एउटा मान्छेको सोचले कति फरक पार्दछ जिन्दगीमा…

एउटा मान्छेको सोचले कति फरक पार्दछ जिन्दगीमा…


nisedhकामिनी चौधरी महोत्तरीको फुलट्टा गाविसकी स्थायी बासिन्दा हुन् । गत वर्ष उनले आफ्नो गाविसमा आएको बजेट कति हो, के–के मा खर्च भइरहेको छ, महिलाका नाममा कति बजेट छ भनेर गाविससचिवसँग जानकारी मागिन् । केही महिला लिएर पटकपटक गाविस कार्यालय धाएपछि १० हजार रुपैयाँ दिँदै सचिवले भने, ‘यहाँ हस्ताक्षर गर्नुस्, यो पैसा लिनुस्, यसबाट सिलाइ मेसिन किन्नुस्, हामी यो कुरा कसैलाई भन्दैनौँ, तपाईं पनि अब यसरी सूचना माग्न नआउनुस् ।’ तर, उनले पैसा लिन इन्कार गर्दै भनिन्, ‘मलाई पैसा होइन, सूचना मात्रै चाहिएको हो, मैले मागेको सूचना दिनुस् आफ्नो गाविसमा आएको पैसाको हिसाब गाउँले आफैँ राख्छन् ।’ त्यसपछि गाविसमा ताला लगाएर सचिव सदरमुकाममै बस्न थाले । महोत्तरीका अधिकांश गाविस कार्यालयहरूमा ताल्चा नै लाग्ने गरेको छ । ताल्चा नलागेका गाविसभवन गाईवस्तु बस्ने र गाउँमा बिहेबारी हुँदा जन्ती बस्ने ठाउँ भएका छन् । तर, बिस्तारै–बिस्तारै सर्वसाधारणमा आएको सूचनाको हकप्रतिको चेतनासँगै गाविसका तालाहरू पनि खुल्दै छन् । महोत्तरीकै सविता कुमारीले लैङ्गिक हिंसाको नाममा आएको बजेट कसरी खर्च भइरहेको छ भनेर महिला विकास शाखामा सूचनाको हकको प्रयोग गर्दै निवेदन हालिन् । सूचना पाउन गाह्रो भो, फलो अप जारी छ । महिलाको नाममा जे गरे पनि हुने लाइसेन्स नै लिएझैँ ठान्ने महिला विकास अधिकृतहरूलाई यो घटनाले सचेत बनाएको हुनुपर्छ । पिगौना गाविसकी मीनु पाण्डेले आफ्नो गाविसमा रहेको उपस्वास्थ्यचौकीमा आर्थिक वर्ष ०६९÷७० मा जिल्ला तथा क्षेत्रीय कार्यालयबाट उपलब्ध भएको औषधिको परिणाम तथा वितरणको सम्पूर्ण विवरण पाउँm भनी सूचनाको हक प्रयोग गर्दै निवेदन हालिन् । यो घटनाबाट सदरमुकाममा रहेको जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय सबैलाई जनताले कुनै पनि बेला सूचना माग्न सक्छन् भन्ने कुराको बोध भएको छ । पत्रकार जितेन्द्र पासवान, सञ्जितकुमार मण्डल, राकेश चौधरीहरू जिल्लामा सूचनाको हक प्रयोग गरी सूचना माग्ने पत्रकारका रूपमा परिचित छन् ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले जिल्लामा गरेको सूचनाको हकको प्रयोगसम्बन्धी शृङृखलाबद्ध कार्यक्रमहरूबाट प्राप्त यो उपलब्धिका पछाडि कार्यक्रमलाई सहयोग गर्ने अन्तराष्ट्रिय संस्था सेसी र विश्व बैंकको जवाफदेहितासम्बन्धी कार्यक्रमको भूमिका छ । म्यागलाई ती संस्थाहरूसम्म पु-याउनमा योगदान दिने संस्था ‘टेवा’चाहिँ कहिलेकाहीँ कसैलाई सानो सहयोग गर्दा पनि कति ठूलो प्रभाव परिरहेको हुन्छ भन्ने कुराको उल्लेखनीय उदाहरण हो । नेपालीबाटै सहयोग जुटाएर नेपालीलाई सहयोग गर्ने टेवाले धेरैको आधार बनेर जीवनमा परिवर्तन ल्याएको छ । टेवाको अर्थ पनि आधार नै हो । सूचनाको हकलाई महिलाको अवधारणाबाट उठाउनका लागि टेवाले गरेको सानो सहयोगले अहिले विभिन्न जिल्लामा महिला सूचनाको हकप्रति सचेत बन्दै गएका छन् । टेवाले बनाइदिएको आधारमा टेकेर अगाडि बढ्ने संस्थाहरू अहिले धेरै छन् । जसले कुनै न कुनै रूपमा सम्बन्धित क्षेत्रमा परिवर्तन ल्याएको छ । संयुक्त राष्ट्र सङ्घको हुँदाखाँदाको जागिर छोडेर १७ वर्षअघि टेवाको स्थापना गर्दा यसकी संस्थापक