बाग्लुङसँग जोडिएका रोचक सम्झना

बाग्लुङसँग जोडिएका रोचक सम्झना


– गोपाल पराजुली

पोखरा हाम्रो पुर्ख्यौली थलो हो । हाम्रा पुर्खालाई पोखरामा प्राप्त बिर्ता रणबहादुर शाहले खोसेको र पछि राजा राजेन्द्रको पालामा उही बिर्ता फिर्ता भएको इतिहास छ । यसरी पोखराका पराजुलीहरूको बिर्ताहरण हुने समयमा र बिर्ता पुनर्प्राप्तिपछि पनि कतिपय पराजुलीहरू त्यहाँबाट विस्थापित हुँदै विभिन्न ठाउँमा बसाइँ सरी गएको ऐतिहासिक तथ्यहरू देखिन्छ ।

बसाइँ सर्ने क्रममा कोही पर्वत गए । कोही काभ्रेपलाञ्चोकको ज्यामिरे हुँदै त्यहाँबाट अझै पूर्व भोजपुरतर्फ लागे । कोहीचाहिँ सोलुखुम्बुलगायतका पूर्वी पहाडी जिल्लामा छरिएर बसे । दैलेखमा पराजुल भन्ने खोला छ । त्यो ठाउँ नै पराजुलीहरूको उद्गम थलो रहेको अनुमान गरिएको छ । यसरी उद्गम थलो दैलेख भए पनि पराजुलीहरूको वंश विस्तार पूर्वतर्फ भएको देखिन्छ ।

पुर्ख्यौली थातथलो र इतिहास बोकेको पोखरासँग मेरो अमेट्य र अभेद्य सम्बन्ध रहेकाले पनि मैले पोखरा बसाइलाई आफ्नो जीवनको विशिष्ट किसिमको बसाइको रूपमा लिएको छु । पोखरालाई मैले सुन्दर, तर महँगो शहर भनेर यसअघि पनि वर्णन गरिसकेको छु । तर, पोखरा सुन्दर र महँगो मात्र होइन कि यसको आफ्नै मौलिक विशिष्टता छ । त्यहाँको भौगोलिक स्वरूप, त्यहाँको विकास, त्यहाँको समन्वय, त्यहाँको राजनीतिक, आर्थिक र सामाजिक परिवेश आफैँमा रमाइलो छ । यसकारण पोखरा मलाई मनपर्ने ठाउँ मात्र होइन, मानिसलाई धेरै कुरा सिकाउने ठाउँ पनि हो जस्तो लाग्छ ।

पोखरापछि मेरो सरुवा बाग्लुङमा भयो । नेपालको नक्सासँग मिल्दोजुल्दो भौगोलिक सिमानाका कारण नेपालभित्रको सानो नेपाल भनेर चिनिने बाग्लुङको सदरमुकाम बाग्लुङबजार जिल्लाको पूर्वी छेउतिर कालीनदीको तीरमा पर्छ । पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा, उत्तरमा म्याग्दी र दक्षिणमा गुल्मी र प्युठान जिल्लासँग साँध–सिमाना जोडिएको बाग्लुङ जिल्ला पुग्ना साथ मैले त्यहाँ पहिला बसेका न्यायाधीशहरूबारे जानकारी लिँदै पहिले भएका फैसलाबारे पनि अध्ययन गर्न थालेँ ।

म बाग्लुङ जाँदा मुलुकमा विकराल अवस्था थियो । तत्कालीन द्वन्द्वग्रस्त समयमा पोखरा–बाग्लुङ आउजाउ गर्न अलिक कठिन नै थियो । तैपनि पोखरा घर भएका कतिपय न्यायाधीश र रजिस्ट्रारसमेत भएर प्रायःजसो शुक्रबारको काम सकेर हामी पोखरा फर्कन्थ्यौँ र आइतबार बिहान अड्डा समयमा पुग्ने गरी त्यहाँबाट हिँड्थ्यौँ । मेरी श्रीमती त्यतिबेला जनप्रिय क्याम्पस पोखरामा अध्यापन गर्ने हुनाले पनि सपरिवार बाग्लुङ बस्न सम्भव थिएन । त्यसकारण म पोखरा–घर आउजाउ गरिरहन्थेँ । बाग्लुङ–पोखराको दूरी करिब ७२ किलोमिटरको न हो । त्यति दूरीमा आतेजाते गर्दा अक्सर आफ्नै गाडी प्रयोग हुन्थ्यो ।

