिकाइराख्ने तिगडमले नेपाली समाजलाई पछाडि धकेल्ने काम मात्र भयो । जनताका अधिकारमाथि निरङ्कुशताको लाठी वर्षाउने कामले अन्तत: नेपाली जनताको बहुदलप्रतिको उत्कट चाहनालाई दबाउन सकेन र ०४६ मा ०१७ मा अपहरित प्रजातन्त्रको पुनस्र्थापना भइछाड्यो ।
तत्पश्चात् अर्थात् बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछिका सरकारहरूले पनि अघिल्लो व्यवस्थाका कतिपय असल थालनी (चाहे आफ्नो राज्य–व्यवस्था टिकाउनै मात्र किन नहोस्) लाई निरन्तरता नदिएका भने होइनन् । पञ्चायतकालका थोरै असल कामको केही उदाहरणमध्ये नामाकरण परिवर्तन गरी ‘पञ्चायतीमार्ग’लाई ग्रामीण सडक नाम दिइयो र नेपालका ग्रामीण भेकमा सडक सञ्जाल पु-याउने कामलाई निरन्तरता दिने कार्य अध्यावधि कायमै छ । गाउँगाउँमा सडक यातायात पुग्नाले मानिसमा बसाइँसराइको आवश्यकता महसुस नै हुने थिएन । जसले गर्र्दा ग्रामीण क्षेत्र आवाज गुल्जार भई सहरीकरणतर्फ उन्मुख हुनु स्वाभाविकै हुन्थ्यो । राजनीतिमा स्थायित्व भइदिएको भए अहिलेसम्म मुलुकको आर्थिक विकास सोचे वा देखेभन्दा धेरै उन्नत हुन्थ्यो होला भनी अड्कल गर्नु सायद अतिशयोक्ति नहोला । कति देशहरू विकास मापन शैक्षिक दृष्टिले गर्दछन् भन्ने पाइन्छ । देशमा कति विश्वविद्यालय छन्, महाविद्यालय कति छन्, शैक्षिक उत्पादन कति छ भनेर विकासको मापन गरिन्छ, तर हाम्रोजस्तो मुलुकमा सडक सञ्जालको पहुँचमा बढी ध्यान केन्द्रित गरिन्छ र केन्द्रित हुनु स्वाभाविक पनि ठानिन्छ । पहाडैपहाड र पूर्वपञ्चिम फैलिएर अवस्थित रहेको र नदीनालाहरू उत्तरदक्षिण भएर बग्ने हुनाले सहजै सडक सञ्जाल सोचेजस्तो गतिमा पु-याउन अत्यन्तै कठिन विषय हो ।
नदी, नाला र भीरपाखाको भौगोलिक कारण खर्चिलो सडक सञ्जाललाई जनचाहनाअनुरूप यथोचित समयमा ग्रामीण क्षेत्रसम्म पुग्न–पु-याउन त्यति सहज भने पक्कै पनि छैन । तथापि राजनीतिक अस्थिरताका बाबजुद पनि जे भइरहेको छ त्यसबाट सन्तोष लिने ठाउँ भने नभएको होइन । तसर्थ समयको गतिसँगै विकास भन्ने कुरा ढिलो–चाँडो आफ्नै प्रकारले हिँडिरहेको हुन्छ । यसको अर्थात् विकासको गतिलाई रोक्ने धेरै अराजनीतिक चरित्रका राजनीतिज्ञको बाहुल्यले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा अर्थात् ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरूका लागि बहुचर्चामा आएको बाहिरी चक्रपथले निर्माणको गति नसमात्दै घाँटी निमोठ्ने काम भयो । काठमाडौं उपत्यकाको तीनै जिल्लालाई एउटै बाहिरी चक्रपथले समेटेर राजधानीलाई वास्तवमै नमुना राजधानी बन्ने–बनाउने सपनालाई ठूलो घात गरिएको अनुभव गरिँदै छ । यद्यपि यसो