रीता थापाले एउटा सपना देख्नुभएको थियो– महिला सशक्तीकरण र समतामुखी न्यायको सपना । जिन्दगीमा कति सपना देख्दै बिर्सिंदै गर्छन्, कति सपना बीचैमा टुट्छन्, थोरै सपना मात्रै लक्ष्यसम्म पुग्छन् । तिनै थोरै सपनाभित्र परेर टेवाले आफ्नो लक्ष्य हासिल गरिरहेको छ । अहिले टेवासँग तीन हजारभन्दा बढी व्यक्तिगत दाता र तीन सयभन्दा बढी संस्थागत दाता छन् । मुलुकका ६५ जिल्लामा करिब चार सय संस्थाले टेवाको सहयोग पाएका छन् । टेवाले नेपालीबाटै सहयोग जुटाएर नेपालीलाई सहयोग गर्छ । आफ्ना बाबुआमा, श्रीमान् या परिवारको मृत्युपछि उनीहरूको नाममा सहयोग दिनेहरू धेरै छन् । साथै आफ्नो योगदानले अरूको जीवनमा परिवर्तन आओस् भन्ने चाहनाले टेवालाई प्रत्येक वर्ष सहयोग गर्नेहरूको सङ्ख्या पनि ठूलो छ । टेवाले आयआर्जनका लागि महिलालाई बाख्रापालन तथा अन्य कृषि उत्पादनमा विशेष सहयोग पु-याउँदै आएको छ ।
नेपालमा राजनीतिक, आर्थिक, सामाजिक, लैङ्गिकलगायत चौतर्फी विकास गर्न दातृ निकायको सर्तसहितको सहयोगलाई आँखा चिम्लेर स्वीकार गर्नुपर्ने परिपाटी छ । तर, टेवाले यो परिपाटीलाई चुनौती दिएको छ । नेपालीले नै सहयोग गरेर नेपालीलाई माथि उठाउन सकिन्छ भन्ने मान्यता राख्नुहुने रीता थापा दातृ संस्थाबाट नेपाललाई आउने रकम आधाभन्दा बढी उतै फर्किएर जाने कुराले आफूलाई असहज बनाएको बताउनुहुन्छ । हामीले एक–अर्कालाई सहयोग नगरी अरूले कहिले आएर गर्ला भन्ने सोच नै गलत भएको उहाँको धारणा छ । नेपालीबाटै सहयोग जुटाएर नेपालीलाई सहयोग गर्ने उहाँको सोच र अवधारणालाई व्यवहारमा लागू गर्न दीपक देवान, लिली थापा, साधना श्रेष्ठहरूले इन हाउस सहयोग पु-याइरहे भने मीरा ज्योति, डा. छत्र अमात्य, म्यागी शाहलगायत अन्य धेरैले बाहिरबाट सहयोग गरे । कुनै पनि कुरालाई लक्ष्यसम्म पु-याउने त टिम वर्कले नै हो, त्यो टिम वर्क टेवाका लागि सफलताको आधार बन्यो । अहिले टेवासँग आफ्नै भवन मात्रै छैन, अरूका लागि आवासीय सुविधा भएका भवनहरू पनि छन् । आफ्नो खर्च टेवाले अब आवासीय कार्यक्रमहरू गर्नेबाट लिने भाडाबाटै चलाउन सक्छ । अनुदानका लागि उठाएको रकम विभिन्न जिल्लाका महिला सशक्तीकरणमा काम गर्ने संस्थालाई दिन्छ । टेवाले दिएको टेवाबाट विभिन्न जिल्लामा धेरै महिला तथा तिनको परिवारमा परिवर्तन आएको छ । महिला आफैँले केही गर्न र कमाउन थालेपछि पुरुषहरूले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । आफ्नै हातमा दुई–चार पैसा आउने भएपछि महिलामा हिम्मत जुटेको छ, आत्मविश्वास पलाएको छ । हिजो अरूको सहयोगमा बाँच्नुपर्नेहरू आज आफैँ अरूलाई सहयोग गर्ने भएका छन् । यो सब एउटा मान्छेको सोचले ल्याएको परिवर्तन हो । एउटा मान्छेको सोचले धेरैको जिन्दगीमा कति र कसरी फरक पार्न सक्छ भन्ने कुराको उदाहरण पनि हो टेवा । यद्यपि यसकी अवधारणाकार रीता थापा आफ्नो सोचभन्दा बढी आफूलाई विश्वास गरेर सहयोग गर्नेहरू र टिमवर्कको परिणाम हो भन्नुहुन्छ । परनिर्भरता हटाएर आत्मनिर्भरताको बाटोमा हिँड्नका लागि टेवाले दिएको आधारमा टेकेर अगाडि बढ्नेहरू धेरै छन् । सयाँै तोला सुन घरमा राखेर आफू र आफ्ना ानको मात्रै भविष्य उज्ज्वल देख्न चाहनेहरूका अगाडि टेवा फरक धारको नमुना उदाहरण हो जसले अलिअलि सहयोग जम्मा गर्दै अरूका लागि सहयोगी हातहरू फैलाइरहेको छ ।