बडो मुस्किलले १६,००० रुपैयाँमा कुरा मिलाएर हामी आफ्नो बाटो लाग्यौँ । असावधानीवश कुखुरो मार्दा खसीकै मूल्य तिरेर उम्कनुपरेको उक्त घटना आज पनि ताजै लाग्छ ।

एक दिन पोखराबाट बाग्लुङ फर्कने क्रममा ह्याङ्जा भन्ने ठाउँमा गाडीले एउटा कुखुरीलाई कुल्चिइहाल्यो । स्थानीयवासी जम्मा भई घेरा हालेर क्षतिपूर्ति माग गर्न थाले । तीमध्ये एकजनाले क्षतिको हिसाब निकाले– उक्त कुखुरीले हरेक ३ महिनामा कम्तीमा १६ वटा भाले चल्ला कोरल्थ्यो । एउटा वयस्क भालेको मूल्य ८०० रुपैयाँसम्म पथ्र्याे । यसरी एकपटकको १२,८०० रुपैयाँको दरले तीन वर्षसम्म कुखुरीले दिने आम्दानी डेढ लाखभन्दा बढी हुन आयो । कम्तीमा १ लाखसम्म क्षतिपूर्ति नदिए बाटो छोड्दैनौँ भन्न थाले । बडो मुस्किलले १६,००० रुपैयाँमा कुरा मिलाएर हामी आफ्नो बाटो लाग्यौँ । असावधानीवश कुखुरो मार्दा खसीकै मूल्य तिरेर उम्कनुपरेको उक्त घटना आज पनि ताजै लाग्छ ।

माओवादी विद्रोहको त्यो समयमा कहिले पर्वतमा, कहिले म्याग्दीमा, कहिले बाग्लुङमै दोहोरो भिडन्तका खबरहरू आइरहन्थे । माओवादीले आज कता हाने ? भोलि कता हान्ने हुन् ? भन्ने जगजगी भइरहन्थ्यो । एक दिन मलाई जरुरी कामको सिलसिलामा काठमाडौं आउनुपर्ने भयो । साँझको ६ बजेको हुँदो हो । अदालतकै एकजना कर्मचारी विश्वराज भट्टराईसँग मोटरसाइकलमा म पोखरातर्फ हिँडेँ । बाटोभरि नै हतियारधारी माओवादी लडाकुहरूको जत्था भेटिए । एकलास ठाउँमा अचानक हतियारसहितका विद्रोही पक्षसँग जम्काभेट हुँदा हंशले ठाउँ छोड्थ्यो । तर, उनीहरू आफ्नै सुरमा गन्तव्यतर्फ लागे । हाम्रो यात्रामा कुनै अवरोध भएन ।

पोखराबाट बाग्लुङ जाँदा धेरै ठाउँमा चेकिङ हुन्थ्यो । एकपटक मैले हाँकिरहेको गाडी चेकिङमा नरोकी क्रस भयो । कसैले नरोकेको र मलाई समयमै अड्डा पुग्नुपर्ने हुनाले मैले गाडी के अलिक अगाडि बढाएको थिएँ, चेकिङमा खटिएका एकजना प्रहरी अधिकृत नमिठोसँग कड्किए, ‘यस्तै हुन् आतंककारीहरू झुक्याएर क्रस गरेर जाने ।’ यसो भन्दै उनले बन्दुक तेर्स्याएका थिए, तर प्रहार गरेनन् । अनि मैले पनि गाडी कुदाएँ ।

