फन टाइम

फन टाइम


funtimeमञ्जुको बिदाईमा दङ्ग पर्नेहरू
कास्कीको पोखरा प्राकृतिक कारणले मात्र होइन प्रतिभाशाली सर्जकहरूका कारण पनि चर्चामा छ । त्यसमाथि लोकगीत र लोकसङ्गीतका सर्जकहरूका निम्ति त यो उर्वर भूमि नै हो भन्दा फरक पर्दैन । धेरै स्रष्टामध्ये एक स्रष्टा थिइन् मञ्जु महत ।
कास्की पोखराकी यी स्रष्टालाई देशव्यापी मात्र नभएर नेपालबाहिर छरिएर रहेका नेपालीमाझ पु-याउन कसैको होइन, उनी आफैँको मिहिनेत, त्याग र परिश्रम छ । छोटो समयमा धेरै नाम र चर्चा कमाएकी यी गायिका अन्तत: अब हामीबीच रहिनन् । उनको यो अभाव सबैभन्दा बढी त पोखरेलीहरूबीच खड्किरहने कुरालाई नकार्न सकिँदैन । कुनै समय समग्र पोखराको प्रतिनिधित्व गरेर मञ्जु प्रतियोगितामा भाग लिन काठमाडौं हानिएकी थिइन् । पहिलो प्रतियोगितामा नै सफल भएपछि एकाएक चर्चामा आएकी मञ्जुको स्वागतमा कास्कीमा गरिएको भव्य कार्यक्रममका दृश्य आज पनि कास्कीनिवासीको आँखामा झल्झली नाची नै रहेको छ । ‘सुन्दर अनुहार र सुन्दर आवाजकी हाम्री चेलीलाई कुरूप मन भएकाहरूले देख्न सकेनन्,’ पोखरेलीहरूको पीडा छ । स्टेज तताउन आवाज मात्र राम्रो भएर हुँदैन, उसको हाउभाउले पनि साथ दिनुपर्छ । त्यो विशेषता मञ्जुमा थियो, त्यसकारण पनि मञ्जु छोटो समयमा धेरै नाम र चर्चा कमाउन सफल गायिकामा पर्थिन् ।
यिनै चर्चित, लोकप्रिय र स्थापित गायिका मञ्जु महतको अपत्यारिलो निधनले शोकाकूल बनिरहेको छ समग्र लोकगायन क्षेत्र र उनका प्रशंसकहरू । तर, यो भीडमा अर्को एउटा पक्ष पनि छ जसलाई मञ्जुको निधनले खासै असर पारेको छैन र उनीहरू दङ्ग पनि छन् । कुरा, मञ्जुसँग आर्थिक लेनदेन गरेका केही स्रष्टाहरूको बारेमा हो । केही समयअगाडि सांस्कृतिक कार्यक्रममा सहभागी हुन लन्डन जाने क्रममा यो पङ्क्तिकारसँग मञ्जुको लामो कुराकानी भएको थियो । पारिश्रमिकको कुरा चल्दा एक शोको यति लिन्छु भनेर खुलस्त कुरा गर्ने मञ्जु त्यो कार्यक्रममा जान त पाइनन् तर उनले भेटमा आफूले राति निद्रा मारेर भए पनि दोहोरी रेस्टुरेन्टमा गीत गाएर बचाएको पैसा कसैले खाइदिएको गुनासो गर्थिन् । तर, दुर्भाग्य ती स्रष्टा को हुन् ? नाम भने भन्न चाहिनन् उनले । उनी भन्थिन्, ‘क्यासेट कम्पनी खोलौँ भनेर सहयोग मागेको थियो, मैले पनि दिएँ, तर न त अहिले सम्पर्कमा आउँँछ न त कम्पनी नै खोल्छ । म त फसेजस्तो छ ।’ समयसमयमा यस्तो गुनासो गर्ने मञ्जुले ती व्यक्तिलाई विश्वासको भरमा रकम दिएको तर प्रमाण केही पनि नराखेको कुरा पनि बताइन् । ‘मजस्ती श्रमजीवीको पैसा खानेको भलोचाहिँ हुँदैन,’ उनको चित्त दुखाइ थियो ।
एकातिर मञ्जुको निधनमा मुलुक जानकार छ तर उनको जीवनको कमाइ कसले खायो वा कति खायो ? त्यसमा भने समग्र कलाकारिता क्षेत्र अनविज्ञ छ । को हुन् ती व्यक्ति ? एउटा स्रष्टा, सर्जक अनि श्रमजीवीको पसिना खाएर बेखबर र विन्दास छ । यसको पनि लेखाजोखा हुनैपर्छ । यसरी मञ्जुको कमाइको दुरुपयोग गरेर मस्ती गरिरहेको त्यो व्यक्ति को हो ? उनी यतिबेला सार्वजनिक हुनैपर्छ । अर्काको धनमा रमाइलो गरेर गुपचुप नरहन हामी पनि ती व्यक्तिसमक्ष आग्रह गर्दछौँ । मञ्जु त गइन् अब आफू स्वतन्त्र भइयो भनेर दङ्ग पर्नुभन्दा मञ्जुबाट लिएको रकमबारे खुलस्त भनेर सार्वजनिक हुँदै महान् कार्य गर्न हामी ती व्यक्तिसँग जोडदार माग गर्दछौँ । नत्र भने ती व्यक्ति सुखी त होलान् खुसी भने कहिले छुन सक्दैनन् ।