हुनुमा राज्यका जिम्मेवार पक्ष मात्रै दोषी भन्न मिल्दैन । केही मात्रामा काँठक्षेत्रका अगुवा नागरिकहरूले पनि जति चनाखो भएर बाहिर चक्रपथ निर्माणमा लागिपर्नुपथ्र्यो त्यति लागेको पाइएन । त्यसकारण सार्वजनिक सरोकारको विषयमा स्थानीय सेवाग्राहीमा पनि चेतना कमी भएको हो कि जस्तो देखियो । बच्चा नरुँदासम्म आमाले दूध खुवाउदिनँ भन्ने उखान पनि नसुन्ने सायद कोही होलान् जस्तो पनि लाग्दैन । यसर्थ बृहत् काठमाडौं उपत्यकालाई एउटै सडक सञ्जालले जोड्ने कार्यमा व्यापक जनचेतनाको खाँचो महसुस गरिएको छ ।
हुन त बाहिरी चक्रपथ केवल काठमाडौं उपत्यकाका ग्रामीण भेगलाई मात्र आवश्यक होइन । यस्तो चक्रपथको निर्माणले मौजुदा कोर सिटी एरिया अझ बढी लाभान्वित हुनुपर्ने हो तर किन त्यतातिर ध्यान गएन, बुझ्न सकिएको छैन । एउटा भनाइ छ– केही पाउन केही गुमाउनुपर्छ । अवश्य पनि काठमाडौं उपत्यका बाहिरी चक्रपथ आयोजना अत्यन्तै महत्वाकाङ्क्षी छ र आफैँ उक्त आयोजना कार्यान्वयनमा समस्या भने नभएका होइनन् । तर, त्यसो भन्दैमा वर्तमान काठमाडौंको बसोबासको चापलाई कम गर्ने पनि सहरवासीको भूमिका सकारात्मक हुनुपर्ने हो । कुन्नि किन हो सहरीवासीहरूमा त्यही उकुसमुकुसमा नै रमाएर होला कि त्यो साँघुरो घेराबाट बाहिर निस्कने चेष्टा गरेको पाइँदैन । उल्टै निर्माण प्रक्रियामा पुग्न लागेको काठमाडौं उपत्यका बाहिरी चक्रपथ विकास आयोजनाका विरुद्ध केही नागरिक समाजका अगुवाहरू आँखा चिम्न गरेर लागेको देख्दा ‘…..भन्दा देख्नेलाई लाज’ भनेजस्तै भयो । हाम्रो नेपाली समाजका केही विसङ्गतिहरू छन् जो अरूको प्रगति देखिसहन्न । सम्भवत: त्यसै भएर हो कि केही सहरिया अगुवा काठमाडौं उपत्यका बाहिरी चक्रपथ विकास आयोजनाको सशक्त विरोधमा उत्रिए । ठ्याक्कै तिथि–मिति सम्झना भएन, त्यसबेला प्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो । नेवा: मुक्ति मोर्चा या त्यस्तै नेवा:सँग सम्बन्धित संस्थाले सो अयाोजनाको कार्यान्वयनको विपक्षमा काठमाडौं भ्याली बन्द आह्वान गरी ठप्प पारिएको थियो । बन्दको सामु माधव नेपाल सरकारले घुँडा टेक्यो र काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माणकार्य रोकियो र आजपर्यन्त उक्त आयोजना कुनै पनि प्रकारको गतिशीलताको सङ्केत पाइएको छैन ।