चेकिङकै क्रममा अर्को एउटा रोचक प्रसंग पनि छ । म, जिल्ला न्यायाधीश स्वर्गीय करुणानिधि पौडेल, रजिस्ट्रार देवेन्द्रराज ढकाल र सरकारी वकिल रामचन्द्र पौडेलसमेतको टिम अड्डाको काम सकेर एक दिन पोखरा फर्कँदै थियौँ । बाग्लुङको मालुंगा भन्ने ठाउँमा चेकपोस्ट थियो । त्यहाँ तत्कालीन शाहीसेनाले सबैलाई लामबद्ध गराएर चेक गरिरहेको थियो । गाडी मैले नै हाँकिरहेको थिएँ । सेनाका एक जवानले हामीलाई गाडीबाट निस्कन आग्रह गरे । रजिस्ट्रार ढकालले सबैको परिचय दिँदै उहाँ पुनरावेदन अदालतको न्यायाधीश हुनुहुन्छ, उहाँ सरकारी वकिल हुनुहुन्छ, उहाँ जिल्ला न्यायाधीश हुनुहुन्छ । हामी सबै कर्मचारीहरू हौँ, ओर्लनुपर्ला र ? भन्नुभयो । ती सेनाका जवान अदालत र न्यायाधीशका बारेमा कतिसम्म अनभिज्ञ रहेछन् भने ‘उहाँहरू सरकारी न्यायाधीश हो कि प्राइभेट न्यायाधीश हो ?’ भनेर सोधे । हामी हाँस्यौँ । ती जवानले हाम्रो परिचयपत्र नै मागे र अंग्रेजीमा लेखिएकोतर्फ उल्टोतिरबाट हेरे । हामी हाँसेको देखेर उनलाई रिस उठेछ क्यारे, अहंकार र आक्रोश मिसिएको लवजमा थर्काए, ‘तिमीहरू खुबै भए सेक्सन अफिसर होलाऊ । किन हाँसेको ?’ द्वन्द्वको समयमा चेकिङका क्रममा यस्ता थुप्रै घटना झेल्नुपर्थ्यो ।

एकपटक म परिवारसहित बाग्लुङबाट पोखरा फर्कँदा ढिकुरपोखरीनजिकै माओवादी सेनाले चेकिङका लागि रोके । हाम्रो साथमा सानो छोरा पनि थियो । हामीलाई कताकता डर पनि लाग्यो के गर्ने हुन् भनेर । तर, हाम्रो अनुमानविपरीत उनीहरूले भने असाध्यै नम्र र शिष्ट बोली–व्यवहार गरे ।

सरकारी सुरक्षाकर्मीको तर्फबाट मात्र होइन, कतैकतै विद्रोही लडाकुको चेकिङमा पनि परिन्थ्यो । एकपटक म परिवारसहित बाग्लुङबाट पोखरा फर्कँदा ढिकुरपोखरीनजिकै माओवादी सेनाले चेकिङका लागि रोके । हाम्रो साथमा सानो छोरा पनि थियो । हामीलाई कताकता डर पनि लाग्यो के गर्ने हुन् भनेर । तर, हाम्रो अनुमानविपरीत उनीहरूले भने असाध्यै नम्र र शिष्ट बोली–व्यवहार गरे । दोहोरो चेकिङको यो रोचक संयोग पनि अविष्मरणीय छ ।

बाग्लुङ बसाइमा छिनेका मुद्दाहरूमा एउटा नाता कायमसम्बन्धी मुद्दा म खुबै सम्झन्छु । मलाई फलानाले अंश दिएन, नाता कायम गरी अंश दिलाइपाऊँ भन्ने मुद्दा थियो । त्यो मुद्दामा नाता कायम हुने ठहरेर फैसला भएको रहेछ । प्रतिवादीले म त त्यो समयमा बाग्लुङमै थिइनँ । मेरो नाउँको म्यादसमेत बेरितपूर्ण तरिकाले आएको रहेछ, बदर गरिपाऊँ भनेपछि म्याद बदर भई उसले प्रतिवाद गर्न पाएको रहेछ । तहतह हुँदै त्यो मुद्दा हामीकहाँ आएको थियो । त्यो समयमा म्याग्दीको लाहुरे छेक्ने भन्ने ठाउँमा विदेशबाट आएका लाहुरेहरूलाई छेक्ने र मनोरञ्जन गर्ने त्यस्ता किसिमका भट्टीहरू हुने रहेछन् । त्यस्तै कुनै भट्टीबाट उत्पन्न मुद्दा थियो ।