महानायक रङ्गेहात, ट्राफिकको मिल्यो साथ
राजेश हमाल त्यसै महानायक भएका रहेनछन् । महानायक हुन पनि धेरै विशेषता चाहिँदोरहेछ । अरूभन्दा फरक प्रस्तुति, उपस्थिति अनि विशेषता, त्यसमाथि महानायकले कुनै गल्ती ग-यो भने पनि सहजै माफी पनि पाउने र त्यसलाई सम्बन्धित पक्षले फिस्स हाँसेर साधारण बनाइदिने । हुन पनि त हो नि उनी महानायक न परे ।
प्रसङ्ग गत हप्ताको हो । नेपालको राजधानी काठमाडौं अनि काठमाडौंको व्यस्त ठाउँ दरबारमार्ग । त्यहीँ नजिक चलचित्र हँसियाको उएटा कार्यक्रम भइरहेको थियो । महानायककै कारण कार्यक्रम ढिलो भइसकेको थियो भने सबैजना राजेश हमाललाई नै कुरिरहेका थिए । हस्याङफस्याङ गर्दैै महानायक हमाल कार्यक्रमस्थलमा आइपुगे । कार्यक्रम सुरु भयो । यता भित्र कार्यक्रम सुरु भइरहेको थियो भने उता बाहिर दरबारमार्गमा भने एउटा गाडी ट्राफिक नियम मिचेर पार्किङ गरिरहेको देखेर ट्राफिक तनावमा थिए । उनी भन्दै थिए, ‘कसको गाडी हो यो । पहिला गाडीवाला त आओस् म ठीक पार्छु ।’ उनी पनि के कम ? अरू कामै छाडेर त्यही गाडी पो कुर्न लागे । पहिले गाडीवालालाई ठीक पार्छु भनेर सिनेमामा महानायक कुर्लेको जस्तो कुर्लेका ट्राफिक त एकैछिनपछि लुत्रुक्क पो परे ।
कुरो के रहेछ भनेर बुझ्न खोज्दा पो थाहा भयो गाडी त महानायक राजेश हमालको पो रहेछ । हतारहतारमा उनले ट्राफिक नियम नै बिर्सेका रहेछन् । सिनेमामा अन्तिममा हिरो आएजस्तो गरेर हमाल आएपछि ट्राफिक त केही बोल्नै सकेनन् । त्यही पनि प्रस्तुत तस्बिर उपलब्ध गराइदिने न्युज फिल्म डटकमका अनुप भट्टराईको क्यामेरा देखेपछि ती ट्राफिकले मलिनो स्वरमा भने, ‘हजुरजस्तो मान्छेले यसो गर्न नहुने ।’ हमालले पनि हतारमा अनि अञ्जानमा गल्ती भएको कुरा स्वीकार गरे ।
सिनेमाको पर्दामा देखिने हिरो आफ्नै अगाडि देखापर्दा ट्राफिक पनि केही बोल्न नसक्दा उपस्थित सबैले भन्न थाले, ‘फिल्ममा भिलेन डराएको जसरी पो डराए ट्राफिक ।’ त्यतिबेला त्यहाँ मानिसको भीड जम्मा भइसकेको थियो । अन्तिममा राजेशले राम्रो व्यवहारले ट्राफिकदाइसँग हात मिलाएपछि ट्राफिक पनि दङ्ग परे । यो हो नि महानायकको काइदा जता गए पनि फाइदा । महानायकको ठाउँमा अन्य परेका भए छोड्थे त ट्राफिकदाइले ?

अवसरवादीहरूको दौडधुप
अन्य क्षेत्रमा जस्तै यतिबेला नेपाली चलचित्र क्षेत्रमा पनि राजनीतिले प्रभाव पार्न थालिसक्यो । यो पार्टीको र ऊ पार्टीको कलाकार भन्दै ती पार्टीका नेतासँग उभिएर बसेका तस्बिर खोजी–खोजी प्रकाशन गर्ने अनि झण्डा बोकेको तस्बिरहरू देखाउँदै फाइदा लिन खोज्ने अवसरवादी गिरोह अहिले झनै सक्रिय हुन थालेको छ । आफ्नो क्षेत्र वा पेसाका लागि सिन्को पनि नभाँच्ने तर नियुक्ति भने खान खोज्ने एउटा गिरोह अहिले केन्द्रीय चलचित्र जाँच समिति, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा म जाँदै छु, ऊ जाँदै छ भनेर हौवा पिटाउनमा नै मस्त हुन थालेको छ । चलचित्र क्षेत्र र कर्ममा चलचित्र सेन्सर बोर्ड र चलचित्र विकास बोर्डबाहेक अरू कुनै ठाउँ नै छैन वा योभन्दा माथि जाने स्थान नै छैन र यो नै गन्तव्य हो जस्तो ठानेर यसको पछि लाग्नेहरूको ताँती दिनहुँजसो बढेको बढ्यै छ । तर, जाने बेलामा को जाने हो ? सबै अनविज्ञ छन् । कानुनी रूपमा नै वर्तमान पदाधिकारीहरूले कुर्सी छाड्नुपर्ने अवस्था नभएकोबारे जानकार हुँदा पनि आफूले नै नियुक्ति दिनेजस्तो गरेर ‘फलानो त अब जाँदै छ नि भनेर भ्रमको खेती गर्नेहरू जुर्मुराएको देखेर अन्य चलचित्रकर्मीहरू तीनछक पर्न थालेका छन् । आफ्नो काम गर्न छाडेर राजनीतिक नियुक्तिका पछाडि दगुर्नेहरूबाट भोलि केको आशा राख्न सकिन्छ ? भन्नेहरू छन् एकथरी । राजनीतिक आस्थाका आधारमा भन्दा पनि सक्षम र नेतृत्व गर्न सक्नेलाई सम्बन्धित ठाउँमा लैजानुपर्ने आवाज पनि नउठेको होइन ।