सायद धेरै मानिसलाई काठमाडौं उपत्यकाबाहिर चक्रपथको महत्व र आवश्यकता नबुझेर वा चाल नपाएर पनि कार्यान्वयनमा समस्या आएको हुनुपर्दछ । केही व्यक्तिको स्वार्थका कारण सहरवासीले स्वच्छ हावा पनि नपाउने गरी गुम्सिएर बस्न बाध्य गराउने अधिकार कसैलाई छैन । त्यसकारण काठमाडौं उपत्यकाको काँठक्षेत्रमा बस्ने प्रत्येक नागरिकले राज्यलाई भन्नुप-यो– के हामीले सधैँ सहरियाको हैकम र सास्ती व्यहोर्नुपर्ने ? के ग्रामीण क्षेत्रको विकास गर्नु राज्यको दायित्व होइन ? केही टाठाबाठा र फटाहाको सामु राज्य नतमस्तक भई विकास सहरकेन्द्रित गरिराख्ने ? त्यसकारण काठमाडौं सहरभित्रको जनघनत्व कम गर्न र काँठक्षेत्रको पनि समानुपातिक विकासका निम्ति राज्यले तदारुकताका साथ काठमाडौं उपत्यका बाहिरी चक्रपथ विकास आयोजना तत्काल कार्यान्वयन गर्नुपर्दछ । काठमाडौं उपत्यकाको काँठक्षेत्र बाहिरी चक्रपथको व्यग्रतापूर्ण प्रतीक्षामा छ । यथाशीघ्र कार्यान्वयन हुनुपर्दछ भन्ने काँठबासीको आवाज मुखरित मात्र गरिएको हो । आजपर्यन्तको काँठक्षेत्र र सहरबीचको सम्बन्ध क्रेता र बिक्रेताको मात्र देखिन्छ । त्यो सम्बन्ध केवल बाध्यकारी जस्तो देखिन्छ न कि हार्दिकता । त्यसैले सहरिया केही व्यापारिक घरानीयाहरूले काँठवासीलाई सुविधायुक्त सडक सञ्जाललाई अवरोध गरी दोहन गरिराख्ने योजनाअन्तर्गत बाहिरी चक्रपथको निर्माणको विरोध भएको हुनसक्छ । कुनै पनि विकास निर्माणका योजना सञ्चालन गर्दा अवश्य पनि केही मात्रामा घाटा–नाफाका कुरा आउन सन्छन् र त्यस्तो अवस्था सिर्जना हुनु स्वाभाविक पनि हो । तर, त्यही नहुँमा मुलुककै मुटु राजधानीलाई विश्वसामु सधैँ अव्यवस्थित र अशोभनीय बनाइराख्नु पक्कै पनि राष्ट्रका लागि गौरवको विषय कदापि हुने छैन । तसर्थ हरेक दृष्टिले अविलम्ब प्रस्तावित काठमाडौं उपत्यका बाहिरी चक्रपथ विकास आयोजनालाई कार्यान्वयनको चरणमा पु-याउनु उपयुक्त ठहर्छ । जसले गर्दा काठमाडौं उपत्यकाले शीघ्रातिशीघ्र आफ्नो मुहार फेर्न पाउनेछ । सहरीकरणको विस्तारले अवसरको सिर्जना गरी समानुपातिक विकासको नमुना प्रस्तुत हुन सक्नेमा कुनै सन्देह नै गर्नुपर्दैन । केही नेवा: समुदायका अगुवाहरूले राजनीतिक आवरणमा बाहिरी चक्रपथको निर्माणले नेवा: समुदाय वा हल्लामा आएजस्तो प्रस्तावित नेवा: राज्यमा नेवा: अल्पमतमा पर्ने र पर्वते अर्थात् गैरनेवा: बहुमतमा हुन जाने तर्क अघि सार्दै उक्त चक्रपथको विरोध गर्नु कति सान्दर्भिक र न्यायपूर्ण छ त्यो त पाठकले छुट्याउने कुरा हो । तर जे होस्, काठमाडौं उपत्यकाका तीनै जिल्लाको काँठक्षेत्रका बासिन्दा नेवा: हुन् वा गैरनेवा: बाहिरी चक्रपथको निर्माणमा पट्यारलाग्दो पर्खाइ छन् । त्यसकारण काँठवासीको पट्यारलाग्दो र व्यग्रतापूर्ण पर्खाइलाई जतिसक्दो छिटो पूरा गर्नु आमकाठमाडौंवासी र नेपाल सरकारको कर्तव्य हो । ‘सबै जोगी मर मेरै खप्पर भर’ भन्ने प्रवृत्ति विकास निम्ति घातक हुन्छ । चेतना भया ।