सायद मैले गरेका फैसलाहरूमा नाता कायम नहुने ठहरी भएको यो फैसला अलिक अनौठो लाग्छ । हरेक महिलाले आफूले भनेअनुसार नै नाता कायम हुने बच्ची विष्ट, रत्नलाल कनौडियालगायतका मुद्दाका नजिर र अनुभव पनि थिए । तर, त्यो मुद्दामा प्रतिवादीले म त्यो ठाउँमा पुगेकै छैन भनेकाले विचित्र लागेको थियो । हुन पनि जुन मितिमा वादीसँग करणी लिनुदिनु भएको भनिएको थियो त्यो दिन प्रतिवादी नेपालमै नरहेको र विदेशमा बसेको भन्ने तथ्य प्रमाणबाट प्रस्टै देखिन्थ्यो । सोही प्रमाणका आधारमा हामीले पनि नाता कायम नहुने फैसला गर्यौं । पछि सायद त्यो फैसला सर्वोच्चबाट सदर भयो ।

खासगरी महिला वादी भएको मुद्दामा हामी निकै संवेदनशील हुन्थ्यौँ । महिलाले अंश पाउनुपर्छ । असहायले न्याय पाउनुपर्छ भन्नेमा हामी सजग थियौँ । म भारतका विख्यात पूर्वप्रधानन्यायाधीश आनन्दमले भनेको कुरा मनमा लिइरहन्थँे, ‘जहाँ न्यायको पहुँच पुग्दैन, त्यहाँ न्यायिक स्वतन्त्रता हुँदैन । न्यायको पहुँचको लागि प्रत्येक न्यायाधीशले दबिएका, पिछडिएका, अल्पसंख्यक, दलित, महिला र बालबालिकाहरूको हकमा राम्रो न्याय दिन सकियो भने द्वन्द्वको न्यूनीकरण हुन्छ । अन्ततः त्यसले न्याय–व्यवस्था स्थापित गरेको हुन्छ ।’ यद्यपि, त्यो फैसलामा महिलाले भनेबमोजिम नाता कायम गर्न नसक्दा आफैँभित्र असमञ्जस्यता सिर्जना पनि भयो । कहिलेकाहीँ यस्तो संयोग पर्छ । न्यायनिसाफ गर्दा सधैँ सैद्धान्तिक पक्ष र आदर्श हुबहु लागू नहुँदो रहेछ । त्यो मुद्दामा हामीले प्रमाणमा जोड दियौँ । महिलाको मागबमोजिम भावनामा बहकिएर फैसला गरेको भए प्रतिवादीलाई अन्याय नै हुने थियो । पछि ती महिलाले अर्को कुनै मान्छेमाथि नालेस दिएर अंश पाई बसेको भन्ने पनि सुनियो ।

उसो त बाग्लुङको इतिहास हेर्ने हो भने अन्य थुप्रै रोचक तथ्यहरू पनि भेटिन्छन् । प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीसमेत बाग्लुङमा बस्नुभएको र राम्रो निसाफ गरेन भनेर उहाँलाई पनि केही रैथाने मान्छेले अब्जेक्सन गरेको भन्ने ऐतिहासिक तथ्य पनि त्यहीँ पुगेपछि थाहा पाइयो । यसैगरी पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि त्यहाँ जिल्ला न्यायाधीशका रूपमा जानुभएको रहेछ । उहाँले दृढताका साथ प्रमाण केलाएर गरेको फैसलाविरुद्ध पनि स्थानीयवासीले न्याय गरेन भनेर दिउँसै लाल्टिन बालेर जुलुस निकालेका रहेछन् ।

बाग्लुङको अर्को रोचक इतिहास के पनि रहेछ भने राणाकालीन समयमा एकजना गोबर्धन डिट्ठा भन्नेले राम्रो न्यायनिसाफ गरेन भनेर राणाकहाँ उजुरी परेछ र हाकिमलाई सजाय गर्ने कानुनबमोजिम उनलाई कोक्रोमा राखेर धादिङ सरुवा गरेको भन्ने पनि सुनियो । यसरी एकातर्फ न्याय व्यवस्थाप्रति बाग्लुङेहरू सचेत हुन खोज्थे भने अर्कोतर्फ कहिलेकाहीँ स्वार्थी समूहले न्यायाधीशहरूलाई दबाब दिने रवाफ देखाउने खालका व्यवहार गर्थे ।

कहिले आमा समूह, कहिले महिला समूह त कहिले विभिन्न गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा जुलुस निकालिरहन्थे । प्रमाणका आधारमा फैसला गर्ने कि भिडले जे भन्यो त्यही गर्ने भन्ने जस्तो हुन्थ्यो । यो हुलबाट फैसला भयो भने त न्याय–व्यवस्था नै धराशायी हुन्छ भनेर धेरै मान्छेले भने पनि ।

हुन पनि बाग्लुङमा झुटा र बनावटी किसिमका ज्यान मुद्दाहरू पनि त्यत्तिकै हुन्थे । हाम्रो पालामा पनि त्यस्तै जुलुसको सामना गर्नुपर्यो । एउटा झुटो किसिमको ज्यानमुद्दा थियो । त्यसमा पनि जहिले फैसला गर्न लाग्यो कि मान्छेहरू घेराउमा उत्रिहाल्थे । कहिले आमा समूह, कहिले महिला समूह त कहिले विभिन्न गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा जुलुस निकालिरहन्थे । प्रमाणका आधारमा फैसला गर्ने कि भिडले जे भन्यो त्यही गर्ने भन्ने जस्तो हुन्थ्यो । यो हुलबाट फैसला भयो भने त न्याय–व्यवस्था नै धराशायी हुन्छ भनेर धेरै मान्छेले भने पनि । त्यो मुद्दा फैसला हुने दिन निकै ठूलो हुल थियो । तर, प्रमाण पुग्दैनथियो र हामीले सफाइ दियौँ ।

यसैगरी एउटा छात्रावासमा बालिकालाई बलात्कार गरेको भन्ने अर्को मुद्दा थियो । वर्षौँअघिदेखि करणी गर्दै आइरहेको भन्ने उजुरीका आधारमा मुद्दा चलेको रहेछ । त्यो मुद्दामा पनि हामीले ‘करणी कुन मितिबाट भएको, कहिले उजुर गर्नुपर्ने हो ? ऐनमा हदम्यादको के व्यवस्था छ ?’ इत्यादि कुरा गऱ्यौं र त्यो जुलुस नहेरीकन, त्यो नाराबाजी नसुनीकन फैसला गर्यौं । सायद त्यो फैसला पनि पछि सर्वोच्च अदालतबाट सदर भयो ।

एउटा साँच्चै नै स्मरणीय अर्को मुद्दा थियो शाम्मदेव पन्तको । उहाँ दरबारका सचिव हुनुहुन्थ्यो । उहाँको एक्लो छोराले प्रेमविवाह गरेपछि पारिवारिक विग्रहको अवस्था आएछ । कि बुहारी छोड् कि हामीलाई छोड् भनेपछि ती छोराबुहारी घरबाट निस्केर अन्यत्रै बस्न थालेछन् । ती बाबुले त्यहाँको कुनै मूल्यवान जग्गा एकजना प्रतिष्ठित व्यापारीसँग बिक्री गरेको थाहा पाएपछि छोराले बाबुका उपर जालसाजी र लिखत बदर मुद्दा दायर गरेका रहेछन् । त्यो मुद्दा तह तह हुँदै हामीकहाँ आएको थियो । उक्त मुद्दामा विचित्र कुरा के थियो भने छोराले आफ्नै बाबुलाई जालसाजी मुद्दा हालेका थिए, तर वादी–दाबी नपुग्ने ठहर भई छोराले नै झुटा मुद्दा गरेकोमा सजाय पाएका थिए । लिखत बदर गर्नुपर्ने कि नपर्ने भन्ने एकातिर प्रश्न थियो भने अर्कोतर्फ जालसाजी ठहर्ने कि नठहर्ने भन्ने थियो । लिखत बदर गर्नका लागि हदम्याद व्यतीत भएको आवाज एकातिर थियो भने कुल पैतृक सम्पत्तिको धेरै न्यून मात्र बाबुले बेचेको हुनाले लिखत बदर हुनुहुँदैन भन्ने पनि गम्भीर तर्क थियो । लिखत बदर मुद्दामा अंशबन्डाको १९ नम्बरबमोजिम बाबुले आर्जन गरेको कुल सम्पत्तिको न्यून भाग आफूखुसी बिक्री गर्न पाउने देखिए पनि मिलापत्र गर्न जोड दियौँ ।

जग्गा किन्नेले सायद वादीलाई मिलाइसकेका रहेछन् र वादी आफ्नो माग छोड्न तयार भए । तर, जालसाजीतर्फ दाबी नपुग्ने हुँदा वादीलाई नै सजाय हुने अवस्था देखिएकोमा पनि मिलापत्र भएन । त्यो फैसला सदर गरिरहँदा तपाईंलाई त वादी–दाबी नपुग्ने ठहर भई सजाय भइरहेको छ । मिलापत्र पो गर्ने हो कि ? भन्दा ती छोराले ‘बाबुले मलाई सजाय गराउँछन् भने गराऊन् । म सजाय भोग्न तयार छु । यी म गर्दै बाबुसँग मिलापत्र त गर्दिनँ । मलाई मेरो सम्पत्ति चाहिन्छ’ भनी ती छोराले ढिपी गरिरहे । एउटा प्रतिष्ठित परिवारको छोराले बाबुलाई मुद्दा हालेर जालसाजीमा दाबी नपुग्दा आफैँले सजाय पाएको र उक्त सजायप्रति कत्ति पनि ग्लानिबोध नभएको देखियो । बाबुले ठीकै छ मिलापत्र गर्दा तिमी जरिवानाबाट मुक्त हुन्छौ भने मिलापत्र गरौँ भन्दा पनि छोराले नमानेको विचित्रको घटना थियो । अंश जालसाजी मुद्दा त्यसमा पनि एउटै परिवारको एक्लो छोरामा सम्पत्ति विभक्त हुने अवस्थामा समेत विशिष्ट तवरले हेर्नुपर्ने ज्ञान पनि त्यही मुद्दाबाट पाइयो ।

पाल्पाली राजा मणिमुकुन्द सेनकी छोरीको पर्वतका राजा प्रतापीनारायण मल्लसँग बिहे हुँदा राजकुमारीलाई दिइएको भगवतीको मूर्ति त्यहाँ स्थापना गरिएको बताइन्छ । विद्या आर्जनका लागि आराधना गरिने देवीका रूपमा कालिका भगवतीलाई लिइन्छ ।

बाग्लुङ पनि पोखराको जस्तो नातिशितोष्ण हावापानी भएको ठाउँ थियो । मान्छेहरू पनि रमाइला । पूर्व जिल्ला न्यायाधीश कुलबहादुर श्रेष्ठका छोरा कल्याण श्रेष्ठ (जो प्रधानन्यायाधीश पनि हुनुभयो) को जन्मथलो पनि हो बाग्लुङ । बाग्लुङेहरूले त्यो तथ्यलाई पनि विशेष रूपमा हेर्ने गरेको पाइन्थ्यो । मैले अध्ययनको प्रेरणा पाएको ठाउँ भएकाले पनि बाग्लुङ बसाइ मेरा लागि अझ विशेष बन्न पुगेको छ । मुद्दाको संख्या निकै कम भएको र नियमित इजलास नबस्ने हुँदा बाँकी समय के गर्ने भन्ने भएको थियो । यस्तैमा त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (एसएसपी) र मैले बाग्लुङमा भर्खरै सञ्चालनमा आएको समाजशास्त्र विषयको स्नातकोत्तर तहको पढाइ शुरु गर्ने निधो गऱ्यौं । हामीहरू भर्ना मात्रै हुँदा पनि त्यो क्याम्पसलाई सहयोग हुन्थ्यो । बिहानी सत्रमा अड्डा समयबाहेकका लागि हामीहरू भर्ना भयौँ । कलेज भर्ना भई एक दिन कक्षा लिन भनी गएका थियौँ । क्रान्तिकारी विद्यार्थी आएर भोलि हाम्रो सभा छ, तपाईंहरू अनिवार्य उपस्थित भइदिनुपऱ्यो भन्न थाले । भोलिपल्टदेखि हामी कहिल्यै कलेज गएनौँ । स्वअध्ययनबाटै जाँच दियौँ । जे–जसरी भए पनि मैले त्यहीँबाट स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि होला बाग्लुङसँग मेरो विशिष्ट किसिमको याद जोडिएको छ ।

प्रायः बाग्लुङका मानिसले आफ्नो लवजमा ‘आइछ’ ‘गै’छ’ जस्ता आञ्चलिक मिठासयुक्त शब्द प्रयोग गरेको सुनिन्थ्यो । यद्यपि सिंगो नेपाली वाङमयको श्रीवृद्धिमा योगदान पुऱ्याउने प्रशस्त साहित्यिक प्रतिभाहरूलाई पनि मैले त्यहाँ भेट्ने अवसर पाएँ । ‘संगते जायते बुद्धि’ भनेजस्तो त्यहाँ बस्दा उहाँहरूको संगतबाट मैले पनि केही कविताहरू लेखेँ । तीमध्ये कैयन रचना विभिन्न पत्रपत्रिकामा पनि छापिए । दुईवटा साहित्यिक प्रतिष्ठानहरू नै खोलिएको थियो त्यहाँ । ती प्रतिष्ठानमा निकै गहकिला पुस्तकहरू भएको पाएँ ।

बाग्लुङको माथिपट्टि रातामाटा अनि त्योभन्दा माथि देवीको थान छ । त्यहाँ टीबी भएको मान्छे २–३ दिन बस्यो भने निको हुन्छ भन्ने गर्दथे । निकै राम्रो सल्लाघारी छ त्यहाँ । दक्षिणपट्टि भकुण्डे भन्ने अग्लो पहाड छ । पूर्णिमाको एक रातमा हामी भकुण्डेको लेकमा पुगेका थियौँ । त्यति प्रस्ट, त्यति नजिक र त्यति आकर्षक जुन मैले कहिल्यै देखेको थिइनँ । त्यहाँका एक समाजसेवीले व्यक्तिगत खर्चमै त्यो भकुण्डेसम्म बाटो पु¥याएका थिए । ती समाजसेवीले आफ्नो लालपुर्जा बैंकमा राखेर ८९ लाख रुपैयाँ ऋण लिएर उक्त बाटो निर्माण गरेका थिए भन्ने सुनिन्थ्यो ।

यसैगरी बाग्लुङको सम्झनासँग जोडिएर आउने प्रसिद्ध धार्मिक तीर्थस्थल हो– बाग्लुङ कालिका भगवतीको मन्दिर । त्यहाँ चैतेदशैँमा ठूलो मेला लाग्छ । पाल्पाली राजा मणिमुकुन्द सेनकी छोरीको पर्वतका राजा प्रतापीनारायण मल्लसँग बिहे हुँदा राजकुमारीलाई दिइएको भगवतीको मूर्ति त्यहाँ स्थापना गरिएको बताइन्छ । विद्या आर्जनका लागि आराधना गरिने देवीका रूपमा कालिका भगवतीलाई लिइन्छ ।

वास्तवमा बाग्लुङ बजार एउटा रोचक इतिहास बोकेको, न्यायप्रति सजग र चनाखो दृष्टि भएको समन्वयात्मक ढंगबाट मानिसहरूले बसोबास गरेको एउटा असाध्यै मौलिक बजार हो । त्यहाँको आत्मीयता बेग्लै छ । दुईपटक गरेर म करिब अढाइ वर्षजति त्यहाँ बसेँ । बाग्लुङ छोडेर आउँदा स्थानीय करुवा, निगालाको बुट्टे लौरो, डाली, तामाको आरीलगायतका थुप्रै चिनो साथमा बोकेर आएको थिएँ । मेरो सम्झनामा बाग्लुङ एउटा सभ्य र सुसंस्कृत अनि उर्वर साहित्यिक भूमि भएको जिल्ला हो जहाँ मैले गुरुप्रसाद मैनालीदेखि गोबर्धन सिग्देलसम्मका कथा सिक्ने मौका पाएको थिएँ ।

यसअघिको पढ्नुहोस्–

जर्नेल, कर्णेल जम्मा भई सेनाको ब्यारेकमा केरकार
https://ghatanarabichar.com/118548